यी उपाय अपनाए नारायणघाट–मुग्लिन सडकखण्डको जाम कम गर्न सकिन्छ - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Blog

यी उपाय अपनाए नारायणघाट–मुग्लिन सडकखण्डको जाम कम गर्न सकिन्छ

  • ई. नरेशमान शाक्यJuly 5, 2021

चाहे वर्षायाम् होस् या हिउँदयाम, मुग्लिन सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुहरूले सधैंभर झेल्ने सबैभन्दा मुख्य समस्या हो, जाम । पृथ्वी राजमार्गअन्तर्गत पर्ने काठमाडौंदेखि चितवनसम्म जोड्ने मुग्लिन सडकखण्डमा विभिन्न कारण हुने ट्राफिक जामले यात्रुहरू, मालबाहक गाडीहरूलगायत सबैले सास्ती बेहोर्ने गर्छन् ।

किन हुन्छ मुग्लिन सडकखण्ड अवरुद्ध

मुग्लिन सडकखण्डमा सधैभर जाम हुनुका विभिन्न कारण छन् । यसका केही मुख्य कारण हुन्, पहिरो, ट्राफिक व्यवस्थापनको कमी, सडक दुर्घटना, सडकको छेउछाउँमा थापिएका पसल, वर्क सपहरू आदि ।

पहिरोका कारण हुने जामलाई सहजै नियन्त्रण गर्न सकिँदैन । धेरै वर्षात्पछि पहिरो जान्छ र जाम हुन्छ । पहिरोले सडक पूरै अवरोध भएर लामो समयसम्म जाम भएको खण्डमा चालकहरू लेन मिचेर तथा ओभर टेक गरेर अघि बढ्न खोज्छन् । एकातिरको बाटो खाली हुनेबित्तिकै अर्कोपट्टिबाट गाडी अघि बढ्न खोज्छन् । जसका कारण झन् ठूलो जाम भइदिन्छ । नारायणघाट–मुग्लिन सडकखण्डको मुख्य समस्या भनेकै लेन अनुशासन पालना नगर्नु पनि हो ।

शाखा सडकहरूका कारण पनि ठूलो जाम हुने गर्छ । कतिपय ठाउँमा भौगर्भिक कारणले पनि शाखा सडकहरूमा जाम हुने गर्छ । जस्तो मलेखुमा शाखा सडकको मुख्य जक्सनमा स्थानीयहरूले होटल, पसल, सर्भिस सेन्टर र अन्य कार्यालयहरू खोलिदिन्छन् । सडक छेउमै गाडीमा लोड अनलोड गर्ने गर्छन् । जसले गर्दा जाम हुने हुन्छ ।

सडक दुर्घटना पनि अर्को कारण हो । सडक साँघुरो र मोडहरू धेरै छन् । यस सडकखण्डमा गाडी दुर्घटना हुने वित्तिकै मानिसहरूले चक्का जाम गर्छन् । त्यसको असर दिनभर पर्छ र जाम हुन्छ । जाम खुले पनि गाडीहरु पास हुन समय लाग्छ । कहिलेकाहीँ सडकको बीचमा पुगेपछि ठूला गाडीहरू बिग्रन्छन् र गाडी हटाउने उपकरण नहुँदा जाम हुन्छ ।

त्यसैगरी अर्को मुख्य कारण भनेको सडक छेउमा सर्भिस सेन्टरहरू स्थापना गरिएका हुन्छन् । सर्भिस सेन्टरमा गाडी रोक्दा पनि सडक जाम हुने गर्छ । सडकको क्षमताभन्दा बढी सवारीसाधनहरू चल्ने हुँदा पनि मुग्लिन सडकखण्डमा जाम धेरै हुने गर्छ ।

समाधान

जामको समस्या समाधानका विभिन्न दीर्घकालीन र तत्कालीन उपाय अपनाउन सकिन्छ । यदि विभिन्न उपाय अपनाउने हो र माथिका कारणहरूको समाधान खोज्ने हो भने मुग्लिन सडकखण्डको जाम कम गर्न सकिन्छ । त्यसैले समस्या समाधानका निम्न उपायहरू अपनाउनुपर्छ ः

पहिरो रोकथाम

पहिरो आएपछि कम जाम गर्न हामीले एक लेन खोल्ने सवारी जामलाई कम गर्न सकिन्छ । यो सामान्य अभ्यास हो जुन सधैं गरिन्छ । तर, एक लेन सडक खोल्दैमा पुरै जाम भने कम हँुदैन ।

पहिरो कम गर्नका निम्ती हामीले सर्वप्रथम पहिरो सम्बन्धी व्यवस्थापनका कार्यक्रम अघि बढाउनुपर्ने हुन्छ । पहिरो नियन्त्रण आफंैमा ‘स्किलफुल’ कार्य हो । कुन क्षेत्रमा पहिरो जान सक्छ र कसरी रोकथाम गर्न सकिन्छ भन्नेबारे पहिल्यै अध्ययन, पहिरो पहिचान गर्न र समस्या समाधानको बाटो पत्ता लगाउन सक्यौं भने पहिरो रोकथाम तथा व्यस्थापन गर्न सकिन्छ । र, उक्त सडकखण्डमा हुने जाम कम गर्न सकिन्छ ।

पहिरो रोकथाम र व्यवस्थापनमा आकस्मिक कार्य योजनामार्फत सवारी जाम कम गर्न सकिन्छ । जुन कतिपय ठाउँमा सडक विभागले गर्दै आएको छ । पहिरो आउने सम्भावना भएका क्षेत्रमा हेभी मेसिनहरु राखेको हुन्छ । र पुराना तथ्यांकका आधारमा यो ठाउँमा पहिरो आउन सक्छ भन्नेबारे अनुमान गर्न सतर्क गराउन यस्ताखाले मेसिनहरू राखिएका हुन्छन् । यस्ता मेसिनहरू पृथ्वी राजमार्गको गजुरे, नौबिसे, मुग्लिनमा जडान गरिएको छ । यस्ता विधिले पनि जाम पूर्ण नभए पनि आंशिक रूपमा कम गर्न मद्दत गर्छ । समग्रमा पहिरो नै कम गर्ने उपायतर्फ लाग्न सकियो भने जामको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ । यसो गर्न स्किल चाहिने, लामो समय र पैसा बढी खर्च हुने भएकोले चुनौतीपूर्ण छ तर समाधान भने प्रभावकारी र दीर्घकालीन हुन्छ ।

लेन अनुशासन

सामान्यतयाः अरूबेला पनि चालकहरूले ओभर टेक गर्ने र लेन मिच्ने गर्छन् । एकछिन जाम भए पनि चालकले ट्राफिकको आँखा छल्ने गर्छन् । अर्को लेनमा जानेबित्तिकै जाम झनै लम्बिन्छ । यसलाई पनि घटाउन सकिन्छ ।

यदि हामीले लेन अनुशासनलाई राम्रोसँग पालना गर्न सक्यौं र लेन उल्लंघन गर्ने र ओभर टेक गर्नेलाई कारबाही गर्ने कडा नियम लागू गर्न सक्यौं भने मुग्लिन सडकखण्डको जाम कम गर्न सकिन्छ । यो उपाय सबैतिर सम्भव नभए पनि मोडहरू र साँघुरो सडक भएको स्थानमा ओभर टेक र लेन मिच्ने काम नगर्ने हो भने पनि तत्कालीन समाधान निकाल्न सकिन्छ । यसको बानी बसाल्न सकेमा यसले दीर्घकालीन रूपमा पनि जाम घटाउन सकिन्छ ।

शाखा सडकमा स्पेस

शाखा सडकहरूमा जुन गन्तव्यबाट गाडी आउँछन् । त्यहाँ ओभर ल्याप गर्न सकेमा जाम कम गर्न सकिन्छ । भौगर्भिक कारण शाखा सडकहरूमा जाम कम गर्न नसकिए पनि सडकबाट आउने गाडीहरूको लागि स्पेस र जक्सन व्यवस्थापन गर्न सकियो भने जाम कम गर्न सकिन्छ । जक्सनमा खोलिने होटल, पसलहरू र कार्यालयहरू पनि विकासका अपरिहार्य हुन् । तर, सडकको छेउमै नखोलेर सडकभन्दा केही दूरीमा पसल तथा कार्यालयहरू खोल्ने हो भने साना ठूला गाडीहरू सहजै पास हुन्छन् । यसले जामम हुन्छ । जक्सनमै लोड अनलोड गर्ने कार्यलाई पनि सडकभन्दा अलिक टाढा गर्ने हो भने पनि जाम कम हुन सक्छ ।

स्थानीय सरकारको पहलमा, सचेतनामूलक कार्यक्रममार्फत, सडकको छेउमै होटेल बनाउने, पसल खोल्ने चलन कम गर्नुपर्छ । बनाउनै परेमा सडकभन्दा पर तथा हिल साइडतिर सर्भिस सेन्टर बनाएर व्यवस्थित गर्ने हो भने जाम कम गर्न सकिन्छ । सर्भिस सेन्टरमा गाडि मर्मत, पार्किङ, रेस्टुरेन्ट, पसलहरू स्थापना गर्न सकिन्छ । हरेक आधा घण्टाको दूरीमा यस्ताखाले सर्भिस सेन्टरहरू स्थापना गर्ने हो भने सडकछेउको जाम स्वतः कम गर्न सकिन्छ । सर्भिस सेन्टरको अभ्यास हाल नागढुंगा सडकखण्डमा अवधारणा अघि सारिएको छ ।

सडकखण्डमा जाम गर्न हामीले कडा नियम र रणनीति अपनाउनुपर्छ । सरकार स्वयंले सकेन भने निजी र स्थानीय क्षेत्रलाई जिम्मा दिनुपर्छ । तब मात्र जाम कम गर्न सकिन्छ ।

सडकको क्षमता

सडकको क्षमताभन्दा बढी सवारी चल्ने हँुदा यसको अध्ययन तथा अनुसन्धानतर्फ पनि हामी लाग्नुपर्छ । सडकमा विगतमा २ देखि ३ हजार गाडीहरू गुड््थे भने अहिले १० हजारभन्दा बढी गुड्छन् । जुन सडकको क्षमताले पनि नभ्याएको जस्तो देखिन्छ । यसको अध्ययन गरेर सम्भावित समाधान निकाल्न सकिन्छ । सोहीअनुसार सडक विस्तार गर्न सकिन्छ र जाम न्यूनीकरण गर्न सकिन्छ ।

दुर्घटना

दुर्घटनाका कारण हुने चक्का जाम र बार्गेनिङका गतिविधि कम गराउनुपर्छ । दुर्घटनापछि प्रहरी पुग्न र प्रक्रिया बन्नै समय लाग्छ । स्थानीयहरूले चक्का जामको गतिविधि सिर्जना गर्नुभएन । यस्ता सामाजिक कारण हुने जामहरूलाई पनि गर्ने पहल गर्नुपर्छ । दुर्घटनापछि हुने चक्का जाम हटाउन स्थानीय प्रशासन, क्लब, युवाहरू सबैलाई परिचालन गर्ने र सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । यो तत्कालीन समाधान हो ।

यतिबेला सडकमा गाडी दुर्घटना हुनेबित्तिकै प्रहरी आउने समयसम्म कुर्नुपर्छ, प्रहरी पुगेपछि त्यहाँ अन्य प्रक्रिया हुन्छन्, गाडी हटाउन उत्तिकै समय लाग्छ । सडकबाट गाडी हटाउने मेसिन ल्याउनै घण्टौं समय लाग्छ । यसको समाधानमा सडक दुर्घटना भइहालेमा गाडीलाई तत्काल हटाउन राजमार्ग ट्राफिकहरूसँग पर्याप्त मात्रामा क्रेनहरू हुनुपर्छ ता कि ट्राफिकले गाडीलाई सडकबाट तत्काल हटाएर जाम कम गर्न सकियोस् ।

यस्ता उपायहरू अपनाउन सकिएमा दीर्घकालीन समाधान निकाल्न सकिन्छ र मुग्लिन सडकखण्डमा हुने सवारी जामबाट बच्न सकिन्छ ।

(नरेशमान शाक्य सडक विभागका सुपरिडेन्ट हुन् । हाल उनी नागढुंगा सुरुङमार्गमा मुख्य इन्जिनियरका रूपमा कार्यरत छन् । यो लेख इन्जिनियर्स पोस्टकर्मी अस्मिता खड्काले ई. शाक्यसँग गरेको कुराकानीका आधारमा तयार पारिएको हो ।)

Your Opnion

//