दिन प्रतिदिन पुल भत्किनुको वास्तविक कारण के हो ? ई. ए.आर. तुलाधरलाई ३ प्रश्न - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interview

दिन प्रतिदिन पुल भत्किनुको वास्तविक कारण के हो ? ई. ए.आर. तुलाधरलाई ३ प्रश्न

नेपालमा अहिले दिन प्रतिदिन पुल भत्किएका समाचार आइरहेका छन् । कतिपय पुल निर्माण हुँदाहुँदै भत्किएका छन् भने कतिपय निर्माण सकिएको केही समयपछि । पुल भत्किनुको कारण अनुसन्धानपिच्छे फरक फरक आए पनि वास्तविक कारण के हुन सक्छ भन्ने विषयमा ब्रिन्स टेक्नोलोजीका म्यानेजिङ डाइरेक्टर तथा स्ट्रक्चरल ई. ए.आर. तुलाधारलाई हामीले ३ प्रश्न गरेका छौं  :

अहिले निर्माण सम्पन्न हुने बित्तिकै वा निर्माण हुँदाहुँदै पुल भत्किने समस्या देखिँदैछ । यसको मुख्य कारण के होला ?

यसको मुख्य कारण भनेको इन्जिनियरिङको गलत अभ्यास हुनु हो । अर्थात् संरचना निर्माणमा विज्ञ वा अनुभवी इन्जिनियरसँग काम नगर्नुको परिणाम हो । कहिलेकाहीँ के हुन्छ भने समग्र डिजाइनको काम एउटा सिभिल इन्जिनियर वा कम अनुभवी इन्जिनियरबाट गराइन्छ । जुन डिजाइन संरचना निर्माणका क्रम फेल भए संरचना भत्किने हुन्छ ।

यसलाई अर्को शब्दमा भन्दा कुनै इम्प्लोयर (सडक विभाग वा अन्य) ले ठेक्का दिने क्रममा भित्रभित्रै सबै सेटिङ मिलाएर कसलाई ठेक्का दिने ठिक्क पारिसकेको हुन्छ । पछि बाहिर प्रतिस्पर्धा गराएको जस्तो देखाउनका लागि ‘फेक कम्पिटिसन’ गराउँछ । यस्ता गतिविधिले पनि कमजोर र गुणस्तरहीन पुलको निर्माण हुन जान्छ ।

माथि जेजति कुरा भने पनि पुलको वास्तविक अध्ययन नगरेसम्म के कारणले भत्किएको हो भनेर भन्न सकिँदैन । अहिले एउटा बन्दाबन्दै र अर्को बनिसकेपछि गरी २ किसिमले पुल भत्किरहेका छन् । बन्नेबित्तिकै भत्किने पुललाई छुट्टै आधारमा (क्याटागोरी) र बन्दाबन्दै भत्किने पुललाई अर्को क्याटागोरी राखेर हेर्नुपर्ने हुन्छ । अहिले जति पनि पुल भत्किरहेका ती प्राविधिक समस्या वा फाउन्डेसन फेलियर भएर हो जस्तो देखिन्छ ।

पुल भत्किनुमा इन्जिनियर, डिजाइनर वा कन्ट्र्याक्टरमध्ये कसको बढी दोष हुन्छ ? दोषीलाई केकस्तो कारबाही गर्न सकिन्छ ?

हुन त छानबिन नगरिकनै दोषी को हो भनेर यसै भन्न सकिँदैन । तर, निर्माणधीन समयमा पुल भत्किएमा कन्ट्र्याक्टरकै लापरबाहीले भत्किएको हो भन्ने बुझिन्छ । अर्थात् डिजाइनअनुसार उसको काम गर्ने तरिका नमिलेको प्रष्ट हुन्छ ।

अर्कोतिर यदि कुनै पुल निर्माण हुने बित्तिकै भत्किएमा भने त्यहाँ डिजाइन फेल भएर हो कि भनेर डिजाइनरतर्फ पनि शंका गर्नुपर्ने हुन्छ । डिजाइन राम्रो बन्दाबन्दै पनि कन्ट्र्याक्टरले केही बदमासी गरेको पनि हुन सक्छ । यस्तो अवस्थामा डिजाइनर र कन्ट्र्याक्टर दुबैतिर शंका गर्ने ठाउँ रहन्छ ।

यसमा इम्प्लोयरले गाइडलाइनमा मिस्टेक गरेको खण्डमा उहाँहरू दोष हुन्छ । डिजाइनलाई सडक विभाग वा इम्प्लोयरले स्वीकृत गरेर ल्याएको हुनाले उसले आफ्नो कमजोरी पनि देखिएला भनेर गलत कामलाई पनि भित्रभित्रै ढाकछोपमा मिलाउन खोजिएको हुन्छ । यसले गर्दा समस्या निम्तिएको हो ।

समग्रमा अहिले बन्दाबन्दै भत्किएका पुलको प्रकृति हेर्दा भने कन्ट्र्याक्टरकै गल्ती देखिन्छ । त्यसैले हावाले पुल ढल्यो, पानीले बगायो जस्तो लजिक यहाँ मेल खाँदैन । खासमा ती सबै जोखिमबाट जोगाउनका लागि पो कन्ट्र्याटरले संरचना निर्माण गर्ने हो ।

कारबाहीको कुरा गर्दा निर्माण भइसकेपछि र निर्माण हुँदाहुँदै भत्किनुको कारण फरक–फरक हुने भएकाले कारबाही पनि फरक हुन्छ । तर, कारबाही गर्न जरुरी छ । ठेक्का सम्झौतमै १ वर्षभित्रै भत्किएकमा वा बन्दाबन्दै भत्किएमा कन्ट्र्याक्टरले नै त्यो संरचना फेरि बनाइदिनुपर्ने उल्लेख गरिएको हुन्छ । त्यसैगरी यदि कन्सल्ट्यान्टको डिजाइन फेल भएको रैछ भने चाहिँ डिजाइनरको लाइसेन्ससमेत निलम्बन हुन सक्ने कारबाही हुन्छ ।

बर्सेनि यस्ता घटना दोहोरिए पनि राज्यले यसको न्यूनीकरणका लागि कुनै कदम चालेको देखिँदैन हो ? यसका लागि राज्य के गर्नुपर्छ ?

यसका लागि इन्जिनियरको गुणस्तरमै सुधार ल्याउनुपर्छ । एउटा विज्ञ इन्जिनियरले मलाई लाग्दैन कि उसले कुनै अमर्यादित वा अवैध काम गर्छ । त्यसैले राज्यले सबैभन्दा पहिले इन्जिनियरको गुणस्तरमै सुधार गर्नुपर्छ ।

नेपालामा कतिपय विश्वविद्यालय छन्, जो नाम मात्रका छन् । ४ वर्ष जसले पनि सर्टिफिकेट दिन्छ नै तर सर्टिफिकेट पाएको मान्छे इन्जिनियर बन्न लायक छ कि छैन भन्ने नेपाल इन्जिनियरिङ काउन्सिले चेक गर्न जरुरी छ ।
सजिलैसँग इन्जिनियर बनेका जोकोही पनि सजिलैसँग काम गर्न खोज्छ । जसरी भए पनि काम मात्रै लिन खोज्छ । जसले गर्दा गुणस्तरीय दीगो संरचनाको निर्माण हुन सक्दैन । अन्ततः यसको असर संरचना भत्किएपछि देखिन्छ ।

त्यसैले राज्य वा नेपाल इन्जिनियरिङ काउन्सिलले यस्तो अभ्यासलाई रोक्न जरुरी छ । यस्तो भए समस्या आफैं समाधान हुन्छ । मुख्य समस्या भनेकै सबल इन्जिनियर नुहुनु हो ।

Your Opnion

//