कुनै पनि व्यक्तिले देख्ने सपना वास्तविकताभन्दा फरक हुन्छ । जब सपना वास्तविकतासँग मेल खाँदैन तब सपना देख्ने जोकोहीलाई तनाव हुन्छ । जब तनाव पैदा हुन्छ, सपना र वास्तविकताका दृश्यहरू फरक हुन्छन् तब यी सबै विषयहरू प्रस्तुत गर्ने माध्यम बन्छ, गीतसंगीत अनि रचना । संगीतले वास्तविकता, अवास्तविकता, अनुभव, भोगाइ आदि सबथोक प्रस्तुत गरिदिन्छ ।
गत वर्षको लकडाउन सुरु हुँदा रुपेश अर्याल एउटा गीत लेख्दै थिए । त्यो गीत माया प्रेम, देशभक्ति, वेदनाले भरिएको नभई आफू र आफूजस्तै नेपालभरका इन्जिनियरिङका विद्यार्थीको वास्तविक अनुभवबारे थियो । सांगितिक क्षेत्रलाई गहिरिएर नियाल्ने हो भने इन्जिनियरिङबारेको सांगीतिक प्रस्तुति विरलै भेटिन्छ । यही अभावलाई पूरा गर्ने गरी रुपेश फरक प्रस्तुति लिएर आएका छन् । उनले आफ्नै भिडियो संयोजना, शब्द र आवाजमा एक पूर्ण इन्जिनियरिङ गीत सार्वजनिक गरेका छन् । ‘द इन्जिनियरिङ सङ’ शीर्षकको एक इन्जिनियरिङ र्याप गीत एक साताअघि युट्युबमार्फत सार्वजनिक भएको छ । वेभ्स स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतको मिक्सिङ र मास्टरिङ प्रतिक गुरुङले गरेका हुन् भने स्पोन्सर अनुराग पौडेलले ।
चितवनका रुपेश पोखरा विश्वविद्यालयअन्तर्गत युनाइटेड टेक्निकल कलेजका पाँचौ सेमेस्टरका विद्यार्थी हुन् । उनी हाल कम्प्युटर इन्जिनियरिङ विषय अध्ययन गरिरहेका छन् । पढाइबाहेक रुपेश समाज सेवा, कार्यक्रमहरूको आयोजना, विद्यार्थी राजनीतिमा पनि सक्रिय छन् । गीत सुनेपछि धेरैले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्, उनलाई । साहित्यतिर पनि रुचि राख्ने रुपेशले फुर्सदमा गीत रचना गर्ने गर्छन् । यसअघि उनका एकाध गीतहरू युट्युबमा सार्वजनिक छन् । यतिबेला सार्वजनिक भएको गीत एक वर्षअघि नै लेखेर राखेको भए पनि रेकर्डिङ र भिडियो संयोजनका लागि रुपकसँग पर्याप्त समय थिएन । रेकर्ड गर्ने सोच्दासोच्दै उनको इन्जिनियरिङको परीक्षा आउँथ्यो । कलेजमा पढाइ सुरु हुन्थ्यो ।
‘साहित्यतिर रुचि भए पनि इन्जिनियरिङमा भर्ना भएपछि भने गीतसँगै अरू विषयवस्तुलाई समय दिन भ्याएको छैन । यसअघिका गीतहरूभन्दा अहिलेको फरक छ,’ उनी भन्छन्, ‘यो गीत स्नातक पढ्दै गर्दा एक वर्षअघि लेखेको थिएँ । परीक्षा र पढाइले गर्दा रेकर्डका लागि समय मिलेको थिएन । त्यसैले ढिला रिलिज भयो । मेरो मात्र नभई इन्जिनियरिङ विषय पढिरहेका नेपालभरिका सबै जुनियर÷सिनियर साथीहरूको कथा र व्यथा यस गीतमा समेटिएको छ । कलेज प्रशासनदेखि हरेक विषयवस्तुको विश्लेषण गरेर यो गीत रचना गरेको थिएँ ।’
के छ इन्जिनियरिङ गीतमा ?
‘नमस्कार सर,
हेलो माइ फ्रेन्ड,
इन्जिनियर बन्नलाई चाहिन्छ यो ब्रेन’ ।
रुपेशको गीत यिनै लाइनहरूबाट सुरु हुन्छ । उनले गीतका हरेक लाइनमार्फत कलेज प्रशासन, कलेजमा हुने राजनीति, पढाइमा पास नहुँदा झेल्नुपर्ने दबाब र तनाव, इन्जिनियरिङका विद्यार्थीले कोठा भाडामा बस्दा भोग्नुपर्ने समस्या, साथीहरूसँगको सम्बन्ध, इन्जिनियरिङ कलेजमा महिला विद्यार्थीको संख्या, समाज र परिवारले इन्जिनियर बन्न दिने आर्शीवाद, पछिल्लो समय इन्जिनियर बन्ने फेसन आदिबारे मीठो प्रहार गरेका छन् ।
‘इन्जिनियरिङ कलेजभित्र प्रवेश गरिसकेपछि त्यहाँभित्र विभिन्न दृश्यहरू देखिन्छन् । सबैको आ–आफ्नै तौरतरिका हुन्छन् । इन्जिनियर बन्न फेसन र सपनाको पछि लागेर र पारिवारिक दबाबले मात्र हुँदैन दिमाग चाहिन्छ,’ रुपेश भन्छन्, ‘त्यसैले मैले यस गीतमार्फत कलेजभित्रका सबैलाई नभई इन्जिनियरिङ कलेकका अधिकांश विद्यार्थीहरूले गर्ने गतिविधि, अनुभवहरू मात्र समेटेको हुँ । गीतमार्फत सन्देश दिन खोजेको हुँ । वास्तविकता देखाउन खोजेको हुँ ।’
‘दलालको राजदरबार, प्राइभेट कलेज
वान्ली कलेज आयो तर छैन नलेज’
गीतको सुरुआतपछिको केही लाइनमार्फत रुपेशले शिक्षा र पैसाको सम्बन्धबारे प्रस्तुत गरेका छन् । यस लाइनमार्फत आफूले निजी कलेजहरूले असुल्ने शुल्क र उनीहरूले दिने शिक्षाबारे खोतलेको उनी बताउँछन् । भन्छन्, ‘निजी कलेजहरूले विद्यार्थीबाट आनन्दले धेरै पैसा असुल्ने गर्छन् । तर, पैसाअनुसार शिक्षाको गुणस्तर भने दिँदैनन् । यी लाइनहरूमार्फत त्यही वास्तविकता झल्काउन खोजिएको हो ।’
इन्जिनियरिङमा भर्ना भएका कतिपय विद्यार्थीहरूले आफ्नो रुचि, सपना र बुझाइअनुसार इन्जिनियरिङ विषय पढ्ने र पास गर्ने गर्छन् । तर, जब पारिवारिक र सामाजिक प्रतिष्ठाको डरले इन्जिनियरिङ विषय रोजिन्छ तब विद्यार्थीलाई गाह्रो हुने गर्छ । रुपेशले गीतमा यस वास्तविकतालाई पनि समेटेका छन् ।
‘ओइ साथी ओई भोलि फिजिक्सको टेस्ट,
किन चिन्ता गरेको कपि एन्ड पेस्ट’
‘कतिपय साथीहरूले रुचिअनुसार नपढ्ने, गाह्रो विषय पनि हुने हुँदा घोक्ने, चोरेर पास हुने गर्छन् । इन्जिनियरिङ विषय भनेपछि घरबाट पनि पास गर्नुपर्ने दबाब हुन्छ’ रुपेश हाँस्दै सुनाउँछन्, ‘अनि सबैलाई ‘फेल हुनुभन्दा बरु जान्ने साथीहरूबाट कपि गरेरै भए पनि पास गरौ न’ भन्ने लाग्छ । र आफूभन्दा जान्ने विद्यार्थीको असाइन्मेन्ट, एसेस्मेन्ट र परीक्षामा कपि गर्ने गर्छन् । यो लाइनमार्फत यही बताउन खोजेको हो ।’
‘नयाँ नयाँ साथी मेरा सबैभन्दा माथि,
कम्प्युटरमा छैनन् केटी, सिभिलका छन् लाटी,
तिमी नरिसाउँ न म त तिम्रै हुनी
हेर्दा मात्र हावा म त सोझो छु नि’
नेपालमा इन्जिनियरिङ विषय पढ्ने महिलाको संख्या पुरुषको तुलनामा अझै पनि कम देखिन्छ । त्यसमा पनि सिभिल इन्जिनियरिङ विषयमा महिलाको संख्या अन्य विषयभन्दा अलिक बढी हुन्छ । इन्जिनियरिङ कलेजमा बन्ने केटा र केटी साथीको सम्बन्धबारे रुपेशले आफ्नो गीतमार्फत प्रस्तुत गरेका छन् । ‘आफूभन्दा जुनियर ब्याचमा पढ्न आउने केटीहरूलाई वर्णन गर्न खोजिएको हो । जुनियरहरुलाई सिकाइदिन्छु, नोट दिन्छु भन्दै नजिक हुने, नम्बर दिने र फ्लर्ट गर्न सुरु गर्ने नियत भएका विद्यार्थीहरू पनि हुन्छन् । उनीहरूकै लागि भनिएको हो,’ हाँस्दै रुपेश सुनाउँछन् । रुपेशले आफ्नो गीतको बीचतिरको लाइनहरूमा समेटेका छन् :
‘इन्जिनियर बन्छु भन्ने सपना बोकी आएँ,
क्लास बंक गरि–गरि चिया, चुरोट खाएँ
दिमाग घुमाएँ मैले कलम चलाएँ
के के न होला भन्या मैले नाइट ड्युटी पाएँ
दिमाग खराब हाम्रो जीन्दगी धराप
दशैंको आर्शिवाद भयो सरापं…
ब्याक एक्ज्याम दिँदा–दिँदा बनिसके लाश…’
‘इन्जिनियर बन्ने जोकोहीको सपना हुन्छ । इन्जिनियर बन्न, परीक्षा पास गर्न दिमाग चलाउने, कलम घुमाउने, पास गर्ने, सबैको नजरमा असल बन्नुपर्ने, दशैको आर्शिवाद लिनुपर्नेलगायत अनेकथरी हुन्छ,’ रुपेश भन्छन्, ‘जब कुनै सीप लाग्दैन, तब तनाव हुन्छ । जिन्दगी धरापमा परेको महसुस हुन्छ । र, तनाव कम गर्न साथीहरूसँग क्लास बंक गरेर चिया र चुरोट तान्न जाने हुन्छ । यो अहिले पनि भइरहेकै दृश्य हो । हामी विद्यार्थी हरेक पटक घाइते हुनुपर्छ । जुन हाम्रो वास्तविकता हो । गीतले यही वास्तविकता बताएको हो ।’
पछिल्लो समय इन्जिनियर बन्ने सपना फेसनका रूपमा मौलाएको पनि रुपेशले गीतमार्फत प्रस्तुत गरेका छन् ।
‘एग्रीभेट, इन्जिनियरिङ भयो फेसन,
फेसनको पछाडि दौडिराछन्,
अन्धकारमा भविष्यको कसम खाछन् …’
‘यो लाइन महत्वपूर्ण छ । अहिले हेर्ने हो भने, इन्जिनियरिङ पढ्ने प्रचलनजस्तै भएको छ । इन्जिनियरिङ विषयलाई विद्यार्थीले चाहिनेभन्दा बढि फेसनका रूपमा पढेको भेटिन्छ । अरूले जे ग¥यो त्यही गर्ने । आफ्नो रुचि होकी हैन थाहा नभएरै फेसनको पछाडि दौडिरहेका छन्,’ रुपेश थप्छन्, ‘इन्जिनियरिङ पढिरहेको भनेपछि गाउँमा छुट्टै इज्जत हुन्छ भन्ने बुझाइ र वास्तविकता छ, सबैको । कुनै योजना र भिजनबिना दौडिने प्रचलन छ । तर, इन्जिनियरिङमा भर्ना भएपछि आफ्नो पीडा आफूलाई मात्र थाहा हुन्छ ।’
भिडियो हेर्नुहोस्,
Your Opnion