‘नेपालमा कोरोनाको दोस्रो लहर बाजा बजाएर आयो’ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Blog

‘नेपालमा कोरोनाको दोस्रो लहर बाजा बजाएर आयो’

  • रमेश गौतमJune 27, 2021

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोरोना संक्रमण हाल विश्वको धेरै देशमा फैलिसकेको छ । नेपालमा भने सन् २०२० को जनवरीबाट सुरु भएको संक्रमण अहिले दोस्रो लहरको रूप फैलिरहेको छ । यहाँ पहिलो संक्रमित देखिनासाथ २०७६ चैत ११ गतेबाट गरिएको बन्दाबन्दी (लकडाउन) लामो समयसम्म रह्यो । विगत १ वर्षदेखि नेपालले यसको सामना गरिरहेको अवस्था छ । दोस्रो लहरमा आएर यसले भयावह स्थिति सिर्जना गरेको छ । पहिलो लहरमा कोरोना संक्रमण र मृत्युदर दुवै कम थियो । तर, दोस्रो लहरमा संक्रमितको संख्या दैनिक करिब ८/९ हजारको हाराहारीमा बढ्यो भने मृत्यु हुनेको संख्या दैनिक १ सयभन्दा बढी पुग्यो । कहिलेकाहीँ २ सयभन्दा बढी पुगेको स्थिति पनि थियो । हाल, संक्रमण र मृत्युदर दुवै उल्लेख्य मात्रामा घटेको देखिन्छ । यद्यपि, जोखिम भने टरेको छैन ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कोरोनाले पारेको सामाजिक, आर्थिक प्रभावबारे एक प्रतिवेदन सार्वजनिक गर्दै यसलाई दोस्रो विश्वयुद्ध पछिको संसारको सबैभन्दा ठूलो चुनौती बताएका छन् । विज्ञहरूले नेपालमा तेस्रो लहर पनि आउनसक्ने र यसले बालबालिकामा जोखिमा पर्ने बताउँदै आएका छन् । यसका लागि सबैले पूर्वतयारीमा लाग्न सुझावसमेत दिएका छन् ।

दसा बाजा बजाएर आउँदैन

हामीले सुन्दै आएको एक उक्ति हो, ‘दसा बाजा बजाएर आउँदैन’ तर नेपालमा कोरोनाको दास्रो लहर बाजा बजाएरै आयो । पहिलो लहरको सामना गरिरहँदा हामी सबै र सरकारलाई कोरोनालाई पूर्ण रूपमा निर्मूल पार्न औषधि वा भयाक्सिन नबनेसम्म हामी सबै यसबाट सुरक्षित हुन सक्दैनौं भन्ने पनि थाहा थियो । तर, न सरकार न हामीले नै यसबाट सतर्कता अपनायौं । जसले गर्दा दोस्रो लहरले झनै क्षति पुर्‍यायो।

नेपालका जनस्वास्थ्यविद तथा अस्पतालका डाक्टरहरूले पनि ‘यो सामान्य रोग होइन यसको दोस्रो लहर धेरै खतरानाक हुन्छ । यसका लागि हामीले बेलैमा पूर्वतयारी गर्नुपर्छ’ भनेर सुझाएका पनि हुन् । तर, पूर्वतयारीका लागि सरकारले कुनै पूर्वतयारी गरेन । फलस्वरूप यो मानवीय भयावहस्थिति देखा परेको हो ।

नेपालमा अहिले औषधि उपकरण र स्वास्थ्यकर्मीको संख्याको संख्या संक्रमितको अनुपातमा निकै कम छ । अस्पताल तथा उपचार गर्ने ठाउँको अभावमा संक्रमित घरमै बस्न र अस्पताल गएकाहरू पनि बेड नपाएर अस्पतालको चौरमै बस्नुपर्ने बाध्यता (अहिले केही सहज भएको छ) छ । कतिपय स्थानीय तहले कोरोना संक्रमितको चाप बढेपछि र स्वास्थ्यकर्मीको अभाव भएपछि धमाधम छोटो समयका लागि करारमा स्वास्थ्यकर्मीको माग गरिएको उदाहरण पनि देखियो । यद्यपि, आवश्यक परेका स्थानमा अझै कायमै छ । यदि हामीले कोरोनाको यो हृदयबिदारक चीत्कार भारत, इटाली जस्ता देशबाट देखेर सिकेको भए आज हामीले यो स्थितिको सामना गर्नुपर्ने थिएन ।

जानीजानी लापरबाही

हामीले कोरोनाको प्रथम लहरबाट धेरै कुरा सिक्नुपर्ने थियो । त्यो सिकाइबाट स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी र तिनीहरूको उचित व्यवस्थापनमा अस्पताललगायत स्वास्थ सेवा प्रदायक संस्थाको संख्यामा वृद्धि गर्न सकेको भए आज यो भयावहस्थितिको सहज सामना गर्न सकिन्थ्यो । आज जनशक्तिको अभावले कतिपय अस्पताल र स्वास्थचौकीले सामान्य प्रकृतिको उपचार सेवा पनि दिन नसकेको अवस्था छ । धेरैजसो अस्पतालमा सीमित संख्यामा रहेका एम्बुलेन्सले अहिले बिरामीको संख्या उच्च भएसँगै सेवा दिन सकिरहेका छैनन् । अस्पतालमा बेडका अभाव, आइसीयू तथा भेन्टिलेटरको अभावले बिरामीको ज्यानै जाने वा गइरहेको स्थिति छ । कोभिडका बिरामीले अस्पताल भरिएपछि अन्य रोगका बिरामी अस्पताल जान नपाएर घरमै रोग पालेर बस्नुपर्ने स्थिति छ ।

देश स्थिरतातर्फ गएको भनिए तापनि यस्तो बेलामा समेत राजनीतिक दलहरू भने आपसी लडाइँ र सत्ताको दाउपेचमा व्यस्त देखिए । सरकार फेरबदलका प्रयास अझै पनि भइरहेको छ । पक्ष र विपक्षमा जुलुस, विभिन्न राजनीतिक दलहरूबीच काठमाडौंमा गरिएको ठूलाठूला जुलुससहितको शक्ति प्रदर्शन, चुच्चे नक्सा र रामको जन्मभूमिको विषयलगायतका छलफलले कोरोनाको विषय गौण बनाइयो । यसले संक्रमितका संख्या घटेको जस्तो लागे पनि भित्रभित्र भुसको आगोझै गाउँ, टोल र बस्तीबस्तीमा प्रवेश गर्दै थियो । कोरोनाको दोस्रो लहरले नित्याएको भयावह स्थिति यसकै उपज हो ।

युवा लक्षित कार्यक्रम ल्याउनुपर्छ

कोरोना महामारीले आम्दानीका सबै क्षेत्र थला परेको छ । यस विषम परिस्थितिमा विभिन्न क्षेत्रमा अनुगमन हुन नसक्दा स्थानीयस्तरमा भ्रष्टाचार पनि मौलाएको छ । यो विषम परिस्थितिमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गराएर उच्च मूल्यमा सामानहरू बेच्दा आम्दानीका स्रोत गुमाएका जनताहरूले आवश्यक सामान उच्च मूल्यमा किन्दा दोहोरो मारमा परेका छन् । कतिपय स्थानीय तहले आफ्नो क्षेत्र भित्रका पसल तथा बजारमा सहजीकरण र नियमन गर्न नसक्दा स्थानीय पसलहरूले लाग्नेभन्दा दोब्बर मूल्यमा सामान बेचिरहेका छन् । तर पनि उच्च मूल्यमा सामान किन्न जनता बाध्य छन् । यो समयमा विभिन्न किसिमो कालोबजारी, चोरी–डकैती र बलात्कार जस्ता घटना घट्ने सम्भावना पनि उतिकै रहन्छ र यसलाई नियामक निकाय र सरोकारवालाले नियमन गरिरहनुपर्ने हुन्छ ।

यस्ता महामारीबाट हामीले धेरै पाठ सिक्न सक्छौं । यस्तो समयमा मानिस फुर्सदिलो हुने हुँदा आफूलाई केही रचनात्मक कार्यमा प्रयोग गर्न सके खुशी हुन सकिन्छ । नत्र एकोहोरो भएर मनोवैज्ञानिक रूपमा गलत सोच आउने वा गलत कार्यमा लाग्ने सम्भावना पनि उत्तिकै रहन्छ । त्यसैले कोरोनाका कारण विदेशबाट रोजगारी गुमाएर फर्किएकालाई केन्द्र सरकार र स्थानीय सरकारले उनीहरूलाई लक्षित गरी युवा लक्षित कार्यक्रम ल्याउनुपर्छ । यदि उनीहरूलाई आफ्नै स्थानीय स्तरमा खट्ने वातावरण बनाउने हो भने हरेक स्थानीय तहको विकाससँगै सिंगो देशको विकास हुनेछ ।

कतिपय ग्रामीण तथा दुर्गम भेगमा लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरू बालश्रमतिर लाग्ने सम्भावना पनि हुन्छ । साथै, विश्वविद्यालयले पनि आफ्ना लाखौं विद्यार्थीको भविष्यमा ध्यान दिएर विभिन्न वैकल्पिक पद्धतिमा जान जरुरी छ ।

Your Opnion

//