असल आर्किटेक्ट एवम् ‘इन्जिनियरिङ हिरो’ बन्ने यात्रामा छु - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Blog

असल आर्किटेक्ट एवम् ‘इन्जिनियरिङ हिरो’ बन्ने यात्रामा छु

  • आ. शृंखला खतिवडाJune 27, 2021

आर्किटेक्टको रुपमा सुरु भएको मेरो यात्रा वास्तवमा असामान्य थियो । मेरो स्कुलिङ हेटौडाबाट सुरु भएको थियो । प्लस टूको पढाइ मैले काठमाडौंबाट पुरा गरें । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट डिग्री हासिल गर्ने ठूलो सपनासहित त्यहाँ अप्लाई गरे । आइओईमा चौंथो सूचीमा नाम निस्कियो र पुल्चोक क्याम्पसमा नाम निस्कँदा म निकै उत्सुक थिएँ । नेपालभरका सबै विधार्थीमध्ये उत्कृष्ट विधार्थीको रुपमा चिनिन चाहन्थेँ । टिचरहरुबाट धेरैभन्दा धेरै ज्ञान सिक्न चाहन्थेँ ।

आर्किटेक्चर रोज्नुको कारण
सुरुमा त मलाई आर्किटेक्चर के हो भन्ने नै थाहा थिएन । किन कि आर्किटेक्चरमा भर्ना हुनुअघि व्यक्तिगत र प्रोफेसनल रुपमा मैले कसैलाई भेटेको थिइनँ । मेरो बुझाईमा आर्किटेक्चर भनेको कुनै पनि संरचनाको डिजाइन बनाउनु हो भन्ने थियोे । मैले बुझेअनुसार आर्किटेक्चर इन्जिनियरिङमा डिजाइनको एक अभ्यास थियो । जुनसुकै इन्जिनियरले पनि डिजाइन र अभ्यास गर्छन् भन्ने बुझेकी थिएँ ।

जे भए पनि मैले आर्किटेक्चर विषय रोजेको थिएँ । आमाको प्रेरणा र रुचिले पनि मैले यो विषय रोजेको हो । उहाँले यसबारे मलाई केही ज्ञान दिनुहुन्थ्यो । आर्किटेक्चरबारे सुरुवाती चरणमा धेरै ज्ञान नभए पनि मैले विस्तारै यसबारे रिसर्च गरेँ । यसरी रिसर्च गर्दै जाँदा छर्लङ्ग भयो र थाहा पाएँ कि मेरो रुचि आर्किटेक्चर हो । त्यसपछि आवासीय भवनहरु, डिजाइन, सार्वजनिक स्थललगायत संरचना वरिवरी रहेका विषय–वस्तुलाई नजिकबाट हेर्न र बुझ्न थालेँ । युवा भएको नाता र आफ्नो रुचिले मैले यस क्षेत्रमा योगदान दिन सक्छुजस्तो लाग्यो ।

कुनै पनि विषयवस्तुको अवधारणालाई स्केचमा उतार्नु, त्यसलाई वास्तविकतामा उतार्नु र मूर्त रुप दिनु पक्कै पनि चानचुने विषय होइन । त्यसैले आर्किटेक्चरलाई मैले पनि अद्भुत र सुन्दर विषय ठानेँ । जति नजिकबाट बुझ्न थालेँ उति धेरै रुचि बढ्दै गयो । त्यसैले पनि मैले मेरो करियर यसैमा अघि बढाउने निधोँ गरेँ । अब मेरो सपना भनेको एक असल आर्किटेक्ट बन्ने थियो ।

इन्जिनियरको सट्टा आर्किटेक्ट बन्न खोज्नुको खास कारण भनेको मलाई इन्जिनियर बन्न त्यति रुचि थिएन । किन कि इन्जिनियरिङ पूर्णरुपमा विज्ञान र गणितको संयोजनमा आधारित हुन्छ भने आर्किटेक्चरमा इन्जिनियरिङ, विज्ञान, सिर्जनात्मक कला र मनोभावनाको पूर्णरुपमा संयोजन हुन्छ । यी तत्वहरुको पूर्ण मिश्रित रुप आर्किटेक्चर भएकोले मलाई महसुस भयो कि म यसमा सुहाउँछु ।

अध्ययनको क्रममा पाँचौ सेमेस्टरमा पुगेपछि आर्किटेक्चर एक सुन्दर एवम् अद्भुत कला मात्र नभई गहन र फराकिलो छ भन्ने मैले महसुस गरेँ । मेरो बुझाई र सिकाईमा आर्किटेक्चर जति नै गहन भए पनि यसबारे अझै धेरै सिक्ने, जान्ने र आफ्नो सिकाईलाई बुलन्द बनाउने भोक मसँग बाँकी नै थियो ।

मिस नेपाल
पुल्चोक क्याम्पसबाट स्नातक गरिसकेपछि पनि मसँग थुप्रै विकल्पहरु थिए । अन्य इन्जिनियर र आर्किटेक्ट साथीहरुझै स्नातकपछि जुनियर आर्किटेक्टको रुपमा विभिन्न कन्सल्टिङ क्षेत्र, डिजाइन क्षेत्रमा प्रवेश गर्ने अवसरहरु पनि थिए । तर कारणवस मैले त्यसतर्फ ध्यान दिइनँ । करियरलाई अझै बलियो बनाउन र आफूलाई जे सहज लाग्छ सोही अनुरुप माथि उभिन चाहन्थेँ । करियरमा अझै निखार ल्याउन चाहन्थेँ । त्यसपछि सन् २०१८ मा मैले मिस नेपालमा भाग लिने निर्णय गरेँ । मिस नेपाल पनि बनेँ । नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने अवसर पाएँ । जसले मेरो करियरको यात्रामा अर्को ठूलो अवसर पैदा गरेको थियो । स्कुलदेखि हालसम्म आइपुग्दा मेरो करियरको लक्ष्य एउटै भए पनि फरक–फरक यात्राहरु गर्ने अवसर पाएँ ।

अहिलेसम्म अर्किटेक्चर मेरो प्राथमिक पेशाको रुपमा नदेखिए पनि म सामाजिक अभियन्ता, मोडल, सोसल मिडिया इनफ्लुएन्सरको रुपमा सक्रिय छु । हरेक समय म फरक–फरक भूमिकामा सक्रिय हुने गरेको छु । वास्तवमा आर्किटेक्चर यो समाजबाट अलग्गिन सक्दैन । यो समाजभित्रै र समाजसँगै रहिरहन्छ । समाज र विकाससँगै आर्किटेक्चरको स्कोप पनि सोही अनुपातमा बढिरहेको छ ।

त्यसैले त दुई वर्ष आर्किटेक्चरबाट ब्रेक लिएर मिस नेपाल, मोडल, सामाजिक अभियन्ताको रुपमा सक्रिय भएपछि पनि मलाई आर्किटेक्चरले फेरि तानेको छ । यतिबेला समाज र शहरी योजनाकारको रुपमा एक असल आर्किटेक्टको आवश्यक छ भन्ने मैले बुझेको छु । त्यसकारण आर्किटेक्चरमा विज्ञता हासिल गर्ने उद्देश्यले म यसलाई निरन्तरता दिने निर्णयमा पुगेको छु । मौलिक, दिगो र हरित आर्किटेक्चरल डिजाइनमा केन्द्रित रहने गरी साथी र मैले पुल्चोक ललितपुरमा गाथा डिजाइन नामक एक आर्किटेक्चरल फर्म पनि सञ्चालन गरेका छौँ । आशा छ, यसले नेपालको आर्किटेक्चर क्षेत्रलाई योगदान दिने, परम्परागत आर्किटेक्चरल डिजाइनलाई संरक्षण गर्नेे छ । साथै म भिक्टोर फाउन्डेसनमा पनि आवद्ध छु, जसले अतिक्रमणमा परेका सार्वजनिक स्थलहरुको पहिचान गर्ने कार्य गरिरहेको छ ।

योगदान
यतिबेला केन्द्र र स्थानीय सरकारलाई हेर्ने हो भने हाम्रो पुस्ताले विभिन्न विकास निर्माणहरु भइरहेको देखिरहेका छौँ । तर अझै पनि हरेक प्रदेशमा एक असल शहरी योजनाकारको खाँचो छ । त्यसैले मैले उच्च शिक्षा र अर्वन प्लानरको औपचारिक शिक्षा लिन हावर्ड युनिभर्सिटीमा अप्लाई गरेको थिएँ । नाम पनि निस्कीएको छ । आगामी सेप्टेम्बरदेखि युनिभर्सिटीमा आवद्ध हुनेछु । हावर्डबाट मेरो जीवनको नयाँ अध्याय सुरु हुँदैछ । यस यात्राले मलाई ‘इन्जिनियरिङ हिरो’को रुपमा समाजमा योगदान दिन मद्दत पुर्याउने विश्वास राखेको छु । अहिलेसम्मको अनुभव, कार्य र सिकाईले युवा इन्जिनियर र इन्जिनियरिङमा महिलाको लागि सपोर्ट, परिवर्तन र विकास भएको र आगामी दिनमा पनि हुने विश्वास राखेको छु ।

मैले अहिलेसम्म आफूलाई ‘इन्जिनियरिङ हिरो’को रुपमा चिन्न सकेको छैन । तर म एक असल आर्किटेक्ट एवम् ‘इन्जिनियरिङ हिरो’ बन्ने यात्रामा छु । पक्कै पनि मैले मेरो सपना पुरा गर्नेछु र यस क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो योगदान पुर्याउनेछु ।

(नेईएले आयोजना गरेको ‘इन्जिनियरिङ हिरो’ विषयक कार्यक्रममा खतिवडाले ब्यक्त गरेको विचारको सम्पादित अंश)

Your Opnion

//