‘आफ्नो देशमा संकट आएका बेला वा कोही संकटमा परेका बेला त्यसको समाधानमा हरेक युवा जुट्न जरुरी छ,’ भन्ने आफ्नो भनाइलाई आत्मसात गरी कोरोना कहरको संकटमा परेका बिरामी र फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीका लागि सहयोगी बनेर आएका एक इन्जिनियर हुन्, संजय पाण्डे । हाल उनी कैरो कन्स्ट्रक्सनमा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।
बुटवलका स्थायी निवासी पाण्डे पेशाले इन्जिनियर पनि हुन् । कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि सरकारले निषेधाज्ञा जारी गर्दा उनी कर्मथलो काठमाडौं छाडेर जन्मथलो बुटवल पुगे । करिब ५० दिनको बसाइमा उनले ‘मायाले भरिएको पोषणयुक्त टिफिन बक्स’ र ‘मायाले भरिएको खाद्यान्न’ नामक दुई अभियानमार्फत कोरोना प्रभावितलाई सहयोग गरे ।
जेठको पहिलो सातातिर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थाल्नु र अक्सिजनको हाहाकार मच्चिनुले उनको मनमा कोरोना संक्रमितका लागि केही गर्न सकिन्छ कि भन्ने सोच आउन थाल्यो । देशको एक जिम्मेवार युवा र इन्जिनियरका नाताले पनि केही गर्नुपर्छ भनेर हुटहुटी जागेको संजय सुनाउँछन् । त्यो पल सम्झँदै पाण्डेले इन्जिनियर्स पोस्टसँग भने, ‘कोरोना संक्रमित र स्वास्थ्यकर्मीहरूको अवस्था देखेर लिक्विड अक्सिजन ल्याउन सकिन्छ कि अक्सिजन प्लान्ट बनाउन सकिन्छ कि भन्ने अनेक सोच आउन थाल्यो । सोही क्रममा स्वास्थ्यकर्मी र कोरोना संक्रमित बिरामीलाई छिटो निको बनाउन पोषणयुक्त खाजा वितरण गर्ने कुरा एकाएक मेरो दिमागमा क्लिक भयो ।’
त्यस लगत्तै उनले जेठ ७ गतेदेखि औपचारिक रूपमा सुरु गरे ‘मायाले भरिएको पोषणयुक्त टिफिन बक्स’ अभियान । अभियानको मुख्य उद्देश्य थियो, बुटवलस्थित विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कोरोना संक्रमितलाई पोषणयुक्त खाजा खुवाउनु । अभियान सुरु गरिएको सुरुवाती एक/दुई दिन उनले रेस्टुरेन्टबाट खाजा ल्याएर बाँडे । ‘यो अभियान सुरु गर्दा सुरुमा रेस्टुरेन्टबाट खाजा ल्याएर लुम्बिनी अस्पतालमा गएर बाँडेँ । त्यसपछि अरू अस्पतालमा बाँडियो,’ यस्तो काम गरेको देखेर धेरैले सहयोग गर्न थालेको बताउँदै उनी सुनाउँछन्, ‘सुरुमा आफ्नै पैसाले सुरु गरेको यो अभियानमा पछि धेरै सहयोगीहरूले सहयोग गरे ।’ पछि रेस्टुरेन्टबाट ल्याउनुभन्दा आफैले बनाएको खाजा झनै स्वस्थ र पोषणयुक्त होला भनेर संजयको टोलीले आफै बनाएर वितरण गर्न थाल्यो ।
अभियानले जेठ १४ गतेदेखि जेठ २७ गतेसम्म लगातार टिफिन बक्समा प्रत्येक दिन फरकफरक आइटम राखेर बाँड्यो । पाण्डे भन्छन्, ‘टिफिन बक्समा हामीले कहिले खीरसँगै आलु मटर, कहिले पुरी तरकारी, कहिले चिकेन चाउमिन, कहिले ग्रेभी चना, अण्डा, केरा, कहिले समोसा अचार, कहिले हलुवा अचार, आलु प्याज पकौडा, ग्रेभी चिकेनलगायतका आइटम दिने गथ्यौंँ ।’
यसरी उनीहरुले प्रत्येक दिन बढीमा १ सय ९८ जनालाई खाजा पुर्याए । टिफिन बक्समा ‘मायाले भरिएको टिफन बक्स’ लेखिएको छाप लागेको हुन्थ्यो । यसले स्वस्थ्यकर्मी र बिरामीको आत्मविश्वास बढ्दै गथ्र्यो र झनै उत्प्रेरणा मिलेको उनी बताउँछन् ।
स्वास्थ्यकर्मी र बिरामीलाई मात्रै होइन आफुहरुले ड््युटीमा खटिएका सुरक्षाकर्मी र बाटोमा अलपत्र परेका मानिसहरूलाई पनि खाजा खुवाउने गरेको पाण्डे बताउँछन् । इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘यस अभियानमा हामीले सुरक्षाकर्मी, बाटोमा अलपत्र परेका र भोकले छटपटाइरहेका मानिसहरूलाई पनि खाजा खुवायौं ।’ १४ दिनसम्म निरन्तर चलेको अभियानमा धेरैले धेरै रकम सहयोगसमेत गरेको पाण्डेले बताए । उनले भने, ‘१४ दिनसम्म चलेको यस अभियानमा धेरैले सहयोगी दाताहरूबाट संकलन भएको रकममध्ये सबै खर्च कटाएर अझै पनि १ लाख ३६ हजार ५ सय ९३ रुपैयाँ बाँकी भयो ।’
सहयोगबाट संकलन भएको रकम बाँकी भएपछि उनलाई फेरि अर्को अभियान सुरु गर्ने सोच आयो । जुन अभियान उनले विपन्न वा सहयोगापेक्षीलाई लक्षित गरी चलाउन चाहन्थे । सोहीअनुसार उनले ‘मायाले भरिएको खाद्यान्न’ नामक अभियान सुरु गरे । उनले भने, ‘मायाले भरिएको पोषणयुक्त टिफिन बक्स अभियानबाट बचेको रकमले विपन्न वा सहयोगापेक्षी परिवारलाई राहत वितरण गर्ने भनेर ‘मायाले भरिएको खाद्यान्न’ नामक अर्को अभियान सुरु गर्यौंं ।’ यस अभियानमार्फत उनीहरुले बुटवल–११ को देवीनगर चौपारीका करिब १ सय ४८ विपन्न घरपरिवारलाई राहत वितरण गरे । उक्त अभियान असार ६ गते सम्पन्न गरेका छन् । कोरोना महामारीबाट समस्यामा परेकालाई यो सहयोगले केही राहत मिलेकाले आफू खुशी भएको बताउँछन्, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका पूर्व केन्द्रीय कोषाध्यक्षसमेत रहेका पाण्डे ।
संजय चर्चा कमाउनका लागि नभई यो देशको युवा भएका नाताले समस्यामा परेकालाई सहयोग होस् भनेर आफूले यस्तो अभियान थालेको बताउँछन् । गत जेठ १० गते आफ्नो वैवाहिक वार्षिकोत्सवका अवसरमा पनि विपन्नलाई राहत वितरण गरेका संजय भन्छन्, ‘भएकाहरुको सानो सहयोग कसैका लागि निकै ठूलो हुन सक्छ । त्यसैले सबैमा सेवा भाव भएमा यतिबेला साच्चै नै दु:खमा परेकाहरुले केही राहत पाउने थिए ।’
Your Opnion