हेड अफिस नजिकै एक हप्ता अगाडिदेखि नै बाढी आउने–सुक्ने क्रम चलिरहेको थियो । त्यसैले हामीलाई बाढीको खासै चिन्ता थिएन । आउँछ–जान्छ भन्ने सोचेका थियौँ ।
तर, २०७८ असार १ गते मंगलबार सिन्धुपाल्चोक र मेलम्ची आयोजनाका लागि एक कालो दिन बनेर आयो । बिहानैदेखि लगातार मुसलधारे पानी परिरहेको थियो । मेलम्चीको काम लगभग अन्तिम चरणमा पुगिसकेको थियो । इन्टेकको काम सकिसकेको थियो । टनेलको कामको परीक्षण सुरु गर्ने भनेर हामीले त्यही दिन दिउँसो ११ बजे टनेल बन्द गर्यौं । टनेल बन्द गरेर काठमाडौंमा पठाइरहेको पानी पनि हामीले खोलामै मिसायौं । त्यो पानी मिसाएपछि खोलाको सतह अलिकति बढ्ने त भयो नै तर ‘नर्मल’भन्दा खासै ठूलो पानी थिएन । दिउँसो २ बजेतिर खोलाबाट अचानक एक खालको गन्ध आयो । पानी पनि त्यसमा निकै कालो देखियो । ठूल्ठूला हरिया रूखसमेत बगाएर ल्याएको देखियो । त्यो दृश्य देखेर काम भइरहेको ठाउँमा आयो भने के होला भन्ने प्रश्न मनमा उब्जियो । तर, यसअघि यसैगरी बाढी आउने–जाने गरेको देखेको हुनाले ‘यस्तो त आउँछ जान्छ’ भन्ने लाग्यो ।
हाम्रो अफिस खोला भएको ठाउँभन्दा लगभग ५ मिटरको उचाइमा छ । खोलाभन्दा २ मिटर ‘हरिजेन्टल’ दूरीपछि १० मिटर अग्लो ग्याबिन उठेको स्थान छ । अफिस खोलाको किनारबाट नजिकै पर्छ । त्यहाँ हाम्रो दुई ओटा क्याम्प छ । एउटा क्याम्पमा इन्जिनियर र चिनियाँ प्राविधिकहरु बस्छन् भने अर्कोमा लेबर, ड्राइभरहरू बस्छन् । हेड अफिसबाट लेबर क्याम्प ५ मिटरको दूरीमा छ भने चिनियाँ क्याम्प १ हजार मिटरको दूरीमा अवस्थित छ ।
सवा ६ बजेतिर अफिसको छेउको ग्याबिन भत्काउन थालिसकेको रहेछ । भत्काएको देखेपछि म्यानेजर हेर्न जानुभयो । ‘बाढी ठूलो आए जस्तो छ, अब यहाँको ग्याबिन पनि भत्किन सक्छ’ म्यानेजरले भनेपछि हामीले अफिसमा भएको सामान, स्टोरको सामान ओसार्न थाल्यौं । ओसारेर १० मिटरमाथि राख्यौं । एकछिनमा बाढी अफिसमै आइपुग्यो । एक ठाउँमा सारिसकेको सामान फेरि अर्को ठाउँमा सार्न थाल्यौं । सो क्रममा दुवैतर्फका आर्मी क्याम्पबाट आएर हामीलाई सहयोग पनि गर्नुभयो । अरू बाँकी हाम्रो समान, लोडर, स्काभेटर, क्रेन आदि जस्ता सामान लेबर क्याम्प नजिकै राखिएका थिए ।
त्यहीबेला म्यानेजरले माथि क्याम्पमा राखिएको सामान पनि बचाउनुपर्यो भनेर मलाई माथि पठाउनुभयो । त्यसपछि क्रेन अपरेटर, लोडर अपरेटर र म लेबर क्याम्पमा गयौं । त्यो क्याम्पको वरिपरिको कुरा गर्ने हो भने पहिला क्याम्प छ त्योभन्दा माथि ब्याटिङ प्लान्ट छ, त्योभन्दा अगाडि सिमेन्ट स्टोर छ । मसँग गएका अपरेटरहरू लोडर र क्रेन लिएर इन्जिनियर भएको क्याम्पतिर जानुभयो । म चाहिँ माथिल्लो क्याम्पमै बस्ने ड्राइभरसँग सामान र मान्छेहरूलाई लिएर जानुपर्ने थियो । तर, ड्राइभरको फोन उठेन । फोन नउठेको भएर म त्यहीँ एकछिन् कुरेर बसिरहेको थिएँ । लेबरहरूले पनि हामीलाई लिएर जानुपर्यो भनेर भन्न थाले ।
लोडर र क्रेन गएको एकछिनपछि एउटा अनौठो आवाज सुनियो । जमिन पनि भूकम्प आएजस्तो हल्लिएको महसुस भयो । त्यतिबेला बेलुकाको लगभग सवा ७ बजिसकेको थियो । त्यसपछि सिमेन्ट स्टोर लडेको आवाज आयो । मेरो होस नै उड्यो । पछाडि हेर्ने अवस्था पनि थिएन । पछाडि नहेरिकनै म एक्कासि अगाडि दौडिएँ । दायाँतिर एउटा मान्छेलाई भीरतिर उक्लिँदै गरेको देखेँ । त्यता गएपछि बाँचिन्छ कि भन्ने खै कसरी दिमागमा क्लिक भएछ म त्यतैतिर लागेँ । मलाई थाहै छैन तर, मेरो कम्मरसम्म पानी भरिसकिएको थियो । कालो मैलो, हिलैहिलोको बाढी थियो । भीरमा आएका रूखका जरा समात्दै चार हातखुट्टा टेकेर माथि उक्लिएँ । जे होस् मलाई पानीले तान्न भने सकेन । म एकैचोटी करिब १० मिटर माथि पुगेपछि बल्ल पछाडि फर्केर हेरेँ । हेर्दा १० मिटर अग्लो ग्याबिन छोपेर लगभग १५ मिटर पानीको तह बढिसकेको थियो । क्याम्पका छानाहरू तैरिरहेको मात्रै देखेँ ।
मभन्दा अगाडि माथिल्लो क्याम्पमा बस्ने लेबर, ड्राइभर गरी ५/६ जना त्यहाँ पुगिसकेको रहेछन् । उनीहरू डराइरहेका थिए । म खाना खाएर छिटो निस्किसकेको हुनाले यहाँम्म आइपुगेँ । तर, ननिस्किएका साथीहरू बाँचे कि बाँचेनन् त्यतिबेला थाहै भएन । हामी माथि गइरहेका बेला एकदमै जोडले मुसलधारे पानी परिरहेको थियो । तल त्यस्तै डरलाग्दो आवाज छ । एक दुई जनाले मोबाइल बोकेका थिए । अँध्यारो भइसकेको थियो । हामी मोबाइलको लाइट बालेर माथि उक्लिरहेका थियौं । त्यही बेला एक जना करिब ५५ वर्षका भारतीय नागरिक खोलामा डुबिसकेर पनि बाँचेर निस्किएका रहेछन् । उहाँको शरीरमा कपडा नै थिएन । मैले उहाँलाई आफूले लगाएको ज्याकेट दिएँ ।
त्यहाँबाट फेरि हामी माथितिर लाग्यौं । त्यहाँको भौगोलिक अवस्था कस्तो थियो भने अलिकति चिप्लिएपछि फेरि त्यही खोलामा बग्ने सम्भावना थियो । एक जनाले मोबाइलले उज्यालो देखाइदिने, अर्कोले चार हातखुट्टा टेकेर माथि उक्लिने अवस्था थियो । यसरी बल्लतल्ल माथि उक्लियौं । अलिकति माथि पुगेपछि घनघोर जंगल आयो । कहिँ ढुंगा, कहिँ खाल्डो मात्र छ । बस्ने ठाउँ खोज्दाखोज्दै एउटा ठूलो ओडार भेटियो । एक जनासँग लाइटर पनि रहेछ । ओडारभित्र रहेका टुक्राटाक्री दाउरा र पात बटुलेर आगो बाल्यौं । ती भारतीय नागरिक डरले कामेर रोइरहेका थिए । उहाँलाई आगो नजिक ल्याएर सम्झाएपछि उहाँ अलि राम्रो देखिनुभयो ।
हामीभन्दा अगाडि आएकाहरू हामीलाई छोडेर गइसकेका थिए । मभन्दा पछाडि आएकाहरू सँगै भयौं । एक डेढ घण्टा जति हामी आगो तापेर त्यही ओडारमा बस्यौं । त्यतिबेला खोला झन् उर्लेर आयो । ठूलो आवाज निकाल्यो । खोलाको छालले भीरको पाखामा हानेपछि भूकम्प आएजस्तो महसुस् हुन्थ्यो । त्यसपछि मैले एक जना आर्मीलाई कल गरेर आफूहरूको सबै अवस्था बताएँ । मसँग भएकाहरू मेलम्चीको स्थानीय हुनुहुँदो रहेछ । उहाँहरूले फोन गरेर आफ्ना आफन्तहरूलाई खोला ठूला आइरहेको छ भनेर सतर्क रहन भन्नुभयो । यो ओडार पनि पहिरो परेर भत्किने हो कि भन्ने डरले हामी फेरि उकालो लाग्यौं । उकालो चढ्दा पनि चार हातखुट्टा बनाएरै चढ्नुपर्यो । जंगलमा डढेलो लागेका कारण घाँसका जार पनि पुक्क पुक्क उखिलिने अवस्थामा थियो । उकालो चढ्न निकै सकस पर्यो । यसरी बल्लतल्लत हिँडेर हामी एउटा मेलम्चीको क्याम्प जाने रोडमा पुग्यौं । त्यतिबेला राति १२ बजिसकेको थियो ।
त्यो रोडबाट हामी आर्मी क्याम्प भएको ठाउँतिर फर्किन खोज्यौं । लगभग डेढ घण्टा जति रोडैरोड हिँडेर हामी एउटा घरमा पुग्यौं । त्यो घरमा पुग्दा म बसेको अफिसका मान्छेहरू पनि त्यहीँ आइपुगेका रहेछन् । माथिल्लो क्याम्पबाट कति जना हराए भन्ने मलाई थाहा थिएन तर त्यहाँ आइपुगेपछि ३ जना सम्पर्कविहीन भए भन्ने कुरा आयो । एकजना चिनियाँ अपरेटेरको पूरै टाउको फुटेको रहेछ । प्राथमिक उपचारको सामान पनि नभएर लुगाकपडाले बाँधेर उनलाई राखियो । कसैको खुट्टा भाचिँएको थियो । यसरी त्यो कोठामा करिब २५ जना घाइतेहरू थिए । बाँकीहरूको कुरा सुन्दा कोही स्कुलको ग्राउन्ड, कोही कसैको घरमा र आर्मीहरू पनि तीम्बु बजारको स्कुलमा गएका छन् भन्ने खबर पायौं ।
उद्धारका लागि हेलिकप्टर बोलाउँदा भिजिविलिटी नभएका कारण बिहान मात्रै आउने कुरा भयो । खोलाको आवाज निकै डरलाग्दो आइरहेको थियो । त्यहाँबाट भागौं भने घाइतेहरूलाई लान पनि समस्या हुने भयो । त्योभन्दा माथि घर पनि छैनन् । त्यसैले हामी त्यहीँ बस्न बाध्य भयौं । यसरी कुर्दाकुर्दै साढे ४ बजेतिर उज्यालो भयो । बिहान तल क्याम्प फर्केर हेर्दा त त्यहाँ अफिस पनि छैन, गाडी, २ ओटा क्याम्प पनि छैन । सबै सम्म परेको देखियो । ५ मिटर फराकिलो भएर बग्ने मेलम्ची खोला बिहान हेर्दा त ३०/३५ मिटर फराकिलो भएछ । त्यो पनि पूरै हिलो मात्रै ।
हामीलाई उद्धार गर्न आउने हेलिकप्टर बस्नका लागि न ठाउँ छ न कहीँ जाने बाटो छ, न हामीसँग कतै जाने गाडी छ । धेरै समस्या भयो । एक ठाउँमा भर्खरै खनेको बाटोमा गाडी घुमाउने ठाउँ रहेछ । त्यसको वरिपरि रूख थियो । स्थानीयसँग कुरा गरेर ती रूखहरू काट्यौँ र हेलिकप्टरले ल्यान्ड गर्ने ठाउँ चिनोस् भनेर लुगाकपडाको झण्डा बनायौं । साढे सात बजेतिर हेलिकप्टर उद्धारका लागि आइपुग्यो । त्यसपछि घाइतेको प्रकृतिलाई हेरेर हामीले उपचारका लागि धुलिखेल र काठमाडौं पठायौं ।
त्यसको भोलिपल्ट फेरि हराएका ३ जना चिनियाँमध्ये २ जनाको शव भेटियो । अनि ३ जना भारतीयमध्ये १ जना ई. कमल लोचन महतोको शव पहिचान भयो ।
यो घटनाबाट मैले के थाहा पाएँ भने नेपाल यस्ता प्राकृतिक विपद्को जोखिमको सुरक्षाबाट निकै पछाडि रहेछ । यदि अरू कुनै देशको प्रोजेक्ट भएको भए सायद खोलामा यसरी बाढी आएको अवस्थामा के कसरी सुरक्षित हुने, सुरक्षाका उपाय कसरी अपनाउने भन्नेबारे थाहा दिइन्थ्यो होला । तर, यहाँ यस्तो कुरामा कसैलाई चासो नै छैन । मेलम्चीमा पनि कुनै एउटा संयन्त्र बनाएको भए जनधनको क्षति कम हुन्थ्यो कि जस्तो लाग्छ । अहिले आफूसँगै काम गर्ने ८ जनालाई गुमाउनुपर्दा एकदमै दु:ख लागेको छ ।
(इलेक्ट्रिकल इन्जिनियर दाहाल मेलम्ची खानेपानी आयोजनामा कार्यरत छन् । उनले आयोजनामा सिनो हाइड्रो कर्पोरेसनअन्तर्गत काम गरेको २० महिना भयो । यो लेख इन्जिनियर्स पोस्टले उनीसँगको कुराकानीमा आधारित भएर तयार पारेको हो)
Your Opnion