इन्जिनियर र विज्ञको टोलीसहित कसरी काम गर्छ, पहिरो व्यवस्थापन आयोजनाले ? - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Development

इन्जिनियर र विज्ञको टोलीसहित कसरी काम गर्छ, पहिरो व्यवस्थापन आयोजनाले ?

जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजना, नेपाल सरकारअन्तर्गत चार वर्षअघि सञ्चालनमा आएको हो । स्थानीय निकाय र प्रदेश सरकारले रोकथाम तथा नियन्त्रण गर्न नसकेका जोखिमयुक्त पहिरो रोकथामको कार्य यस परियोजनाले हेर्ने गर्छ ।

यस निकायमा विभिन्न कर्मचारीहरु आवद्ध छन् । भूगर्वविद्, जलविद्हरुले पहिरोको जोखिम रहेको स्थान एवम् जोखिमयुक्त पहिरो भएको स्थलबारे अध्ययन गर्ने गर्छन् । अध्ययनको रिपोर्टअनुसार इन्जिनियरहरुले पहिरो नियन्त्रण तथा रोकथाम कार्य अघि बढाउँछन् ।

जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका सिभिल इन्जिनियर विजय पौडेलकाअनुसार विभिन्न विज्ञहरुले गरेको जोखिमयुक्त पहिरोसम्बन्धी अध्ययनको रिपोर्टको आधारमा यस आयोजनामा आवद्ध सिभिल इन्जिनियरहरुले विभिन्न चरणमा रोकथामको कार्य अघि बढाउँछन् ।

अध्ययनको क्रममा विज्ञहरुले भौगोलिक अवस्था, भुगर्वविद्हरुले जमिनभित्रको पाटो हेर्छन् । अध्ययनपछि जमिनभित्रको धरातलबारे विवरण र रोकथामको अवधारणा तयार हुन्छ र सिभिल इन्जिनियरलाई काम दिइन्छ । सो अवधारणाको आधारमा सिभिल इन्जिनियरहरुले रोकथामको काम गर्छन् । पहिलो चरणअन्तर्गत रिपोर्टको कोटेसन हेर्ने हुन्छ भने आयोजनाकै समूहले जोखिमयुक्त क्षेत्रको स्लोप ज्यामिति मापन तथा आवश्यक उपकरण र विधिको निम्ती स्थलगत भ्रमण गर्छन् । स्थानअनुसार आवश्यक उपकरण र विधिमार्फत रोकथामको कार्य अघि बढाइन्छ । चरणअनुसार ग्याविन वाल, स्लोप सामग्री, रिटेनिङ वाल, रिरुटिङ सर्फेस, वृक्षारोपण, बायो इन्जिनियरिङ आदी विधिबाट रोकथाम कार्य गरिन्छ । कुन ठाउँमा कुन विधि प्रयोग गर्दा प्रभावकारी बन्छ सोहीअनसार जोखिमयुक्त पहिरो रोकथाम कार्य भइरहेको छ ।

जोखिमयुक्त क्षेत्र
नेपालमा सुख्खा पहिरो र वर्षायाममा जाने पहिरोहरु थुप्रै छन् । सिन्धुपाल्चोक, म्याग्दी, धादिङ, रामेछाप, मनाङ, दार्चुला, बैतडि, बाजुरा, लमजुङलगायत नेपालका थुप्रै जिल्ला जोखिमयुक्त पहिरोको जिल्लामा पर्छन् ।

जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाले पहिरोको क्षति र आकारअनुसार साना र ठूला पहिरो भनेर छुट्याएको छ । जसअनुसार आयोजनाले जनधनको ठूलो क्षति हुने र बस्ती नै जोखिममा राख्ने पहिरोलाई ठूलोमा राखेको छ भने आकारअनुसार १ सय मिटर चौडाई र २ सय मिटरभन्दा लामो पहिरोलाई जोखिमयुक्त पहिरोको सूचीमा राखेको छ । पहिरोको आकारअनुसार नै आयोजनाले रोकथामको कार्य अघि बढाउँदै आएको छ ।

आयोजनका सिभिल इन्जिनियर पौडेलकाअनुसार यस आयोजनाले हालसम्म नेपालभर करिब १० ठूला पहिरो र ३० साना पहिरो रोकथाम गरेको छ ।

सानाभन्दा ठूलो पहिरो बढी जोखिमयुक्त हुने हुँदा आयोजनाको प्राथमिकतामा ठूलो पहिरो पर्ने गरेको ई. पौडेल बताउँछन् । ‘नेपालमा साना पहिरो गनिसाध्य छैन । सानाभन्दा ठूला पहिरो बढी जोखिममा रहेकोले अहिले हामीले ठूला पहिरो रोकथामलाई प्राथमिकतामा राखेका छौँ’ इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘एकपटक गइसकेको पहिरो फेरि नजाओस् भनेर नियन्त्रण तथा रोकथाम गर्छौँ । कतिपय अवस्थामा भने जोखिमयुक्त रहेको सूचना पाएपछि पहिरो जानुअगावै रोकथामको कार्यक्रम अघि सार्छौँ । ठूला पहिरो रोकथामका लागि १ देखि २ वर्ष समय लाग्छ । अहिले पनि रोकथामको कार्य जारी छ ।’ हालसम्म आफूहरुले चालेको रोकथाम प्रयास प्रभावकारी रहेको पनि उनी बताउँछन् ।

जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाले विभिन्न सूचना तथा विवरणको आधारमा जोखिमयुक्त पहिरो क्षेत्रको जानकारी लिन्छ । सोही आधारमा कार्यक्रम अघि बढाउने गर्छ । कतिपय स्थानमा सर्वसाधारणलाई आयोजनाबारे थाह नभएकाले जोखिमयुक्त पहिरोबारे तीव्र रुपमा काम अघि नबढेको ई. पौडेल सुनाउँछन् ।

‘विभिन्न निकायबाट जोखिम छ भन्ने जानकारी आएमा हामीले अध्ययन थाल्छौँ तर, अधिकांशलाई हाम्रो आयोजनाबारे थाहा नहुँदा कतिपय जोखिमयुक्त पहिरोबारे हामीलाई पनि थाहा हुँदैन’ उनी भन्छन्, ‘त्यसैले हामीले अध्ययन र रोकथामको दायरा बढाउन सकिरहेका छैनौँ । लमजुङको दोर्जी गाउँ यतिबेला जोखिममा छ । पहिरोले १ मिटरभन्दा बढी क्षेत्र चर्किएको हुँदा जुनसुकै बेला पहिरो जाने खतरा छ । यस्ता क्षेत्रमा विज्ञसहितको टोली गएर बस्ती नै सार्ने गरिन्छ । यसरी जानकारी आएका क्षेत्रमा आफै फिल्डमा पुगेर काम गरिरहेका छौँ ।’

बजेट अभावले समस्या
कतिपय अवस्थामा भने बजेट अभावका कारण अध्ययन र रोकथाम कार्य प्रभावकारी नभएको उनी बताउँछन् । ‘जहाँ जोखिम छ त्यहाँ अध्ययन गर्दै पूर्वतयारी तथा सर्तकता अपनाउने गर्नुपर्ने हो । तर हाम्रो कार्यालयको नामअनुसार काम भने अझै हुन सकेको छैन’ इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘बजेट अभावले आयोजनाको लक्ष्यअनुसार काम हुन सकेको छैन । सिन्धुपाल्चोकस्थित लिदी क्षेत्रको पहिरोको लागि बजेट उपलब्ध भएन । विपद आएपछि मात्र के गर्ने भन्ने हुन्छ । यदि अध्ययन गरेर जानकारी लिन सकेमा योजना र तयारी सोही अनुरुपले गर्न सहज हुन्थ्यो ।’

यद्यपि, आयोजनासँग उपलब्ध भएको बजेटलाई मध्यनजर गर्दै कामहरु अघि बढिरहेको उनको भनाइ छ । ‘सरकार र आयोजनाको नजर परेको जोखिमयुक्त स्थानमा रोकथामका कार्यहरु जारी छन् । ती क्षेत्रमा पहिरोेकै कारण क्षति पुग्ने सम्भावना न्यून हुँदै गएको छ ।’

अध्ययन र विपद् रोकथामका लागि बजेट उपलब्ध भएमा पूर्वतयारीका साथ काम अघि बढ्ने र जोखिमयुक्त पहिरोलाई रोकथाम गर्न सकिन्छ । जस्तो सिन्धुपाल्चोककै दोर्बी भन्ने स्थानमा पहिरोले गाउँ नै बगाउने अवस्थामा छ । अध्ययन गर्दै, कार्यक्रम पार्दै आएकाले यो वर्ष उक्त क्षेत्रको अध्ययनको लागि बजेट छुट्याइएको छ भने आगामी वर्षमा रोकथामको कार्यक्रम राखिएको छ ।

पहिरो अनुमान गरिए बमोजिम नजाने हुँदा जोखिमयुक्त स्थलमा गएर काम गर्न सिभिल इन्जिनियर तथा अन्य प्राविधिक र विज्ञहरुले जोखिम मोल्नुपर्ने उनी बताउँछन् । ‘अहिलेको मौसमले गर्दा अध्ययनपछि जोखिमयुक्त क्षेत्रमा पुगेर काम थालिहाल्ने अवस्था छैन’ उनी भन्छन्, ‘हामीले अधिकांश रोकथामका कार्यहरु मौसम र स्थानअनुसार गर्दै आएका छौँ । जोखिम हुँदाहुँदै फिल्डमा जाँदैनौ तर जानै पर्ने अवस्था आयो र सम्भव भयो भने देशको हरेक कुनामा पुग्नुपर्ने हुन्छ ।’

Your Opnion

//