एरोन्युटिकल इन्जिनियरिङ विषय पढ्न चीन पुगेका अब्दुल मलिकले एरोन्युटिकल इन्जिनियर बन्ने ठूलो सपना र आशा बोकका थिए । इन्जिनियरिङ डिग्रीपछि जुस बेच्दै जिन्दगी चलाउनु पर्ला भन्ने उनले कल्पनासमेत गरेका थिएनन् । तर भइदियो कल्पना भन्दा बाहिरको कुरा ।
युएईबाट स्कुलिङ पुरा गरेका अब्दुल एरोन्युटिकल इन्जिनियरिङमा स्नातक गर्न चिनियाँ विश्वविद्यालयमा भर्ना भए । आफ्नो पढाइ पुरा गरेपछि उनी स्वदेशमै एरोन्युटिकल इन्जिनियरिङमा योगदान दिने योजना बुनेर पाकिस्तान फर्किए । उनले पाकिस्तान एरोन्युटिकल कम्प्लेक्स कम्रामा इन्टर्नको अवसर पनि पाए । उनले पेशेवर फ्लाइङ क्लबमा प्रशिक्षकको रुपमा काम पनि पाए । एक नीजि कम्पनीमा दुई वर्ष सहायक अफिसरको रुपमा काम गरेको अनुभव पनि उनीसँग छ ।
तर कामको अनुभव र इन्जिनियरिङ योग्यताको आधारमा उनले न चित्तबुझ्दो पद भेटे न त चित्तबुझ्दो तलब नै । ‘मैले देशभर रहेका एयरपोर्टहरुमा अप्लाई गरेँ, उड्ययन प्राधिकरणसँग सम्बन्धित कम्पनीहरुमा अप्लाई गरे तर आफ्नो योग्यता र अनुभवसँग मेल खाने पद कतै पनि भेटिनँ’ उनले भनेका छन्, ‘किन कि पाकिस्तानमा एरोन्युटिकल इन्जिनियरिङसँग सम्बन्धित जागिरको अवसर नै छैन । मेरो क्षमताअनुसारका कामहरु नै छैनन् ।’
ई. मलिक विभिन्न पाँच वटा भाषामा दक्ष छन् । उनी अंग्रेजी, चिनियाँ, उर्दु, अरबिक र पुस्तो भाषा राम्रोसँग बोल्न र लेख्न जान्दछन् । भाषा र ज्ञानको हिसाबले उनी अन्यत्र जागिर नपाउने पनि होइनन् । तर आफ्नो देशमा केही योगदान दिने र पारिवारको खर्च धान्ने उद्देश्यले पाकिस्तान फर्किएका उनी हाल कराची शहरमा जुस बेचिरहेका छन् ।
‘यतिबेला शहरको गल्लीमा खरभुजाको जुस बेच्नेबाहेक मसँग कुनै पनि विकल्प छैन’ उनले भनेका छन्, ‘सामान्य जागिरबाट कमाएको पैसाले न आफ्नो गुजारा चलाउन सकिन्छ न त परिवार धान्न सकिन्छ ।’
जुस बेच्न सुरु गर्नुअघि ई. मलिक ६ महिना बेरोजगार बस्नुपरेको थियो । अचेल उनका ग्राहक बढिरहेका छन् तर उनी भने आफ्नो उद्यमप्रति सन्तुष्ट छैनन् । ‘जुस बेच्न थालेपछि ग्राहकहरु बढिरहेका छन्, तर मलाई भने कुनै पनि सन्तुष्टि छैन’ उनले भनेका छन्, ‘मलाई आफ्नो भविष्य र करियर ध्वस्त भएको महसुस हुन्छ । मैले कमाएको डिग्री र सबै सर्टिफिकेट च्यातेर फालिदिन्छु । किन कि मेरो डिग्री र सर्टिफिकेट यस देशको प्रणालीमा कामै लाग्दैन । मेरो डिग्रीको महत्व देशको प्रणालीले बुझ्न सकेन ।’ –एजेन्सी
Your Opnion