‘स्थानीय तहमा प्रशासनिक हाकिमले इन्जिनियरलाई हेर्ने दृष्टिकोण परिवर्तन गरिदिए पुग्छ’ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
local government

‘स्थानीय तहमा प्रशासनिक हाकिमले इन्जिनियरलाई हेर्ने दृष्टिकोण परिवर्तन गरिदिए पुग्छ’

कुनै–कुनै स्थानीय तहमा इन्जिनियरलाई काम गर्न सहज भए तापनि प्राय: स्थानीय तहमा समस्या नै भएको इन्जिनियरहरूको गुनासो सुनिन्छ । अर्थात् स्थानीय तहमा इन्जिनियरलाई प्रशासनिक कर्मचारीभन्दा दोस्रो दर्जाको रूपमा हेर्ने गरेको महसुस भएको स्थानीय तहमा कार्यरत इन्जिनिरहरू बताउँछन् । तर, इन्जिनियरका समस्या बुझ्न इन्जिनियर नै हाकिम नै हुनुपर्छ भन्ने छैन । केबल इन्जिनियरलाई हेर्ने दृष्टिकोण परिवर्तन गरे पुग्छ भन्ने लुम्बिनी प्रदेश, दाङको दंगीशरण गाउँपालिकामा कार्यरत ई. प्रमोद गौतम बताउँछन् । उनै इन्जिनियरसँग इन्जिनियर्स पोस्टले गरेको कुराकानी :

स्थानीय तहमा इन्जिनियरहरूले काम गर्न कत्तिको सहज वा असहज छ ?
समग्र स्थानीय तहमा थुप्रै समस्या होलान् । तर, अन्य गाउँपालिकाको तुलनामा दंगीशरण गाउँपालिका अलि सहज नै छ । हुन त बाहिर–बाहिर कुरा काट्ने धेरै नै हुन्छन् । तर, हाम्रो गाउँपालिकामा प्राविधिकलाई काम गर्न खासै अप्ठ्यारो वा असहज भने छैन ।

दंगीशरण गाउँपालिकामा पर्याप्त इन्जिनियर छन् कि छैनन् ?
स्थानीय तहमा के हुन्छ भने एक जना सिभिल इन्जिनियरको दरबन्दी हुन्छ । त्यो पूरा छ । तर, पालिकामा त अन्य प्राविधिकको पनि खाँचो हुन्छ । यस्तो अवस्थामा हेर्ने हो भने प्राविधिक वा इन्जिनियरको खाँचौ नै देखिन्छ । इलेक्ट्रिकल विभागलगायत अन्य प्राविधिक क्षेत्रमा पनि सिभिलले नै हेर्नुपर्ने हुन्छ । यो हिसाबले हेर्ने हो भने प्राविधिकको कमी नै छ । खास गरी पालिकाको आयोजनामा विभिन्न ठूल्ठूला अस्पताल, विद्याललको निर्माण गरिन्छ । त्यसमा इलेक्ट्रिकल इन्जिनियरहरूको खाँचो हुन्छ । तर, ती प्राविधिक छैनन् । ठूलो समस्या नै छ ।

स्थानीय तहमा इन्जिनियरले प्रशासनिक दबाब अलि बढी नै खेप्नुपर्छ भन्ने छ नि, यो साँचो हो ?
हाम्रा हाकिहरू सबै प्रशासनिक नै हुन्छन् । प्रशासनिक हाकिम भएपछि इन्जिनियरलाई अलिकति दबाव त स्वत: रूपमा आउने कुरा हो । यो कहिलेकाहीँ मैले पनि महसुस गरेको छु । विशेषगरी पालिकाबाट भन्दा पनि वडाध्यक्ष वा जनप्रतिनिधिाहरूबाट अलि बढी दबाब आउने गर्छ । किनभने उहाँहरूलाई आफ्नो राजनीति बचाउनुपर्ने हुन्छ । उपभोक्ता भनेका उहाँरूका भोटर हुन् । त्यसैले उपभोक्ताले गरेको निर्माण कमजोर वा गुणस्तरहीन भए पनि प्राविधिक वा इन्जिनियरलाई राम्रो भन्न लगाउने समस्या कतिपय अवस्थामा आउँछ । मूल्यांकन हामीले गर्नुपर्ने हुन्छ । मूल्यांकन गर्दा कहिलेकाहीँ उहाँहरूको पैसा घटिरहेको हुन्छ । यस्तो अवस्थामा मिलाइदिनुपर्यो भनेर दबाब आउने गर्छ ।

जहाँजहाँ उपभोक्ता समितिले निर्माणका काम गर्छन् त्यहाँ त्यहाँ यस्तो समस्या आउने गर्छ । वडाध्यक्ष वा सम्बन्धित ठाउँमा जनप्रतिनिधिको अन्डरमा उपभोक्ता समिति हुन्छन् । यस्तो अवस्थामा हामीले नियममा चल्नुपर्ने हुन्छ तर जनप्रतिनिधिलाई राजनीति बचाउनुपर्ने हुन्छ । यहीँनेर कुरा मिल्दैन ।

इन्जिनियरको हाकिम इन्जिनियर नै भइदिए राम्रो हुन्छ भन्ने गरिन्छ, यसमा तपाईंको विचार के छ ?
इन्जिनियरको समस्यालाई मात्र हेर्ने हो भने यो दृष्टिकोण राम्रो हो । तर, मेरो विचारमा स्थानीय तहमा प्राविधिक शाखा मात्रै नभई अन्य धेरै शाखाहरू पनि हुन्छन् । प्रत्येकका लागि छुट्टै हाकिम सम्भव पनि छैन । त्यसमा पनि इन्जिनियर नै हाकिम भयो भने पनि पशु, कृषि, राजस्व सबै शाखा प्राविधिकले चलाउन सक्छन् जस्तो मलाई लाग्दैन । मुख्य कुरा के हो भने, प्रशासनिक हाकिमले प्राविधिकलाई हेर्ने दृष्टिकोण परिवर्तन गरिदिए सबै समस्या समाधान हुन्छ । बरु प्रशासनिक हाकिमले इन्जिनियरका लागि बेलाबेलामा तालिम ल्याइदिए, सेवासुविधा बढाइदिए समस्या समाधान हुन्छ जस्तो लाग्छ ।

तपाईं कार्यरत स्थानीय तहमा अहिले चालू नयाँ प्रोजेक्ट केही छ ?
दंगीशरण गाउँपालिकाअन्तर्गत अहिले थुप्रै प्राजेक्ट चालू छन् । तीमध्ये अहिले सबैभन्दा महत्वपूर्ण प्रोजेक्ट भनेको दंगीशरण गाउँपालिका–६ मा १५ शैय्याको अस्पतालको निर्माण भइरहेको छ । यो प्रोजेक्ट वैशाखमा सुरु भएको थियो । २ वर्षको अवधिमा सम्पन्न गर्ने गरी काम भइरहेको छ । यसैबीचमा दंगीशरण गाउँपालिकाको प्रशासनिक भवनको ठेक्का सम्झौता भइसकेको छ । यही हप्तामै अब यसको काम सुरु हुन्छ । त्यसैगरी कलन खोलामा पुल निर्माणका टेन्डर भइसकेको छ भने सम्झौता हुन बाँकी छ । यसको काम पनि अब केही दिनमै सुचारु हुने अवस्थामा छ ।

स्थानीय तहलाई तपाईंका केही सुझाव छन् कि ?
स्थानीय तहका इन्जिनियरहरू दोस्रो दर्जाको रूपमा हेरिएको देखिन्छ । यो कुरामा सरकारले ध्यान दिन जरुरी छ । त्यसैले हामीलाई पनि प्रदेश वा केन्द्रमा खटिएका इन्जिनियरले जस्तै सेवासुविधा दिनुपर्छ जस्तो लाग्छ । काममा राजनीति हुनु हुँदैन । राजनीतिक कारणले विकास निर्माण कमजोर वा गुणस्तरहीन बनाउन उत्प्रेरित नगर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्न चाहन्छु । त्यसैगरी कतिपय स्थानीय तहमा इन्जिनियरलाई बस्ने ठाउँको व्यवस्था भएको हुँदैन । जसले गर्दा काममा समस्या भइरहेको हुन्छ । यस्ता कुरामा पनि स्थानीय तहले ध्यान दिन जरुरी छ जस्तो लाग्छ ।

Your Opnion

//