शैक्षिक गतिविधिका लागि वैकल्पिक उपाय खोज्नैपर्छ: ई. अर्जुन पौडेल (अन्तर्वार्ता) - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

शैक्षिक गतिविधिका लागि वैकल्पिक उपाय खोज्नैपर्छ: ई. अर्जुन पौडेल (अन्तर्वार्ता)

ई. अर्जुन पौडेल काठमाडौं इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङ विभाग प्रमुख हुन् । सिभिल इन्जिनियरिङमा स्नातक र जियोटेक्निकल इन्जिनियरिङमा मास्टर्स गरेका उनी लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल छन् । उनै पौडेलसँग कोभिड–१९ ले इन्जिनियरिङ शिक्षामा पारेको प्रभाव, यस्तो अवस्थामा विद्यार्थी तथा कलेजहरुको भूमिका तथा आगामी रणनीतिका बारेमा इन्जिनियर्स पोस्टका आइबी चौधरीले गरेको कुराकानी:

विगतको वर्षमा कोभिड–१९ महामारीले शैक्षिक क्षेत्रमा पारेको असर साम्य हुन नपाउँदै दोस्रो–तेस्रो लहर सुरु भइसकेको छ । विशेषगरी यसले इन्जिनियरिङ शिक्षामा कस्तो असर पारेको छ ?
कोभिड–१९ को महामारीले सम्पूर्ण विश्व र मानव जातिको सिंगो जनजीवन नै अस्तव्यस्त बनाइरहेको बेलामा यसले इन्जिनियरिङ शिक्षामा पनि निकै ठूलो असर पारेको छ । भौतिक उपस्थितिमा लिनुपर्ने कक्षाहरू भर्चुअल माध्यमबाट पढाइ भइरहेको छ । ‘ल्याब बेस’ प्राक्टिकल हुन सकिरहेको छैन । परीक्षा दिएर बसेका विद्यार्थीहरूको नतिजा प्रकाशन हुन सकिरहेको छैन । परीक्षा हुनुपर्ने विद्यार्थीको परीक्षा हुन सकिरहेको छैन । यो परिस्थितिले यस्ता विविध समस्या उत्पन्न गराएको छ ।

अहिले भर्चुअल माध्यमबाट पढाइ त भइरहेको छ । तर, भौतिक उपस्थितिमा हुने पढाइ जत्तिकै प्रभावकारी हुन्छ त यो माध्यम ?
कोभिड–१९ को महामारीका कारणले अध्ययन–अध्यापन भौतिक कक्षाबाट भर्चुअल माध्यम वा ‘रिमोट एजुकेसन’ मा परिणत भएको छ । यसको सहज र असहज पक्षहरू एउटा सिक्काका दुई पाटा जस्तै हुन् । कक्षामा पूर्ण रूपमा उपस्थित हुनु र प्राध्यापकसँग अन्तक्र्रिया गर्नु सजिलो छ भने इन्टरनेटको समस्या, सफ्टवेयरमा आउने समस्या, साथै समकक्षी साथीहरूसँगको छलफल हुन नसक्नु यसको अप्ठ्यारा पक्ष हुन् । असहज परिस्थितिको सामना गर्दै कसरी सिकाइलाई सहज बनाउने भन्नेतर्फ ध्यान दिँदै, समस्याको समाधान गर्दै अघि बढ्नुपर्छ ।

कतिपय विद्यार्थी संगठनले अनलाइन माध्यमबाट हुने पढाइ रोक्न आग्रह गरिरहेका छन् । परिवारसँग समय ब्यतित गर्नुपर्ने, हेरचाह गर्नुपर्ने अवस्थामा अनलाइन बस्दा झन् डिप्रेस भएको कुरालाई तपाईंहरूले कसरी लिनुभएको छ ?
समग्र विश्व अझै पनि यस कोभिड–१९ को लडाइँमै छ । हामीलाई थाहा छैन कि यो समाधान भएर मानवजीवन सामान्य अवस्थामा फर्किन कति समय लाग्छ । यस्तो बेलामा पढाइ रोक्ने हो भने त शिक्षा क्षेत्र नै कता पुग्छ भन्न सकिँदैन । जसको परिवारमा हेरचाह गर्नुपर्ने छ अथवा आफैंलाई पनि संक्रमण भएर गाह्रो भएको छ, त्यस्तो विद्यार्थीहरूको सूची बनाएर राख्ने, ठिक नहुँदासम्म आराम गर भन्ने र निको भइसकेपछि उनीहरूको छुटेको कोर्सलाई पुन: पढाउनुपर्छ । शैक्षिक क्षेत्र अस्तव्यस्त भएका बेला फेरि चलिरहेको पढाइ पनि रोक्ने कुरा अलिक नसुहाउने खालको छ । जसले विद्यार्थीको पढ्ने बानी पनि हराउँदै जान्छ ।

महामारीले यस्तै रूप लिइरहने हो भने अझै २–४ महिना हाम्रा लागि जटिल नै छ । त्यसपछि पनि के हुने हो भन्न सक्ने अवस्था छैन । गत वर्ष कोभिडकै कारण विद्यार्थीको भविष्यमा असर परिसकेको छ । अब पनि अवस्था यस्तै रहिरह्यो भने परीक्षा पनि अनलाइन नै हुन आवश्यक छ कि छैन ?
धेरै जसो विद्यार्थीहरूको धारणा पनि इन्जिनियरिङ पेसा र ‘एकेडेमिक ग्रोथ’ मा भविष्यमा आउने अवसरहरूबाट वञ्चित हुने हो कि भन्नेमा नै छ । यसका कारण सेमेस्टरको पढाइ सकिनासाथ परीक्षा हुनुपर्छ । परीक्षाको मोडेल कस्तो हुने भन्ने विभिन्न बहस पनि चलिरहेको छ । यसलाई अब अन्तिम रूप दिनुपर्छ जस्तो लाग्छ । अनलाइन परीक्षा गर्ने हो भने यसका आधार र सीमाहरुबारे पनि बहस हुन जरुरी छ । परीक्षा विद्यार्थीका लागि पास हुने माध्यम मात्र नभएर उसको मूल्यांकनको आधार पनि हो । त्यसैले यस विषयमा कुनै पनि कदम चाल्दा गम्भीर भएर उचित ढंगले सोच्नुपर्छ ।

तपाईं लेक्चररसँगै इन्जिनियरिङ संघ, संगठनहरूमा पनि सक्रिय मान्छे । हुन तयतिबेला कलेजहरूका पनि आफ्नै समस्या होलान्, तर यो अवस्थामा विद्यार्थीले ‘फी’ मा कसरी छुट पाउनुपर्ला ?
यो संकटको समय हो । सबै क्षेत्र (रोजगार, व्यापार, व्यवसाय) मा यसले असर गरेको छ । अगाडिको लकडाउनको समयमा पनि कलेजहरूले केही छुट गरेकै हुन् । कलेजहरूको आफ्नो अवस्थालाई ध्यानमा राखेर विद्यार्थीहरूलाई ‘फी’ मा केही छुट दिनु पक्कै पनि न्यायोचित नै हुन्छ ।

अहिले विद्यार्थी घरमै रहेका बेला यो समयको कसरी सदुपयोग गर्नुपर्ला । विद्यार्थीलाई तपाईंका सुझावहरु के–कस्ता छन् ?
पहिलो कुरा त तनाव मुक्त भएर घरमै बस्नुहोस् भन्ने हो । स्वस्थ खानेकुरा खाने, पर्याप्त पानी पिउने, योग र ध्यान गर्ने । त्यसपछि आफ्नो पढाइमा ध्यान दिने र फुर्सदको समयमा कुनै सफ्टवेयर सिक्ने, अनलाइन ट्रेनिङहरू लिने जसले आफ्नो भविष्यमा केही आयाम थप्न सकियोस् ।

काठमाडौं इन्जिनियरिङ कलेजले शैक्षिक कार्यक्रमहरू कसरी सञ्चालन गरिरहेको छ । अहिलेको अवस्थामा कुनै रणनीति तय गरेको छ कि ?
काठमाडौं इन्जिनियरिङ कलेज त्रिविबाट सम्बन्धन प्राप्त कलेज भएको हुँदा इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) कै शैक्षिक कार्यक्रमलाई नै पछ्याउँदै अगाडि बढिरहेका छौं । भर्चुअल माध्यमबाट नै कक्षाहरू सञ्चालन भइरहेको छ । विद्यार्थीहरूको स्वास्थ्यको विषयमा नियमित छलफल, अन्तक्र्रिया भइरहेको छ । १ घण्टा नियमित योगाको कक्षा पनि संचालन भइरहेको छ ।

काठमाडौं इनिजनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरूको हालको नतिजा विगत २२ वर्षमा सबैभन्दा उत्कृष्ट भन्ने छ । यो विषयमा केही कुरा राखिदिनु हुन्छ कि ?
पक्कै पनि अहिले काठमाडौं इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरूको नतिजा राम्रो छ । उत्तीर्ण भएकाहरूमध्ये विशिष्ट श्रेणी (डिस्टिङ्सन) मा उत्तीर्ण हुनेहरूको संख्या पनि निकै राम्रो छ । कलेज, प्रशासन, प्राध्यापक र विद्यार्थीहरू सबैको मिहनेतबाट नै नतिजा राम्रो भएको हो । आगामी दिनमा पनि यो कायम रहन्छ ।

अहिलेको अवस्थालाई शैक्षिक क्यालेन्डर र विद्यार्थीको भविष्यसँग जोडेर हेर्दा आइओईलाई तपाईं के सल्लाह दिनुहुन्छ ?
भर्चुअल माध्यमबाट सैद्धान्तिक कक्षाहरू त सञ्चालनमै छन् । तर, प्रयोगात्मक कक्षाहरू हुन सकिरहेको छैन । कतिपय कलेजहरूमा धेरै संख्यामा प्राध्यापक र विद्यार्थीहरू संक्रमित भएका कारण कुनै कक्षाहरू बन्द पनि छन् । यस्तो समयका शैक्षिक क्यालेन्डर ‘रिभाइज्ड’ गर्न उपयुक्त हुन्छ । सेमेस्टरको समय धेरै ‘एक्सटेन्सन’ हुने हुँदा पनि विद्यार्थीको मनोविज्ञानमा असर पर्ने र भविष्यमाथि धेरै चिन्तित भएको अवस्थामा यसलाई निकै गम्भीर भएर सोच्नुपर्छ ।

महामारीले इन्जिनियरिङमा बायोमेडिकलजस्ता नयाँ विषयको आवश्यकता महसुस भएको छ । अब के–कस्ता बजारमुखी शैक्षिक कार्यक्रमहरू ल्याउनुपर्ला ?
महामारीले जनजीवनमा निकै ठूलो असर गरे तापनि यसलाई आउने दिनमा अवसरका रूपमा बदल्न सक्नुपर्छ । अस्पतालहरूको निम्ति अक्सिजन प्लान्ट स्थापना, आईसीयू, भेन्टिलेटरको अस्पतालहरूमा स्थापना, मर्मत सम्भार सबै कार्यका लागि सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङका विषयको आवश्कता अझै बढेर जाने सम्भावना देखिन्छ । अनुसन्धानमा आधारित शैक्षिक कार्यक्रम नै अबको आवश्यकता हो ।

नयाँ शैक्षिक कार्यक्रम आइओईले आफ्ना आंगिक क्याम्पसमा मात्र सञ्चालन गर्छ । निजी कलेजहरू त्यसका लागि सक्षम नभएर हो वा आइओईको प्रवृत्तिले गर्दा हो ?
निजी कलेजहरूले आफ्नो भौतिक संरचना, मानव स्रोत, प्रयोगशाला, पुस्तकालय जस्ता पूर्वाधारहरूलाई मजबुत बनाउनै पर्छ । शैक्षिक नतिजा र भौतिक संरचना उत्कृष्ट रहेका निजी कलेजहरूले आफ्नो नयाँ कार्यक्रम चलाउने इच्छा राख्छन् भने प्रक्रिया पुगेको अवस्थामा नयाँ कार्यक्रम थप गरिदिनु पर्छ ।

Your Opnion

//