अक्सिजन प्लान्ट निर्माणमा सरकारले बायोमेडिकल इन्जिनियरलाई परिचालन गर्न जरुरी छ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Blog

अक्सिजन प्लान्ट निर्माणमा सरकारले बायोमेडिकल इन्जिनियरलाई परिचालन गर्न जरुरी छ

  • सन्दीप कृष्ण श्रेष्ठ, बायोमेडिकल इन्जिनियरMay 15, 2021

कोभिड–१९ (कोरोना) संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपालका सबै निजी तथा सरकारी अस्पतालमा अक्सिजनको हाहाकार भएको छ । यसको कमीले दिन प्रतिदिन मृतकको संख्या बढ्दै गइरहेको छ । संक्रमण यसरी नै फैलिँदै जाने हो भने केही संख्यामा अन्य मुलुकबाट सहयोग स्वरूप मागेको अक्सिजनले पनि धान्न मुस्किल हुन्छ । त्यसैले यसको दीर्घकालीन समाधान खोज्नका लागि नेपालमै अक्सिजन प्लान्ट निर्माणको प्रक्रियालाई अगाडि बढाउन जरुरी छ । यसमा बायोमेडिकल इन्जिनियरहरू सरकारलाई सघाउन तयारी अवस्थामा छन् । सरकार पनि सकारात्मक भए हुन्थ्यो । किनभने अक्सिजन प्लान्ट निर्माणमा बायोमेडिकल इन्जियरको नै मुख्य भूमिका हुन्छ ।

वास्तवमा बायोमेडिकल इन्जिनियरिङ जीव विज्ञान र इन्जिनियरिङसँग जोडिएर बनेको हुन्छ । चिकित्सा र इन्जिनियरिङ सेवामा प्रगति गर्न यी दुवै सिद्धान्तको प्रयोग गरिएको हुन्छ । बायोमेडिकल इन्जिनियरिङले नै मानव चिकित्सालाई मेसिनसँग जोड्न मद्दत गर्छ । किनभने ती उपकरण वा मेसिनले चिकित्सकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिरामीको अवस्थाबारे जानकारी लिन मद्दत गर्छन् । ती उपकरणमा यदि अचानक ‘ब्रेकडाउन’ भयो भने सबै विफल हुन्छ । जसले बिरामीको उपचारमा प्रत्यक्ष असर पार्छ । त्यसैले यस्ता समस्या समाधान गर्न बायोमेडिकल इन्जिनियरहरू जिम्मेवार हुन्छन् । त्यसकारण सबै अस्पतालमा बायोमेडिकल इन्जिनियर हुन जरुरी छ । बायोमेडिकल इन्जिनियर नभएको अस्पतालमा मेडिकल उपकरणको ‘स्टाटस’ र ‘ट्रयाक’ नहुने सम्भावना धेरै हुन्छ र त्यसले गर्दा बिरामीको निदान र उपचारमा गम्भीर समस्या आउन सक्छ ।

अहिले नेपाल सरकारले अक्सिजन प्लान्ट बनाउने बारे सोचिरहेको छ । यो निकै राम्रो कुरा हो । तर, यसका लागि बायोमेडिकल इन्जिनियरलाई कसरी परिचालन गर्ने र यसका लागि केकस्ता उपाय तथा नीति अपनाउन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ ।

अक्सिजन प्लान्ट बिरामीका लागि निकै महत्वपूर्ण हुन्छ । उनीहरू यसकै साहारामा बाँचिरहेको हुन्छन् । गुणस्तरीय अक्सिजन प्लान्ट बनाउन झन् आवश्यक छ । त्यसमाथि यस्तो महामारीका बेला छोटो समयमा छिटो कसरी बनाउने भन्ने कुरा उत्तिकैै महत्वपूर्ण कुरा हो । त्यसैले मैले यहाँ अक्सिजन प्लान्ट कसरी बनाउन सकिन्छ भन्ने थोरै विश्लेषण गर्ने प्रयास गरेको छु ।

वायुमण्डलमा ७८ प्रतिशत नाइट्रोजन र २१ प्रतिशत अक्सिजन र अन्य ग्यास हुन्छ । यसबाट अक्सिजन उत्पादन गर्न सबैभन्दा पहिले वायुमण्डलमा भएको नाइट्रोजन फिल्टर गर्ने गरिन्छ । जसबाट हामीले ९५ देखि ९८ प्रतिशत शुद्ध अक्सिजन पाउन सक्छौं । यही सिद्धान्तको प्रयोग गरी ठूलो मात्रामा अक्सिजन उत्पादन गर्न सक्छौं ।

अक्सिनज उत्पादन गर्ने विभिन्न तरिकामध्ये एउटा ‘प्रेसर स्विङ एडसर्वेसन (पीएसए)’ विधि पनि हो । यो विधिको प्रयोग गरी ‘मोलिकुलर सेइभ’ जुलाइटबाट नाइट्रोजन ट्र्याप गरिन्छ र अक्सिजनको परमाणु तल्लो सतहबाट ‘पास’ हुने गर्छ । जिलाइटमा फरक–फरक प्रेसर दिएर नाइट्रोजनलाई फ्लस गरिन्छ र फेरि अक्सिजन निकासी गर्न सकिन्छ ।

त्यसैगरी अक्सिजन प्लान्ट निर्माण गर्न बलियो एयर कम्प्रेसर प्रयोग गरिन्छ र हावामा हुने ब्याक्टेरिया, भाइरस तथा साना–साना कणलाई फिल्टर गर्न सहायक फिल्टरको प्रयोग गरिन्छ । एयर कम्प्रेसरबाट आएको हावामा धेरै प्रेसर हुने भएकाले हावाको तापक्रम बढी हुने गर्छ र तापक्रम घटाउन ‘हिट एक्स्चेन्जर चेम्बर’ मा लगिन्छ । यसरी अन्तमा यो जुलाइट भरिएको ठाउँमा जान्छ, जसलाई जुलाइट टावर भनिन्छ ।

त्यस्तै, ‘पीएसए’ प्रविधिबाट नाइट्रोजन परमाणु फिल्टर र फ्लस गर्न सकिन्छ । त्यसैगरी अक्सिजनलाई सम्बद्र्धन गर्न सकिन्छ । सम्बद्र्धन गरिएका अक्सिजनलाई भण्डारण गरी केन्द्रीय अस्पतालको पाइपलाइन प्रणालीमा जडान गरिन्छ ।

अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया लामो छ । तर, आकस्मिक रूपमा कोरोना जस्ता महामारी वा समस्या आउँदा छिटो र छोटो समयमा बनाउनपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा कसरी निर्माण गर्ने भन्ने प्रश्न सबैको मनमा उठेको हुन्छ । बायोमेडिकल इन्जिनियरिङका दृष्टिकोणबाट यसको समाधान नभएको भने होइन ।

ठूला अक्सिजन प्लान्टको निर्माणमा केही बढी समय अवश्य पनि लाग्छ । यसका लागि हामीले अघि चर्चा गरेको विधि अपानाएर सानजो स्केलमा अक्सिजन उत्पादन गर्न सक्छौँ । जसलाई अक्सिजन कन्सेन्ट्रेटर पनि भनिन्छ । यदि हामीले प्रभावकारी अक्सिजन कन्सेन्ट्रेटर निर्माण गर्न सक्यौं भने भेन्टिलेटरको ‘लो प्रेसर अक्सिजन पोर्ट’ मा जडान गरी भेन्टिलेटर चलाउन सक्छौं । जसले यस्ता महामारीको कठिन समयमा हामीलाई अक्सिजनको आपूर्तिमा सहयोग पुग्छ ।

अब यहाँ आएर छोटो समयमा निर्माण गरिएको अक्सिजन प्लान्ट कत्तिको भरपर्दो हुन्छ भन्ने अर्को प्रश्न आउँछ । कुरा के हो भने अक्सिजन प्लान्टको विश्वसनीयता यसको परिणाममा भर पर्छ । अर्थात् अक्सिजनको शुद्धता र अक्सिजन निकासी दरमा भर पर्छ । त्यसैले यदि हामी अक्सिजन प्लान्ट वा कन्सन्ट्रेटर निर्माण गर्न सफल भयौं भने हामीले माथिका प्यारामिटर भुल्नु हुँदैन । किन भने यी प्यारामिटरले नै हामीलाई यसमा निर्भर हुने वा नहुने भन्ने बताउँछ ।

यदि हामी अक्सिजन प्लान्ट वा कन्सन्ट्रेटर निर्माण गर्न सफल भयौँ भने हामीले ती प्यारामिटरहरू दिमागमा राख्नुपर्छ । यदि हतारमा वा छोटो समयमा निर्माण गरिएको अक्सिजन प्लान्टमा शुद्धतालाई ट्रयाप गर्न सकेनौँ भने बिरामीको ‘एफआईओ टू अफ इन्स्पायर्ड अक्सिजन’ असर गर्छ ।

सम्भव भएसम्म हामीले भेन्टिलेटरमा कम दबाबको अक्सिजन प्रयोग गर्नुपर्छ । भेन्टिलेटरको प्रयोग गर्दा ‘एचएमईएफ’ फिल्टरको प्रयोग गर्नुपर्छ । किनभने यसले बिरामी र मेसिनलाई दूषित हुनबाट जोगाउँछ । यसका साथै हामीले ब्रेकडाउन न्यूनीकरण गर्न भेन्टिलेटरको नियमित रूपमा निरीक्षण र क्यालिब्रेट गर्नुपर्छ र यस्तोबेला अक्सिजन लिकेजलाई न्यूनिकरण गर्नुपर्छ ।
यस्तो काम गर्नका लागि नेपालमा हेर्ने हो भने तुलनात्मक रूपमा बायोमेडिकल इन्जिनियरिङको अभाव देखिन्छ । नेपालको सन्दर्भमा बायोमेडिकल इन्जिनियरिङ शब्दलाई बेवास्ता गर्ने गरेको पाइन्छ । तर, विस्तारै यसको महत्व ‘स्पटलाइट’ मा आउँदैछ । बढ्दो संख्या र जटिल चिकित्सा उपकरण प्रविधिसँग बायोमेडिकल इन्जिनियरिङको पनि उत्तिकै महत्व बढेको देखिन्छ । बायोमेडिकल इन्जिनियरहरू जहिले पनि अस्पतालमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । त्यसैले म बायोमेडिकल इन्जिनियरहरूलाई ‘अनसिन हिरोज’ हुन् भन्न चाहन्छु ।

हाल महामारी बढिरहेको बेलामा मुलुकमा अक्सिजनको निकै अभाव देखिएको अवस्थामा यसलाई यथाशीघ्र पूर्ति गर्न उपलब्ध अक्सिजन प्लान्टको मर्मत सम्भार गर्न जरुरी छ । साथै प्लान्टको द्रुत गतिमा विकासको सुरुआत र त्यसको कार्यान्वयन गर्न सरकारलाई सुझाव दिन चाहन्छु । त्यसका लागि परेको सहयोग गर्न हामी तयार छौँ ।

Your Opnion

//