प्रकृतिमैत्री घर– हरित आर्किटेक्चरका लागि ‘घर कन्स्ट्रक्सन’ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Architect

प्रकृतिमैत्री घर– हरित आर्किटेक्चरका लागि ‘घर कन्स्ट्रक्सन’

पछिल्लो समय हरित तथा दिगो आर्किटेक्चरको अवधारणा प्राथमिकतामा पर्ने गरेको छ । नेपालमा हरित आर्किटेक्चर अवधारणा सक्रिय रुपमा कार्यान्वयनमा नआए पनि अभ्यास भने भइरहेको छ । हरित आर्किटेक्चरको अवधारणासहित जन्म भएको एक कम्पनी हो, ग्लोबल हाउजिङ एण्ड रेजिडेन्स (घर) कन्स्ट्रक्सन । मानव स्वास्थ्य तथा पर्यावरणमा भवन निर्माण परियोजनाको असर कम गर्ने उद्देश्यसहित स्थापना भएको यस कन्स्ट्रक्सनले ललितपुरको कुपण्डोलमा कार्यलय स्थापना गरेर काठमाडौं उपत्यकाभित्र र बाहिर काम गर्दै आएको छ ।

यसरी जन्मियो घर
घर भूकम्प प्रतिरोधी घर डिजाइन तथा निर्माण र हरित अवधारणाको उद्देश्यसहित स्थापना भएको हो । चार वर्षअघि २०७४ सालमा स्थापना भएको घर कन्स्ट्रक्सनका संस्थापक एवम् सञ्चालक हुन्, ई. विराट संग्रौला । विराटनगरमा जन्मेका विराटले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानबाट सिभिल इन्जिनियरिङमा स्नातक तह पुरा गरे । सिभिल इन्जिनियरिङ गरेका अधिकांश व्यक्तिको प्राथमिकतामा टिकाउ तथा कंक्रिट भवन हुने गर्छन् । तर भवनसम्बन्धी रुचि भएका उनले स्नात्तकोत्तर तह हरित आर्किटेक्चरमा गरे । भवनसम्बन्धी आफ्नो रुचिले सिभिल इन्जिनियरबाट हरित आर्किटेक्चरको अवधारणा जन्माएको विराट बताउँछन् । ‘भवनप्रति एकदमै चासो राख्ने प्यासोनेट व्यक्ति भएकाले मैले हरित आर्किटेक्चरको अवधारणासहित करिब ४ वर्षअघि घर कन्स्ट्रक्सन खोलेँ’ उनी सुनाउँछन्, ‘सिभिल इन्जिनियरिङ पढेका अधिकांशले कंक्रिटलाई प्राथमिकतामा राख्छन् । तर मेरो रुचि हरित आर्किटेक्चरमा भएकाले यसमै केन्द्रित छु ।’

घर कन्स्ट्रक्सनले गर्ने काम
यस कन्स्ट्रक्सन कम्पनीले दिगो घरको अवधारणासहित आधुनिक बाह्य तथा आन्तरिक घर निर्माण एवम् डिजाइन, कम्प्याक्ट, न्यूनतम आवश्यकता, फ्युजन लगायत घर डिजाइन तथा निर्माण गर्दै आएको छ । घर डिजाइन तालिम, इन्टेरियर डिजाइनिङ, थ्रीडी मोडलिङ, निर्माण नीतिनियम कार्यान्वयन, गुणस्तरिय निर्माण सामग्री प्रयोग घर कन्स्ट्रक्सनका विशेषता हुन् ।

घर कन्स्ट्रक्सन चार वर्षअघि स्थापना भए पनि विगत दुई वर्षदेखि मात्र सक्रिय रुपमा अघि बढेको ई. संग्रौला बताउँछन् । भन्छन्, ‘हामी सक्रिय रुपमा लागेको २ वर्ष भयो । उपत्यका भित्र र बाहिरका ग्राहकको लागि भवन डिजाइन र निर्माणको काम गर्छौँ । हाम्रो मुख्य प्राथमिकता भनेको हरित आर्किटेक्चर र भूकम्पप्रतिरोधि घर हो ।’

के हो हरित आर्किटेक्चर ?
हरित आर्किटेक्चर आफैमा फराकिलो विषय हो । यस अवधारणाअन्तर्गत दिगो भवन डिजाइन तथा निर्माण, उर्जा उत्पादन र खपतमा आत्मनिर्भर भवन, त्यसका लागि अपनाइने रणनीति लगायत विषयहरु पर्दछन् । हरित अवधारणाका लागि स्थानीय निर्माण सामग्री मात्र प्रयोग गर्नुपर्छ भन्ने हुँदैन । सिमेन्टजन्य वस्तुबाट पनि यो अवधारणा अँगाल्न सकिन्छ । भवन डिजाइनको लेआउट, खुला ठाउँ, सूर्यको प्रकाश र हावाको गतिका लागि भवनको ओरियन्टेसन, भवन निर्माणमा प्रयोग हुने सामग्रीबीचको इन्सिुलिन देखि झ्यालको सिलिंग डिजाइन, वृक्षारोपण, फोहोमैला व्यवस्थापन, वाटर हार्भेष्टिङ लगायत रणनीति हरित अवधारणाअन्र्तगत पर्दछन् ।

ई. संग्रौलाकाअनुसार भवन बस्नलाई मात्र नभएर त्यसले त्यहाँभित्रको तापक्रम नियन्त्रण एवम् सन्तुलन पनि गर्नुपर्छ । हरित आर्किटेक्चर अवधारणा भएका घर उर्जामा आत्मनिर्भर हुन्छन् । प्राकृतिक रुपमा तापक्रम सन्तुलन गर्न सकेमा वातानुकुलित वस्तु चलाउन पर्दैन र उर्जा खपत कम हुन्छ । टिकाउ र भूकम्पप्रतिरोधी घर बनाउन सकिन्छ । सिमेन्टजन्य भवन नीति बमोजिम नै यस अवधारणामा जान सकिन्छ । हरित आर्किटेक्चरका एकाध रणनीतिसहित डिजाइन तथा निर्माण गर्न सकिन्छ । सिमेन्टजन्य भवनलाई नै हरित आर्किटेक्चरमा रुपान्तरण गर्न पनि सकिन्छ ।

किन जरुरी छ  ?
बढ्दो पृथ्वीको तापक्रम न्यूनिकरण र उर्जा खपत न्यूनिकरणका लागि पछिल्लो समय अमेरिका, युरोप, बेलायत, जापान, चीन र भारतलगायत विकसित मुलुकहरुले हरित आर्किटेक्चरको अवधारणा लागू गर्ने गरेका छन् । विकसित मुलुकहरुमा पनि कंक्रिटबाट बनेका संरचनाले मात्र ४० प्रतिशत उर्जा खपत गर्ने विभिन्न अध्ययनले देखाएको छ । पृथ्वीको तापक्रम बृद्धिको मुख्य कारण सिमेन्ट, आधुनिक निर्माण सामग्रीसँगै उर्जा उत्पादन र खपतले पनि हो । त्यसैले यसको समाधान तथा न्यूनिकरणको विकल्पको रुपमा हरित आर्किटेक्चरको अवधारणा उचित भएकाले आफूले पनि अनुसरण गरेको ई. संग्रौला बताउँछन् ।

‘विभिन्न अन्तर्राष्ट्रिय अध्ययनलाई हेर्ने हो भने घर तथा भवनहरुमा मात्र ४० प्रतिशत उर्जा खपत हुन्छ । यो भनेको ठूलो मात्रा हो’ इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘त्यसैले भवन निर्माणको सन्दर्भमा यो उर्जा उत्पादन र खपत न्यूनिकरणको विकल्पमा आएको अवधारणा हो ।’

भवनलाई कम उर्जा खपत गर्ने बनाउन सकेमा पृथ्वीको तापक्रमलाई सन्तुलनमा राख्न सकिने र हाम्रो जस्तो हिमालयन मुलुक तापक्रम बृद्धिको उच्च जोखिममा भएकोले हरित आर्किटेक्चर आवश्यक भएको उनी बताउँछन् । भन्छन्, ‘त्यसैले मैले पर्यावरणमैत्री तथा हरित आर्किटेक्चरको अवधारणासहित घर कन्स्ट्रक्सन स्थापना गरेँ ।’

टिकाउ
डिजाइनरले गर्ने डिजाइनको आधारमा हरित आर्किटेक्चर अवधारणा बोकका घरहरु टिकाउ, सस्तो/महंगो हुने ई. संग्रौला बताउँछन् । भन्छन्, ‘सस्तो या महंगो र टिकाउ घर डिजाइनरले कसरी डिजाइन गरेको छ र डिजाइन गर्दा कस्तोखाले रणनीति अपनाएको छ भन्ने कुरामा भर पर्छ । सिमेन्टजन्य वस्तुबाट पनि टिकाउ र सोही दरमा यस्तोखाले घर बनाउन सकिन्छ । एक्सपर्टले डिजाइन गरेको घर पक्कै टिकाउ र प्रभावकारी हुन्छ । विशेष रणनीति अपनाएर यसको सही डिजाइन गर्ने हो भने कंक्रिट जत्तिकै टिकाउ र उचित मूल्यमा हरित अवधारणासहितको घर बनाउन सकिन्छ ।’ घर कन्स्ट्रक्सनले औसत ७० लाख मूल्यमा घर निर्माण गर्दै आएको छ भने करिब १ लाख मूल्यमा यस्ताखाले भवनको डिजाइन गर्ने गर्छ ।

समस्या र चुनौती
नेपालको सन्दर्भमा हरित आर्किटेक्चर प्रबद्र्धन नहुनु, ग्राहकलाई कन्भिन्स गर्न र कार्यान्वयन गर्न नसक्नु मुख्य चुनौती रहेको ई. संग्रौला बताउँछन् । ‘हरित आर्किटेक्चर आफैमा नयाँ अवधारणा भएकाले र हामी विकासोन्मुख मुलुकमा भएकाले ग्राहकहरुलाई मनाउन गर्न गाह्रो छ’ उनी भन्छन्, ‘पर्यावरणमैत्री घर चाहियो भन्ने ग्राहक कम भेटिन्छन् ।’

ई. संग्रौलाका अनुसार यस्तो अवधारणासहितको घर टिकाउँ हुदैन भन्ने गलत बुझाईले नेपालमा हरित आर्किटेक्चरको अवधारणा चुनौतीपूर्ण छ । प्रकृति तथा पर्यावरणसम्बन्धी कसैलाई चासो नभएको कारण पनि यो अवधारणा कार्यान्वयनमा चुनौती थपिएको हो । नयाँ अवधारणा भएकाले नेपालमा हरित आर्किटेक्चरसम्बन्धी दक्ष जनशक्तिको पनि अभाव छ ।

यद्यपि, घर कन्स्ट्रक्सनले हरित आर्किटेक्चरका केही रणनीति अपनाउँदै घरहरु डिजाइन गर्दै आएको उनी बताउँछन् । ‘मलाई हरित आर्किटेक्चर सम्बन्धी ज्ञान भएकाले यसका केही रणनीति अपनाएर, भूकम्प प्रतिरोधी घरसँगै हरित अवधारणासहित भवन डिजाइन गरिदिन्छौँ’ उनी भन्छन्, ‘ग्राहकलाई मनाउन नसक्दा घर कन्स्ट्रक्सनले एकाध घरबाहेक हरित अवधारणा भएका घरहरु बनाउन पाएको छैन ।’

Your Opnion

//