२०७२ वैशाख १२ गते साँझ याज्जु श्रेष्ठ राजधानी काठमाडौंस्थित आफ्नो परिवारका सदस्यसँगै खाना खाँदै थिए । त्यो, गोरखाको बारपाक केन्द्रविन्दु हुँदै गएको ७.८ म्याग्नीच्यूटको भूकम्पपछिको साँझ थियो ।
पृथ्वीमा कुनै हथौडाले हानेर जमिन हल्लिएझै भएको क्षण, मानिसहरुको भागदौड र चिच्याहट, श्रेष्ठको दिमागमा अझै खेलिरहन्छ । ‘जीवनमा धेरै काम गर्छु भन्ने आशा मसँग थियो’ उनले भनेका छन्, ‘सोच्थेँ, आफ्नै लागि साचेका वास्तविक र अवास्तविक सपनाहरु जसोतसो पुरा गरेरै छाड्नेछु, कुनै दिन अहिलेसम्म पुग्न नसकेको ठाउँ पुग्नेछु र यसअघि नगरेका कुराहरु गर्नेछु । तर जब विनाशकारी भूकम्प गयो त्यसपछि भने म बुढेशकालसम्म बाँच्दिन झै लाग्यो । कलेज जान सक्दिनँ र मैले देखेका सबै सपनाहरु तुहिए झै लाग्यो । मेरो जीवन समाप्त भएझै लाग्यो ।’
भूकम्पपछि कैयौँ विस्थापित परिवारलाई काठमाडौं ल्याइएको थियो । काठमाडौं स्वयम् धरहरा, कैयौँ ऐतिहासिक क्षेत्र, विभिन्न संरचनालगायत कैयौँ मानिसको ज्यान गुमाएको पीडामा थियो । अस्पतालहरुमा घाइते छटपटाइरहेका थिए । श्रेष्ठले पनि यी सबै दृश्यावलोकन गरे र यस्ता विभिन्न दु:ख र पीडाबाट प्रेरणा लिए ।
‘सिभिल इन्जिनियरिङ पढ्छु भन्ने सोच पहिलेदेखि भए पनि भूकम्प गएको एक हप्तासम्म म के गर्ने के नगर्ने स्पष्ट नै थिइनँ, म यत्तिकै भौतारिरहेको थिएँ’ श्रेष्ठ सुनाउँछन्, ‘तर भूकम्पपछि धेरैले ज्यान गुमाएको देखेँ, हजारौँ घरबारबिहिन भएको देखेँ र थुप्रै संरचनाहरु भत्किएको देखेँ । त्यसपछि महसुस गरेँ कि, यस्तैबेला हो मैले केही न केही गरेर देखाउनुपर्ने । मैले सोचेको पुरा गर्ने समय पनि यही हो ।’
उनले अनुभव गरेको भूकम्प र भूकम्पले उनलाई सिकाएको पाठले जीवनप्रतिको उनको दृष्टिकोण र भविष्यबारे छर्लङ्गै पारिदियो । र, उनले एक दक्ष इन्जिनियर बन्ने निर्णय लिए ।
त्यसपश्चात उनी पहिलो पटक अमेरिका पुगे । उच्च शिक्षा र उज्जवल भविष्यका लागि अमेरिका पुग्ने अधिकांश नेपाली विधार्थीको व्यथा झै श्रेष्ठलाई पनि कुन कलेज भर्ना हुने, के गर्नेबारे कुनै ज्ञान थिएन । पहिल्यै अमेरिका पुगेका साथीहरुले श्रेष्ठलाई क्याम्ब्रिज विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कजेजहरु प्रख्यात भएकोबारे सुनाए । उनले अमेरिकाका विभिन्न कलेज र विश्वविद्यालयमा अप्लाई गरे । छात्रवृत्तीको अवसरमा कमी, विभिन्न कलेज तथा विश्वविद्यालयबाट अस्वीकृत र अमेरिकी पप कल्चर अनुसरणले श्रेष्ठले पढाइका लागि एक वर्ष ग्याप गरे ।
एक वर्षको अन्तरालमा उनले छात्रवृत्तीका लागि तयारी गरे । विभिन्न कलेज धाए र थुप्रै कुराबाट पाठ सिके । नभन्दै श्रेष्ठले सबैभन्दा कठिन मानिने युनिभर्सिटी अफ नेब्रास्का लिङ्कनबाट छात्रवृत्तीमा अवसर पाए र सिभिल इन्जिनियरिङ विषयमा भर्ना भए ।
भूकम्प गएको ६ वर्षपछि श्रेष्ठ मध्य अमेरिकाको नाब्रास्का विश्वविद्यालयबाट दिक्षित हुदैछन् । नाब्रास्कामा स्नातक तहको सिभिल इन्जिनियरिङ अध्ययन गरेका श्रेष्ठ त्यहीँ स्नातकोत्तर तहमा स्ट्रक्चरल इन्जिनियरिङ विषय अध्ययनका लागि यहि वर्ष भर्ना हुनेछन् ।
नेब्रास्का र काठमाडौंबीच आफूले पाएको भिन्नताबारे उनी भन्छन्, ‘दुवै शहर करिब ७ हजार ५ सय माइल टाढा छन् । नेपाल मेरो जन्मथलो हो भने एकाडेमिक थलो नेब्रास्का । मैले नेपालबाट कल्पना गरेभन्दा निकै भिन्न ठाउँ र माहोल छ यहाँ । नेपाल वास्तविक र यहाँ निर्विवादपन छ ।’
नेपालमा छँदा श्रेष्ठ स्कुलमा उत्तिर्ण हुन्थे । १ देखि १० कक्षासम्म उनी टप विधार्थीको रुपमा गनिन्थे । कक्षा ११ र १२ मा भने उनी तेस्रो स्थानसम्म हासिल गर्थे । ‘विगतलाई फर्केर हेर्दा मैले आफैसँग अस्वस्थ अपेक्षा गरेझै लाग्छ’ उनी भन्छन्, ‘खासमा म निरपेक्ष रुपमा राम्रो हुनुपर्थ्यो । कक्षामा कोही पनि प्रथम श्रेणीमा पास हुँदैनथे । त्यो पोजिसन सधै मैले नै कायम राख्नुपर्थ्यो । आफैमाथिको दबाब झै लाग्थ्यो । तर र्यांकिङमा यता भने फरक पाएँ ।’
र्यांक प्रणालीको दबाबविना श्रेष्ठले नेब्रास्कामा इन्जिनियरिङ विषयको पढाइ सुरु गरे । सुरुवाती सेमेष्टरमा औषत र्यांकमा पास भए पनि दोस्रो सेमेष्टरपछि भने उनले ४.० जिपिए ल्याएर उत्तिर्ण गरे । उक्त युनिभर्सिटीमा सबैभन्दा बढी जिपिए ल्याउने उनी पहिलो नेपाली विधार्थी बने ।
‘म स्कुलमा सबैभन्दा स्मार्ट बच्चा थिएँ तर पछि महसुस गरेँ म कक्षामा स्मार्ट भए पनि संसारभरको स्मार्ट होइन’ उनी भन्छन्, ‘त्यो बुझाई मेरा लागि सबैभन्दा महत्पूर्ण थियो । मनमनै सोचेँ, जोकोही राम्रो हुन सक्छ । आफू आफैभन्दा राम्रो बन्न कोसिस गर्नुपर्छ र सबैभन्दा उत्कृष्ट बन्न कोसिस गर्नुहुँदैन । सफल हुनका लागि यो महत्वपूर्ण पाठ हो ।’
अझै पनि श्रेष्ठ जस्तासुकै अपरिचित चुनौतीहरुको सामना गर्न तयार छन् । चुनौती सामना गर्दा आत्मनिर्भर भएर गर्न चाहन्छन् । ‘मसंग थुप्रै कथाहरु छन्, जुन अधिकांश नेपालबाट आएका विधार्थीसँग छैनन्’ उनी भन्छन्, ‘मजस्तै देखिने विधार्थी यहाँ भेटिनुपर्छ भन्ने छैन र मैलेझै सबैले कुनै पनि विषयलाई महत्व दिनुपर्छ, मैलेजस्तै गर्नुपर्छ भन्ने पनि छैन । म यहाँ भए पनि मेरो मुलुकको आवाज भएर देशको प्रतिनिधित्व गर्न चाहन्छु । आफूले देखेको सपना र बनाएको योजना त्याँग्नुहुँदैन भन्नेबारे मैले राम्रोसँग बुझिसकेको छु ।’
स्नातकोत्तर तहसम्मको पढाइपछि अमेरिकामै बस्ने या नेपाल फर्किनेबारे श्रेष्ठले कुनै योजना बनाएका छैनन् । तर हालसम्म जीवन, संघर्ष र पढाइबाट ठूलो पाठ सिकेको महसुस भने उनले गरिसकेका छन् ।
‘भूकम्पपछि मैले हालसम्म जीवनमा धेरै पाठ सिकिसकेको छु । भूकम्पले विभिन्न संरचना भत्काएको हुँदैनथ्यो भने मेरो सिभिल इन्जिनियरिङ र स्ट्रक्चरल इन्जिनियरिङ विषय पढ्न रुचि जाँग्दैनथ्यो । सुरक्षित संरचनाबारे केन्द्रित हुँदैनथे । त्यसैले जहाँ भए पनि आगामी चुनौतीको सामना गर्न सक्छु भन्नेमा म ढुक्क छु’ उनी भन्छन् ।
श्रेष्ठका बुवाआमा र दुइ बहिनी नेपालमै बस्छन् । उनले युनिभर्सिटीमा नेपाली र थुप्रै विदेशी साथीहरु बनाएका छन् । नेब्रास्का युनिभर्सिटीबाट यही मे महिनामा करिब ३ हजार ६ सय विधार्थी दिक्षित हँुदैछन् ।
(युनिभर्सिटी अफ नेब्रास्का लिङकनको वेबसाइट ‘नेब्रास्का टुडे’बाट अनुवादित अंश)
Your Opnion