नियम विपरीत बर्दिवास नगरपालिकाले माग्यो नवौं तहका लागि करारमा इन्जिनियर - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
local government

नियम विपरीत बर्दिवास नगरपालिकाले माग्यो नवौं तहका लागि करारमा इन्जिनियर

प्रदेश नं. २ को महोत्तरीस्थित बर्दिवास नगरपालिका नगर कार्यपालिका कार्यालयले नवौं तहका लागि सिभिल इन्जिनियर सेवा करारमा माग गर्‍यो । २०७८ वैशाख १८ गते पहिलोपटक प्रकाशित उक्त विज्ञापनमा सो पदका लागि सेवा करारमा इन्जिनियर मागेको हो । जसको इन्जिनियरहरूले सामाजिक सञ्जालमार्फत चर्को विरोध गरिरहेका छन् । नवौं तहमा सेवा करारमा नियुक्त गर्ने कुनै प्रावधान वा नियम नरहेका कारण यस्तो गलत कदमविरुद्ध इन्जिनियरहरूले विरोध गरेका हुन् ।

नवौं तह भनेको हाकिम अर्थात् नेतृत्व गर्ने तह हो । यस पदका लागि करार सेवामा नियुक्त गर्नु वास्तवमा गलत अभ्यास भएको बताउँछन्, लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली । उनले इन्जिनियर्स पोस्टलाई भने, ‘नवौं तहमा करार सेवामा राख्न पाइँदैन । यदि राख्नैपर्ने अवस्था आएमा विज्ञापनमा परामर्श दाता (कन्सल्ट्यान्ट) भनी खुलाउनुपर्ने हुन्छ ।’ तर, सो नगरपालिकाले त्यस्तो कुनै विषय खुलाएको छैन ।

मैनालीको कुरामा सहमति जनाउँदै नेपाल सरकारका पूर्वसचिव इन्जिनियर भीम उपाध्याय पनि नवौं तहमा करार सेवामा राख्न नमिल्ने बताउँछन् । उनी भन्छन्, ‘वास्तवमा रेगुलर पोस्टहरूमा सितिमिति करारमा राख्न निजामती सेवाले नै रोकेको छ । तर पनि जानेर वा नजारेर कहिँकतै यस्तो गलत कदम चालेको पाइन्छ भने त्यो मनोमानी हो ।’

यसै कुरालाई जोड्दै पूर्वअध्यक्ष मैनाली पनि यस्तो अभ्यास कतै भएको भए यो गलत प्रवृत्ति भएको बताउँछन् । ‘माथिल्लो तहमा करारमा राख्न पाइँदैन । यो नियम कहिँ पनि छैन । लिनै पर्ने भए कन्सल्टेन्ट भनेर लिनुपर्‍यो कि तह भन्नु भएन,’ उनले इन्जिनियर्स पोस्टलाई भने, ‘योे गलत अभ्यास हो । तर, सुरुका तहमा भने सेवा करारमा राख्न मिल्ने प्रावधान छ ।’

त्यसैगरी, नवौं तहका लागि हाउसभित्रैबाट बढुवा गरी पदपूर्ति गर्नुपर्ने बताउँछन्, पूर्वसचिव ई. उपाध्याय । भन्छन्, ‘परामर्श दाताका लागि लिने हो भने उसको योग्यता, क्षमता, अनुभवका आधारमा राख्न सकियो तर, पदको हिसाबले माग्न मिल्दैन,’ उनले भने, ‘आजसम्म मैले यो तहमा करार लिएको सुनेको पनि छैन र देखेको पनि छैन ।’ उनका अनुसार देशमा यस्तो अभ्यास बढ्दै गयो भने अनियमितता बढ्ने सम्भावना बढी हुन्छ । ‘यो सैद्धान्तिक रूपमै गलत हो । व्यापक रूपमा यसको आलोचना हुनुपर्यो । योे गलत कदम रोक्नैपर्छ । यो पद्धति ठिक होइन,’ इन्जिनियर्स पोस्टसँग उनले भने ।

यस्तो गलत अभ्यास बर्दिबास नगरपालिकाले किन गर्यो त ? यस विषयमा बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीलाई सोध्दा उलने विज्ञापनमा त्रुटि भएको बताए । उनले इन्जिनियर्स पोस्टलाई भने, ‘हामीले परामर्श दाता भनेर नै मागेका हौं । यो करार सेवामा माग गरिएको होइन । तर, विज्ञापनमा नवौं तह सेवा करार लेखिएको रहेछ । हामी यसलाई संशोधन गर्छौं ।’

विज्ञापनमा त्रुटि भएकै भरमा इन्जिनियरहरूले विरोध गरेको हुन सक्ने उनको भनाइ छ । ‘हामीले हाम्रो निर्णयमा परामर्श दाता भनेर राखेका छौं,’ अधिकृत पराजुलीले इन्जिनियर्स पोस्टलाई भने, ‘यदि कुनै विशेष प्रकृतिको काम गर्नुपर्यो भने त्यतिबेला परामर्श लिनका लागि परामर्श सेवाअन्तर्गत नै विज्ञ राख्न खोजेका हौं । विज्ञापन अलि मिस्टेक छापिएको हो । यसलाई हामी सच्याउँछौं ।’

नगरपालिकाले आफ्नो गल्तीबाट जोगिन जेजस्तो कुरा गरे पनि पत्रिकामा प्रकाशित विज्ञापन होस् या नगरपालिकाको वेभसाइटमा राखिएको विज्ञापन होस् दुवैमा ‘नवौं तहका लागि करार सेवा’ नै उल्लेख गरिएको छ । यदि परामर्शदाता नै मागिएको हो भने नगरपालिकाले आफ्नो वेबसाइटमा राखेको सूचना सच्याउनुपर्ने हो । तर, बैशाख २४ गते बिहानसम्म सच्याइएको छैन ।

स्थानीय तहले पाँचौँ या छैटौं तहमा मात्र करारमा कर्मचारी माग गर्ने अभ्यास छ । लोक सेवाले भने यो अभ्यास पनि गलत भएको बताउँदै आएको छ ।

हेर्नुस्, विज्ञापन

Your Opnion

//