एक इन्जिनियरको कारोना अनुभव– म त बाँचे, तपाईंहरु नि यसरी बाँच्नुहोस् - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Blog

एक इन्जिनियरको कारोना अनुभव– म त बाँचे, तपाईंहरु नि यसरी बाँच्नुहोस्

  • ई. विजय पौड्यालMay 5, 2021

बैशाख १० गते शुक्रबार हल्का शरीर दुख्यो । शनिबार रुघाले सतायो । मौसम परिवर्तन भएकाले सिजनल रुघा–ज्वरो होला भन्ठानेँ । १५ गते टिचिङ अस्पतालले चिनियाँ खोप वितरण गरिरहेको थियो । खोपसँगै कोरोना परिक्षण पनि गर्नुपर्यो भनेर टिचिङ अस्पताल पुगेँ । सुरुमा खोप लगाएँ अनि कोरोना परिक्षण गरेँ । साँझ मोबाइलमा मेसेज आयो, ‘कोरोना पोजेटिभ’ भनेर । रिपोर्ट पोजेटिभ आएको दिनदेखि नै बनस्थली ढुंगेधारास्थित होम आइसोलेसनमा छु । परिवारमा मबाहेक सबै जनाको रिपोर्ट नेगेटिभ आयो । उहाँहरुलाई कुनै पनि लक्षण देखिएको छैन । पहिलो चरणको कोभिडमा परिक्षण गराउँदा मलाई पनि पोजेटिभ देखिएको थिएन ।

पीडा भोगेँ
मेरो केसमा कोरोनाको लक्षण शरीर दुख्नबाट सुरु भएको थियो । दोस्रो दिन रुघाले च्याँप्यो । रुघा निको भएपछि एक्कासी खोकीले च्याँप्यो । टाउको र आँखा दुखेर हैरान पार्यो । ज्वरो आउने, ज्यान आलश्य हुने भयो । दुई तला माथिको भर्याङ चढ्न पनि निकै गाह्रो भयो । पखाला पनि लाग्यो । सबै लक्षण देखिएपछि अब बाँचिदैन कि भन्ने लागेको थियो । श्रीमती स्टाप नर्स हुन् । उनले पनि राम्रोसँग केयर गरिन् । विस्तारै लक्षणहरु निको हुँदै गयो ।

दोस्रो लहरको कोभिडमा ज्वरो, खोकी, रुघा, शरीर दुख्ने, पखाला लाग्नेलगायत लक्षण देखिन्छन् भनिएको छ । ती भनेका लक्षणमध्ये एउटा लक्षण पनि नछुटाइकन वैशाख १० गतेदेखि मैले लामो समय पीडा भोग्नुपर्यो । तर, आत्मबल कमजोर पारिन । आत्मबल कमजोर भयो भने कोरोनाले गाँज्दै लान्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो । त्यसैले, अब मरिन्छ कि के हो भन्ने भाव आउँदा कोरोना लागेका सबै मरेका छैनन्, जटिल अवस्था भएकाहरु पनि बाँचेका छन्, म पनि निको हुँदै छु भन्ने सकारात्मक भावना मनमा खेलाएँ ।

उपचार
खानपानमा निकै ध्यान दिनुपर्ने रहेछ । मलाई कोरोनाले च्याँपेकाले खानामा रुचि थिएन । जसले गर्दा कोरोनाले झन् सतायो । यद्यपि, हालसम्म घरकै खाने कुरा र झोलिलो पदार्थ लिइरहेको छु । डाक्टरको सल्लाहअनुसार भिटामिन डी, भिटामिन सी, जिंक ट्याब्लेट, सिटामोल र खोकीको औषधि खाइरहेको छु । मेरो शरीरमा भिटामिन वी–१२ पनि कम भएकाले त्यो पनि लिइरहेको छु ।

संक्रमितले व्यायाम पनि गर्नु उचित भनिन्छ । त्यो त शरीरले सक्यो भने न गर्ने हो ! अहिले अलिक विशेक भएको छ । अझै अलिक सञ्चो भएपछि घरमा गरिने केही व्यायाम पनि गर्नुपर्छ ।

अचम्मित छु
म काठमाडौँ प्रवेश गरेको ४ वर्ष भयो । चार वर्षसम्म मास्कबिना म बाहिर निस्केको याद छैन । बाइकमा हिँड्दा, अफिस जाँदा, बाहिरी धुवाँधुलोबाट बच्न मास्क प्रयोग गरिरहेको छु । कोभिड लहर सुरु भएदेखि नै म डबल मास्क लगाएर हिँड्छु । घरबाट सिधै अफिस र अफिसबाट सिधै घर आउनेजाने गर्छु । चिया–खाजा खान पनि कतै जाने गरेको थिइन । अफिसबाट फिल्ड भिजिटमा जाँदा पनि आफ्नै टोली हुन्छ । उहाँहरुसँगै जान्छु । मेरो श्रीमती टिचिङको स्टाफ नर्स हो । उनी दिनरात नभनी अस्पतालमा सेवामा खटिएकी छिन् । संक्रमणबाट बच्न अस्पतालबाट घर फर्किदा जहिल्यै हामीले भन्दा बढी सावधानी अपनाउँछिन् । यति धेरै सावधानी अपनाउँदा पनि कोरोनाको संक्रमण कहाँबाट भयो म आफै अचम्मित छु । पक्कै कतै कुनै गल्ती भएकै हुनुपर्छ ।

सबै जोगिनुहोस्
कोरोना सबैको दुस्मन हो । यसबाट बाँच्नुपर्छ । कोरोनाकै कारण २८ वर्षका ई. सञ्जिव पन्त भाइ बित्नुभयो । उहाँ स्वस्थ, उमेरले युवा हुनुहुन्थ्यो । त्यसैले यो कोरोनाले न कसैको स्वास्थ्यस्थिति हेर्छ न त कसैको उमेर । ज्यान रहे न सबथोक रहन्छ । बाँच्यो भने संसार देख्न पाइन्छ । संसार देख्न अझै धेरै बाँकी छ ।

त्यसैले यो महामारीमा सबै जना घरभित्रै बसिदिनुहोस् । तरकारी र सामान किन्ने, कोरोना परिक्षण गर्ने बहानामा अनावश्यक बाहिर नडुल्नुहोस् । आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित बनाउनुहोस् । सबैका लागि यो नै मेरो आग्रह हो । कोरोनाको लागि धेरै नै सावधानी अपनाउनु पर्छ । जति नै सावधानी अपनाउँदा पनि थाहै नपाइकन संक्रमण हुने कोरोनाबाट जोगिनै पर्छ । त्यसका लागि भिडभाडमा नजानुहोस्, कतै जानै परे सुरक्षित भएर मात्र जानुहोस् । म त जसोतसो बाँचे अब तपाईंहरु पनि बाँच्नुहोस्, अर्थात, कोरोना लाग्नै नदिनुहोस् । त्यो भनेको तपाईंको सावधानी नै हो ।

(पोखरा स्थायी घर भएका ई. पौड्याल पुल्चोकस्थित जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनामा कार्यरत छन्)

Your Opnion

//