नेपालका विश्वविद्यालयलाई आपतकालीन कोभिड–१९ अस्पताल बनाउन ढिला नगरौँ - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Blog

नेपालका विश्वविद्यालयलाई आपतकालीन कोभिड–१९ अस्पताल बनाउन ढिला नगरौँ

  • ई. डा. विकास अधिकारीMay 4, 2021

विश्वमा कोभिड–१९ (कोरोना) महामारीको दोस्रो लहर फैलिएसँगै नेपालमा पनि यसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । महामारीले कुनै समस्या ननित्याइसकेको अवास्थामा मात्रै सरकारले ‘हाम्रो स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेको’ बताइरहेको छ । यदि साच्चै महामारी जटिल बने अवस्था के होला ? के यसरी सरकार जनताको स्वास्थ्य सुरक्षाको जिम्मेवारीबाट पन्छिन पाउँछ ? पक्कै पाउँदैन । बरु, सरकारले कम खर्चमा कसरी कोरोना रोकथामको उपाय वा विकल्प अपनाउन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ ।

सरकारलाई कोरोनाबारे चिन्ता नभएको भने होइन । तर, सरकारसँग महामारीसँग कसरी जुध्ने वा सामाना कसरी गर्ने भन्ने ‘प्रोपर आइडिया र भिजन’ छैन । त्यसैले यस्तो आइडिया दिने काम बौद्धिक वर्गहरूको हो । ती बौद्धिक वर्ग भनेका विश्वविद्यालयमा पाइन्छन् । त्यसैले सरकारले बजारका व्यापारिक कन्सल्ट्यान्टको कुरा सुन्नुभन्दा विज्ञको सल्लाह र सुझाव लिन आवश्यक छ ।

अहिले सरकार कसको राय वा सुझाव लिने भन्ने कुरामा अलमलिएको छ । अहिलेको यस्तो समस्या आउनुको मुख्य कारण वर्तमान समयमा भइरहकेको राजनीतिक गतिविधि पनि हो । यहाँ जनतालाई कसरी बचाउनेभन्दा पनि सत्ता कसरी जोगाउने ? भन्ने कुरामा सरकारको ध्यान बढी केन्द्रित भएको देखिन्छ ।

विश्वको सन्दर्भमा हेर्ने हो भने यस्ता महामारीसँग जुध्न चीन जस्ता मुलुकले रातारात हजारौं शैय्या भएका अस्पताल निर्माण गर्न सक्छन् । तर, हाम्रो देशमा यस्तो सम्भव छैन । त्यसैले एउटा महत्वपूर्ण उपाय भनेको नेपालमा भएका ११ ओटा विश्वविद्यालयमा भएका ठूल्ठूला अडिटोरियम हललाई अस्थायी कोभिड अस्पतालका रूपमा प्रयोग गर्नु हो ।

यतिबेला नेपालका अस्पतालमा एउटा बेड पाउनसमेत मुस्किल छ । आइसीयूमा भर्ना हुनुपर्ने बिरामीका लागिसमेत आइसीयू खाली छैनन् । अस्पतालहरु अस्तव्यस्त र भद्रगोल बनेका छन् भने बिरामीहरु छटपटाइरहेको अवस्था छ । यस्तोमा विश्वविद्यालय राम्रो र वैकल्पिक माध्यम बन्न सक्छन् ।

अहिले सम्पूर्ण विश्वविद्यालयहरूमा डिजिटल अर्थात् अनलाइनमार्फत पठनपाठन भइरहेका छन् । जस्तै : हाल म कार्यरत काठमाडौं विश्वविद्यालयमा राज्यकै २४ करोड लगानीमा करिब ३ हजार क्षमताको अडिटोरियम हल छ । जुन खाली छ । यसलाई पनि अस्पतालका रूपमा प्रयोग गर्न सकिन्छ । यहाँ करिब ५ सयभन्दा बढी शैय्या राख्न सकिन्छ । अझ सेना, प्रहरी, आर्मीले आपतकालीन अवस्थामा प्रयोग गर्ने ‘मोबाइल बेड’ लाई प्रयोगमा ल्याउन सकिन्छ । यसरी एउटा विश्वविद्यालयमा १ हजार जनालाई मात्रै पनि राख्ने बन्दोबस्त मिलाइयो भने देशभरिका ११ ओटा विश्वविश्द्यालयमा करिब ११ हजार क्षमताको अस्थायी अस्पताल तुरुन्त बन्न सक्छ । यति ठूलो संख्यामा जनताले राहत पाउन सक्छन् । अझ विश्वविद्यालयअन्तर्गतका कलेजहरु देशभर छन् । देशभरका यस्ता व्यवस्थित कलेजलाई आइसोलेसन सेन्टर बनाउन सकिन्छ ।

नेपालका विश्वविद्यालयका भौतिक संरचना सुविधा सम्पन्न छन् । जहाँ खानेपानी, ढल, बिजुली, चमेना गृह, ठूला र फराकिला कोठा, शान्त र मनोरम वातावरण, खुला ठाउँको राम्रो व्यवस्था छ । बिजुली गइहाले पनि सबै विश्वविद्यलायमा जेनेरेटरको व्यवस्था गरिएको छ । यदि यी सबै संरचना निर्माण गर्न चाहेमा सरकारलाई करिब करिब साढे २ देखि ३ अर्ब रुपैयाँसम्म खर्च तुरुन्त आवश्यक पर्ने देखिन्छ । त्यसैले सरकारले तुरुन्तै विश्वविद्यालयलाई अस्पतालका रूपमा प्रयोग गरी जनतालाई राहत दिन जरुरी छ । यसले उक्त रकम खर्च हुनबाट पनि जोगिन्छ । किन भने यसमा सबै राज्यकै लगानी छ । राज्यले आपतकालीन अवस्थामा यसलाई प्रयोग नगरे कहिले गर्ने ?

नयाँ भौतिक संरचना निर्माण गर्ने खर्चमा कोभिड–१९ संक्रमितका लागि अक्सिजन सिलिन्डर, भेन्टिलेटरका सामान किन्न प्रयोग गर्न सकिन्छ । त्यसैले संकटकालीन अवस्थामा फजुल खर्च गर्नभन्दा बनिबनाउ भौतिक संरचनाको प्रयोग गर्नु नै बुद्धिमानी मानिन्छ । यो कुरा मैले राष्ट्रिय योजना आयोग र विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि राखिसकेको छु, सबै जना सकारात्मक हुनुहुन्छ ।

हाम्रो देशका विश्वविद्यालय देशैभर फैलिएका पनि छन् । जस्तै : पूर्वाञ्चल विश्वविद्यालय प्रदेश १ मा, काठमाडौं विश्वविश्द्यालय वागमति प्रदेशमा, त्रिभुवन विश्वविद्यालय वागमति प्रदेशमा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयकर्णाली प्रदेशमा, पोखरा विश्वविद्यालय गण्डकी प्रदेशमा, सुदूरपश्चिम विश्वविद्यालय सुदूरपश्चिम प्रदेशमा, लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी प्रदेशमा अवस्थित छ । जसले गर्दा देशभरकै जनता राहत पाउन सक्छन् । यी विश्वविदालयका आंगिक कलेज अझ जिल्लाब्यापीरुपमा फैलिएका छन् ।

यसरी जाने हो भने सररकारले वर्तमानमा देखिएको आपतकालीन अवस्थालाई सजिलै व्यवस्थापन गर्न सक्छ । साथै विश्वविद्यालयमा होस्टेल पनि पर्याप्त छन् । होस्टेललाई पनि प्रयोग गर्न सकियो । किन भने होस्टेलका सिरक, डस्ना, खाट, दराजलाई आपतकालीन अवस्थामा प्रयोग गर्न सकिन्छ ।

आपतका बेलामा सबैभन्दा सक्रिय हुनुपर्ने जमात भनेको बौद्धिक वर्ग हो जस्तो लाग्छ, मलाई । यसलाई दुई किसिमले महत्वपूर्ण मान्न सकिन्छ । एउटा राज्य वा सरकारलाई सही सुझाव दिन र अर्को योजना बनाएर महामारी नियन्त्रणमा भूमिका खेल्न । त्यसैले विज्ञ वा सम्बन्धित क्षेत्रका मान्छेहरूले योजना बनाएर सरकारलाई दिने र सरकारले आफ्नो स्रोतसाधनको प्रयोग गरी त्यसलाई कार्यान्वयन गरेर नै देशका समस्या समाधान हुने हुन् ।

यस्तो कार्यका लागि काठमाडौं विश्वविद्यालय अघि बढिसकेको छ । केयूका उपकुलपति प्राडा भोला थापाले यो काम छिट्टै सुरु गर्ने बताउनुभएको छ । उहाँका अनुसार केयू पूर्ण रूपमा तयार छ । किन भने विश्वविद्यालयमा पनि राज्यको एउटा अभिन्न अंग हो । यस्तो संकटको घडीमा सहयोग गर्नु विश्वविद्यालयको दायित्व पनि हो । त्यसैले, तत्काल कलेजहरुलाई क्वारेन्टाइन वा आइसोलेसन सेन्टरका रूपमा र विश्वविद्यालयलाई इमेरजेन्सी अस्पतालको रूपमा प्रयोग गर्दा देश र जनता दुवैको भलो हुने निश्चित छ ।

(ई. डा. विकास अधिकारी विश्वविद्यालय अनुदान आयोगका सदस्य तथा काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका महासचिव हुन्)

Your Opnion

//