त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानमा पिएचडी उपाधीमा चरम विकृति ! - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानमा पिएचडी उपाधीमा चरम विकृति !

  • ई. भीम उपाध्यायMay 4, 2021

गत बैशाख ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) का प्रा.डा. दुर्गा प्रसाद संग्रौलाले जारी गर्नुभएको सार्वजनिक विज्ञप्तीमार्फत आइओईभित्र भइरहेको शौक्षिक, प्राशासनिक र आर्थिक विसंगतिहरु बारेमा जानकारी प्राप्त हुँदा ज्यादै दु:ख लाग्यो । विशेष गरेर औपचारिक विद्यार्जनको सबैभन्दा माथिल्लो डिग्री विद्यावारिधी उपाधी प्राप्तिमा भइरहेको विकृतिको बारेमा विश्वमै आजसम्म राम्रोमा गनिएको संस्थाप्रति मेरो पनि ध्यान विशेषरुपले आकृट भएको छ ।

वास्तवमै त्रिवि, आइओईमा सह–प्रध्यापक वा प्रध्यापक बढुवा हुनैका लागि अनेकौ छलछाम गरेर विद्यावारिधी जस्तो उच्चस्तरको शैक्षिक उपाधी प्राप्त गर्न सकिने भन्ने उहाँको वक्तब्यको आशय निकै नै चिन्ताजनक छ । विद्यावारिधी उपाधी प्राप्तिका लागि आवश्यक पूर्व प्राज्ञिक क्षमता, दक्षता, आचरण र अनुसन्धान प्रतिको झुकाव नभएका व्यक्तिहरुलाई पनि यो तहको उपाधी प्रदान गर्नु डीन कार्यालयको हस्तक्षेपकारी नीतिको परिणाम हो भन्नुहुन्छ, प्रा.डा. संग्रौला ।

वास्तवमा विद्यावारिधी तहको उपाधी प्राप्तिका लागि आवश्यक पर्ने मापदण्ड स्वयम् उम्मेद्वारले पुरा गरेको हो वा वौद्धिक खेतालाहरु प्रयोग गरी उम्मेद्वारहरुका लागि पुर्याइदिएको भन्ने गम्भीर प्रश्न प्रा.डा. संग्रौलाले उठाउनु भएको छ । उहाँ लेख्नुहुन्छ, ‘अत्यन्तै न्यून शैक्षिक धरातल भएका केही व्यक्तिहरु त्यो तहको उपाधी प्राप्तिमा सफल हुनु गलत नजिर मात्र होइन, भोलिका दिनमा त्यस्ता कथित प्राज्ञ वौद्धिक खेतालाले जस्तोसुकै न्यून शैक्षिक धरातल भएका उम्मेद्वारलाई पनि उच्च तहको उपाधी दिलाउन सक्छन् । त्यस्तै, विश्वविद्यालयको प्राङ्गण नै नटेके पनि केवल बढुवा हुनकै लागि पनि केही कार्यरत शिक्षकहरुले विद्यावारिधी तहको उपाधी प्राप्त गरेको भन्ने पढ्न पाउनु निकै नै खेदजनक विषय हो ।

हामीले आइओईलाई एउटा स्वायत्त प्राविधिक विश्वविद्यालयको रुपमा देख्न चाहेका छौँ । देशमा अहिले विश्वस्तरिय गुणस्तरीय पढाइ हुने इन्जिनियरिङ, प्राविधिक विश्वविद्यालयको बढी आवश्यकता छ । पुल्चोक इन्जिनियरिङ क्याम्पस इन्जिनियरिङ शिक्षा क्षेत्रको एउटा धरोहर हो तर त्यहाँ भएका प्राज्ञिक विकृतिहरुका बारेमा त्यहीँ कार्यरत पूर्व क्याम्पस प्रमुख एवं वरिष्ठतम् प्राध्यापकबाट प्रश्न उठ्नु सामान्य कुरा हुनै सक्दैन । यस्ता सबै विकृतिहरू त्रिवि बाट सुरु भएको जस्तो लाग्छ, जहाँ प्रमुख पदाधिकारी नियुक्ति नातागोता र भागबण्डाबाट गर्ने गरिन्छ ।

यस्ता गुणस्तरसम्बन्धी समस्या समाधानका लागि पुल्चोक क्याम्पसअन्तर्गत संचालनमा रहेका विभागहरुलाई अधिकार सम्पन्न गराई, विभागका वरिष्ठतम् पाँच जना प्राध्यापक सम्मिलित कमिटी गठन गरी सो कमिटीले सिफारिस गरेपछि मात्र मापदण्ड पुर्याएका उम्मेद्वारलाई विद्यावारिधी तहको उपाधी दिन सकिन्छ र शोधपत्र प्रस्तुत गर्दा एक जना ख्यातिप्राप्त विदेशी विश्वविधालयबाट प्राध्यापक रहने अनिवार्य व्यवस्था गरिनु पर्दछ । यस्तै, बाहिरी विश्वविधालयबाट उपाधी प्राप्त गरेकाहरुको हकमा पनि सोही कमिटीले अध्ययन तथा अनुसन्धान गरी तयार पारेको सुझावमा टेकेर अगाडि बढ्न सकिन्छ । कमिटीले अध्ययन गर्दा उम्मेद्वारहरुको उपाधी प्राप्त गरेपछिको ३–४ वर्ष अगाडिको क्रियाकलाप अध्ययन गर्न जरुरी हुन्छ । नेपालमा इन्जिनियरिङ पढाइको पहिलो प्रेमियर पुल्चोक क्याम्पस र समग्रमा आइओईको इज्जत र साख जोगाउन शिक्षाप्रेमी सबै एकजुट भएर आवाज उठाइरहनु पर्छ । आजसम्म जहाँ पुगे पनि राम्रो कार्य सम्पादन गरेका इन्जिनियरिङ, मेडिसिन र फरेष्ट्री जस्ता संस्थानहरूका उत्पादन ग्रेजुअटहरूले आफूलाई गर्व गर्दै आएका पनि छन् । कसैमा यो साख कहिल्यै कुनै हालतमा नगिरोस् । पिएचडी जस्तो उच्चतम पदवीमा ख्यालख्याल गर्नै हुँदैन । इन्जिनियरिङ भनेको मुलुक र त्रिविको ‘ब्याक बोन’ र प्रतिष्ठा पनि हो । यसलाई उच्च गुणस्तरीय बनाउन यसका प्राज्ञहरू सधै निरन्तर सक्षम र सुयोग्य हुनैपर्छ ।

म पनि स्वयं पुल्चोक क्याम्पसको उत्पादन भएकाले मलाई यो संस्था बिग्रेको देख्न नपरोस् भनेर चिन्ता लागेको छ । त्रिवि, आइओईले तत्काल प्रा.डा. संग्रौलाजस्ता प्राज्ञहरू समेतबाट ब्यक्त विकृतिका चिन्ता चाँडै सुधार गरोस् । विगतमा गल्ती गरेका रहेछन् भने छानवीन गरेर दोषीहरूलाई दण्डित गरोस् ।

Your Opnion

//