कोरोनाले इन्जिनियर पन्तको देहान्त: बिहे भएको ५ महिना भएको थियो, मेहेनती र इमानदार थिए - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Blog

कोरोनाले इन्जिनियर पन्तको देहान्त: बिहे भएको ५ महिना भएको थियो, मेहेनती र इमानदार थिए

गत शुक्रबार चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा २८ वर्षीय इन्जिनियर सञ्जिव पन्तको कोरोना संक्रमणका कारण निधन भयो । २०७७ सालको मंसिरमा बिहे गरेका, कुनै दिर्घरोग नभएका पन्तको निधनले परिवार, आफन्त र साथी–सर्कलमा गहिरो दु:ख परेको छ । यसै सन्दर्भमा १० वर्षदेखि उनको निकट रहेका उनका मित्र इन्जिनियर अर्जुन कँडेलले इन्जिनियर्स पोस्टसँग सञ्जिवको ब्यक्तिगत जीवनका बारेमा केही कुराहरु सेयर गरेका छन् :

हामीले नेशनल इन्जिनियरिङ कलेजमा ४ वर्ष एउटै बेञ्चमा बितायौँ । २०६९ सालको ब्याच हामी त्यसपछि पनि निरन्तर सम्पर्कमै थयौँ । हामीले ब्यक्तिगतदेखि पारिवारीक कुराहरु सेयर गर्न थालेको १० वर्ष भइसकेको थियो । अर्थात, कलेजमा जोडिएको हाम्रो मित्रता पारिवारीक थियो । त्यतिमात्र नभएर हामी व्यवसायीक रुपमा पनि निकट थियौँ । विभिन्न प्रोजेक्टहरुमा मिलेर काम गथ्र्यौँ । घटना हुनुभन्दा १५ दिनअघि उसँग काठमाडौंको कुपण्डोलमा भेट भएको थियो । हामीले एक अपार्टमेन्टका लागि इलेक्ट्रिकल डिजाइन गर्ने योजनामा कुरा गरेका थियौँ । तर, हाम्रो योजना पुरा हुन पाएन ।

ऊ निकै मेहेनती र मिलनसार स्वाभावको थियो । कसैको कुभलो नचिताउने, आँटेको काम इमानदारिताका साथ पुरा गर्ने र नयाँ–नयाँ आइडियाहरुमा काम गर्ने गथ्र्यो । हामी भेटमा नयाँ के गर्न सकिन्छ भनेर छलफल गथ्र्यौँ । उसले नयाँ–नयाँ आइडियाहरु सुनाउँथ्यो । इलेक्ट्रिकल इन्जिनियर भएको नाताले देशका लागि केही गर्नुपर्छ भन्ने भावनाले हामीले योजना पनि बनाइरहेका थियौँ ।

१० वर्षको संगत भएपछि मैले उसको बारेमा सबै कुरा थाहा पाउने भइहालेँ । उसमा कुनै रोग थिएन । १० वर्षमा ऊ त्यस्तो जटिल बिरामी भएको मैले सुनेको छैन । खेलकुदमा पनि रुची राख्ने, कलेज समयमा खेलकुदमा सँगै भाग लिने भएकाले उसको शरीर कति स्वस्थ छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । तर, यतिका स्वस्थ साथीलाई कोरोनाले कसरी लग्यो म अचम्ममा छु । कोरोना निकै डरलाग्दो हुँदोरहेछ । उसको मृत्युले हामीलाई पनि झस्काएको छ ।

ऊ लुगुको एक प्राविधिक कलेजमा ‘डिप्लोमा इन इन्जिनियरिङ’ का विद्यार्थीलाई अध्यापन गराउँथ्यो । काठमाडौंबाट बाइकमा कलेज आवत–जावत गथ्र्यो । कलेज बन्द हुने भएपछि साथीहरुसँग घुम्न गएको रहेछ फ्रेसमेन्टका लागि । उतैबाट ससुराली जाने र घर (बाग्लुङ) जाने योजना रहेछ । उसको ससुराली चितवनमा हो । योजनाअनुसार घुमेर ऊ ससुराली गएको रहेछ । ऊसँग गएका साथीहरुलाई कोरोना पोजेटिभ आएपछि ऊ अलिक सतर्क भएको रहेछ । तर, केही दिनमा उसलाई पनि गाह्रो हुन थालेछ । ज्वरो र झाडापखालाले च्याँपेछ ।

भाउजु (उसको श्रीमती) स्टाप नर्स हो । उहाँ पनि माइतमा भएकाले उसको केयर उहाँले नै राम्रोसँग गर्नुभयो । तर, गाह्रो हुँदै गएछ । कोरोना जाँच (पीसीआर) गर्दा रिपोर्ट पोजेटिभ आयो । ज्वरो र पखाला रोकिएन । त्यसपछि भरतपुर अस्पताल भर्ना गर्नुपर्यो । आइसीयूमा राखेर ख्याल गर्दा पनि उसलाई बचाउन सकिएन । भाउजु नै स्टाफ नर्स हुँदासमेत उसले संसार छाड्नुपर्यो भनेपछि कोरोना कति खतरनाक रहेछ भन्ने बल्ल मैले पनि चाल पाएको छु ।

शुक्रबार उसले संसार छाडेको कुरा आयो । उसको दाइको नम्बर त थियो तर, फोन गर्ने अवस्था हामीमा रहेन । म अहिले पनि शोकमा छु । अझै फ्रेस हुन सकेको छैन । उसँग बिताएका पलहरु याद आइरहेका छन् । अन्तिम संस्कारमा उपस्थित हुनसक्ने अवस्था पनि छैन ।

उसको परिवारमा बुबा, आमा, दाइ–भाउजु, दिदी (बिहे भयो) र श्रीमती हुनुहुन्छ । उहाँहरुलाई सान्तवना दिन सक्ने अवस्था पनि छैन । अहिले परिवारमा के भइरहेको होला भन्ने अनुमान लगाउन मात्र सक्छु । दिमागमा बारम्बार ऊसँग बिताएका पलहरु नै याद आइरहेका छन् । कोरोनाडले रोगीलाई, दिर्घरोगीलाई मृत्युको मुखमा पुर्याउँछ भन्ने सुनेको थिएँ । तर, त्यस्तो होइन रहेछ । सबैले ख्याल गर्नुस् । कोरोनालाई ख्यालठट्टा नबनाउनुस् ।

अहिले मलाई भाउजुले फेसबुकमा राखेको एउटा स्टाटस याद आइरहेको छ । उहाँले लेख्नुभएको छ, ‘जीवनमा कति मिहिनेतहरू खेर जान्छन्, कति सम्बन्धहरु निरस भएर टाढिन्छन्, शब्दहरु अर्थहिन भएर जान्छन्, कसमहरु टुटेरै जान्छन्…।’ यतिबेला उहाँको पनि सम्बन्ध र कसम टुटेको छ । आशा छ उहाँले आफूलाई बलियो बनाउनुहुनेछ र यो दु:खलाई जित्न सक्नुहुनेछ ।

यतिबेला दैवसँग मेरो एउटामात्र प्रश्न छ, ‘बिहे भएको ५ महिनामै किन उसको खुसी खोसियो दैव ?’ यो नियति हो या भाग्यको खेल, म बुझ्दिन ।

अलविदा साथी । तिम्रो जहाँ रहे पनि हाम्रो मनमा सधै अमर रहनेछौ ।

Your Opnion

//