गलत काम गर्न नमान्दा गाउँपालिकाका इन्जिनियरलाई धम्की र अश्लिल गाली, खोसियो जिम्मेवारी - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
local government

गलत काम गर्न नमान्दा गाउँपालिकाका इन्जिनियरलाई धम्की र अश्लिल गाली, खोसियो जिम्मेवारी

नुवाकोटको शिवपुरी गाउँपालिका शेराबगरका इन्जिनियरले गलत काम गर्न नमान्दा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका तत्कालिन प्रमुख ई. शिशिर भट्टराईले विभिन्न कारण देखाउँदै सुरक्षा मागसमेत गरेका छन् ।

गाउँपालिकाले आर्थिक वर्षमा अघि बढाएका विभिन्न आयोजनाको खरिद प्रक्रियामा भएका लापरबाहीमा बिमति राख्दा बारम्बार आफूलाई दबाब दिने काम भएको उनको भनाइ छ । उनले कार्यालयका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यबाट अपहेलित हुन परेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्रसमेत लेखेका छन् ।

ई. भट्टराईले कार्यालय प्रमुखबाट आफूमाथि ‘बाघको मुखमा हात हालिस’, ‘छाला काटिदिन्छु’, ‘सिध्याई दिन्छु’ जस्ता शब्दहरु प्रयोग भएको समेत पत्रमा उल्लेख गरेका छन् । विगतमा पनि अनियमित कार्यमा असहमति जनाउँदा आफूलाई धम्की आउने गरेको ई. भट्टराईको आरोप छ ।

स्रोतका अनुसार १० शैय्याको अस्पताल निर्माणका लागि करिब ११ करोडको बजेट थियो । सोही अस्पताल निर्माणमा गलत खरिद प्रक्रिया अपनाउन खोजेपछि ई. भट्टराईले आपत्ति जनाएका थिए । गाउँपालिकाका एक कर्मचारीका अनुसार यसअघि पनि उनले गलत कामको विरोध गर्दै आएका थिए । स्रोतले इन्जिनियर्स पोस्टलाई भन्यो, ‘यसअघि पनि उहाँले गलत काममा हस्ताक्षर गर्दिन, पछि महालेखाले अफ्टयारो पार्छ भन्दा दबाब दिइन्थ्यो । सरुवा गर्ने कुरा आउँथ्यो । तर, यस पटक त सबै छर्लङ्गै भयो ।’

यो विषय बाहिर आएपछि कुरा अख्तियारसम्म पुगेको थियो । साथै, गलत ढंगले अघि बढाउन लागिएको भनिएको खरिद प्रक्रियासमेत रद्द भएको छ ।

जिम्मेवारी खोसियो
पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखामा प्रमुखको भूमिका निभाइरहेका ई. भट्टराईको जिम्मेवारी हेरफेर गरिएको छ । प्रशासकीय अधिकृत आचार्यले उनलाई भवन निर्माण तथा बस्ती इकाईमा पठाएका छन् । इन्जिनियर्स पोस्टसँग भट्टराई भन्छन्, ‘नक्सासम्बन्धी काम हुने यो शाखामा महिनामा दुई–तीन दिन मात्र काम आउँछ । मेरो माग मैले भूमिका अनुसार काम गर्न पाउनुपर्छ भन्ने हो । गाउँपालिकामा सबैको आ–आफ्नो जिम्मेवारी हुन्छ । मैले आफ्नो जिम्मेवारी इमानदारिताका साथ निभाउन पाउनुपर्छ ।’ हाल उनको स्थानमा सब–इन्जिनियर रमेश कँडेललाई जिम्मेवारी दिइएको छ । साथै, उनले प्रयोग गर्दै आएको गाउँपालिकाको मोटरसाइकलसमेत उनलाई प्रयोग गर्न दिइएको छैन ।

गाउँपालिका अध्यक्ष रामकृष्ण थापा यस विषयमा दुवै पक्षलाई राखेर याथार्थ बुझ्ने र सोहीअनुसार आफूले निर्णय लिने बताउँछन् । इन्जिनियर्स पोस्टसँग उनले भने, ‘शिवपुरी विकास निर्माणको काममा निकै अगाडी छ । अहिलेसम्म यस्ता घटना भएका पनि थिएनन् । यस्ता घटनाले हाम्रो कामको गतिमा असर पर्छ । त्यसैले दुवै पक्षलाई राखेर कुरा गरेर यो समस्याको हल निकाल्छु ।’

उता, यस विषयमा नेपाल इन्जिनियर्स एसोसिएन, वागमति प्रदेशले इन्जिनियर भट्टराईको सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेको छ । एसोसिएसनका अध्यक्ष ई. नन्द बञ्जाडे र सचिव ई. प्रदिप अधिकारीद्वारा हस्ताक्षर गरेर सामान्य प्रशासन मन्त्रालय र गाउँपालिकालाई पत्र पठाएका छ । दिनरात फिल्डमा खटिने प्राविधिक कर्मचारी मर्यादा कायम गर्नेतर्फ आवश्यक कदम चाल्न र सुरक्षाको प्रत्याभूति गरिदिन एसोसिएसनले माग गरेको छ । साथै, बञ्जाडेले आफूले सम्बन्धित सबैलाई फोन गरेर इन्जिनियरमाथि अन्याय नगर्न र उनको मर्यादा कायम राख्न अनुरोध गरेका थिए ।

Your Opnion

//