निर्माण साइटमा इन्जिनियर र मजदुर– दुवै एकअर्काका परिपूरक - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Civil

निर्माण साइटमा इन्जिनियर र मजदुर– दुवै एकअर्काका परिपूरक

ठूलादेखि साना भवन, सडक, पुल, हाइड्रोलगायत निर्माण कार्यमा सिभिल इन्जिनियरहरुको महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि कन्स्ट्र्क्सन साइटमा प्रोजेक्ट सम्पन्न गर्नमा इन्जिनियरको मात्र हात हुँदैन । त्यहाँ काम गर्ने अधिकांश व्यक्ति लेवर अर्थात् मजदुर (कामदार) हुन्छन् । सटरिङ, स्टेजिङ, ब्रिक वर्क, प्लाष्टरलगायत साइटमा जति पनि सिभिल काम हुन्छ त्यो सबै मजदुरमार्फत गराउनुपर्ने हुन्छ । यी काम गर्न सिभिल इन्जिनिरले मजदुरलाई निर्देशन दिनुपर्ने हुन्छ । कन्स्ट्रक्सन साइटमा कामदारसँग काम गर्दा विभिन्नखाले चुनौती सामना गर्दै काम गर्नुपर्ने अनुभवी इन्जिनियरहरु बताउँछन् ।

इन्जिनियरका चुनौती
कुनै पनि कन्स्ट्रक्सन क्षेत्रमा काम गरिसकेका अनुभवी सिभिल इन्जिनिरसँग कामदारमार्फत काम कसरी लिने र उनीहरुसँग कस्तो व्यवहार गर्ने भन्नेबारे ज्ञान हुन्छ । तर यदि कुनै फ्रेरस इन्जिनिरको रुपमा कामदारसँग काम गर्नु परेमा विभिन्नखाले चुनौती सामना गर्नुपर्ने अवस्था आउने बताउँछन्, कन्स्ट्रक्सन क्षेत्रमा करिब पाँच वर्ष बिताएका सिभिल इन्जिनियर हरिष चटौत । ‘पाँच वर्षको अन्तरालमा पनि सबैभन्दा बढी मैले हाइड्रोपावर प्रोजेक्ट क्षेत्रमा काम गरेँ’ उनी सुनाउँछन्, ‘प्रोजेक्ट वर्कमा हामीलाई धेरै गाह्रो हुँदैन । त्यसमा स्रोत साधन सबै हुने भएकाले काम गर्न कामदारहरुले पनि सहज मान्छन् । तर लेवरलाई सम्झाउन बुझाउन गाह्रो पर्छ । एउटा काममा अह्राउँदा अर्थोक नै गरिदिने हुन्छ । मैले भोगेअनुसार कन्स्ट्रक्सन क्षेत्रमा लेबरलाई काममा खटाउनु गाह्रो हुन्छ । त्यसैले सुरुमा आफू पनि लेवरकै भूमिकामा रहेर ए टू जेड कुरा उनीहरुलाई सिकाउनु पर्ने हुन्छ । होइन भने उनीहरुले काम गर्नै मान्दैनन् ।’

यस्तै, सिनियर प्रोजेक्ट इन्जिनिर शिव नन्दर ठाकुर पनि फिल्डमा कामदारसँग काम गर्दा विभिन्नखाले चुनौती सामना गर्नुपर्ने बताउँछन् । ‘फिल्डमा काम गर्दा स्कील/ननस्कील दुवैखाले कामदारहरु हुन्छन्’ इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘कसैलाई कामबारे राम्रोसँग थाहा हुन्छ कतिपयलाई हुँदैन । थाहा नभएका कामदारलाई तालिम दिनुपर्ने हुन्छ । ओभर टाइम काम गर्ने, ज्याला, फ्याक्ट्री र स्वास्थ्य सुरक्षासँग सम्बन्धित कामदारका केही अपेक्षा हुन्छन् । त्यो कुरा हामीले बुझ्नुपर्छ ।’

कतिपय कामदारसँग विभिन्न कन्स्ट्रक्सन क्षेत्रमा काम गरेको लामो अनुभव हुन्छ । साइटमा काम गर्दागर्दै सिभिलसँग सम्बन्धित वार बाइन्डिङ कसरी गर्ने, सरिया कसरी काट्ने, ड्रविङअनुसार कसरी काम गर्नेलगायत उनीहरुले थुप्रै ज्ञान सिकिसकेका हुन्छन् । त्यसैले कन्स्ट्रक्सनमा खटिने फ्रेसर इन्जिनिरले झनै ठूलो चुनौती सामना गर्नुपर्ने बताउँछन्, सिभिल इन्जिनियर अनुप राज अधिकारी । भन्छन्, ‘यतिमात्र नभई, फ्रेसर इन्जिनियरलाई स्ल्याब, विम, कोलम स्टेजिङको प्रक्रिया लगायत कुरा कलेजमा पढे पनि व्यवहारिक रुपमा कसरी गर्ने भन्नेसमेत थाहा हुँदैन । यसबारे कामदारलाई बढी ज्ञान हुन्छ । कुन काम कसरी गर्ने, उहाँहरुसँग कस्तो व्यवहार गर्ने पनि थाहा हुँदैन । यस्तो अवस्थामा कहिलेकाहिँ इन्जिनियर र कामदारबीच असमझदारी बढ्ने र समस्या आउने खालका चुनौती भोग्नुपर्छ ।’ कामदारसँग ज्ञान भएकाले काम कुरो नमिल्दा जागिर जाने डर त हुँदैन, तर फ्रेसरलाई दुवै कुराको प्रेसर हुन्छ ।

ई. ठाकुरकाअनुसार कन्स्ट्रक्सनमा जाने अधिकांश इन्जिनियर फ्रेसरबाट काम सुरु गर्छन् । सुरुमा धेरै व्यवहारिक कुरा थाहा नहुँदा चुनौती हुन्छ । कन्स्ट्रक्सनमा धेरै विषयवस्तु हुन्छन् । फ्रेसरलाई कतिपय सामान र टेक्निकको नामसमेत थाहा हुँदैन । त्यसबारे नेपालका कलेजको कोर्समा पनि हुँदैन ।

कसरी ह्यान्डल गर्ने ?
सिक्दै सिकाउँदै कामदारसँग काम गर्दा चुनौती सामना गर्न सकिने कन्स्ट्रक्सन साईटमा करिब २ वर्षदेखि आवद्ध ई. अनुपको अनुभव छ । ‘कामदारसँग लामो अभ्यास र अनुभव हुने भएकाले साइटको कामबारे धेरै कुरा थाहा भइसकेको हुन्छ’, उनी भन्छन्, ‘त्यसैले फ्रेसर इन्जिनियरको रुपमा फिल्डमा जाँदा सुरुमा आफू पछि परिने पक्का हो । तर त्यसबाट कसरी उन्मुक्ति पाउने र कसरी छिटो सिक्ने भन्ने आफूमा भर पर्छ ।’

इन्जिनियरले कलेजबाट कामको विषयमा सैद्दान्तिम ज्ञान पाए पनि व्यवहारिक रुपमा उनीहरु कमजोर हुन्छन् । तर, कामदारहरु सैद्दान्तिम ज्ञानबिना नै अनुभवले व्यवहारिक भइसकेका हुन्छन् । तर, उनीहरुलाई आफूले गरिरहेको कामको प्राविधिक पक्षबारे थाहा हुँदैन । इन्जिनियर्स पोस्टसँग अनुप भन्छन्, ‘त्यसैले यसबारे एकअर्कालाई सिक्दै सिकाउँदै काम गर्नुपर्छ । होइन भने यो क्षेत्रमा टिकिदैन । उहाँहरुबाट हामीले पनि सिक्न पाउँछौ र हामीबाट पनि उहाँहरुले धेरै कुरा सिक्न पाउनुहुन्छ । उहाँहरुलाई हेप्ने/पेल्ने काम गर्नु हुँदैन । कामको टार्गेट राखेर काममा खटाउन जान्नुपर्छ ।’

कुनै पनि साइटमा सिफ्ट, ट्रान्सफर लोड गर्ने, प्लाष्टरिङ गर्ने, इलेक्ट्रोनिक्स, प्लम्बिङलगायत थुप्रै काम सँगसँगै चलिरहेको हुन्छ । यस्तो अवस्थामा एकले अर्कामा अवरोध नहुने हिसाबले सिस्टमेटिक तरिकाले कामदारलाई काममा लगाउन सक्नु एक सफल इन्जिनियरको गुण हो । काममा खटाएपछि प्रत्येक आधा, एक घण्टामा काम अवलोकन गर्ने र कामदारलाई गाइड गर्नुपर्छ । कामदारलाई काम अह्राउने मात्र नभई, सिक्दै सिकाउँदै काम गरेमा समस्या नआउने जानकारहरु बताउँछन् ।

लामो अनुभव भएका कामदारहरु वास्तवमा सिपालु हुन्छन् । कतिपयले त आफूले सुरु गरेको कामलाई कालान्तरमा पेशासमेत बनाएका हुन्छन् । कामदारसँग मैत्रीपूर्ण व्यवहार गरेर सिक्दै सिकाउँदै काम गर्दा अप्ठेरो परिस्थिती नआउने ई. हरिष बताउँछन् । ‘लेवर पनि सुरुमा जुन काममा लाग्छन् पछि त्यसमा एक्सपर्ट भएरै निस्कने खालका हुन्छन् । त्यसैले सुरुमा कामदारहरुसँग गरिने व्यवहार ठिक हुनुपर्छ । तबमात्र उनीहरुले बुझ्छन्, अह्राएको काम पनि राम्रोसँग गर्छन्’ उनी भन्छन्, ‘भनेजस्तो काम गरेन भने जसलाई पनि रिस उठ्छ । उनीहरुलाई खुसी पार्न आफूले साथीजस्तो व्यवहार गर्नुपर्छ । रिसाएर काम बिगार्नुभन्दा फकाएर काम लिनु बेस् हुन्छ ।’

इन्जिनियरिङ क्षेत्रमा इन्जिनियर र सुपरभाइजर, सर्भेर भनेझै कामदारहरु पनि स्कील र ननस्कील हुन्छन्, फुल टाइम र कन्ट्रयाक्टको आधारमा साइटमा काम गर्छन् । यी सबैले काम गर्ने तरिका फरक हुन्छ । स्कील भएको कामदारलाई ड्रविङबारे थाहा हुन्छ । तर ननस्कील कामदारले इन्जिनियर तथा नेतृत्वकर्ताको आदेशपछि मात्र भने बमोजिम काम गर्छन् । त्यसैले कामदारसँग काम गर्दा आउने स्वाभाविक चुनौतीको सामना गर्नुपर्ने ठाकुरको भनाइ छ ।

उनकाअनुसार काम सिक्ने र सिकाउने क्रममा ट्रिक अपनाउन सक्नुपर्छ । इन्जिनियरले सुपरभाइजरलाई भन्ने, सुपरभाइजरले कामदारलाई खटाउने र सुपरभाइज हुन्छ । त्यसैले स्टेपअनुसार नबुझेको ठाउँमा सिकाउँदै काममा खटाउनुपर्छ । फ्रेसर इन्जिनियरलाई कामदारहरुलाई कसरी ह्यान्डल गर्ने र काम कसरी लिने भन्नेबारे धेरै ज्ञान हुँदैन । त्यसैले सुरुमा काम गर्ने कामदारको क्षमता र स्वाभावबारे बुझ्न जरुरी हुन्छ । कामदारसँग घुलमिल हुन सक्नुपर्छ । सुरुमा पढेर आउँदा जति थाहा छ त्यति त्यसरी काम गर्ने र केही महिनाको अन्तरालमा आफूले पनि सिक्न सक्छु भन्ने खालको धारणा बनाउनु पर्छ ।

स्वास्थ्य सुरक्षाका हिसाबले कन्स्ट्रक्सन सबैभन्दा जोखिमपूर्ण क्षेत्र हो । नेपालको कन्स्ट्रक्सन क्षेत्रमा आकस्मीक सुरक्षालाई प्राथिमकतामा राखेको पाइदैन । जहाँ इन्जिनियर र कामदारले जीवन जोखिममा राखेर काम गर्छन् । त्यसैले कामदारलाई पनि सुरक्षाबारे सावधान गराउँदै काम गर्नु उचित हुने ई. ठाकुर बताउँछन् ।

‘अहिलेको ट्रेन्डअनुसार काम गर्दा बुट, हेल्मेट, ग्लास लगाउँदा कामदारहरुले अल्छि गर्छन्, काम गर्न अप्ठेरो भयो भन्छन्’ उनी भन्छन्, ‘उनीहरुले हामीलाई देखेपछि मात्र लगाउने नभए नलगाइदिने । अन्य क्षेत्रजस्तो कन्स्ट्रक्सन क्षेत्रमा तालिमपछि मात्र काममा खटाउने हुँदैन । त्यसको लागि हामी आफैले समय–समयमा तालिम तथा अपडेट गराइराख्नुपर्छ ।’

कामदार र इन्जिनियर एकअर्काका परिपूरक
कामदारबिना इन्जिनियरिङ क्षेत्रका कामहरु अपूर्ण नै हुन्छन् । त्यसैले कामदारलाई भगवान ठान्छन्, ई. अनुप । ‘कामदार भनेको हाम्रो लागि भगवान नै हो’ उनी भन्छन्, ‘हामीले कलेजमा पढेका मात्र हुन्छौँ, त्यसलाई व्यवहारिक रुपमा अप्लाई गरेर ज्ञान दिने र संरचनाको मूर्त रुप दिन सघाउने उहाँहरु नै हो । त्यसैले उहाँहरु हाम्रो लागि भगवान सरह नै हो ।’

कामदारले जस्तोसुकै कठिन तथा जोखिम मोलेर काम गर्ने भएकाले उनीहरुलाई सम्मान गरिनुपर्ने उनको बुझाई छ । ‘गत वर्षको लकडाउनमा सबै त्रसित भएर घर जानुभयो । यसपाली भने अधिकांश कामदारहरुलाई सम्झाई–बुझाई गरेर काम जारी छ’ उनी भन्छन्, ‘त्यसैले एउटा इन्जिनियरले कामदारलाई सम्मान गर्नुपर्छ । मैले कामदारलाई कहिल्यै पनि तँ भन्दिनँ । तल्लो तहको व्यवहार गर्दिन । किन कि आफूले सम्मान दिएपछि बल्ल सम्मान पाइन्छ ।’

साइटमा काम गर्दा कामदारको उल्लेखनीय भूमिका हुने भएकाले कामदार, इन्जिनियर र इन्जिनियरिङलाई एकअर्काको परिपूरकको रुपमा व्याख्या गर्छन्, ई. ठाकुर ।

साइटमा काम सुरु भएदेखि सम्पन्न नभइन्जेल हामीसँगै दिनरात खटिने व्यक्ति हुन् कामदार’ उनी भन्छन्, ‘कामदारलाई काम कसरी गर्ने भन्नेबारे थाहा हुन्छ भने हामीलाई किन भन्नेबारे । कसरी काम गर्ने हामीले उनीहरुबाट सिक्ने हो र उनीहरुले गरेका कामहरुलाई फिल्टर र चेक गर्ने हो । हामी एकअर्काबिना कुनै पनि संरचनाले मूर्त रुप लिन सक्दैन । त्यसैले कामदार र इन्जिनियर भनेका एकअर्काका परिपूरक हुन् ।’

Your Opnion

//