रचनाकार पन्थीले जितेको धरहरा डिजाइनको लडाई, प्रधानमन्त्रीसँगको दोस्रो भेटको त्यो निर्णय - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Feature

रचनाकार पन्थीले जितेको धरहरा डिजाइनको लडाई, प्रधानमन्त्रीसँगको दोस्रो भेटको त्यो निर्णय

२०७२ सालको भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको ऐतिहासिक धरहराको शनिबार उद्घाटन भएको छ । प्रत्येक कालखण्डलाई यादगार बनाउने अर्थात् पृथक बनाउने भनेकै संरचनाले हो । नेपाली समाजमा कुनै पनि संरचनाको रचनाकारभन्दा बढी संरचना कसको कालखण्डमा बने भन्ने कुराले महत्व राख्दै आएको छ । त्यसैले, धरहरासँग भीमसेन थापाको नाम जोडिएर आउँछ । र, अबको पुस्ताले सम्झिने नाम हुनेछ, केपी शर्मा ओली ।

प्रिन्सिपल (टिम लिडर) आर्किटेक्टको रुपमा चिनिन्छन्, आ. विष्णु पन्थी । आर्किटेक्चर क्षेत्रमा २३ वर्षको अनुभव संगालेका पन्थीले रसियाबाट आर्किटेक्चरमा स्नातकोत्तर गरेका हुन् । उनको आफ्नै केट कन्सल्ट नामक कम्पनी छ । कुनै पनि विषयवस्तुलाई अध्ययन गर्न, दिमागमा खेलाउन, आकृति दिन र डिजाइन गर्न रुचाउने पन्थी जब धरहरालाई नियाल्थे, तब यसको डिजाइनलाई कसरी पृथक बनाउन सकिएला भन्नेबारे सोच्थे ।

२०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा नियाल्न उनी सोही दिन सुन्धारा पुगे । मानिसहरु हताहत बाहिर निस्किरहेका थिए । सुरक्षित तरिकाले बस्ने ठाउँ थिएन । सो परिदृश्य नियालेपछि आ. पन्थीले आफ्ना नजिकका साथीहरुलाई सुनाएका थिए, ‘मैले यसको डिजाइन बनाउन पाएमा पक्का पृथक बनाउनेछु ।’ तर, उनले त्यतिबेला भनेझै धरहराको आधुनिक डिजाइन सहन थिएन । एउटा प्राचिन इतिहास बोकेको धरहराको भूकम्पपछि बन्ने डिजाइन आफैमा चुनौतीपूर्ण थियो । र, उनले सोही चुनौतीको सामना गर्ने अवसर पाए ।

‘पृथक डिजाइनबारे सोचे पनि धरहरा प्रोजेक्टको डिजाइन साच्चै चुनौतिपूर्ण थियो’ आ. पन्थी इन्जिनियर्स पोस्टसँग सुनाउँछन्, ‘मैले सोचेको डिजाइनका लागि पर्याप्त ठाउँ चाहिन्थ्यो । मैले यसबारे धेरै सोचे र मनन गरेँ ।’ माग बमोजिम ठाउँ पाइन्छ या पाइँदैन, आफ्नो रचनालाई त्यहाँ समावेश गर्न सकिन्छ या सकिदैन भन्ने कुरा झनै चुनौतिपूर्ण बन्दै गयो ।’

धरहरा डिजाइन बनाउने खुला प्रतिस्पर्धाबाट आ. पन्थी छनोटमा परेका थिए । धरहरा सरकारी जग्गामा बनेको भए पनि त्यहाँ हुलाक, प्रसार विभाग, सञ्चय कोषको भवन भएकाले नयाँ डिजाइनअनुसार जग्गा अभाव थियो । ठाउँ अभावका कारण डिजाइनमा पर्ने अवरोध र आफ्नो अवधारणाबारे उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ब्रिफिङ गर्ने मौका पाए र सुरुमा ५ रोपनी जग्गा पाइने भयो । जग्गा उपलब्ध भएपछि उनले सोहीअनुसार डिजाइनको काम अघि बढाए ।

दिगो संरचना, पर्यावरणमैत्री, ऐतिहासिक महत्वलगायतका विषयलाई उनले आफ्नो डिजाइनमा समेटे । ‘कुनै पनि गौरवका योजना बनाउँदा एकपटक मात्र बनाएर हुँदैन, त्यसलाई दिगो बनाउनुपर्छ, त्यसका लागि सूचनामुलक, ऐतिहासिक र आयमुलक कुरा चाहिन्छ’ उनी भन्छन्, ‘विगतमा भर्याङ मात्र थियो, आधुनिक समयको मागसँगै यसमा आधुनिक विशेषता थपिए । धरहराभित्र टिकट काउन्टर, भूकम्प संग्राहालय, मिनी म्युजियम, १०–१० जना क्षमता भएको २ वटा लिफ्टको व्यवस्था, लेजर फिल्म देखाउने, क्याफेटेरिया, पर्यावरणमैत्री गार्डेन, अपांग मैत्री स्थल, अन्डरग्राउन्ड पार्किङ सुविधा, सुभेनियर पसललगायत विशेषता थपिए ।’

सोहीअनुरुप जमिनभन्दा माथि कुनै पनि कंक्रिट संरचना नबनाएर बगैंचामा परिणत गर्ने, धरहराको बाहिरी स्वरुप पुरानै हुने, भत्केको धरहरा साबिककै ठाउँमा संरक्षण गर्ने, सुन्धारालाई सुन्धारा नै बनाउने, अत्याधुनिक विशेषताहरु थप्ने गरी उनले लामो समय लगाएर डिजाइन कोरे ।

‘हरेक मुलुकका आ–आफ्नै पहिचान भएझै धरहराको पहिचान रहने गरी डिजाइन रचना गरेँ’ डिजाइनको मुख्य उद्देश्यबारे इन्जिनियर्स पोस्टसँग उनी सुनाउँछन्, ‘हाम्रा सरकारी जग्गा लिजमा दिएर कंक्रिटमा परिणत भए, शहरीकरणलाई हामीले कंक्रिटमा बदल्दै गयौँ र वातावरणीय प्रभाव पर्दै गयो । त्यसैले यहाँ भएको खाली ठाउँलाई हरियोमा परिणत गर्नुपर्छ र वरिपरी बस्ने मानिसहरुले सहजै सास फेर्न पाउन, संरचनालाई दिगो बनाएर आयश्रोतमा सहजता मिलोस्, ऐतिहासिक संरचनाको रुपमा धरहरा उभियोस् भन्ने मेरो डिजाइनको मुख्य थीम थियो ।’

प्रधानमन्त्रीसँगको दोस्रो भेट
आ. पन्थी धरहरा डिजाइनमा आफूले पाएको साथ र सहयोगको कदर गर्छन् । ‘डिजाइनताका मलाई तत्कालिन पुरातत्व विभागको डाइरेक्टर जनरल, तत्कालिन पर्यटनमन्त्रीले साथ दिनुभयो । उहाँहरुले नै मलाई वर्तमान प्रम ओली कहाँ पुर्याउनुभयो’ उनी थप्छन्, ‘तबमात्र मैले अन्य थुप्रै मन्त्रीलाई भेट्ने, आफ्नो डिजाइन अवधारणा प्रधानमन्त्रीलाई सुनाउने र उहाँलाई शतप्रतिशत कन्भिन्स गर्ने अवसर पाएँ ।’

कुनै पनि सरकारी आयोजनाको डिजाइन एकाएक पारित हुन कठिन हुन्छ । तर पन्थी दोस्रो पटक प्रधानमन्त्रीलाई भेट्न जाँदा ‘तपाईंले गरेको डिजाइन शतप्रतिशत ठिक छ, लौ मैले के गर्नुपर्छ’ भन्ने आश्वासन पाए । ‘मैले खुला प्रतिस्पर्धाबाट प्रिजेन्टेसन दिएको थिएँ । धरहराप्रति चासो राख्ने अन्य अर्गनाइजेसनलाई बोलाएर प्रधानमन्त्रीले राती ११ बजे निर्णय लिँदै यो आर्किटेक्टले गरेको प्रिजेन्टेसन सही छ भन्नुभयो,’ प्रधानमन्त्रीको निर्णयप्रति खुसी व्यक्त गर्दै आ. पन्थी सुनाउँछन्, ‘त्यसअनुसार टक्सार, हुलाक विभाग र सञ्चय कोषको जग्गासमेत समेटेर ४२ रोपनी जग्गामा धरहरा पुनर्निर्माण सम्पन्न गर्ने निर्णय प्रधानमन्त्रीले सुनाउनुभयो ।’

डिजाइनपछिको लडाई
डिजाइन त फाइनल भयो तर डिजाइनपछि धरहरा कसले बनाउने भन्ने टुंगो लागेन । डिजाइनको लडाइ जितेपछि अर्को मुख्य चुनौती खडा भएको थियो, निर्माणको । धरहरा निर्माणको जिम्मा सरकारबाहेकको निकायले लिने गाइगुईं सुनियो । ऐतिहासिक धरोहर निर्माणको कार्य अरु निकायलाई सुम्पिने कुरा आ. पन्थीलाई चित्त बुझेन ।

‘मैले डिजाइन गरेपछि केही समय राजनैतिक अस्थिरता आयो र बीचमा चलखेल भयो । धरहरा कहिले र कसले बनाउने भन्नेबारे लफडा भयो र धरहरा नेपाल टेलिकमले बनाउने भन्ने कुरा थियो’ उनी भन्छन्, ‘धरहरा सरकारबाहेक अरुले बनाउनु भनेको कमर्सियलाइज गर्नु हो । त्यसपछि मैले यो ऐतिहासिक चिज हो कसैलाई दिनु हुँदैन, कमर्सियलाइज गर्नु हुँदैन, सरकारले नै बनाउनुपर्छ र ऐतिहासिक रुपमै राख्नुपर्छ भन्ने कुरा गरेपछि सबै सहमत हुनुभयो ।’ त्यसपछि, ‘हाम्रो धरहरा, हामी बनाउँछौ’ भन्ने नाराका साथ नेपाल सरकार, पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणले धरहराको काम अघि बढाए ।

फ्युजन डिजाइन
पन्थीले धरहराबाहेक अन्य थुप्रै डिजाइनिङ क्षेत्रमा काम गरेका छन् । उनले नेपालमा पहिलोपटक सपिङ कम्प्लेक्सको अवधारणा, कर्पोरेट भवन, डेन्टल अस्पतालको अवधारणा भित्राएका हुन् । उनी भन्छन्, ‘नेपालमा सपिङ कम्प्लेक्सको अवधारणा नै थिएन । एउटा विशाल बजार मात्र थियो । त्यसबाहेक सबै बजार थिए, बजारलाई सपिङ कम्प्लेक्स र कर्पोरेटमा ल्याउने डिजाइनको अवधारमा मैले ल्याएँ । पहिलो पटक वल्र्ड ट्रेड सेन्टर बनायौँ । हस्पिटलको डिजाइन बनायौँ ।’

यसरी उनले वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरस्थित ओलम्पिक टर्चको डिजाइन, मेडिसिटी अस्पतालको पूर्ण डिजाइन, मनमोहन अस्पताललगायत आधुनिक डिजाइन बनाए । पोखराको ल्याण्डमार्क, ल्यान्डमार्क फरेस्ट रिसोर्ट, उपत्यकाबाहिरको पहिलो ठूलो र फ्युजन कमर्सियल र रेसिडेन्सियल अवधारणासहितको सिजी कम्प्लेक्स, पुरानो बसपार्कस्थित भ्यू टावर पन्थीले गरेका डिजाइनहरु हुन् ।

कुनै पनि आर्किटेक्टसँग सिर्जनात्मक कला र क्षमता हुन्छ । चाहे आइफेल टावर होस्, कुटुमिनार, चाहे चिलि टावर होस्, टोकियो टावर होस्, कुनै पनि संरचनाको डिजाइन गर्नुअघि कुन देशको संरचना कसरी रचना गरिएको छ भन्ने अवलोकन गर्न पन्थी विभिन्न मुलुक भ्रमण गर्छन् । इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘पहिलाको धरहरा राजा रजौटाले वाचडग र सूचना दिन विगुल फुक्ने अवधारणाले बनाइएको थियो । हामी आर्किटेक्टले रचना गर्दा त्यसको दर्शन के हो भन्ने कुरा केलाउँछौ र समयानुकुल रुपान्तरण गर्दै डिजाइनको निचोडमा पुग्छौँ ।’

उनकाअनुसार कुनै पनि एक्सपर्ट आर्किटेक्टले देशको स्थापित स्थानीय ठाउँको इतिहासलाई दिगो बनाउन ‘सस्टेनेविलिटी आर्किटेक्ट’ भन्ने थेओरी प्रयोग गर्छन् । संरचनालाई दिगो र फ्युजन गरेर डिजाइन तयार पार्छन् । डिजाइनबारे सम्बन्धित व्यक्ति र निकायसँग सल्लाह–सुझावका लागि छलफल हुन्छ । सबै कुरा अन्तिममा पुगेपछि टेन्डरमा गएर निर्माण अघि बढ्छ । निर्माणपछि त्यसलाई सुपरभिजन गर्ने, निर्माण कार्य डिजाइन र गुणस्तरअनुसार बनेको छ–छैन हेर्ने र समयमै सम्पन्न गर्न झक्झकाउने काम आर्किटेक्टले गर्छन् ।

गुमनाम डिजाइनर
भीमसेन थापाले बनाउन लगाएको धरहराको रचनाकार को थिए थाहा छैन, निर्माणमा खटिएका व्यक्तिलगायत मुख्य भूमिका निभाएकाहरु पनि गुमनाम छन् । धरहराको शनिबार भव्य उद्घाटन भयो । यसअघि पनि थुप्रै संरचना बने, उद्घाटन भए । तर मुख्य भूमिका रहेका प्राविधिक हिरोहरु, डिजाइनर, कामदार सबैको नाम गुमनाम नै छ । संरचनाको मुख्य रचनाकार तथा डिजाइनरको नाम नआउँदा दुःख महसुस गर्छन्, पन्थी ।

संसारकै अजुवा भनेर चिनिने अमेरिकामा हुवर्ड ड्याम छ । हुवर नामक व्यक्तिले डिजाइन गरेको संसारकै उत्कृष्ट सो इलेक्ट्रिकल ड्यामको नाम डिजाइनरको नामबाट नामाकरण गरिएको छ । त्यो ठाउँमा जाँदा जुन–जुन कामदार, प्राविधिकलगायत जतिले काम गरेका थिए, जीवित–मृत सबैका नाम त्यहाँ कैद छ । आ. पन्थीले पनि उक्त ड्यामको करिब तीन पटक भ्रमण गरेका छन् । ‘त्यहाँ डिजाइनर, प्राविधिक, कामदारको नाम सम्मानपूर्वक राखिएकाले मलाई फेरि पनि त्यहाँ जान मन लाग्छ’ उनी थप्छन्, ‘यदि नेपालमा पनि त्यस्तो चलन भएको भए, हामी आर्किटेक्ट, सुपरभाइजर, इन्जिनियर, लेवर, कन्स्ट्रक्सन कम्पनी, विकास निर्माणमा लाग्नेहरुलाई हौसला मिल्छ, बाहिर गएका दक्ष जनशक्ति नामकै लागि भए पनि काम गर्न नेपाल आउँछन् ।’

डिजाइनर र काम गर्ने प्राविधिकको नाम राख्ने चलनको लागि उनको अनुरोध छ, ‘कमसे कम आफू सँगसँगै हामी डिजाइनर, इन्जिनिरको पनि नाम राखिदिनुभयो भने हामीले गरेको कामको कदर गर्नुभयो भने काम गर्ने व्यक्तिलाई थप हौसला मिल्छ, डिजाइन गर्नेको रचनाको शक्ति बढ्छ, कार्य दक्षता बढ्छ । काम छिटोछरितो हुन्छ । त्यसैले यसको लागि म प्रधानमन्त्री र कुनै घर तथा भवन बनाउने व्यक्ति सबैलाई अनुरोध गर्छु ।’

राम्रो काम गर्नेलाई सम्मान दिनुपर्छ भन्ने मान्यता भएका आ. पन्थी सरकारले लिने जसलाई भने सकारात्क रुपमा लिन्छन् । ‘हामीले सरकारको सपोर्ट पाएनौँ भने काम गर्न सक्दैनौँ । त्यसैले उहाँहरुले पनि जस लिनैपर्छ र उहाँहरुसँगै हामीलाई पनि जस दिनुपर्छ’ उनी थप्छन्, ‘राम्रो काम गरेको छैन भने सम्मान दिन जरुरी छैन । लायक छ भने सम्मान दिन जरुरी छ ।’ तर, यति भनिरहँदा कतै नाम नआउँदा पनि आफू निराश नहुने पन्थी बताउँछन् ।

Your Opnion

//