इन्जिनियरको निर्वाचनमा ओली–नेपाल पक्षको प्यानल मिल्यो, मन मिलेन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

इन्जिनियरको निर्वाचनमा ओली–नेपाल पक्षको प्यानल मिल्यो, मन मिलेन

उम्मेदवारी दर्तापछि पेपाननिकट इन्जिनियरको सामूहिक तस्बिर ।

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को आसन्न ३३ औं कार्य समितिको निर्वाचनका लागि नेकपा एमालेनिकट प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान) एक भयो । पार्टीमा केपी शर्मा ओली र माधव कुमार नेपाल पूर्व–पश्चिम भएको अवस्थामा इन्जिनियरिङ संगठनमा दुई पक्षका इन्जिनियरहरु एक हुनु चानचुने थिएन ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा कांग्रेस र माओवादीनिकट पत्रकारसँग मिलेको माधव नेपाल पक्षले इन्जिनियरको निर्वाचनमा ओली पक्षसँग मिलेर पार्टीलाई पनि एकताको सन्देश दिने बतायो । ओली पक्षले पनि दुई पक्षको एकताले राम्रो सन्देश जाने जिकिर गर्यो ।

दुई संगठन एक भएपछि ओली पक्षका ई. डा. सुरज लामिछानेको नेतृत्वमा नेपाल पक्षबाट ई. विरोध रिजालले महासचिवमा उम्मेदवारी दिए । दुवै पक्षका इन्जिनियरहरु उत्साहित नै थिए । तर, कर्णाली प्रदेशमा फ्लोर क्रस भएको घटनाले राष्ट्रिय राजनीतिमा तरंग ल्यायो र पेपानमा पनि त्यसको असर देखियो ।

बैशाख २४ गते हुने नेईए निर्वाचमा प्रगतिशील समूह बनाएर निर्वाचनमा होमिएको यो पक्षबीच अविश्वास बढ्नुको अर्को कारण रह्यो, उम्मेदवारी रद्दको विषय । प्रस्तावक दोहरिएपछि महासचिवसहितको उम्मेदवारी रद्द भएको विषयमा अध्यक्षका उम्मेदवारले लबिङ नगरेको महासचिव उम्मेदवार पक्षको आरोप छ । महासचिवबिना पनि ओली पक्षले निर्वाचनमा जाने संकल्प कसेपछि नेपाल पक्ष अझ बढी बिच्किएको स्रोत इन्जिनियर्स पोस्टलाई बताउँछ ।

यसरी सुरु भएको दुई पक्षबीचको मतभेद चुनावी प्रचारमा पनि देखियो । पेपान ओली पक्षले नेपाल पक्ष निर्वाचन गर्न नचाहेको र गुटबन्दी गर्दै हिँडेको आरोप लगायो । उता, ओली पक्ष भने निर्वाचन गर्ने मनस्थितिमा थियो र छ ।

यसरी उत्पन्न दुई पक्षबीचको मतभेदका कारण निर्वाचनमा एउटै प्यानल र सामाजिक संजालमा एउटै ब्यानरमा देखिए पनि दुई पक्षको मन भने एक हुन सकेको छैन । फलस्वरुप प्रदेश २ मा बुधबार भएको विशेष भेलामा अध्यक्षका उम्मेदवारसँग महासचिवका उम्मेदवार देखिएनन् । गठबन्धन बनाएर अघि बढेका जनता समाजवादी पार्टी इन्जिनियर नेता मञ्चमा देखिनु तर, नेपाल पक्षका नेता नदेखिनुले दुई पक्ष कुन मोडमा पुगेका छन् भन्ने कुरा प्रष्ट देखिन्छ ।

त्यतिमात्र होइन, अन्य चुनावी प्रचारमा समेत दुई पक्ष छुट्टाछुट्ट उभिएका छन् । योजना बनाउनेदेखि गोप्य बैठक र भेलामा दुवै पक्ष सँगै हुँदैनन् ।

जस कारण यतिबेला नेपाल पक्ष पेपान जसरी हुन्छ निर्वाचन सार्नुपर्ने मनसायमा छ । हालको निर्वाचन सरेमा पछि देशको राजनीतिक परिस्थिति हेरेर अन्य पक्षसँग गठबन्ध गरेर जाने यो पक्षको योजना छ ।

तर, नेईएमा बलियो रहेको लोकतान्त्रिक पक्ष फुटेका कारण यतिबेला निर्वाचन जित्न सहज हुने भएकाले कुनै पनि हालतमा निर्वाचन नसार्ने मनसायमा ओली पक्ष छ ।

महासचिवका उम्मेदवार ई. विरोध रिजालले भने कोभिडका कारण आफू मतदातासम्म प्रत्यक्ष जान नसकेको बताउँछन् । उनले भने, ‘राजनीतिमा माथि जे–जस्तो भए पनि हामी प्रोफेसनल रुपमा जाऊ भनेर आफ्नो ढंगबाट अघि बढेका छौँ । साथीहरुले मलाई टिकट पनि काटिदिनुभएको हो । तर, म कोभिड संक्रमण बढेको अवस्थामा भौतिक उपस्थितिमा प्रचार गर्ने मनसायमा नभएर नगएको हो ।’

अध्यक्षमा उम्मेदवार लामिछाने पक्षका नेताहरु हाल उम्मेदवारबीचमा यो पक्ष र त्यो पक्ष भन्ने भावना नरहेको बताउँछन् । उनले भने, ‘उम्मेदवार एक भएर निर्वाचनमा लागेका छौँ । बरु संगठनका नेताहरु भने यसरी लागेका छन् ।’

तर, नेपाल पक्षका एक नेता भने आफूहरुबीचमा विमति भएको स्वीकार गर्छन् । इन्जिनियर्स पोस्टसँग उनले भने, ‘खासमा देशको राजनीतिक परिस्थिति जे–जस्तो भए तापनि हामी मिलेरै जानुपर्छ भन्ने थियौँ । तर, उताबाट त्यस्तो वातावरण बनेन । त्यसैले हामीबीचमा सुरुको जस्तो सम्बन्ध रहन सकेन ।’

अझै यसलाई सुधार गर्ने अवस्था भने रहेन उनले बताए । भने, ‘अझै केही बिग्रिसकेको भने छैन । यसलाई सुधार गरेर जानसक्ने आधार अझै बाँकी छन् ।’ केन्द्रमा केही असमझदारी भए तापनि जिल्ला तहमा भने दुवै पक्ष एकढिक्का भएर लागेका छन् ।

ओली पक्षकै एक इन्जिनियर नेता भन्छन्, ‘एकता भाँड्न चाहने पक्षले कुप्रचार गरेको मात्र हो । हामी एक छौँ । कार्यालय पनि एउटै छ । विचार पनि एउटै छ ।’

Your Opnion

//