नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को निर्वाचनमा प्रजातान्त्रिक पक्षको दुई प्यानल हुनुको परिणामा देखिन थालेको छ । कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) निकट इन्जिनियरहरुले नेईए निर्वाचनमा संस्थापन र ब्यक्तिगत गरेर दुई प्यानल बनाएका छन् ।
संस्थापन पक्ष ई. हरि बहादुर दर्लामीको नेतृत्वमा मैदानमा छ भने अर्को पक्ष ई. दिलिप कुमार झाको नेतृत्वमा उत्रिएको छ । एउटै आस्था र विचार बोक्ने पक्ष पदको भागबन्डा नमिलेपछि दुई हुँदा लोकतान्त्रिक विचार बोक्ने इन्जिनियरहरु दुःखी छन् ।
नेईएमा ३२ औं कार्य समितिमा वाम गठबन्धनले सबै पदाधिकारीमा जित हात पारेको थियो । तर, अहिले एमाले र माओवादी केन्द्र अलग भएपछि वामपन्थी इन्जिनियरहरु पनि अलग भएका छन् । यस्तो अवस्थामा लोकतान्त्रिक पक्ष बलियो अवस्थामा थियो । तर, नेईएको केन्द्रीय कार्य समितिमा हुने २५ जनाको प्रतिनिधित्वका लागि सयभन्दा बढी आकांक्षी देखिएपछि लोकतान्त्रिक शक्ति दुई खेमामा विभाजन हुन पुग्यो ।
सिडेन पक्षले फुटेर गएको पक्षको अस्तित्व स्वीकार नगर्ने र फुटेर गएको पक्षले कम्प्रमाइज गर्न नसक्ने अवस्थाका कारण लोकतान्त्रिक पक्षको अन्तिम पटक बसेको बैठक निस्कर्षमा पुग्न सकेन ।
फलस्वरुप, दर्लामी नेतृत्वको प्यानलसँग भेट गरेर सो प्यानलका सदस्यसँगको फोटो र प्यानलको ग्राफिक्स सेयर गरेर स्टाटस लेख्दै भोट मागेका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ५ घण्टा नबित्दै सो स्टाटस हटाउनुपर्यो ।
स्रोतका अनुसार झा नेतृत्वको प्यानलबाट दबाब आएपछि उनले स्टाटस हटाएका हुन् । शशांकले स्टाटस हटाएपछि लोकतान्त्रिक इन्जिनियरहरुबीच तरंग तत्पन्न भएको छ । साथै, पार्टीका नेताले गुटअनुसार उम्मेदवारका लागि भोट माग्ने र शुभकामना दिने अवस्था आउने पनि प्रष्ट भएको छ ।
Your Opnion