शंकर ढकालसँग अन्तर्वार्ता– इन्जिनियरिङ समुदायको इज्जत र मर्यादा बचाउन महासचिवमा उठेको हुँ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interview

शंकर ढकालसँग अन्तर्वार्ता– इन्जिनियरिङ समुदायको इज्जत र मर्यादा बचाउन महासचिवमा उठेको हुँ

ई. डा. शंकर ढकाल ।

ई. डा. शंकर ढकाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वरिष्ठ प्राविधिक हुन् । लामो समय अष्ट्रेलियामा बसेपछि आफ्नै देशमा केही गर्छु भन्ने भावनाले नेपाल फर्किएका उनी पछिल्लो समय पूर्वाधार विकासका थुप्रै प्रोजेक्टमा जोडिएर विज्ञको रुपमा काम गरिरहेका छन् । ढकाल बैशाख २४ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को निर्वाचनमा महासचिव पदका उम्मेदवारसमेत हुन् । इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) बाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका उनले मास्टर्समा स्ट्रक्चरल इन्जिनियरिङ पढे र आइओई टपसमेत गरे । जापानबाट स्ट्रक्चरल इन्जिनियरिङमा पिएचडी गरेका उनी २०७२ सालको भूकम्पपछि देशका लागि केही गर्ने भावनाले नेपाल फर्किएको बताउँछन् । नेईए निर्वाचनमा उम्मेदवारी दिएका उनले नेईएको सुधारका लागि थुप्रै एजेण्डाहरु अघि सारेका छन् । यसै विषयमा इन्जिनियर्स पोस्टका लागि कृष्ण आचार्यले उनीसँग कुराकानी गरेका छन्ः

नेईएको निर्वाचन मुखमा छ । निर्वाचनमा तपाईंले पनि स्वतन्त्ररुपमा महासचिवका लागि उम्मेदवारी दिनुभएको छ । तयारी कस्तो चल्दैछ ?
हामी नेईएलाई कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने कुरामा प्रष्ट छौँ । हामीलाई अरु साथीहरुलाई जस्तो राजनीतिक पार्टीका नेताले निर्देशनमा चल्नु परेको छैन । हाम्रो निर्वाचन गतिविधि स्वविवेक प्रयोग गरेर एउटै एजेन्डामा केन्द्रीत भएर अघि बढिरहेको छ । हाम्रो यात्रा जारी छ ।

स्वतन्त्र उम्मेदवारी दिने सोच कसरी आयो र के कुराले तपाईंलाई स्वतन्त्र रुपमा इन्जिनियर–आर्किटेक्टहरुको हक–हितका लागि आवाज उठाउन सक्छु भन्ने लाग्यो ?
मैले विगत लामो समयदेखि नेईएलाई नजिकबाट नियालिरहेको छु । त्यसैले यसभित्र रहेका समस्या र चुनौतीबारे पनि मलाई राम्रोसँग अवगत छ । जसरी राष्ट्रिय राजनीतिमा खिचातानी भइरहेको छ, पार्टी र गुटगत कुरामा । हाल नेईएको समस्याको मुल जड भनेको पनि यहाँभित्र रहेको त्यही परिपाटी हो । भन्नुको मतलब अहिले भइरहेको राजनीतिले नेईएलाई बिगारेको छ । हामी इन्जिनियरिङ क्षेत्रको प्रोफेसनल संस्थालाई कसरी राम्रो बनाउने र कसरी इन्जिनियर–आर्किटेक्टहरुको इज्जत र मर्यादालाई बचाउने भन्ने कुरामा एकजुट हुन सकेका छैनौँ । नेईएमा भइरहेको हदैसम्मको राजनीतिलाई हटाउन सकियो भने इन्जिनियर र आर्किटेक्टहरुमा एकता कायम गर्न सकिन्छ भन्ने मेरो मान्यता हो । अर्को कुरा, नेपालको इन्जिनियरिङ क्षेत्रमा मैले कसरी इन्जिनियरको पक्षमा आवाज उठाउन सक्छु भन्ने कुरा यो समुदायमा धेरैले बुझ्नुभएको छ । त्यसैले धेरैको विश्वास जित्ने अपेक्षा छ । सबैभन्दा महत्वपूर्ण कुरा मेरो आत्मविश्वास र साथीहरुको सहयोग नै हो ।

नेईएलाई राजनीतिले बिगार्यो भन्ने कुरा तपाईंले गर्नुभयो । वास्तवमा नेईए कस्तो हुनुपर्ने थियो र अहिले कस्तो भइरहेको छ ?
नेईएका संस्थापकहरुले यसलाई गैरराजनीतिक संस्थाको रुपमा उभ्याउनुभएको थियो । पहिला यो देश सुन्दर थियो र हदैसम्मको राजनीतिले जसरी बिगार्दै लगिरहेको छ, त्यसैगरी नेईएलाई पनि राजनीतिले बिगारिरहेको छ । नेईएमा राजनीतिक भातृ संगठनलाई नल्याएर इन्जिनियरहरुबीचमा नै एजेन्डाहरुमा बहस गर्नुपर्ने आवश्यकता थियो तर, त्यसो भएन । नेईएमा प्रतिनिधित्व गर्नेहरुले आफ्नो इन्जिनियरिङ छबी भन्दा पनि राजनीतिक छबी बनाउनुभयो । जसले गर्दा जसरी देशको राजनीतिमा फोहरी खेल भइरहेको छ, त्यसैगरी इन्जिनियर–इन्जिनियरबीचमा पनि मित्रताको भावना टुटेर प्रतिस्पार्धा र दुस्मनको भावना पैदा भएको छ । त्यसैले यो खालको राजनीतिकरणलाई रोक्नु मेरो प्रमुख मुद्दा हो ।
हाल, नयाँ सदस्यता लिन होस् या पुरानो सदस्यता नविकरण गर्ने सवालमा होस्, संगठनले नै हजार–दुई हजार इन्जिनियरहरुको पैसा तिरिरहेको अवस्था छ । फलानोले मेरो सदस्यताका लागि पैसा तिरिदियो भनेर उसलाई भोट हाल्ने जुन सिस्टम छ, यो आफैमा गलत छ । नेपाल इन्जियिनरिङ काउन्सिलमा दर्ता भएका सबै इन्जिनियर तथा आर्किटेक्टलाई नेईएको नेतृत्व चयनमा सहभागी बनाउने हो भने यो समस्या हल हुन्छ । यसो गर्दा सदस्यताबाट आउने पैसाले संस्था चलिरहेको छ भन्ने प्रश्न उठ्न सक्छ । नेईए एउटा एनजीओ हो । हामीले गर्ने गतिविधि पूर्वाधार र विकास निर्माणसँग सम्बन्धित भएकाले ठूला–ठूला डोनर संस्थाले हामीलाई सहयोग गर्न सक्छन् । सुन्दर देश बनाउने उनीहरुको प्रोजेक्टमा हामीले साथ दिने हो भने उनीहरुले त्यस्ताखाले कार्यक्रममा हामीलाई स्पोन्सर नगर्ने कुनै कारण नै हुँदैन । यसो गर्दा हामीले पनि विकास निर्माण क्षेत्रमा भूमिका खेल्न सक्यौँ । अहिलेको प्रावधानका कारण विदेशमा रहेका इन्जिनियरले यहाँको निर्वाचनमा भोट गर्न पाउनुहुन्न । यदि डायस्पोरामा रहेको त्यो जमातलाई एक बनाएर नेईएमा आवद्द गराउन सक्ने हो भने उहाँहरुले पनि बर्सेनी डोनेसन दिनुहुन्छ । मैले यसरी नेईएलाई राजनीतिकरणबाट मुक्त गर्ने र डायस्पोरामा रहेकाहरुलाई नेईएसँग जोड्ने प्रयास गर्नेछु ।

नेईए एउटा एनजीओ हो । यो देशको नीति, नियम वा अन्य कुनै परिवर्तनका लागि निर्णय गर्ने वा सुधार गर्ने संस्था होइन । यसले मात्र त्यसका लागि लबिङ गर्न सक्छ र लबिङ गर्नुपर्ने ठाउँमा फेरि राजनीतिक ब्यक्ति नै छन् । तपाईं गैरराजनीतिक ब्यक्तिलाई लबिङ गर्न असहज होला नि ?
यो उहाँहरुले भन्ने लजिक हो । बरु नेईएमा एमालेनिकट इन्जिनियर साथीले जित्नुभयो तर, सरकार कांग्रेसको छ भने नेईएले गर्न खोजेको काम नहुन सक्छ अथवा सहयोग नहुन सक्छ । नेईए गैरराजनीतिक छ र पेशागत हक–हितका लागि काम भइरहेको छ, उनीहरु सत्ता उल्टाउने–पल्याउने खेलमा छैनन् भन्ने उहाँहरुलाई एकीन गराउन सकियो भने उहाँहरुले झन् बढी सहयोग गर्नुहुन्छ । त्यसका लागि हामी हाम्रो एजेण्डामा केन्द्रित हुनुपर्छ । अर्को कुरा सत्ता र नेईएको राजनीतिक विचार मिल्दैमा पनि काम नहुने पक्ष छँदैछ । काम हुने भए त अहिले नेईएमा पनि एमालेनिकट साथीहरु हुनुहुन्छ र सत्ता पनि एमालेकै छ । यस्तो अवस्थामा खोई त नेईएले इन्जिनियर तथा आर्किटेक्टको पक्षमा काम गरेको ?

नेईए निर्वाचनमा उठ्नका लागि हदबन्दी लगाइएको छ । विद्यानअनुसार अध्यक्षमा उठ्न सदस्यता लिएको १५ वर्ष कट्नुपर्ने प्रावधान छ । यसको विरोधमा तपाईं जिल्ला प्रशासन कार्यालय जानुभयो । सर्वोच्च अदालत पनि जान्छु भन्नुभएको थियो । कहिले जानुहुन्छ ?
बुढ्यौली लागेपछि, दाह्री–जुँगा फुलेपछि अध्यक्षमा उठ्न पाउने भन्ने कुरा निकै हाँस्यास्पद छ । २०–२१ वर्षको मान्छे मेयर हुन सक्छ, ३०–३५ वर्षको मान्छे मन्त्री हुन सक्छ तर, नेईएको व्यवस्थाअनुसार २०–२५ वर्षमा सदस्यता लिँदा अध्यक्ष हुनलाई ३५–४० वर्ष हुनुपर्ने देखियो । अझ कसैले ढिला नेईएको सदस्या लिएको छ भने त ५०–६० नै हुनुपर्ने अवस्था आयो । लामो समय विदेशमा बसेर, राम्रो ज्ञान र अनुभव लिएर नेपाल आएर केही गर्छु भन्ने भावना भएको ब्यक्तिले अवसर नै पाउने भएन । देश लोकतन्त्रमा गइसकेको अवस्थामा, संविधानले सबैलाई समान मानेको अवस्थामा नेईएमा युवाहरुलाई नेतृत्वमा आउनबाट बन्देज लगाउने खालको परिपाटी स्थापित हुनुले लोकतन्त्र र संविधानलाई नै गिज्याएको छ । मेरिटको आधारमा उसले प्राप्त गरेका उपलब्धीलाई आधार मानेर हदबन्दी लगाइन्थ्यो भने पनि ठिक थियो तर यहाँ गलत अभ्यास भएको छ । कसैले मेरिट नेईए सदस्य भएको ५ वर्षमा प्राप्त गर्यो भने त्यत्तिको प्रोफाइल बनाएको मान्छेले नेईए हाँक्न सक्ने क्षमता पक्कै राख्छ ।
यस विषयमा प्रशासन कार्यालयले स्पेशल एजिएम बोलाएर पुर्नविचार गर्नुस् भनेको छ । त्यसैले एजिएमसम्म मैले पर्खिएको छ । उहाँहरुले २०७५ सालमा १५ हजारभन्दा धेरै सदस्य रहेको नेईएमा भएको अवस्थामा जम्मा २ सयको उपस्थितिमा यस्तो प्रावधान राख्नुभएको छ । म उहाँहरुलाई चुनौती दिन्छु, स्पेशल एजिएमबाट दुई तिहाइ होइन कि एक चौथाईंबाट पास गराउनुहुन्छ भने पनि हामीलाई मान्य हुनेछ । किन कि मलाई थाहा छैन, केहीबाहेक ठूलो जमात यो प्रावधानको विरोधमा छ । अब म स्पेशल एजिमएको पर्खाईमा छु ।

तपाईं स्वतन्त्र इन्जिनियर तथा आर्किटेक्टहरुको संजाल विस्तारमा लाग्नुभएको हो ?
हो । म एक्लैको बलले नेईएमा रहेको विसंगति चिर्न सम्भव छैन । त्यसैले धेरैभन्दा धेरै युवा साथीहरुको सहभागीता आवश्यक छ । र, यसका लागि दैनिकरुपमा ३–४ जना साथीहरु संजालमा जोडिइरहनुभएको छ । केहीलाई शंकर ढकालले यसो गरेर इन्जिनियरिङमा फाँटो ल्याउने काम गर्न लागेको हो कि भन्ने लाग्न सक्छ । हामीले त्यसो नभएर नेईएमा रहेको विसंगतिलाई चिर्नका लागि यसो गरेका हौँ । हाम्रो एजेण्डामा विभिन्न इन्जिनियरिङ संगठनमा आवद्द साथीहरु पनि क्लिएर हुनुहुन्छ । त्यसैले यो नेईएको सुधार र परिवर्तनका लागि थालिएको अभियान हो ।

तपाईंले नेईएलाई सफा, वास्तविक र आकर्षित बनाउने मोडल अघि सार्नुभएको छ । सफा, वास्तविक र आकर्षित भनेको के हो ?
छताछुल्ल अवस्थामा रहेर जसरी नेईएमा राजनीतिकरण भएको छ, त्यो हट्नुपर्र्छ भन्ने हो । नेईए रजनीतिको विभिन्न रंगहरुले गर्दा अहिले निकै फोहर भएको छ । यसलाई एउटा मात्र रंगमा ढाल्ने मेरो प्रयास हो । त्यो भनेको इन्जिनियरहरुको रंग हो ।
जब हामी प्रभावकारी कामहरु गर्छौँ तब नेईए वास्तविक बन्छ । पूर्वाधार विकासमा नेईएले सहयोगी भूमिका निर्वाह गर्न सक्छ । त्यो बहस चलाएर होस् या सम्बन्धित निकायलाई सल्लाह, सुझाव दिएर वा खबरदारी गरेर नै किन नहोस् । युवा इन्जिनियर तथा आर्किटेक्टहरुका लागि जागिरको अवसरका लागि पहल गर्न सक्छ । तालिमहरु प्रदान गरेर प्रोफेसनल अभ्यासहरु गराएर नेईएले उनीहरुको अभिभावकको रुपमा काम गर्न सक्छ । यसो गर्ने हो भने वास्तविक नेईए बन्छ ।
नेईएको सदस्यता लिएका तर यहाँभित्रको फोहर चित्र र चरित्रले गर्दा विकर्षित भएर सदस्यता नविकरण नगरी बसेका थुप्रै सिनियरहरुलाई मैले भेटेको छु । नयाँ सदस्य बन्न युवा साथीहरु इच्छुक छैनन् । नेईएलाई सफा र वास्तविक बनाउन सकियो भने फेरि नेईएप्रति उहाँहरुको आकर्षण बढ्छ र नेईए सबै इन्जिनियर तथा आर्किटेक्टको आकर्षित संस्था बन्छ ।

तपाईं नास्टमा बरिष्ठ प्राविधिकको रुपमा काम गरिरहनुभएको छ । त्यति राम्रो जागिर हुँदाहुँदै र अन्य क्षेत्रमा पनि थुप्रै अवसर हुँदाहुँदै तपाईं दिनरात नेईए सुधार गर्छु भन्दै हिँडिरहनुभएको छ । यसमा तपाईंको पनि पक्कै कुनै स्वार्थ त होला नि । त्यो स्वार्थ के हो भनिदिनुस् ?
मेरो स्वार्थ भनेको मेरो आफ्नो समुदायलाई नैतिक र सम्मानित बनाऊँ भन्ने नै हो । नत्र मेरो ब्यक्तिगत कुनै स्वार्थ छैन । नेईएमा मैले चाहे पनि नचाहे पनि मेरो प्रतिनिधित्व भइरहेको हुन्छ । नेईए नराम्रो हुँदा म र मेरो समुदाय नै नराम्रो बाटोमा हिँड्न सक्छ । इन्जिनियरिङ भन्दा बाहिरको समुदायले यसलाई हेर्ने दृष्टिकोण गलत बन्न सक्छ । त्यसैले नेईएलाई एउटा प्रोफेसनल संस्थाको रुपमा सुधार गर्न मैले चाहेको हो । यसलाई अन्तर्राष्ट्रिय इन्जिनियरिङ संस्थासँग कसरी कनेक्ट गर्ने र त्यहाँबाट नेपाली इन्जिनियरिङ समुदायले कसरी फाइदा लिने भन्ने पनि मेरो अर्को स्वार्थ हो । मेरा यस्था थुप्रै स्वार्थ छन् ।

Your Opnion

//