५२५ रुपैयाँको सरकारी जागिर छाडेर कल्सल्टेन्सी क्षेत्रमा चम्किएका इन्जिनियर केशव - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Feature

५२५ रुपैयाँको सरकारी जागिर छाडेर कल्सल्टेन्सी क्षेत्रमा चम्किएका इन्जिनियर केशव

‘कन्सल्टिङ एक बिजनेस हो । बिजेनस गर्ने क्रममा प्रोफेसनालिज्मलाई बिर्सिने काम मबाट कहिल्यै भएको छैन । अर्थात्, अनप्रोफेसनल र अस्वस्थ प्रतिस्पर्धाबाट म निकै टाढा छु,’ यो वाक्य हो, आफ्नो सिंगो जीवन देशको पूर्वाधार विकासमा समर्पित गरेका वरिष्ठ इन्जिनियर केशव कुँवरको । उनी विगत ३९ वर्षदेखि ‘सिल्ट कन्सल्ट्यान्टस् को प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् ।

जबसम्म विकास निर्माणमा आफ्नै देशको स्रोत, साधन र सीपको प्रयोग हुँदैन तबसम्म देशको समृद्ध विकास हुन सक्दैन भन्ने उनको मान्यता छ । त्यसैले सिल्टमार्फत देश विकासका लागि आन्तरिक स्रोत साधनलाई नै बलियो बनाउन हरपल प्रयासरत छन्, उनी । फलस्वरूप उनले आज सिल्टलाई एक विश्वासिलो कन्सल्टेन्सीका रूपमा उभ्याउन र विकास निर्माणमा सफल बनाउन सकेका छन् ।

जन्म, बाल्यकाल र शिक्षा

केशव अर्घाखाँचीको अर्घातोसस्थित तीतेपानीमा जन्मेका हुन् । २०१० वैशाख ९ गते एक मध्यम परिवारमा जन्मिएका उनी पहाडी क्षेत्रमा हुर्के, बढेकाले बाल्यकाल त्यति सहज भने थिएन । १० वर्षको उमेरसम्म पढ्ने त परै जाओस्, अक्षर चिन्ने मौकासमेत पाएनन्, उनले । धाराबाट पानी भर्नु, गोठालो जानु, घाँस काट्नु, आमालाई सघाउनु दिनचर्या नै थियो ।

पहाडमा खान, लाउन दुःख भो भनेर २०२० सालमा उनको बुवा सपरिवार बसाइ सरी चितवन पुगे । छोराहरूलाई पढाउनुपर्छ भन्ने ठूलो सोच थियो, उनको बुवाको । ‘केही समयपछि काठमाडौंबाट उदयकुमार अधिकारी नामका एक जना गुरु जानुभयो,’ उनले सनुाए, ‘बुवाले हामी बसेको जग्गाको कुनामा एउटा सानो टहरो बनाएर कक्षा ५ सम्मको स्कुल खोल्नुभयो ।’ यहीँबाट उनको औपचारिक शिक्षा प्रारम्भ भयो ।

केशवको अक्षर चिन्ने चाहना त्यहाँ गएर पूरा भयो । उनी त्यहाँ एकैचोटी कक्षा ३ मा भर्ना भए । पढाइमा उनी निकै अब्बल थिए । कक्षा ३ मा प्रथम भएर सबैलाई चकित पारिदिए । त्यसपछि उनी एकैचोटी ५ र ५ बाट ७ मा अपग्रेड भए ।

‘यी कुरा सम्झिँदा अहिले अचम्म लाग्छ’, मुस्कुराउँदै उनी भन्छन्, ‘पछि बुवाले लाई यसलाई धेरै कक्षा अपग्रेड गर्नुहुँदैन भनेर ८, ९ र १० कक्षामा लगातार पढाउनुभयो ।’ यसरी २०२० सालमा पढाइ सुरु गरेका केशवले २०२६ सालमै एसएलसी पूरा गरे ।

एसएलसीपछि उनी ‘साइन्स’ पढ्न काठमाडौं आए। अमृत साइन्स क्याम्पसमा भर्ना भए । काठमाडौंमा उनी आफ्ना दाजु उत्तम कुँवरसँग बस्थे । अहिलेका नेता बाबुराम भट्टराई, कमल थापा, उपेन्द्र देवकोटा उनका ‘क्लासमेट’ थिए । पढाइमा बाबुराम र उनको टक्कर हुन्थ्यो ।

‘जिन्दगीमा मलाई दोस्रो बनाउने बाबुराम भट्टराई मात्रै हुनुहुन्थ्यो,’ उनले भट्टराईसँगको किस्सा सुनाउँदै भने, ‘टर्मिनल परीक्षामा बाबुराम भट्टराईको फिजिक्सको सेकेन्ड पेपर बिग्रेछ । अनि मैले उहाँलाई जित्छु भन्ने डरले एउटा पेपरको परीक्षा नै दिनुभएन । रिजल्ट आउँदा त एउटा पेपर नदिए पनि उहाँको मेरोभन्दा १८ नम्बर बढी आयो ।

कुँवर पढाइमा अब्बल भएका कारण स्कुल होस् या कलेज सधै छात्रवृत्ति पाए । ‘हाइस्कुलमा मैले जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका रूपमा मासिक ५० रुपैयाँ पाउँथेँ भने साइन्स पढ्दा ७५ रुपैयाँ छात्रवृत्ति पाउँथे,’ उनले भने ।

आइएसस्सीपछि उनको मनमा इन्जिनियर पढ्ने सोच पलायो । त्यसका लागि भारतको एक विश्वविद्यालयमा इन्जिनियरिङ पढ्नका लागि छात्रवृत्ति पनि पाए । तर, उनी गएनन् । सोभियत युनियनमा छात्रवृत्ति पाएर अडेसाको युक्रेनस्थित अडेसा इन्स्टिच्युट अफ इन्जिनियरिङमा पढ्न गए । त्यहाँबाट उनले ‘बिल्डिङको स्ट्रक्चरल डिजाइन’ पढेर फर्किए ।

उनले सुनाए, ‘म अडेसा गएर सिभिल इन्जियिरिङ पढेँ । त्यहाँ पनि म सधै प्रथम भएँ । त्यहाँ पनि मैले मासिक ९५ रोबोल छात्रवृत्ति पाउँथे र ४ वर्षको कोर्ष सकाएर आफ्नै देशमा फर्किएँ ।’

पढाइ बिल्डिङ डिजाइनको, विज्ञ सडकको

इन्जिनियरिङ क्षेत्रमा लाग्ने वित्तिकै कुँवरले देशको दिगो विकासमा लाग्ने सोच बनाइसकेका थिए । त्यो सोच पूरा गर्न उनी नेपालमै काम गर्न चाहन्थे । २०३५ सालको कुरा हो, अडेसाबाट पढाइ सकाएर नेपाल आउने बित्तिकै उनले सडक विभागको डिजाइन शाखामा जागिर पाए । ५२५ रुपैयाँ उनको तलब थियो ।

उनलाई पाल्पा–तम्घासम्मको बाटो डिजाइन गर्ने जिम्मा दिइयो । तर, काम गर्दै जाँदा उनलाई त्यो शाखा काम होइन गफ गर्ने थलो जस्तो लाग्न थाल्यो । बाहिरको होस् या भित्रको या कुनै प्रोजेक्टमा काम गरिरहेको जोकोही त्यहाँ आएर गफ मात्रै गर्थे । यस्तो किन गर्छन् जस्तो लाग्थ्यो उनलाई । सबैको कुरा सुन्दा उनलाई विकास निर्माणको मूल्यमान्यता बिर्सेर सबै सेटिङमा चलेको थाहा पाए ।

इन्जिनियर्स पोस्टसँग कुँवर सुनाउँछन्, ‘विभागभित्र कसरी प्रोजेक्ट आफ्नो बनाउने र नाफा कमाउने मात्रै कुरा गर्ने गरेको पाएँ । काम गरेको ३ महिनासम्म पनि अवस्था जस्ताकोतस्तै देखेपछि यस्तो ठाउँमा काम गर्दिनँ भनेर राजीनामा दिएँ र बाहिरिएँ ।’

जागिर छोडेपछि अब के गर्ने भन्ने चिन्ता उनमा थियो । तर, उनले राजीनामा दिएको थाहा पाएर केही दिनपछि आशामान तन्डुकारले उनलाई बोलाए । उनी तन्डुकारसँगै विश्वकर्मा कन्सर्न नामक कन्सल्टेन्सीमा कम गर्न थाले । ‘मेरो हाकिम सर्भेअर अनि म इन्जिनियर । मैले त्यहाँ फिल्डमा गएर काम गर्ने ठूलो अवसर पाएँ,’ धेरैभन्दा धेरै प्राक्टिकल ज्ञान पाएको बताउँदै उनले भने, ‘म खासमा ‘बिल्डिङको स्ट्रक्चरल डिजाइन’ पढेर आएको तर, जागिर पाएँ सडकमा । सुरुमा मलाई निकै गाह्रो भयो । त्यसपछि मैले बिहान ६ बजेदेखि रातिसम्म काम गर्न थालेँ । अन्ततः मैले मेरो करिअर सडक विज्ञका रूपमै बनाएँ ।’

त्यसपछि त्यही ठेकेदारमार्फत त्रिशूलीको बाटोमा निर्माणमा करिब ८ वर्ष काम गरे । त्यहाँबाट उनले ठेकेदारले गर्ने कामको शैली र एक प्राविधिकले व्यवहारिक रूपमा थाहा पाउनुपर्ने आधारभूत कुरा सिके ।

‘अनि सिल्टसँग जोडिएँ’

इन्जिनियरिङ पढेर आइसकेपछि उनको मनमा एउटा कम्पनी खोल्ने सोच पहिलेदेखि नै थियो । त्यसै सिलसिलामा उनले सन् १९७९ तिर ‘स्टर्न कन्सल्टिङ फर्म’ भनेर खोले । तर, त्यो सक्रिय भएन । त्यसपछि फेरि जागिर खाने सोच बनाए । ‘सन् १९७९ तिरको कुरा हो, एक नर्वेजन कम्पनीले कोहलपुर–महाकाली राजमार्गको सम्पूर्ण डिजाइनको काम पाएको थियो । त्यसमा खोलाका माटो परीक्षण, ड्रिलिङ जस्ता काम गर्नुपर्ने थियो,’ उनले सुनाए, ‘प्रोजेक्टका प्रमुख विष्णुबहादुर कार्कीले मलाई बोलाए । तर, काममा जाँदा त्यहाँ न मेसिन छ, न ल्याब्रोटरी छ । न त विशेषज्ञ नै । दिक्क लागेर आयो ।’

काम लिइसकेपछि अधुरो छोड्ने बानी छैन उनको । त्यो कामका लागि उनले चिनजानका  राना मगर थरका इन्जिनियरलाई  बोलाए । केशवका अनुसार उनी ५० हजार तलबमा काम गर्न राजी भए । अर्को दिन १ लाख चाहियो भने । त्यसपछि अर्को दिन डेढ लाख चाहियो भने, अर्कोदिन सेयरमा काम गर्ने भने यस्ता कुराले केशवलाई दुखी बनाइसकेको थियो ।

यसरी पटकपटक कुरा फेरेको प्रसँग सुनाउँदै उनी भन्छन्, ‘यसले मेरो साह्रै चित्त दुख्यो । तर, उहाँसँग सहकार्य गर्नुको विकल्प थिएन । सबै सामान जोरजाम गरियो । उहाँले भनेजति पैसा पनि पठाएँ । केही समयपछि हेर्न आउँदा काम १० प्रतिशत पनि भएको थिएन । त्यतिकै छोडेर जानुभयो । त्यसपछि म र मेरो भाइ मिलेर बल्लबल्ल काम सकायौं ।

यसरी पटकपटक साथीहरूबाट उनले धोका खाएपछि स्वतन्त्र रूपमा काम गर्न फेरि आफ्नै कम्पनी खोल्ने सोच पलायो । त्यतिबेला अरुणमान प्रधान र डा. रामकृष्ण पौडेलले मिलेर ‘सिल्ट कन्सल्ट्यान्ट’ भर्खरै दर्ता गरेका थिए । उनी त्यहाँ पुगे । खुशी हुँदै उनले सुनाए, ‘त्यहाँ गएर अरुण दाइलाई म पनि तपाईंहरूसँगै काम गर्छु भनेँ । उहाँले पनि मलाई खुसीसाथ राख्नुभयो । त्यसपछि हामीले यसलाई प्राइभेट लिमिटेड बनायौं ।’

उनी सिल्टमा छिरेपछि सन् १९८० देखि १९८४ सम्मको इतिहासमा भएका सबै महत्वपूर्ण काम सिल्टले लिएको उनको दाबी छ । त्यसपछि उनी सन् १९८६ देखि अहिलेसम्म सिल्टको प्रबन्ध निर्देशकका रूपमा छन् । केशव सुनाउँछन्, ‘अरू थुप्रै साथीहरू हुनुहुन्थ्यो । उहाँहरू रिटाएर भएर जानुभयो । म यसमै छु ।’

हाल पूर्वाधार विकासको क्षेत्रमा सिल्टले देशमा मात्र होइन विदेशमा समेत काम (ठेक्का) पाइरहेको छ ।

तस्बिर/भिडियोः सचिन शर्मा/इन्जिनियर्स पोस्ट

Your Opnion

//