गत भदौ ३० मा मेलम्ची खानेपानी आयोजनामा निकै उत्साह थियो । किन कि आयोजनाको सबैभन्दा महत्वपूर्ण पक्ष सुरुङ परीक्षण हुँदै थियो । संचारमाध्यमदेखि हरेक नागरिकको ध्यान मेलम्चीमा केन्द्रित थियो । सुरुङ परीक्षण काठमाडौंवासीको मेलम्ची सपनाको अन्तिम विन्दु थियो ।
एक इन्जिनियर पनि मेलम्ची सपनालाई नजिकबाट नियालिरहेका थिए । नियालेका मात्र थिएनन्, सो सपनाका एक नायक थिए उनी । काठमाडौंमा पानी पुर्याउने अभियानमा खटिएका मधेशी मुलका ती इन्जिनियर थिए, सतिश कुमार गोइत ।
सुरुङ परीक्षणको क्रममा आयोजनाको १७ नम्बर गेट फुट्दा काठमाडौंवासीको सपना सँगै सतिशको सपनाको संसारमा पनि एकछिन कालो बादल मडारियो । अर्कोदिन ३१ गते बुधबार उनको मृत शरीर भेटियो ।
यतिबेला सशित हामीसामू छैनन्, उनको परिवारको एक टुक्रा सपना पनि उनीहरुसँग छैन । तर उनको एउटा सपना भने साकार भएको छ । अर्थात, मेलम्ची काठमाडौं आएको छ । मेलम्चीको पानी काठमाडौंवासीको घरमा आउँदा सतिशले धाराबाट पानी खसेको हेर्ने सौभाग्य पाएनन् । तर, धाराबाट खसेको पानीको थोपामा उनको पनि पसिना मिसिएको छ । र, उनको आत्माले पक्कै शान्ति पाएको हुनुपर्छ ।
मेलम्ची खानेपानी आयोजनाले आइतबार करिब ४ करोड लिटर पानी महांकाल, चाबहिल, न्युरोड, मीनभवन, खुमलटार क्षेत्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पुरानै धारामा र अनामनगर क्षेत्रमा नयाँ धारामा वितरण गरेको छ । गत फागुन २२ गते अम्बाथान हेडवर्क्स सुरुङबाट सुन्दरीजल ट्रिटमेन्ट प्लान्टमा पानी ल्याइएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा एक समारोहका बीच ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानी वितरण गरिन् । सोही कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य नेता तथा प्राविधिकले गोहितलाई सम्झिए । उनीप्रति श्रद्दाञ्जली अर्पण गरे । यसरी सार्वजनिक कार्यक्रममा उनलाई सम्झनु पनि उनीप्रतिको एक किसिमको सम्मान हो ।
Your Opnion