नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नोलाइट धनुषामा कार्यरत ४ कर्मचारीले संयुक्तरुपमा ५ हजार घुस लिएको खुलेको छ । सुपरभाइजर जगत नारायण साह, इलेक्ट्रिसियन यम कुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवल किशोर राउत र मनोहर कुमार महतोले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट गएको टोलीले सेवाग्राहीबाट ५ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा चारै जनाको सहमति, संलग्नता एवं मिलेमतोमा नवल किशोर राउतमार्फत सेवाग्राहीको नाममा दर्ता रहेको पोल्ट्री फर्ममा विद्युत मिटर जडान गराई दिएवापत घुस लिएको पुष्टिसमेत भएको छ । अख्तियारले उनीहरुलाई कानुन बमोजिम कारबाहीको माग गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
Your Opnion