पर्वतको मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत आयोजनाको काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
२०७१ सालदेखि निर्माण सुरु भएको आयोजनाको धेरै काम सम्पन्न भइसकेको छ भने अधिकांश काम लगभग अन्तिम चरणमा पुगेको छ । हाल पावरहाउस निर्माणको काम भइरहेको छ । २०७८ सालको जेठभित्र पावरहाउसको काम सम्पन्न गरेर आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।
विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिएर मध्यमोदी हाइड्रोपावर कम्पनीमार्फत निर्माण भइरहेको आयोजना निर्माण सम्पन्न गर्न २ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । नेपाल जलविद्युत् पूर्वाधार तथा विकास लिमिटेडले लगानी गरेको आयोजनामा चौधरी ग्रुप सँगै भारतको कोस्टल इन्डिया कम्पनी साझेदार छन् ।
’रन अफ दि रिभर’ मोडलमा बन्ने आयोजनाका लागि बिरेठाँटी बजार मुनि मोदी र भुरुङ खोलाको दोभानमा थिग्य्राउने पोखरी बनेको छ । त्यहाँबाट २ दशमलव ८ किमि लामो सुरुङमामार्फत पानी लगेर पर्वतकै देउपुर–२ मानिस्वाँरामा विद्युत गृहमा पुर्याइनेछ ।
आयोजना निर्माणको काम हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । यसको उत्पादन १ सय ३२ केभी लाइनमार्फत केरुङगाबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाका लागि प्राइम बैंकको अगुवाइमा सेन्चुरी, ग्लोबल आईएमई, कैलाश र क्लिन इनर्जी डेभलपमेन्ट बैंकले संयुक्त ऋण लगानी गरेका छन् ।
Your Opnion