नासाका वैज्ञानिकको समूहले पर्सिभेरेन्स रोभरलाई मंगल ग्रहमा पुर्याए । उक्त समूहकी सह–नायिका थिइन्, क्यानडा मुलकी इन्जिनियर फराह अलिबे ।
वैज्ञानिकहरुको टिमले उक्तग्रहमा रोभर अवतरण हुनुलाई अलिबेले सुरुवाती चरण भनेकी छन् । ‘सफलतापूर्वक मंगल ग्रहमा रोभर अवतरण गराउनु पक्कै गाह्रो काम थियो’ उनले भनेकी छन्, ‘हाम्रो टिमले सम्भव पारेको त्यो काम निकै उल्लेखनीय छ । रोभरलाई त्यहाँ अवतरण गराउँदा आफू पनि मंगल ग्रहमा पुगेझै महसुस भएको थियो ।’
मिसन पुरा गर्न नासाको टिमले विभिन्न चुनौतिको सामना गर्नुपरेको थियो । मंगल ग्रहमा जीवनको खोजी गर्नु सामान्य नरहेको इन्जिनियर अलिबे सुनाउँछिन् । ‘पृथ्वीबाट मंगल ग्रहमा जीवन अस्तित्वको खोजी गर्ने मिसन निकै कठिन रह्यो’ उनी भन्छिन्, ‘मिसनको रोभर अवतरणका लागि हामीले पूर्वतयारी र पूर्व योजनासहित काम गर्यौँ । दिनरात नभनी काम गर्यौँ । हरेक सेकेण्डको योजना तयार हुन्थ्यो ।’
मंगल ग्रहको पर्सिभेरेन्स यात्रा अवधिभर अलिबे दैनिक १ घण्टा ल्याबमा काम गर्थिन् भने बाँकी समय योजना बनाउने र अवलोकन गर्ने गर्थिन् । यसरी आफूहरुले सफलतापूर्वक मंगल ग्रहमा रोभर अवतरण गराएको उनी बताउँछिन् ।
‘पर्सिभेरेन्स मिसन आफैमा मिसनभित्रको मिसन थियो’ उनी सुनाउँछिन्, ‘मिसन पुरा गर्ने जिम्मा मेरो काँधमा थियो । मेरो सहयोगले पर्सिभेरेन्स सफलतापूर्वक अवतरण भयो ।’
पृथ्वीबाट उडेको करिब सात महिनापछि हालै मंगल ग्रहमा अवतरण गरेको पर्सिभेरेन्सले मंगल ग्रहमा विभिन्न तस्बिर खिचेर पृथ्वीमा पठाउने गरेको छ । –एजेन्सी
Your Opnion