इन्जिनियरिङबिना सम्भव थिएन पृथ्वीको अस्तित्व, न चल्थ्यो दैनिक जीवन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Blog

इन्जिनियरिङबिना सम्भव थिएन पृथ्वीको अस्तित्व, न चल्थ्यो दैनिक जीवन

  • ई. वीर सिंह धामीMarch 4, 2021

आज मार्च ४ अर्थात् ‘विश्व इन्जिनियरिङ दिवस’ । आज विश्वभरी विभिन्न सभा, सम्मेलन, कार्यक्रम, रिसर्च प्रस्तुति, अनुभव बाँडफाडलगायतका कार्यहरु गर्दै यो दिवस मनाएको छ । आजै युनेस्कोले एक कार्यक्रम आयोजना गरी ‘दिगो विकासका लागि इन्जिनियरिङ’ भन्ने प्रतिवेदन पनि सार्वजनिक गरेको छ । यो वर्षको नारा ‘स्वस्थ ग्रहको लागि इन्जिनियरिङ’ भन्ने रहेको छ । अर्थात, सम्पूर्ण पृथ्वीको स्वस्थताका लागि इन्जिनियरिङ ।

सन् २०२० को मार्च ४ तारिखदेखि प्रत्येक वर्ष यो दिन विश्व इन्जिनियरिङ दिवस मनाइने गरिन्छ । युनेस्कोको ४० औं साधारण सभाले नोभेम्बर २०१९ मा यो दिवशको घोषणा गरेको थियो । मानवीय सभ्यताको विकास, आइपरेका चुनौतिहरुको सामना र पर्यावरणीय समस्याको समाधानका लागि इन्जिनियरहरुले खेलेको विशेष भूमिका र योगदानको कदरस्वरुप यो दिवस मनाउन शुरु गरिएको हो ।

युनेस्कोले सन् २०१० मा ‘इन्जिनियरिङः मुद्दाहरु, चुनौतिहरु र विकासका लागि अवसरहरु’ भन्ने प्रतिवेदन सार्वजनिक गरेको १० वर्षपछि यो दिवस मनाउन शुरु गरेको हो । सन् २०१५ मा संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘दिगो विकास लक्ष्यहरु, २०३० को प्राप्ति इन्जिनियरहरुको साथ र सहयोगबिना असम्भव हुने कुरा आत्मसाथ गरी आधुनिक मानवीय जीवनसँग सम्बन्धित स्वास्थ्य, भोकमरी, जलस्रोत, ऊर्जा, पूर्वाधार विकास, वातावरण संरक्षण तथा जलवायु परिवर्तन, जस्ता प्राकृतिक विपत्तीहरुको सामना गर्न र गौरवपूर्ण मानवोचित जीवन यापन गर्न विश्वभरी र अझ विशेष गरी अल्पविकसित र विकासशील देशहरुमा इन्जिनियरिङ र इन्जिनियरिङ समुदायको महत्व बोध गराउने उद्देश्यले पनि यो कार्यक्रम शुरु गरिएको हो ।

मानव सभ्यताको विकासमा इन्जिनियरले जहिले पनि नेतृत्वदायी भूमिका खेलेका छन् । एकहिसाबले मानव सभ्यताको विकासका जननी नै इन्जिनियरहरु हुन् भन्दा फरक नपर्ला । उन्नाइसौं शताब्दीमा औद्योगिक क्रान्ति अर्थात मेसिनको आविष्कार र प्रयोग हुने वातावरण नभएको भए मानव इतिहासमा कलंकको रुपमा रहेको ‘दाशप्रथा’ उन्मुलन हुने थिएन । सर्वसाधारण मानिसले स्वतन्त्रता प्राप्त गर्न सक्ने थिएनन् । मानिसको जीवन अहिलेको जस्तो सहज हुँदैनथ्यो । उन्नाइसौं शताब्दीको पूर्वार्धतिर विश्वकै सबैभन्दा धनी ब्यक्ति नाथन रोथचाइल्ड पिलोको उपचार गर्न नसकेर मृत्यु भएको सुन्दा अहिले विश्वास गर्न कठिन पर्छ । बिसौं शताब्दीमा ‘हरित क्रान्ति’ नभएको भए मानिसले ‘भोकमरी’ को पिडाबाट मुक्ति प्राप्त गर्न सक्दैनथे ।

राजनीति वा राजनैतिक दर्शनले मात्र न त दाशप्रथा उन्मूलन हुनसक्थ्यो न त भोकमरी नै । यदि यस्तो सम्भव हुन्थ्यो भने चीनको ‘अग्रगामी छलाङ (१९५८–१९६२)’ कार्यक्रमको दौरान मात्रै ५ करोड भन्दा बढी जनसंख्या भोकले मर्ने थिएनन् । अन्य कारणले भोकमरी हट्न सक्थ्यो भने ब्रिटिसहरुले भारतमा नहरहरु निर्माण गर्ने थिएनन् । ‘औधोगिक क्रान्ति’ र ‘हरित क्रान्ति’ दुवै इन्जिनियरहरुद्वारा गरिएका क्रान्ति हुन् । एक्काइसौं शताब्दीको ‘सूचना प्रविधि क्रान्ति’ पनि इन्जिनियरकै पशिनाबाट सृजित क्रान्ति हो । सूचना प्रविधिको क्रान्तिले मानिस एक्लैलाई कति सक्षम र शक्तिशाली बनाइदिएको छ भन्ने सन्दर्भमा प्रसिद्ध भौतिकशास्त्री मिचियो काकुले भनेका छन्, ‘अहिले ह्याप्पी वर्थ डे टू यू’ भन्ने चिप्समा जति कम्प्युटिङ शक्ति छ त्यति शक्ति प्राप्त गर्नका लागि सन् १९४५ मा हिटलर, स्टालिन, चर्चिल र रुजवेल्टको गठबन्धन पनि पर्याप्त हुँदैनथ्यो ।’

मानवका हर समस्या र चुनौतिहरुमा इन्जिनियरिङ र इन्जिनियरहरु सँगै छन् । बाढी–पहिरो, खडेरी, भूकम्पजस्ता प्राकृतिक विपत्तीको सामना गर्न तथा तिनले पु¥याउने क्षतिको न्यूनिकरण, पुनर्निर्माण गर्न, ऊर्जा, खाद्य, तथा स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न र वातावरण संरक्षण जस्ता कार्यहरुमा इन्जिनियरिङ र इन्जिनियरहरु प्रत्यक्ष रुपमा सहभागी छन् र समस्याको समाधानका लागि अहोरात्र खटिइरहेका छन् । स्वास्थ्यको क्षेत्रमा खानेपानी तथा सरसफाइमा भएको अभूतपूर्व परिवर्तनले झाडापखाला वा हैजा लागेर गाउँ नै रित्तिने महामारीको अन्त्य भएकोदेखि ह्विलचेयर, एक्स रे, एमआरआई, एफ एमआरआईलगायतका उपकरणहरुको जन्म दिएर इन्जिनियरहरुले ठूलो गुन लगाएका छन् । हाल आएर थ्रिडी प्रिन्टिङमार्फत मृर्गौला नै प्रिन्ट गरेर प्रत्यारोपण गर्न सकिने अवस्थामा पुगेका छन् । दिगो पूर्वाधार विकास, उर्जा विकास तथा जलवायू परिवर्तनको कारण उत्पन्न परिस्थितिको सामना गर्न लागिपरेका छन् । इन्जिनियर एलन मस्क केही गरी पृथ्वीमा बस्न सकिने अवस्था नरहेमा मंगल ग्रहमा मानव वस्ती सार्न सकिने कुरामा दृढ छन् ।

अहिलेको विश्व परिवेशमा समाजमा विद्यमान असमानता कम गर्न प्रविधिको उपयोग र त्यसका संवाहक इन्जिनियरहरुको योगदान अद्वितीय छ । करिब सय वर्ष पहिले विश्वकै सर्वाधिक धनी जोन रकफिलरले आफ्नो पुरै सम्पत्ति लगाउँदा पनि एउटा मोबाइल किन्न सक्ने अवस्था थिएन । अहिले यो मोबाइल सामान्य भन्दा पनि सामान्य व्यक्तिका लागि सर्वसुलभ भएको छ । सामान्य नागरिकले समेत अरब, मुग्लानतिरका आफन्तहरुसित प्रत्यक्ष भलाकुसारी गर्न सम्भव भएको छ ।

त्यसैगरी, शिक्षाको क्षेत्रमा विश्वकै प्रतिष्ठित अक्सफोर्ड, क्याम्ब्रिज, एमआईटी, हार्वर्डजस्ता विश्वविद्यालयका लेक्चरहरु घर बसीबसि लिन मिल्ने भएको छ । सूचना प्रविधिमा भएको विकासले थुप्रै मानवीय कार्यहरु चुट्कीको भरमा घरबाटै गर्न सम्भव भएको छ । निर्माण सामाग्रीको क्षेत्रमा भएको चमत्कारीक विकासको कारणले ती सामाग्रीहरुको प्रयोगमा सर्वसाधारणको पहुँच सम्भव भएको छ । सय वर्ष पहिलेका राजा महाराजाका दरबारजस्ता महल सर्वसाधारणले पनि निर्माण गर्न सक्ने भएका छन् । उनीहरुका पनि वातानुकुलित कोठा छन् । सुविधा सम्पन्न ‘पानीबन्द’ चर्पी छन् । जुन कुरा पहिले बेलायतका शक्तिशाली राजासित समेत हुँदैनथ्यो ।

यातायातको क्षेत्रमा भएको विकासले ‘जिओग्राफी’ सिमानारहित ‘कनेक्ट्रोग्राफी’ मा परिणत भएको छ । सबै देशहरु गाउँका टोलहरु जोडिएजस्तै जोडिएका छन् । सन् १९५१ मा नेपाल आएका टोनी हेगनलाई पोखरा पुग्न मात्रै पनि १० दिन लागेको थियो तर अहिले अवस्था विल्कुल बदलिएको छ । मान्छे १० दिनमा सम्पूर्ण विश्व भ्रमण गरेर फर्कन सक्ने अवस्था छ ।

मानव समाजले गरेको यति धेरै प्रगतिका बाबजुद पनि उसका सबै समस्याको समाधान अझै हुन सकेको छैन । अझै पनि विश्वको करिब आधा जति जनसंख्या भोकमरीमा बाँचेको छ । मानवले अहिलेसम्म समाधान गर्न बाँकी रहेको सबैभन्दा क्रुर समस्या हो, यो । त्यसैगरी, विश्वका विकासशील र अल्पविकसित देशहरुमा स्वच्छ खानेपानी र सरसफाइमा भएको पहुँच, समष्टिगत स्वास्थ्य, शिक्षा क्षेत्रमा भएको पहुँच, उर्जाको उपलब्धता, उद्योगधन्दा कलकारखाना र रोजगारीको अवसर, पूर्वाधार विकासको अवस्था हेर्दा यी देशहरुले विकसित देशहरुको अहिलेको अवस्थासम्म आइपुग्न मात्रै पनि निकै धेरै गर्नु बाँकी देखिन्छ । यी असमानताहरुविरुद्ध जुध्नका लागि इन्जिनियरिङ र इन्जिनियरहरुको सहभागीताबिना सम्भव छैन । यस्तो अवस्थामा विश्व इन्जिनियरिङ दिवशको सार्थकता झनै बढेको छ ।

मानव समुदायले गरेको आधुनिक विकास इन्जिनियरिङ र इन्जिनियरहरुसँग प्रत्यक्ष रुपमा गाँसिएको छ । तर यो यथार्थ नेपालजस्तो अल्पविकसित देशहरुको सन्दर्भमा भने बेग्लै देखिन्छ । ती देशहरुमा यो क्षेत्रको महत्व बुझ्न अथवा यसको महत्व स्वीकार गर्न सकिएको देखिदैन । इन्जिनियरिङ समुदाय आफैबाट पनि यथार्थ बुझाउन सकिएको देखिदैन । यो क्षेत्रमा नेतृत्व दिने भनिएका व्यक्ति र संस्थाहरुले पनि आफ्नो पेशाको सामथ्र्यलाई नजरअन्दाज गरी पटके सुख सुविधामा रमाएको देखिन्छ । राज्य र आम नागरिकको तर्फबाट पनि इन्जिनियरिङ समुदायप्रतिको व्यवहार सहयोगी देखिदैन । धेरै टाढा जानै पर्दैन अहिलेको युगमा पनि कमसेकम एउटा पनि छुट्टै स्वतन्त्र इन्जिनियरिङ विश्वविद्यालय किन खुल्न सकेन ? इन्जिनियरिङसँग सम्बन्धित अध्ययन अनुसन्धानमा बजेट छुट्टयाउम्दा ‘पैसा खेर जाने’ प्रतिक्रिया किन आउछ ? अर्बौँ–खर्बौं रुपैयाँको योजना जिम्मा दिइसकेपछि/लिइसकेपछि कमसेकम त्यही अनुसारको व्यवहार हुनुपर्ने हो कि होइन ? यस्ता कुराको पछाडी लुकेको मूल रहस्य खोज्यो भने पुग्छ ।

संयुक्त राष्ट्रसंघले दिगो विकासका लक्ष्यहरुको प्राप्तिमा इन्जिनियरको भूमिका आत्मसाथ गरी विश्व इन्जिनियरिङ दिवश मनाउने घोषणा गर्ने बेलासम्म पनि नेपालको विकासको भाग्य रेखा कोर्ने ‘राष्ट्रिय योजना आयोगमा’ एकजना पनि इन्जिनियरको दरबन्दी हुन नसक्नुलाई के भन्ने ? देशको विकासको भिजन र लक्ष्य तय गर्दा त्यसको परिपूर्ति गर्न कति स्रोत–साधन चाहिन्छ, पैसा कति चाहिन्छ, कति समय लाग्छजस्ता कुराहरुको प्रभावकारी अनुमान बेगरका सपनाहरु पुरा हुन्छन् कि हुँदैननन् ? गैर इन्जिनियरले लेखेका ‘आयोजना व्यवस्थापन सम्बन्धी’ कुराहरु पढेर इन्जिनियरले लोकसेवा पास गर्नुपर्ने वा आयोजना व्यवस्थापन गर्नुपर्ने अवस्था रहेसम्म कुनै गतिलो सृजना वा देश विकासले फड्को मार्न सक्ने सम्भावना कति रहन्छ ? यो दिवस यिनै कुराहरु सम्बन्धी चेतना जगाउने प्लेटफर्म हो, इन्जिनियरहरुको लागि एउटा अन्तर्राष्ट्रिय पर्व हो ।

(लेखक सिंचाई विभागका सिनियर डिभिजन इन्जिनियर हुन् । यो आलेख विश्व इन्जिनियरिङ दिवसको अवसरमा तयार पारिएको हो)

Your Opnion

//