हिमांशु गोल्छा हुलास स्टीलका निर्देशक हुन् । बाराको सिमरामा कारखाना रहेको देशकै ठूलो ग्याल्भनाइज्ड र कलर कोटेड कर्कटपाता उत्पादक कम्पनी हुलास स्टीलले लामो इतिहास बोकेको छ । यस क्षेत्रमा ११ वर्षको अनुभव संगालेका हिमांशु पछिल्लो समय कर्कटपातामा नयाँ प्रयोग र गुणस्तर बढाउनमा केन्द्रित छन् । गल्भाअलुम कर्कटपाता यसको एक उदाहरण हो । उद्योगपति स्वर्गीय दिवाकर गोल्छाका छोरा हिमांशु यतिबेला औद्योगिक घरानामा आफ्नै मेहनतबाट आफ्नो छुट्टै परिचय बनाउनमा ब्यस्त छन् । उनै हिमांशुसँग इन्जिनियर्स पोस्टका लागि कृष्ण आचार्यले नेपालको स्टील बजार, हुलास स्टीलको समग्र पक्ष र केही उनको ब्यक्तिगत जीवनबारे कुराकानी गरेका छन्ः
हाल हुलास स्टील कस्तो उत्पादनमा केन्द्रित छ । कुन प्रविधिलाई प्राथमिकता दिएको छ ?
हामीले विगत ४ दशकदेखि नेपालमा कर्कटपाता उत्पादन गरिरहेका छौँ । विगत लामो समयदेखि ग्याल्भनाइज्ड र कलर कोटेड कर्कटपाता उत्पादन गरिरहेकोमा पछिल्लो समय गल्भाअलुम कर्कटपाता उत्पादनमा हामी अलि बढी केन्द्रित छौँ । गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा कोल्ड रोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३ प्रतिशत जिंक र २ प्रतिशत सिलिकनको टिंग प्रयोग हुन्छ । आल्मुनियम र जिंकको मिश्रणले गर्दा गल्भाअलुम कर्कटपातामा जंक प्रतिरोधि क्षमता अन्य कर्कटपातामा भन्दा ३ गुणा बढी हुने भएकाले यसकोे टिकाउपन पनि ३ गुणा बढी हुन्छ । यो खिया प्रतिरोधक छ । यो अष्ट्रेलियन प्रविधि हो ।
त्यसैले, आम उपभोक्ताले कर्कटपाताको प्रयोग गर्दा उही मूल्यमा ३ गुणा बढी टिकाउ हुने गल्भाअलुम पाउनुहुन्छ । यसमा हामीले हुलास गल्भाअलुम ब्रान्डबाट सादा गल्भाअलुम कर्कटपाता र हुलास डियुरा कलर ब्रान्डबाट रंगीन कर्कटपाताको उत्पादन गर्दै आएका छौँ । त्यस्तै, हामीले पाइप, जिआईपाइप, एल्मुनियम ढोका, इलेक्ट्रिक पोल, सटर र डेकिंग प्रोफाइल्स समेत उत्पादन गरिरहेका छौँ । हाल दैनिक ५ सय टन कर्कटपाता र करिब २ सय टन पाइप उत्पादन भइरहेको छ ।
२०७२ सालको भूकम्पपछि तपाईंहरु कर्कटपाता उत्पादनमा अलि बढी केन्द्रित हुनुभएको हो ?
भूकम्पले भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । झन्डै ६ लाख घरहरु भत्किए । यस्तो अवस्थामा नेपाली कम्पनी भएको नताले छानाबिना बसिरहेका नेपालीलाई छिटो, सस्तो र गुणस्तरिय छाना उपलब्ध गराउनु हाम्रो कर्तब्य थियो । सोही कर्तब्य पुरा गर्न अघि सर्दै गर्दा हामी यतातिर बढी केन्द्रित हुन पुग्यौँ । हाम्रो उत्पादन धेरैले मन पनि पराउनुभयो । अहिले पनि माग उस्तै छ । मानिसहरुको यही मागलाई मध्यनजर गर्दै हामीले छिमेकी देश भारत, चीन र अन्य विकसित मुलुकले प्रयोग गर्दै आइरहेको गल्भाअलुम प्रविधिमार्फत जनतालाई नयाँ आभास दिन खोजिरहेका छौँ ।
नयाँ कर्कटपाता उत्पादन गर्नुभयो । यसको प्राविधिक तथा इन्जिनियरिङ परीक्षण सफल भइसकेको हो ?
हामीले उत्पादन थालेको एक महिना भएको छ । यसका धेरै खाले परीक्षणहरु हुन्छन् । क्रमशः ती परीक्षणहरु गरेर हामीले इन्जिनियर तथा प्राविधिकहरुलाई उपलब्ध गराउँछौँ । उहाँहरुको सल्लाहनुसार कमजोरीहरु सुधार गर्दै अघि बढ्छौँ । सबै परीक्षण र हाम्रो टिमको अनभुवमा यो प्रोडक्ट सफलतातिर अघि बढिसकेको छ ।
कोभिड–१९ ले चारैतिर आर्थिक मन्दी छायो । यसको असर हुलासमा पनि अवश्य पर्यो होला । कोभिडपछिको अवस्थामा के–कस्ता रणनीतिहरु परिवर्तन गर्नुपर्यो ?
कोभिडसँगै भएको लकडाउनको सुरुवाती ३–४ महिना निकै कठिनपूर्ण रह्यो । त्यतिबेला हामीले हाम्रा कर्मचारीहरुलाई सुरक्षाका साथ कारखानामै बसेर काम गरायौँ र वर्क फ्रम होमको आधारमा पनि काम गर्यौँ । भर्चुअल मिटिङ गर्ने ट्रेन्ड बस्यो । मिटिङमार्फत अन्य समयमा ध्यान दिन नसकेका कमी–कमजोरी, समस्या र चुनौतिबारे छलफल गर्ने अवसर मिल्यो । यो अवधिमा हामीले उत्पादन प्रणाली, उत्पादन गुणस्तर, कारखाना संचालन रणनीति, कामको ढाँचालगायतका कुरालाई अझ बलियो बनायौँ ।
स्टीलजन्य उत्पादनका लागि कच्चा पदार्थ भारतबाट ल्याउनुपर्छ । मूल्य घटबढ हुनुको कारण यही हो या अन्य कुनै छ ?
हो, स्टीलका लागि हामी भारतमै आत्मनिर्भर छौँ । विश्वको जुनसुकै मुलुकबाट खरिद गर्न नसकिने त होइन तर भौगोलिक हिसाबले भारत नजिक भएका कारण आयातमा सहज हुने भएकाले हामी अहिले भारतसँग निर्भर हुन परिरहेको छ । तर, मूल्यबृद्दिको कारण विश्व बजारसँग पनि जोडिएको छ । कोभिडका कारण चीन, अष्ट्रेलिया र युरोपका उद्योगहरु बन्द हुँदा उत्पादनमा परेको प्रभाव पनि एउटा कारण हो । भारतको स्टील बजार पनि विश्व बजारसँग जोडिएकाले विश्व बजारमा यसको मूल्य बढेसँगै त्यसको प्रभाव नेपालमा पनि परेको हो ।
चीनले पछिल्लो समय आफ्नो स्टीललाई विश्वब्यापीरुपमा फैलाउँदै छ । नेपालमा पनि हाल चिनियाँ स्टील खपत भइरहेको छ । चीनले उत्पादन बढाउँदा वा भनौँ नेपाली बजारमा उसको उत्पादन बढ्दा नेपाली व्यवसायीलाई के–कस्तो प्रभाव पर्ला ?
चीनले कम मूल्यमा आफ्नो स्टील नेपालमा पठाउँछ र नेपालीले कम मूल्यमा पाउनुहुन्छ भने यसलाई हामीले सकारात्मक रुपमै लिनुपर्छ । तर, हामीले सस्तो भन्दैमा गुणस्तरमा भने सम्झौता गर्नु हुँदैन । कर्कटपाता भनेको मानिसहरुको घर हो, घर भनेको जीवनसँग जोडिन्छ । त्यसैले घरमा प्रयोग हुने सामान गुणस्तरको भयो भने जीवन पनि गुणस्तरिय, सुरक्षित हुन्छ ।
भन्नुको मतलत, चीनबाट नेपाल आइरहेको कर्कटपातामा जिंक कुटिन ४० ग्राममात्र हुन्छ । जब कि हामीले उत्पादन गर्ने कर्कटपातामा जिंक कुटिन १२० ग्राम हुन्छ । चिनियाँमा पेन कुटिन पनि १० माइक्रोन हुन्छ, जब कि हामीले ३५ माइक्रोन दिन्छौँ । भूकम्पको बेलामा चीनबाट आएका कर्कटपाता एक वर्षमै बिग्रिएका समाचारहरु पनि आएका थिए । यस्ता कुराहरु आँखाले हेरेर थाहा नपाउने कुरा हुन् । तर, हामी नेपाली कम्पनी भएको नाताले ब्यापारसँगै एउटा सामाजिक जिम्मेवारी पनि हुन्छ । हामीले नेपाली गुणस्तर चिन्हका आधारमा सामान बेचिरहेका हुन्छौँ । त्यसकारण पनि हाम्रो उत्पादन गुणस्तरिय हुन्छ ।
स्टील उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ (आइरन ओर) भारतबाट धेरै आउँछ । यसको नेपालमै उत्पादन तथा भण्डारणको सम्भावना कत्तिको देख्नुहुन्छ ?
सम्भावना नहुने भन्ने त कुरै हुँदैन । भर्खरै मैले पनि पढे र सुनेअनुसार सरकारले भैरहवामा एउटा खानीको विकास गर्ने पक्षलाई अघि बढाउने र आइरन ओर उत्पादन गर्ने कुरा भएको छ । नेपालमा आइरन ओर छ भने सरकारले कुनै रणनीति बनाएर अघि बढ्न्पर्छ । अध्ययन तथा खोज गरेर पत्ता लगाउनु सक्नुपर्छ । यसका लागि सरकारको सक्रियता आवश्यक पर्छ । बरु त्यसका लागि केही सहयोग गर्नुपर्छ भने हामी पनि तयार छौँ ।
पछिल्लो समय भवन तथा संरचनाहरुमा स्टीलको प्रयोग बढेको छ । स्टील प्रयोग गर्दा हुने फाइदाहरु के–के हुन् ?
हामीले जसरी कंक्रिट र इट्टा प्रयोग गरिरहेका छौँ, कुनै पनि विकसित मुलुकमा हेर्नुभयो भने यसको प्रयोग निकै कम देख्न सकिन्छ । यो समय, खर्च र वातावरणीय हिसाबले पनि उत्तम छैन । यति हुँदाहुँदै पनि भारत र नेपालको सन्दर्भमा यसको प्रयोग अत्याधिक छ । अब यसको फाइदाको कुरा गर्दा, सबैभन्दा महत्वपूर्ण कुरा त सिमेन्ट र इट्टाभन्दा स्टीलको प्रयोग गरेर भवन बनाउँदै धेरै छिटो निर्माण सम्पन्न हुन्छ । एक वर्ष समय लाग्ने भवन ३ महिनामै बन्न सक्छ ।
अर्को भनेको भोलिको दिनमा स्टीलबाट निर्मित संरचनालाई खोलेर अर्को ठाउँमा लगेर पुनः प्रयोग गर्न सकिन्छ । अथवा, सामान नसार्ने तर, भाँचेर बेच्ने हो भने पनि कवाडको मूल्यमा केही पैसा आउँछ । भवन तथा संरचनाहरु आकर्षक पनि देखिन्छ । यी र यस्तै कारणले हुनुपर्छ पछिल्लो समयमा यसको प्रयोग बढ्दै गएको छ ।
तपाईंहरुसँग संख्यात्मकरुपमा कति इन्जिनियर हुनुहुन्छ । उहाँहरुसँग कसरी सहकार्य गर्नुहुन्छ ?
४० देखि ४५ जना इन्जिनियर अहिले हाम्रो कारखानामा काम गर्नुहुन्छ । इलेक्ट्रिकल, इलेक्ट्रिोनिक्स, सिभिल, मेकानिकलदेखि सबै खाले इन्जिनियरहरु हामीसँग हुनुहुन्छ । हाम्रो काम नै इन्जियिनरिङ क्षेत्रसँग सम्बन्धित भएकाले उहाँहरुसँगको सहकार्य अत्यन्त आवश्यक हुने भइहाल्यो । तर, अहिलेसम्म हामीले कम्पनीमार्फत नयाँ सोच र प्रतिभा भएका इन्जिनियरहरुसँग सक्षात्कार गर्न पाइरहेका छैनौँ । आगामी दिनमा उहाँहरुलाई हाम्रो कम्पनीमा अवसर दिने सोच भने छ । भन्नुको अर्थ हामी नयाँ प्रविधि र आविष्कारमा विश्वास राख्छौँ र त्यसको प्रयोगमा सचेत पनि छौँ ।
तपाईंको बुबा (स्वर्गीय दिवाकर गोल्छा) को नेपाललाई औधोगिकीकरण गर्ने ठूलो सपना थियो । नेपालमा विश्वस्तरिय प्रविधि भित्र्याएर धेरैभन्दा धेरै उद्योग स्थापना गर्ने सोच्नुहुन्थ्यो । उहाँको सपनालाई कत्तिको पछ्याउनुभएको छ ?
उहाँले आफ्नो समयमा नेपालमा धेरै खालका उद्योगहरु स्थापना गर्नुपभयो । विभिन्न खाले प्रविधिहरु पनि भित्र्याउनुभयो । म पनि उद्योग क्षेत्रमा काम गरेको ११ वर्ष भइसक्यो । यस दौरान हामीले यस क्षेत्रमा विभिन्न उपलब्धीहरु हात पारेका छौँ । आगामी दिनहरुमा पनि हामीले बुबाको सपना र देशको मागलाई मध्यनजर गर्दै अद्योग स्थापना र नयाँ प्रविधि भित्राउने कुरालाई अघि बढाउने नै छौँ ।
तपाईंले म्यानुफ्याक्चरिङ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट पढ्नुभयो । यो क्षेत्रमा आउने सोच पहिल्यै बनाउनुभएको रहेछ होइन ?
ठ्याक्कै त्यस्तो सोचेको थिइन । मैले प्लस टूमा साइन्स विषय लिएर म्याथ, फिजिक्स, केमेस्ट्री र इकोनोमिक्स पढेँ । मेरो स्नातकमा इन्जियिनरिङ गर्ने इच्छा थियो । तर, कलेजमा भर्ना हुन जाँदासम्म निश्चित थिइन । पछि इन्जिनियरिङ र म्यानेजमेन्ट दुवै समेटिएको कोर्स देखेपछि यही पढ्ने निधो गरेको हुँ । म्यानुफ्याक्चरिङसँग बुबाको सपना पनि जोडिएको र मलाई इन्जिनियरिङमा रुची भएकाले पनि यो विषय रोज्न पुगेँ । तर, त्यतिबेला भविष्यमा यही पेसामा आउँछु वा हाल गरिरहेको काम गर्छु भन्ने सपना नै भने बुनिसकेको थिइन ।
तपाईंले निर्माण तथा उत्पादनको क्षेत्रमा एक दशकको अनुभव लिइसक्नुभएको छ । नेपालको सन्दर्भमा कुरा गर्दा यस दौरान तपाईंले भोगेका वा अनुभव गरेका समस्या र चुनौतिहरु के–के हुन् ?
हाम्रो लागि कुनै काम गर्दा सरकारी स्वीकृति लिन लाग्ने समय नै मुख्य समस्या हो । कुनै योजना बनायो तर, स्वीकृति लिन ६ देखि ८ महिना समय लाग्ने भएपछि त्यो काम नै अप्रासंगीक भइसकेको हुन्छ वा त्यसतर्फ मन नै मरिसकेको हुन्छ । नेपालका नीति–नियमहरु निकै कमजोर छन् र भएका नीति–नियमअनुसार काम हुँदैन । जसकारण हामीजस्तो व्यवसायीहरुले विभिन्न अड्चनहरुको सामना गर्नुपर्छ ।
त्यस्तै, कुनै सामान भारतबाट नेपाल आयात भइसकेपछि पनि हामीकहाँ आइपुग्न ६–७ दिन लाग्छ । आयात कर पनि निकै उच्च छ । बजार व्यवस्थापन होस् या उद्योग तथा कलकारखानामा विद्युत आपूर्तीको कुरा होस्, सहज छैन । यी र यस्ता विभिन्न समस्या हामीले झेल्दै आइरहनुपरेको छ ।
अन्तिममा भनिदिनुस्, जनताले हुलास स्टील नै किन रोज्ने ?
हामीले बनाउने सामानहरुको गुणस्तर नै हुलास स्टील रोज्नुपर्ने कारण हो । बुबाले सधै भन्नुहुन्थ्यो, ‘यदि हामीले ग्राहकसँग पूर्ण पैसा लिएका छौँ भने उनीहरुलाई पनि पूर्ण क्वालिटीको सामान दिनुपर्छ ।’ त्यसैले, म पनि सोही बाटोमा हिँडिरहेको छु । हामी सामानको क्वालिटीमा कुनै कम्प्रमाइज गर्दैनौँ । ग्राहकले हाम्रो सामानको परीक्षणसमेत गर्न सक्छन् । हाम्रो ४० वर्षे सफल यात्रा पनि यसकै परिणाम हो भन्ने मलाई लाग्छ । र, हामीलाई यस्ता ४० वर्ष अझ धेरै बिताउनु छ ।
Your Opnion