लोप भएको शंख दह पुनर्निर्माण हुँदै, यस्तो छ डिजाइन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
local government

लोप भएको शंख दह पुनर्निर्माण हुँदै, यस्तो छ डिजाइन

हालको शंख दह ।

विश्व सम्पदा सूचीमा सुचिकृत चाँगुनारायण मन्दिरका ९ वटा दहमध्ये सबैभन्दा महत्वपूर्ण शंख दह पुनर्निर्माण हुने भएको छ । तीन वटा निर्माण कम्पनीले उक्त दह पुनर्निर्माणको जिम्मा पाएका छन् ।

पुनर्निर्माणको लागि यही फागुन ३ गते शिलान्याश गरिएको थियो । निर्माण सुरु भएको एक वर्षभित्रमा अर्थात आगामी फागुन २ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ । पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा हुन लागेको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना उपनिर्देशक ई. कोषनाथ अधिकारीका अनुसार उक्त दह पुनर्निर्माणको अनुमानित लागत ५ करोड १२ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

निर्माण कार्यको लागि पुरातत्व विभागको स्वीकृति लिइसकेको भवन उपनिर्देशक अधिकारीले इन्जिनियर्स पोस्टलाई बताए । ‘पुरातात्विक कुरा भएकाले स्थानीय र पुरातत्व विभागबाट स्वीकृति पाइसकेका छौँ’ उनले भने ‘यसमा दुई÷तीन निकायले काम गरेको हो ।’

डिजाइन
पुरातत्व विभागले नक्सा तयार पारेपछि भवनले विस्तृत डिजाइन तयार पारेको हो । संरचना सुरक्षित र बलियो बनाउन आफूहरुले थप डिजाइन अघि सारेको आयोजना उपनिर्देशक अधिकारीले बताए । ‘नाप÷नक्सा पुरातत्वको हो भने त्यसको आधारमा यसको पूर्णरुप हामीले तयार पारेका हौँ’ उनले भने, ‘त्यहाँको माटो कमजोर भएकाले संरचना जुनसुकै बेला भत्किन सक्ने खतरा हुन्छ । त्यसैले संरचना बलियो बनाउन डिजाइन पनि सोही अनुसारले तयार पारिएको छ । जसअनुसार आरसीसी प्रयोग गरिनेछ र त्यसलाई मौलिक रुपमा ढालिनेछ ।’

आयोजना उपनिर्देशक अधिकारीकाअनुसार शंख दहमा चतुर्भुज ब्रह्मा, महाकाल मन्दिर, पोखरी, भजन गर्न पाटी र बस्नका लागि प्रतिक्षालय बन्नेछ । स्थानीयबासीले भने बमोजिम प्राचिन संरचना खुला भएकाले त्यसलाई खुला नै छाडिनेछ । दह क्षेत्र नजिकै खोलाको पानी बग्छ । संरचना नबिग्रियोस् भनेर उक्त खोलाको पानीलाई फर्काउने काम गरिनेछ ।

स्थानीयसँगको छलफलपछि मात्र निर्माण कार्य अघि बढ्ने भएकाले कुनै विवाद नआउने उनको भनाइ छ । ‘शिलान्यास गर्ने दिन पनि संरचना यस्तो बन्दैछ भनेर थ्रिडी डिजाइन र ड्रविङ देखाइएको छ’ उनले थपे, ‘स्थानीयसँग पटक–पटक अन्र्तक्रिया गरेपछि निर्माण काम अघि बढाउने निर्णय भएको हो । उहाँहरुले सहमति जनाउनु भएको छ । त्यसैले यसमा कुनै विवाद नआउला ।’

कसरी लोप भयो शंख दह ?
करिब २ हजार ६८९ वर्गस्क्वायर क्षेत्रफलमा फैलिएको उक्त दह ‘नाग दह’को नामले समेत चिनिन्छ । चागुनारायण नगरपालिकामा अवस्थित उक्त दह लोप भइसकेको दह हो । स्थानीयको सहयोगमा केही वर्षअघिदेखि पुरातत्व विभागले नियमित अध्ययन थालेको थियो । उत्खननका क्रममा पुरै संरचना नभेटिए पनि शंख दह भएको क्षेत्रमा लिच्छविकालिन ढुंगा पुरातत्वले फेला पारेको थियो ।

आयोजना उपनिर्देशक अधिकारीकाअनुसार उक्त ठाउँको कमजोर माटो र भू–बनोटका कारण लामो समयअघि पहिरो जाँदा उक्त दह पुरिएको हुन सक्छ । स्थानीयको सहयोगमा पुरातत्वले खोजि गरेर मात्र दहको बारेमा थाहा भएको हो । यसबारे कुनै पनि लिखित प्रमाणहरु नभेटिएकाले सुरुमा स्थानीयको भनाइअनुसार नक्सा तयार भयो । त्यसपश्चात स्ट्रक्चरल इन्जिनियर, जियोलोजिष्ट, आर्किटेक्टलगायत सबैको अध्ययन र सल्लाहअनुसार डिजाइन तयार भएको हो । संरचना बलियो हुने गरी फाइनल डिजाइनको डिपीआर तयार छ ।

धार्मिक महत्व
उक्त दहमा श्री स्वस्थानीका ब्रतालुहरुले हरेक वर्ष माधव नारायण स्नान गर्ने परम्परा रहेको छ । स्थानीयकाअनुसार स्वस्थानी अवधिभर विभिन्न चार वटा प्रदेशमा भक्तालु यात्रा गर्ने गर्छन् । चार वटा प्रदेशमध्येको चागुनारायणको शंख दहलाई सबैभन्दा महत्वपूर्णरुपमा लिने गरिन्छ । प्राचिन समयमा ब्रतालु उक्त स्थानमा पुगेर मन्दिरमा पूजा गर्ने र दहमा स्नान गरेर फर्किने गर्थे ।

उक्त पोखरी लोप भएपछि ब्रतालुले प्लाष्टिकको पोखरी बनाउने र त्यसमा पानी जम्मा गरेर नुहाएर फकिने गर्छन् । यसबारे अधिकांशलाई थाहा नभएको आयोजना उपनिर्देशक अधिकारीले बताए । ‘ब्रतालुले प्लाष्टिकको पोखरी बनाएर अहिलेसम्म काम चलाइरहेका छन् ।’

Your Opnion

//