दक्षिण अमेरिकाको सबैभन्दा ठूलो ताल (द्वीप/टापु) ‘टिटिकाका’ मा पानीमाथि तैरिने बस्ती बसालिने भएको छ । समुद्री सतहदेखि १२ हजार ५ सय उचाइमा अवस्थित टिटिकाकामा ७० वटा मानवनिर्मित टापु छन् । जहाँ करिब ४ हजारभन्दा बढी ‘उरोस’ नामक दक्षिण अमेरिकी आदिवासीको बसोबास छ ।
मानव बसोबास भएको उक्त टापु तैरिन्छन् । तैरिने भएकोले उक्त क्षेत्रमा बसोबास गर्नेको संख्या लगातार बढिरहेको छ । पछिल्लो समय उक्त टापु पर्यटकको गन्तव्य नै बनेको छ । ल्याण्डफोरमको रिपोर्टअनुसार सो क्षेत्रमा बढिरहेको जनसंख्याले भविष्यमा समस्या निम्त्याउन सक्ने जनाएको छ ।
यसरी तयार भएको थियो डिजाइन
तैरिने टापु इन्जिनियरिङ शैली अपनाएर बनाइएका छन् । ती वर्षौंअघिका वास्तविक टापु र डुंगाहरूको डिजाइन अनुसरण गर्दै निर्माण गरिएका हुन् ।
पेरु र बोलिभियाका उरोस जातिले परालजस्तै ताल वरिपरि पाइने ‘टोटोरा रिड्स’ नामक वनस्पतिबाट उक्त क्षेत्रमा ससाना टापु बनाउन सुरु गरेका थिए । परम्परागत इन्जिनियरिङ विधिअनुसार बनाइएका ती टापुको आधार (बेस) टोटोरा रिड्सको मोटो तहबाट बनेका छन् ।
रिड्सबाट बनेका ती टापु समयसँगै एक ठाउँबाट अर्को ठाउँसम्म विस्तारै तैरिन थाल्छन् । यदि तालमा ठूलो हावाहुरी आउने सम्भावना भएमा टापु तैरिएर जमिनको छेउछाउसम्म पुर्याइन्छ ।
हरेक तीन महिनाको अन्तरालमा मानवनिर्मित टापु मर्मत गर्नुपर्ने हुन्छ । राम्रोसँग मर्मत सम्भार गरिएमा तिनको आयु करिब ३० वर्षसम्म लामो हुन्छ ।
आधुनिक प्रविधिसहितका टापु
तैरिने टापुमा बस्ने उरोस जातिले हाल आधुनिक प्रविधिको भरपुर प्रयोग गर्दै आएका छन् । मोबाइल फोन चार्ज गर्न र टेलिभिजन हेर्न ती टापुमा सोलार प्यानल जडान गरेका छन् । उनीहरूको आफ्नै सामुदायिक रेडियो पनि सञ्चालनमा छ ।
उक्त टापुमा बस्ने व्यक्तिको आम्दानी पर्यटन क्षेत्रबाट हुने गर्छ । खानपानका लागि भने ती क्षेत्रमा बस्ने मानिसले माछा मार्ने र सिकार खेल्ने गर्छन् । त्यसैगरी सामान्य पशुपालन र खेतीपाती पनि गर्छन् । यद्यपि, पर्यटक वा अरू कोही आगन्तुक/पाहुना आएमा स्वागतमा विशेष परिकार बनाउँछन् ।
टापुको इतिहास
करिब ३ हजार ७ सय वर्षअघि उरोस नामक आदिवासीको समूह टिटिकाका लेकमा सरेको अनुमान गरिन्छ । उक्त क्षेत्रमा भएको राजनीतिक अस्थिरताका कारण ‘इन्कास’ नामक जनजाति समूह उक्त तलाउ क्षेत्रमा प्रवेश गरेपछि उरोस समूहले आफ्ना लागि तैरिने टापु बनाउन सुरु गरेको हुन सक्ने अनुमान गरिन्छ । (एजेन्सीको सहयोगमा)
Your Opnion