इलेक्ट्रिकल इन्जिनियरिङ– भविष्यमा काम पनि, दाम पनि - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

इलेक्ट्रिकल इन्जिनियरिङ– भविष्यमा काम पनि, दाम पनि

  • ई. विकास बहादुर श्रेष्ठFebruary 25, 2021

इलेक्ट्रिकल इन्जिनियरिङ किन रोज्ने भन्ने निस्कर्षमा पुग्न हामी मानव सभ्यताको विकासमा जानुपर्छ । मानव सभ्यताको विकासमा महत्वपूर्ण पाटो भनेको औधोगिक क्रान्ति हो । त्यो क्रान्ति सफल हुनुको मुख्य कारण थियो, मेसिनहरुको विकास । मेसिनहरुको विकास हुनमा सबैभन्दा महत्वपूर्ण भूमिका इलेक्ट्रिकल इन्जिनियरहरुको थियो र हालसम्म छ पनि ।

नेपालमा इन्जिनियरिङ अध्ययन संस्थान आइओईले यस विषयलाई जन्म दिएको हो । हाल नेपाली बजारमा सिभिल, कम्प्युटर इन्जिनियरको माग बढी भएकाले इलेक्ट्रिकल इन्जिनियरिङ विषयप्रति विधार्थीको आकर्षण कम छ । तर, रिसर्च गर्ने हो भने इलेक्ट्रिकल इन्जिनियरको मागअनुसार दरबन्दी पुरा हुँदैनन् ।

इलेक्ट्रिकल इन्जिनियरिङबिना कुनै पनि इन्जिनियरिङका विधा पूर्ण हुँदैनन् । चाहे सिभिल होस्, कम्प्युटर होस्, इलेक्ट्रोनिक्स होस्, बायो मेडिकल होस् या आर्किटेक्ट नै किन नहोस् । विगत होस् या वर्तमान, इलेक्ट्रिकल इन्जिनियरिङको महत्व हाम्रो समाजमा झन्पछि झन् बढ्दै गइरहेको छ । त्यसैले विधार्थीले ढुक्कसँग यो विषय पढ्दा भविष्य राम्रो छ ।

कार्य क्षेत्र
विदेशतिरको हकमा विद्युत् उत्पादन र वितरण÷प्रसारण, कम्प्युटरको माइक्रोचिप्स बनाउने, न्यूक्लियर पावर प्लान्ट बनाउने काम इलेक्ट्रिकल इन्जिनियरको हुन्छ । नेपालको सन्दर्भमा जलविद्युत् उत्पादन, व्यवस्थापन र वितरण, एरोस्पेस, वैकल्पिक ऊर्जा, मेडिकल इक्वेपमेन्ट क्षेत्र, औद्योगिक क्षेत्र, भू–उपग्रहलगायत क्षेत्रमा अवसर छ । यसमा सबैभन्दा ठूलो भूमिका इलेक्ट्रिकल इन्जिनियरको हुन्छ । त्यसैले वर्तमान समयमा मात्र नभई अबको ५ देखि २० वर्षको अन्तरालमा इलेक्ट्रिकल इन्जिनियरको माग अत्याधिक रुपमा बढ्ने निश्चित छ ।

कोरोनापछि विश्वमा सबैभन्दा बढी माग भएको बायोमेडिकल इन्जिनियरिङ हो भने त्यसपछि इलेक्ट्रिकल इन्जिनियरिङ हो । बायोमेडिकल विषय पढ्न पनि सुरुमा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्नुपर्छ । त्यसमा पनि सबैभन्दा बढी पारिश्रमिक इलेक्ट्रिकल इन्जिनियरले पाउँछन् ।

अर्को भनेको विद्युत् प्राधिकरणे २०६७÷६८ तिर एकैपटक १३३ जना इलेक्ट्रिकल इन्जिनियर मागेको थियो । त्यसबेला माग नै पूर्ति भएको थिएन । प्राधिकरणले मात्र हरेक वर्ष २०÷३० जनाका लागि आवेदन खोल्छ । त्यसबाहेक बुटवल हाइड्रोपावर, सानिमा हाइड्रो पावर, हिमाल, चिलिमे लगायत विभिन्न हाइड्रोपावरले इलेक्ट्रिकल इन्जिनियरको माग गर्छन् । जलविद्युत् विकासमा काम गरिरहेका स्वदेशी÷विदेशी कन्ट्राक्टरले पनि इलेक्ट्रिकल इन्जिनियरको माग गरिरहेका हुन्छन् । त्यसैले स्वदेश तथा विदेशमा इलेक्ट्रिकल इन्जिनियरिङको राम्रो स्कोप रहेको मान्न सकिन्छ ।

यी क्षेत्रमा बढी स्कोप
नेपाल जलविद्युत् उत्पादनका लागि प्रचुर सम्भावना रहेको ठाउँ हो । जहाँ ठूला–साना जलविद्युत् आयोजनाहरु चलिरहन्छन् । यस्ता आयोजनाको विकास, वितरण र व्यवस्थापन गर्ने काम इलेक्ट्रिकल इन्जिनियरले गर्नुपर्छ । त्यसैले अबको ५ देखि १० वर्षभित्रमा सयौँ इलेक्ट्रिकल इन्जिनियरको माग हुन्छ ।

नेपाल सरकारले २०७५ देखि ८५ को दशकलाई ऊर्जा दशक मनाउने घोषणा गरेको छ । त्यसमा कम्तीमा १५ हजार मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यो लक्ष्य प्राप्तिका लागि इलेक्ट्रिकल इन्जिनियर उत्पादन गर्नुपर्यो । त्यो पुरा गर्न विधार्थीले अहिले नै इलेक्ट्रिकल इन्जिनियिरिङ पढ्यो भने काम गर्ने अवसर प्राप्त हुन्छ ।

पछिल्लो समय विश्वभर वैकल्पिक ऊर्जालाई प्राथमिकतामा राखिएको छ । जसमा सौर्य ऊर्जा र वायु ऊर्जा पर्छन् । त्यसको डिजाइन र व्यवस्थापन पनि इलेक्ट्रिकल इन्जिनियरले नै गर्छ । नेपालमा हवाई क्षेत्रको पनि विकास भएको छ । एरोस्पेस, भू–उपग्रहमा पनि इलेक्ट्रिकल इन्जिनियर नभइ हुँदैन ।

त्यसबाहेक कम्प्युटरको सिस्टम डिजाइन पनि इलेक्ट्रिकल इन्जिनियरले नै गर्ने हुन् । तर यो कुरा धेरैले बुझ्दैनन् । इन्डष्ट्रियल अटोमेसन, इलुमेसन पनि इलेक्ट्रिकल इन्जिनियरिङको विषय हो । नेपाल औधोगिक विकासको चरणमा छ । नेपालमा थुप्रै सिमेन्ट र अन्य कारखानाहरु सञ्चालित छन् । त्यसलाई सञ्चालन र व्यवस्थापन गर्ने काम इलेक्ट्रिकल इन्जिनिरको हुन्छ ।

भेन्टिलेसन, एनेस्थेसिया मेसिन, अल्ट्रासाउन्ड, भिडियो एक्सरे, सिटी स्कान मेसिन, एमआरआई लगायत जीवन मरणसँग सम्बन्धित मेडिकल उपकरणको डिजाइन गर्न पनि इलेक्ट्रिकल इन्जिनियर चाहिन्छ ।

ई. विकास बहादुर श्रेष्ठ

पढाइ
आइओईबाट सुरु भएको इलेक्ट्रिकल इन्जिनियरिङ विषयको पढाई सिमित छ । त्रिविका आंगिक र निजी कलेजमा यो कार्यक्रम विस्तार गरिएको छ । जहाँ ४८÷४८ वटा सिट मात्र छन् । नेपालका अन्य विश्वविद्यालयमा पनि सिमित सिटसहित यो विषय पढाइ हुन्छ । इलेक्ट्रिकल इन्जिनियरिङ विषयका लागि नेपालभर करिब ३०० सिट उपलब्ध छ ।

पढाइका लागि विधार्थीले सही कलेज पनि छनोट गर्नुपर्छ । विधार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान पनि सिक्न जरुरी हुन्छ । त्यसका लागि नेपालभित्र केही कलेजहरु मात्र उपलब्ध छन् । पुल्चोक कलेजपछिको सबैभन्दा व्यवस्थित र परिपूर्ण ल्याब काठमाडौं इन्जिनियरिङ कलेज, एड्भान्स्ड कलेज र नेशनल कलेजमा छ । जहाँ ४८–४८ वटा सिट मात्र उपलब्ध छ ।

किन रोज्ने इलेक्ट्रिकल इन्जिनियरिङ ?
अहिलेको अधिकांश विधार्थीले सिभिल इन्जिनियरिङ र आर्किटेक्चरमा आफ्नो भविष्य देख्छन् । यस्तै केही सिमित विषय रोज्छन् । यी विषय पढेका विधार्थीले पूर्वाधार विकास क्षेत्रतिर कामको अवसर पाउँछन् । पूर्वाधार विकास भइसकेपछि सिभिल इन्जिनियरको माग कम हुँदै जान्छ । पूर्वाधार विकासमा पनि इलेक्ट्रिकल इन्जिनियरले कामको अवसर पाउँछन् । इलेक्ट्रिकल इन्जिनियरिङको बढ्दो महत्वबारे अहिलेका भाइबहिनीले बुझ्दैनन् ।

अहिले भर्ना भएर सर्टिफिकेट पाउन र फिल्डमा गएर काम गर्न करिब ५ वर्ष समय लाग्छ । ५ वर्षको अन्तरालमा प्राप्त गर्न सकिने अवसरका बारेमा सोच्नुपर्छ । त्यसैले विधार्थी भाइबहिनीले वर्तमान परिस्थितिलाई हेरेर नभई भविष्यको लागि आफूले कुन विषय रोज्ने भन्ने कुरा बुझ्नै पर्छ । नेपालले घोषणा गरेको ऊर्जा वर्षका लागि कति इन्जिनियर चाहिने होला ? त्यसतर्फ ध्यान दिएर विषय रोज्नुपर्छ ।

अबको युग भनेको ऊर्जा, बायोमेडिकल उपकरण, उद्योग, प्रविधिको हो । विश्वभर यिनै कुरालाई प्राथमिकतामा राखिएको छ । सबै कुरा नजरअन्दाज गरेर हेर्ने हो भने हरेक क्षेत्रमा काम लाग्ने इलेक्ट्रिकल इन्जिनियरिङको राम्रो स्कोप छ ।

(व्यावसायीक इन्जिनियर श्रेष्ठ एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका इलेक्ट्रिकल इन्जिनियरिङ विभागका प्रमुख एडभाइजर, प्राफेसर हुन् । आइआईटी बम्बईबाट इलेक्ट्रिकल र वायोमेडिकल इन्जिनियरिङमा मास्टर्स गरेका उनीसँग २० वर्षको प्रोफेसनल अनुभव छ । सन् २०१८ मा उनले प्रोफेसनल इलेक्ट्रिकल इन्जिनियरको उपाधी पनि जितेका थिए । उनी वायोमेडिकल इन्जिनियरिङ फाउन्डेसन नेपालका अध्यक्षसमेत हुन्)

र, यो पनि

इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङः स्कोप धेरै, आकर्षण कम

Your Opnion

//