इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस पोखरामा विद्यार्थीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । संसद पुनस्र्थापनापछि विद्यार्थीहरुको एक समूहले खुसियाली मनाइरहेका बेला अर्को समूहबाट प्रहरीमाथि ढुंगा प्रहार भएको थियो । त्यसपछि प्रहरीले शान्तिपूर्णरुपमा दिप प्रज्जवल गरिरहेका विद्यार्थीमाथि लाठीचार्ज गरेको थियो ।
विद्यार्थीहरु आफूहरुले कलेज हातामा खुसीयाली मनाइरहेको अवस्थामा कलेज प्रशासनले प्रहरी बोलाएर आफूहरुमाथि दमन गर्ने षड्यन्त्र रहेको आरोप लगाएका छन् । एक विद्यार्थी नेताले भने, ‘हामीले क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रहरी प्रवेश गरेको छ । यो कार्य गलत हो भन्यौँ । उहाँले अझ दुई गाडी प्रहरी बोलाएर तिमिहरुलाई जेल हाल्छौँ भन्नुभयो ।’ विद्यार्थीका अनुसार क्याम्पसले प्रहरी नै नबोलाएको भने कुनै पनि घटना घट्ने थिएन ।
विद्यार्थीहरुले क्याम्पस प्रशासनले प्रहरी बोलाएर आफूहरुलाई थिचोमिचोमा पारेपछि अवस्था बिग्रिएको बताएका छन् भने क्याम्पस प्रशासनले विद्यार्थीहरुको अराजक शैलीका कारण त्यस्तो अवस्था सिर्जना भएको बताएको छ ।
उता, सुरक्षा माग गर्न क्याम्पस प्रमुख ई. राम प्रसाद पौडेललाई गुहार्न पुगेका विद्यार्थीहरुलाई पौडेल अपशब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएको छ । इन्जिनियर्स पोस्टलाई प्राप्त भिडियोमा सुन्दा उनले विद्यार्थीहरुलाई ‘तेरो बाउ’ भन्दै अपशब्द प्रयोग गरेको प्रष्ट सुनिन्छ ।
भिडियोमा क्याम्पस प्रमुख पौडेलले विद्यार्थीहरुलाई ‘तँलाई राजनीति गर्न सकले सिकाएको ?’ भन्दै प्रश्न गरेका थिए । विद्यार्थीहरुले पनि ‘तपाईंलाई राजनीति गर्न कसले सिकाएको ?’ भन्दै प्रतिप्रश्न गरेको सुनिन्छ । यही क्रम दोहरिएपछि क्याम्पस प्रमुख पौडेलले ‘तेरो बाउले सिकाएको’ भन्दै उत्तर फर्काएका छन् ।
भिडियोमा क्याम्पस प्रमुखले विद्यार्थीलाई कलेजमा राजनीति गरेको आरोप लगाइरहेका छन् भने विद्यार्थीहरुले भनेका छन्, ‘तपाईं पनि त राजनीतिक नियुक्ती लिएर प्रमुख हुनुभएको हो नि ।’ प्राज्ञिक क्षेत्रमा प्रहरी भित्राएर होस्टेलभित्र नै गुन्डागर्दी शैली अपनाएर छापा मारिएको विद्यार्थीको आरोप छ । प्रहरीले विद्यार्थी बस्ने होस्टेलभित्र समेत प्रवेश गरेको थियो ।
क्याम्पसले आफ्नो गल्तीको जिम्मेवारी नलिएको र आफ्ना विद्यार्थीको सुरक्षा गर्नुपर्नेमा उल्टै दमन गरेको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । साथै, घटनापछि आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी तथा डिजिटल डिस्प्ले तोडफोड समेत गरेका थिए ।
Your Opnion