इन्जिनियरिङ कलेजमा विधार्थी राजनीति– आवश्यक कि अनावश्यक ? - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

इन्जिनियरिङ कलेजमा विधार्थी राजनीति– आवश्यक कि अनावश्यक ?

माध्यामिक तहका विधार्थीलाई राजनीतितर्फ खासै चासो हुँदैन । शिक्षा क्षेत्रको राजनीति गर्ने जति पनि व्यक्ति हुन्छन्, ती प्रायले माध्यामिक तहसम्मको शिक्षापछि थालेको पाइन्छ । उच्च शिक्षा पढ्दै गर्दा शिक्षा क्षेत्र, समाज र देशमा हुने गरेका सही र गलत वास्तविकताको चेतना विधार्थीमा पलाउँछ र सोहीअनुसारको कदम उनीहरुले चाल्ने गर्छन् । सकारात्मक हिसाबले लाग्ने हो भने विधार्थी राजनीतिले पनि बेथिति एवम् विकृतिका विरुद्ध क्रान्ति नै ल्याउन सक्छ । तर पछिल्लो समय हुने विभिन्नखाले राजनीतिले सकारात्मक भन्दा नकारात्मक प्रभाव परेको हो कि भन्ने प्रश्न पनि उठ्ने गरेको छ । जसको असर इन्जिनियरिङ क्षेत्रको विधार्थी राजनीतिमा समेत परेको देख्न सकिन्छ ।

चाहे इन्जिनियरिङ होस् या अन्य विधाका विधार्थी जोसँग पनि कम्तीमा दुई–तीन वटा विषयको ज्ञान हुन जरुरी मानिन्छ । कलेजको भुगोल, त्यहाँको इतिहास र अवस्थासँगै राजनीतिक विषयमा समेत विधार्थीलाई ज्ञान हुनुपर्छ । यद्यपि, आफ्नो मुख्य इन्जिनियरिङ विषयमा केन्द्रित नभई राजनीतिमा मरिमेटेर लाग्नु चाहिँ सहि नहुने तर्क आइओईका पूर्व डीन आ. प्रा.डा. जीवराज पोखरेलको छ । ‘कलेजमा पहिला हामीले ‘नेपाल परिचय’ भन्ने विषय पढ्नुपर्थ्यो । त्यो विषयले सबै जानकारी दिन्थ्यो । यस्ता विभिन्न विषयबारे चासो राख्नु÷जानकारी लिनु सही हो’ उनी भन्छन्, ‘तर इन्जिनियरिङका विधार्थीले हाम्रो विधा नै इन्जिनियरिङ हो भन्ने हिसाबले लाग्नुपर्छ । राजनीतिमा एकदम मरिमेटेर लाग्नु चाहिँ हुँदैन ।’

विधार्थी राजनीतिमा लाग्नु भनेको यो इन्जिनियरिङ कलेजको मात्र समस्या नभई प्राय सबै शिक्षा क्षेत्रको समस्या हो । विधार्थीका राजनीतिक संगठनहरु पार्टीको भातृ संगठनको रुपमा काम गर्छन् । कलेजमा राजनीति गर्ने विधार्थीले धेरैजसो कलेज प्रशासन विपरित मागहरु उठाउने गर्छन् । त्यसैले वास्तवमा इन्जिनियरिङ कलेजमा विधार्थी राजनीति आवश्यक नहुने पूर्व डीन पोखरेलको तर्कमा सहमती जनाउँछन्, ई. एआर तुलाधर । ‘विधार्थीले कलेजमा विभिन्न संगठन खोल्ने र काम गर्दा कलेज प्रशासनले स्वतन्त्र भएर काम गर्न पाउँदैन’ उनी भन्छन्, ‘विधार्थी भइसकेपछि उनीहरुले कलेजको अनुसासनमा बस्नुपर्छ र कलेजको नीति–नियम पालना गर्नुपर्छ ।’

ई. तुलाधरकाअनुसार कतिपय अवस्थामा त विधार्थीले व्यक्तिगत मुद्धालाई समेत उठाउने गर्छन् । कुनै विधार्थीको परीक्षामा नम्बर कम आउँदा कलेजले गाह्रो प्रश्नपत्र बनाएको भनेर त्यो प्रणालीलाई बदल्ने कोसिस गर्छन् । कसैको परीक्षा छुट्यो या ब्याक लाग्यो भने पनि त्यसलाई मुद्धा बनाइदिन्छन् । केही समयअघि एउटा कलेजले परीक्षा तालिका सार्वजनिक गर्दा उक्त तालिकाअनुसार परीक्षाको बीचमा ग्याप पुगेन भन्दै विधार्थी संगठनहरुले पुनः तालिका निकाल्न लगाएका थिए ।

विधार्थी संगठनको नाममा व्यक्तिगत मुद्धा उठाएर कलेज प्रशासनको नियमै तोड्न खोज्नु ठिक नहुने धारणा ई. तुलाधरको छ । ‘उहाँहरुले कलेजको प्रणाली र तालिका नै बदल्न खोज्नुहुन्छ’ उनी थप्छन्, ‘कलेज प्रशासन माथि नै विधार्थी हाबी हुनु र दबाब दिनु ठिक होइन । कलेजले पक्कै पनि आफ्ना विधाथीका बारेमा सोचेर बनाएको नियम हुन्छ । राजनीति आफ्नो ठाउँमा हुन्छ र विधार्थी विधार्थीकै ठाउँमा रहनुपर्छ ।’

यद्यपि, कहिलेकाहिँ भने विधार्थी राजनीतिमा लागेका व्यक्तिले जायजै मागहरु उठाउने गरेको उनी बताउँछन् । ‘इन्जिनियरिङ कलेजहरुमा उहाँहरुले कहिलेकाहिँ भने एकदमै जेनुइन मागहरु उठाएको देखिन्छ’ उनी सुनाउँछन्, ‘विद्यार्थीका सवाल र अधिकारका लागि उठ्जे मागहरुलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।’

इन्जिनियरिङमा लागेर पनि राजनीतिमा आफ्नो करियर अथवा भविष्य बनाउने परम्परा जस्तो देखिएको छ । इन्जिनियरिङ प्लेटफर्मलाई प्रयोग गरेर विधार्थीहरु कलेजको राजनीतिमा लागेको तर्क गर्छन्, ई. तुलाधर । ‘इन्जिनियरिङ संगठनले इन्जिनियरहरुको हकहितका लागि भन्दा पनि आफ्नो व्यक्तिगत करियर बनाउनका लागि कलेजदेखि नै राजनीतिक लाइन रोज्ने गरेको देखिन्छ’ उनी भन्छन् ।

इन्जिनियरिङ विधाका विधार्थीहरुले कलेजमा विधार्थी संगठन बनाएर राजनीतितिर लाग्नुभन्दा आफ्नै विधामा केन्द्रित भएर अध्ययन गर्दा उचित हुने धारणा पूर्व डीन पोखरेलको छ । ‘मलाई लाग्छ, विधार्थीले धेरै अध्ययन गरेर आफ्नो मुख्य विषयमा ख्याति प्राप्त गरेपछि, राष्ट्रिय/अन्तर्राष्ट्रिय छवि बनाएपछि, आफ्नो क्षेत्रमा ख्याति प्राप्त गरेपछि बल्ल राजनीतितिर लाग्दा उचित होला’ उनी थप्छन्, ‘त्यसका लागि विधार्थीले बरु अहिलेदेखि नै आफ्नो क्षेत्रको अनुभव र अनुभुति संगालेर भविष्यमा राजनीतिलाई सबल र सक्षम बनाउन सकिन्छ । यद्यपि, विधार्थीले राजनीतिबारे जानकारी लिनुपर्छ तर राजनीति भने गर्नु हुँदैन ।’

‘विधार्थीकै भविष्यका लागि सक्रिय भएर लागेका हौँ’
तुलाधर र पोखरेलको भनाइलाई आधार मान्ने हो भने विधार्थी राजनीतिमा लागेका विधार्थी नेताहरुले आवश्यक माग उठाउँदैनन् । उनीहरुले कलेजहरुलाई राजनैतिक थलो मात्र बनाउँछन् । इन्जिनियरिङजस्तो महत्वपूर्ण विधामा केन्द्रित नभएर विधार्थीहरु जान/अन्जानमा आफ्नो भविष्य विगार्ने बाटोतिर होमिदैछन् ।

साथै, विभिन्न कार्यक्रमको नाममा विधार्थी राजनीतिलाई चन्दा उठाउने मेलो बनाएका छन् भन्ने आरोप विधार्थी नेताहरुलाई लाग्ने गरेको पाइन्छ । यो विषयमा असहमति जनाउँदै थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति ई. प्रज्वल खत्री भन्छन्, ‘हामीले अनावश्यक कुरा गर्दैनौँ र विधार्थी राजनीतिको नाममा चन्दा उठाउने, आफ्नो स्वार्थपूर्तिका लागि राजनीतिमा लागेको भन्ने कुरा वास्तविक होइन ।’ आफूहरुले चन्दा उठाउँदा आउने भन्दा बढी कुनै ठाउँमा जागिर गर्दा कमाउने हुनाले आफ्नो स्वार्थका लागि राजनीति नगरेको उनको तर्क छ ।

कोभिडको कारण कलेजहरु करिब ९ महिनासम्म ठप्प रहे । सो अवधिभर पनि आफूहरुले समग्र इन्जिनियरिङ कलेज र विधार्थीको हकहित र देशको भलाई हुने हिसाबले राजनीति मात्र नभई समग्र काममा सक्रिय रुपमा लागिपरेको प्रज्वल बताउँछन् । ‘हामी जत्तिको सचेत युवाले यो क्षेत्रको हकहितका लागि काम गर्नुपर्छ भन्ने मान्यतालाई जोड दिएर सक्रिय रुपमा काम गरिरहेका छौँ’ उनी भन्छन्, ‘इन्जिनियरिङ पढियो । देशले २५ लाख जतिको लगानी लगाइदिएको छ । तर धेरैजसो विधार्थीहरु छात्रवृत्तिमा पढ्ने र पढाइ सकिँदा वित्तिकै विदेश जान्छन् । देशले लगानी गरेपछि अरुको देशमा गएर काम गर्ने कुरा राम्रो भएन । त्यसैले इन्जिनियरिङका सबै विधार्थीलाई विदेश जानबाट रोक्ने वातावरण बनाएर देशको विकासतर्फ लाग्ने भन्ने विषयलाई जोड दिँदै आएका छौँ ।’ यसअघि पनि आफूहरुले कलेजका विधार्थीका लागि के कस्ता कुराहरु आवश्यक छन् र भोलि गएर फिल्डमा जाँदा के–कस्ता कुराहरु आवश्यक पर्छन् भन्ने विषयमा केन्द्रित रहेर काम गरेको दाबी खत्रीको छ ।

थापाथली क्याम्पस स्थापना भएको करिब ५४ वर्ष भयो । यसका विभिन्न संरचना जिर्ण बनेका थिए । क्याम्पसमा भएका पुराना संरचनाको मर्मत गरेर यसलाई राम्रो बनाउने काम आफूहरुले गर्दा नै सम्भव भएको स्ववियु सभापति खत्री बताउँछन् । ‘हाम्रो कार्यकालमा यो क्याम्पसलाई अलिकति हेर्नलायक बनाएका छौँ’ उनी थप्छन्, ‘संरचना मर्मत, सधैभरि ट्वाइलेट सफा गर्नुपर्ने, खानेपानीलगायत विषयको दिर्घकालिन समाधान दिनुपर्छ भन्ने हिसाबले हामीले काम गरेका छौँ । यति मात्र नभई हामीले विधार्थीको पढाइको स्तरलाई कसरी उकास्ने भन्ने कुरालाई मुख्य प्राथमिकतामा राखेका छौँ । ताकि आइओईले उत्पादन गरेका विधार्थी भोलि मार्केटमा जाँदा राम्रो छवि बनोस् र मार्केटले उनीहरुलाई रिजेक्ट गर्ने दिन नआओस् ।’

‘कलेजहरुमा यत्तिको संगठन त चाहिन्छ नै । होइन भने कलेजमा हुने विभिन्न बेथिति झनै फस्टाउँदै जान्छ’ उनी भन्छन्, ‘त्यसैले हामी सचेत विधार्थी युवा विभिन्न बेथिति र आवश्यक कदमका लागि आवाज नउठाई कसरी चुप बस्ने ?’

Your Opnion

//