इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङः स्कोप धेरै, आकर्षण कम - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Blog

इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङः स्कोप धेरै, आकर्षण कम

  • ई. सुरोज बुर्लाकोटीFebruary 22, 2021

सूचना र प्रविधिको औपचारिक पढाइ हो, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ । सञ्चार प्रविधिको सुक्ष्म अध्ययनसँग सम्बन्धित यस विषय पढेका विद्यार्थी इलेक्ट्रोनिक कम्पोनेन्ट, विद्युतीय उपकरण, सञ्चार प्रणालीलगायत कुराको विकास गर्न सक्षम हुन्छन् । प्रविधिको दुनियामा कुनै पनि कुराको आविष्कार गर्न चाहने विधार्थीका लागि इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङले राम्रो अवसर प्रदान गर्छ ।

स्कोप

इलेक्ट्रोनिक्स कम्युनिकेसनमा दुई वर्ष अघिदेखि इन्फर्मेसन पनि थपिएको छ । कलेजपिच्छे यसको नाम अलिक फरक भए पनि विषय एउटै हो । कम्प्युटर इन्जिनियरिङ अन्तर्गतको ९० प्रतिशत विषय इलेक्ट्रोनिक्स इन्फर्मेसन एण्ड कम्युनिकेसनमा पनि पढ्नुपर्छ भने टेलीकम्युनिकेसन, वायरलेस कम्युनिकेसन, इलेक्ट्रोनिक हार्डवेयर सम्बन्धी बिषयहरु थप पढ्नुपर्छ । हार्डवेयर र सफ्टवेयरभित्र पर्ने ३ दखि ४ वटा मात्र फिल्ड कम्प्युटर इन्जिनियरिङमा छ भने त्यसबाहेक पनि रोबोटिक्स, वायरलेस, इन्टरनेट, कम्प्युटर एप्लिकेसनलगायत कुरा इलेक्ट्रोनिक्समा थपिन्छ । तर यस विषयको महत्व नबुझ्दा इलेक्ट्रोनिक्स कम्युनिकेसन पढ्नेहरुको संख्या हरेक वर्ष घट्दो मात्रामा छ ।

यस विषयको स्कोप फराकिलो छ । तर कुन–कुन क्षेत्रमा स्कोप छ भन्ने कुरा मुख्य हुन्छ । जस्तो मोबाइल, ल्यापटप, टेलिभिजन, इलेक्ट्रोनिक्स डिभाइस, इन्टरनेटसम्बन्धी इलेक्ट्रोनिक्स एप्लिकेसनहरु इलेक्ट्रोनिक्स इन्जिनियरिङ क्षेत्रभित्रका कुरा हुन् । जुन हामीले दैनिक रुपमा अधिकतम प्रयोग गर्छौँ । त्यसैले यस विषयको स्कोप टेलिकम्युनिकेसन, कम्प्युटर, ब्रोडकास्टिङ, एयरलाइन्स, बायो मेडिकल, इन्टरनेटलगायत विभिन्न क्षेत्रमा छ ।

कम्प्युटरको हार्डवेयर र सफ्टवेयर सम्बन्धी सम्पूर्ण कामहरु सफ्टवेयरमार्फत नै हुन्छ । टेलिकम्युनिकेसनमा पनि नेटवर्किङदेखि फोर जी, फाइभ जीलगायत कामको लागि इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरको आवश्यकता रहन्छ । वायरलेस कम्युनिकेस, डिजिटल र एनालग कम्युनिकेसन, ब्रोडकास्टिङ (टेलिभिजन, एफएम र रेडियो)हरुमा पनि यो विषय नभइ हुँदैन ।

रोबोटिक एण्ड अटोमेसन (एआई)को काम सबै मेसिनले गर्छ । त्यो सबै विकास गर्नु छ भने त्यसम इलेक्ट्रोनिक्स इन्जिनियर चाहिन्छ । अर्को एयरलाइन्सतिर अटोमेसनको भागहरु हेर्न, इन्टरनेट सेवा प्रदायक कम्पनीको लागि नेटवर्क वितरण गर्न, आइसी टेक्नोलोजीको डिजाइन गर्न इलेक्ट्रोनिक्स इन्जिनियरको खाँचो रहन्छ । इलेक्ट्रोनिक्सको क्षेत्रबाहेक कम्प्युटरमै काम गर्ने व्यक्तिले पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)अन्र्तगत मेसिन लर्निङहरु बनाउन पाउँछ ।

अर्कोतर्फ, नेपालले पछिल्ला वर्षहरुमा औद्योगिक विकासलाई प्राथमिकतामा राखेकाले इलेक्ट्रोनिक्स इन्जिनियरको माग पनि बढ्नेवाला छ ।

अवसर
इलेक्ट्रोनिक्स विषयलाई पुरानो विषय ठान्नु, उद्योग र प्रविधि विकास नहुँदा जागिर नपाउनु र मार्केटको मागअनुसार विधार्थीले अरु नै विषय रोज्नाले यस विषयप्रति विधार्थीको आकर्षण घटेको हो ।

प्रविधिको विकास र उद्योग कम छन् भन्दैमा इलेक्ट्रोनिक्स इन्जिनियरका लागि जागिर अभाव छ भन्ने होइन । जागिर जति पनि पाइन्छ । नेपाल टेलिकम, एनसेलहरुमा इलेक्ट्रोनिक्स इन्जिनियर मागिरहेको हुन्छ । सरकारी कार्यालयहरुमा पनि आइटी र इलेक्ट्रोनिक्स इन्जिनियर मागिरहेको हुन्छ । बैंकले पनि डाटाबेस र नेटवर्क हेर्न माग्छ, एभिएसन, टिभि र रेडियोतिर कम्युनिकेसन इन्जिनियर भनेर मागिरहेको हुन्छ । नेपाल आर्मी र नेपाल प्रहरीको रिसर्च र इन्भेस्टिगेसनमा पनि कम्प्युटर, इलेक्ट्रोनिक्स इन्जिनियरको दरबन्दी हुन्छ । यति मात्र नभई बायो मेडिकल क्षेत्र अर्थात् हस्पिटलमा प्रयोग हुने एक्स रे, एमआरआईजस्ता जति पनि इलेक्ट्रोनिक्स र एआईका उपकरण छन्, त्यसका लागि इलेक्ट्रोनिक्स इन्जिनियर चाहिन्छ । शैक्षिक क्षेत्रमा पनि प्रोफेसर हुन तथा रिसर्चर हुन पर्यो भने पनि इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्जिनिरले जागिर पाउँछ ।

त्यसबाहेक यो इनोभेटिभ क्षेत्र हो । जागिरभन्दा पनि आफैले केही आविष्कार गर्छु भन्नेका लागि यो विषय पढ्दा सबैभन्दा राम्रो स्कोप छ । नयाँ–नयाँ प्रविधि बनिरहेको र विभिन्न आविष्कार भइरहेको हुन्छ । त्यसैले आफै केही नयाँ गर्छु, खोज्छु भन्नेहरुका लागि सबैभन्दा राम्रो क्षेत्र हो, इलेक्ट्रोनिक्स इन्जिनियरिङ । यस विषयको स्कोप व्यापक छ र पनि विधार्थीहरुको आकर्षण एकदम न्यून छ ।

किन घट्यो आकर्षण ?
नेपालमा आजभन्दा १० वर्षअघि इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयप्रति विधार्थीको आकर्षण अहिलेको सिभिल इन्जिनियरिङमा जस्तै थियो । त्यसताका प्रविधि विकासको सुरुवाती चरण थियो । इलेक्ट्रोनिक्स एप्लिकेसनहरु भर्खर प्रयोगमा ल्याइदै थिए भने यो नयाँ विषय भएकाले मान्छेको रुचि बढेको थियो । त्यसको प्रयोग बढ्नासाथ सामानहरु आयात बढ्न थाल्यो । तर आफ्नै ठाउँमा उत्पादन थालिएन । इलेक्ट्रोनिक्स एप्लीकेसको प्रयोग बढी तर उत्पादन गर्ने उद्योग नभएपछि इलेक्ट्रोनिक्सका विधार्थीका लागि जागिरको अवसर नै भएन । जहाँ जागिरको अवसर हुँदैन त्यहाँ त्यो विषयको महत्व घटेजस्तै भयो र विधार्थीको आकर्षण विस्तारै घट्दै गयो । अहिले पनि इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन विषयप्रति विधार्थीको आकर्षण घट्नु यो एउटा कारण हो ।

अर्को भनेको अहिलेका विधार्थीहरुले पढ्ने र केही नयाँ गर्नेभन्दा पनि जागिरका लागि मात्र कुनै पनि विषय पढिरहेको देखिन्छ । विधार्थीहरुले अहिले पढेर अबको पाँच वर्षपछि के बन्ने भन्ने भिजन नराखेरै जता भिड छ, उतै हाम फालिरहेको देखिन्छ । जस्तो पछिल्लो समय भौतिक पूर्वाधार विकासले गर्दा सिभिल इन्जिनियरको माग बढी छ र सिभिल इन्जिनियरिङ पढ्नेको संख्या बढी छ । जता माग बढी छ विधार्थी उतै आकर्षित हुन्छन् । कम्प्युटर इन्जिनियरिङतिर पनि त्यस्तै छ । तर जुन विषयको माग कम छ, त्यसतर्फ सोच्दैनन्÷बुझ्दैनन् । त्यसैले पनि यो विषय पढ्ने विधार्थी घटेका हुन् ।

अहिलेका विधार्थी अहिले राम्रोसँग पढ्ने र भविष्यबारे सोच्ने भन्दा पनि थोरै मेहेनत गरेर कसरी पास गर्ने अनि जागिर खाने भन्ने होडमा छन् । कलेज पढ्दा सहज विषय रोज्छन् र कम विकल्पसहित स्पेसलाइज्ड भएर काम गर्नेहरुबारे सोच्दैनन् । जस्तो कम्प्युटर इन्जिनियरिङ विषय इलेक्ट्रोनिक्सभन्दा केही हदसम्म सहज छ । रोजाईका विकल्प र सहजता खोज्ने प्रवृत्तिले पनि विधार्थीको आकर्षण घटेको मान्न सकिन्छ । तर यो विषय पढिसकेपछि अवसर भने थुप्रै छन् ।

ई. सुरोज बुर्लाकोटी

चुनौती
नेपालमा यो विषय पढेर उदाहरणीय काम गरेका व्यक्ति पनि देखिदैनन् या बाहिर आउन चाहदैनन् । यस विषयसँग सम्बन्धित सिनियर इन्जिनियरले पनि रुचि भएका विधार्थीलाई बुझाउने परम्परा नै छैन । त्यसकारण विधार्थी तान्न चुनौतीपूर्ण छ ।

अर्को भनेको अभिभावकले पनि आफ्ना सन्तानलाई मार्केटले जुन विषय पछ्याइरहेको छ सोही विषय पढ्न दबाब दिने प्रवृत्ति छ । जस्तो सिभिल इन्जिनियर उपभोक्तासँग प्रत्यक्ष जोडिने हुँदा अधिकांश अभिभावकले आफ्ना सन्तानलाई सिभिल इन्जिनियरजस्तै बन्न दबाब दिन्छन् । तर दैनिक रुपमा प्रयोग गरिने उपकरणहरु बनाउन पर्दा पछाडि बसेर काम गर्ने इलेक्ट्रोनिक्स इन्जिनियर बन्न प्रेरणा दिन नसक्नाले पनि विधार्थीलाई यो विषयमा तान्न निकै मुस्किल छ ।

मुख्य भनेको कम्प्युटर इलेक्ट्रोनिक्सको उपभोक्तासँगको प्रत्यक्ष अन्र्तक्रिया छैन । उनीहरुले उत्पादन मात्र देख्छन् । बनाउने मान्छे देख्दैनन् । ती उपभोक्ताले आफ्ना सन्तानलाई कुन इन्जिनियर बनाउने भन्दा स्वाभाविक रुपमा सिभिल या जुन मार्केटमा चलेको छ त्यही बनाउने भन्छन् । इलेक्ट्रोनिक्स इन्जिनियरले बनाएको एप्लीकेसन आम मानिससमक्ष पुग्ने तर ब्यक्ति स्वयम् नपुग्ने हुँदा उनीहरु न आफू बुझ्छन् न त आफ्ना सन्तानलाई बुझाउन सक्छन् ।

मैले एकताका ‘ल्याण्ड स्लाइड एण्ड फ्लोड अर्ली वार्निङ सिस्टम’को लागि एउटा प्रोटोटाइप बनाएको थिएँ । त्यसमा धेरै समय दिन नसक्दा अधुरै रह्यो । स्कीलफूल इलेक्ट्रोनिक्स इन्जिनियर नपाएर त्यो प्रोजेक्ट अघि बढ्न पाएन । त्यो अधुरो प्रोजेक्टलाई पुनः सुरु गरौँ भने पनि अहिले हामीसँग विधार्थी नै छैनन् । बजारमा यस्तो खाले सिर्जना किन्न पाइदैन । बनाउँदा जसको मूल्य निकै हुन्छ । अहिले पढिरहेका विधार्थी पनि सिभिलमा सिट नपाएर पढ्न आएका हुन्छन् । रुचिबिना नै पढ्न आएका विधार्थीको दिमागमा त्यस्तो आविष्कार गर्ने सोच हुँदैन ।

समाधान
यस विषयमा आकिर्षत गर्न कलेजको भन्दा मुख्य भूमिका अभिभावक र सिनियर इन्जिनियरको हुन्छ । सिनियर इलेक्ट्रोनिक्स इन्जिनियरले उदाहरणीय काम गरेर देखाउन सक्नुपर्यो । विधार्थी र उनीहरुका अभिभावकसँग अन्र्तक्रिया गर्न सक्नुपर्यो । नयाँ पुस्ताले एउटा चलिरहेको ट्रेन्डलाई मात्र पछ्याउन खोज्छ, त्यसैले त्यसबाहेकका अवसरबारे पनि बुझाएर विधार्थीलाई आकर्षित गर्न र प्रविधिको विकास गर्न सकिन्छ ।

अर्को भनेको विधार्थीले पनि आज केमा जागिर छ÷आज कुन विषयको करियर राम्रो छ भनेर हेर्ने भन्दा पनि अबको ४÷५ वर्षपछि कुन विषय पढ्दा राम्रो अवसर पाइन्छ भन्ने कुरा बुझेर पढ्नुपर्छ । आजभन्दा १० वर्षअघि इलेक्ट्रोनिक्समा आकर्षण थियो र त सबै कलेजमा त्यही विषय छ । कोटा पनि सोहीअनुसार बढाइएको थियो । तर अहिले अरु विषयले गर्दा कोटा खालि भए ।

पछिल्लो समय ४८ जनाको कोटामा कुनै कलेजमा १८, कुनैमा १०, कुनैमा ८ जना विधार्थी भर्ना हुन्छन् । यो निकै नराम्रो तथ्यांक हो । कलेजले इलेक्ट्रोनिक्स विषयसँग सम्बन्धित परिमार्जित कोर्स बनाएर विधार्थीलाई तान्न सकिन्छ । १० वर्षअघि जस्तै यस विषयप्रति आकर्षित गर्न सकिन्छ ।

इलेक्ट्रोनिक्स इन्जिनियरिङ भनेको आफ्नो क्रियटिभिटी देखाउने ठाउँ हो । त्यसैले सिभिल भन्दा यसलाई राम्रो मान्न सकिन्छ । भवन र संरचनाहरु प्राय एउटै खाले हुन्छन् । तर आफूले केही आविष्कार गर्ने हो भने यो विषय ठिक छ भन्दै कलेजहरुले पनि विधार्थीलाई प्रेरित गराउन सक्नुपर्छ ।

विधार्थीले पनि समयमै आफ्नो रुचिबारे थाहा पाउनुपर्छ । अभिभावकले मेरो सन्तानले कति रुचि देखाएर पढ्छ भन्ने भन्दा पनि उसले त्यो विषय पढ्दा कति कमाउन सक्छ भन्ने भावना राख्नुभएन । आफ्ना सन्तानको रुचिअनुसार ऊ कुन विषय पढाउन चाहन्छ त्यसमा भर्ना गराउनु पर्छ ।

मार्केट हेरेर विषय रोज्ने अर्थात् दोधारमा परेको विधार्थीलाई पनि राम्रो परामर्श दिनसक्नुपर्यो । जस्तो अस्पतालमा शरीरको कुनै अंगले काम गरेन भने पनि इलेक्ट्रोनिक्स डिभाइस राखेरै काम गर्छन् । त्यसैले यसका विशेषता र स्कोपबारे बुझाउन सक्नुपर्छ । सरकारले पनि भौतिक पूर्वाधार विकासलाई मात्र प्राथमिकतामा नराखेर प्राविधिक विकासलाई पनि प्राथमिकतामा राख्न सक्नुपर्छ । त्यसो भयो भने इलेक्ट्रोनिक्स इन्जिनियरिङको कोटा संख्या फेरि बढाउनुपर्ने अवस्था आउँछ ।

(बुर्लाकोटी इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङका लेक्चर तथा कोर्स परामर्शदाता हुन् । यो आलेख इन्जिनियर्स पोस्टले उनीसँगको कुराकानीमा आधारित रहेर तयार पारेको हो)

र, यो पनि

आइओईको प्रवेश परीक्षा पास हुनुभयो ?, रोज्नुस्, यी इन्जिनियरङ कलेज

Your Opnion

//