प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणस्थलमा इन्जिनियरहरुसँग ३० बिताए । सो अवसरमा प्रधानमन्त्रीले सुरुङ निर्माणको प्रगतिबारे मात्र बुझेनन् कि विविध प्राविधिक पक्षमा समेत चासो राखे ।
आयोजनाका निर्देशक ई. नरेशमान शाक्यसहितको टोलीसँग प्रधानमन्त्रीले सबैभन्दा पहिला सुरुङमार्गको निर्माण समयमै सकिन्छ या सकिदैन भनेर प्रश्न गरेका थिए । सो अवसरमा निर्माणमा खटिएको टोलीले काम समयमै सकिने जानकारी प्रधानमन्त्रीलाई दियो ।
त्यसपछि प्रधानमन्त्रीले गुणस्तर, प्रविधि र नेपाली प्राविधिकबारे पनि चासो राखे । आयोजना टोलीले उनलाई हाल विदेशीबाट नेपाली प्राविधिकमा प्रविधि हस्तान्तरणको काम भइरहेको जानकारी दिएपछि प्रधानमन्त्रीले खुसी ब्यक्त गरेका थिए ।
निर्देशक शाक्यले इन्जिनियर्स पोस्टसँग भने, ‘पहिला जापानीहरुले चलाउने मेसिनहरु हाल नेपालीहरुले पनि चलाउन थालेको र विस्तारै नेपाली प्राविधिक पनि सक्षम हुने कुरा हामीले उहाँलाई सुनायौँ । हाम्रो कुरा सुनेपछि उहाँ निकै खुसी हुनुभयो ।’
नेपाली प्राविधिकहरुलाई सक्षम बनाउने कुरा चलेपछि प्रधानमन्त्रीले प्राविधिक जनशक्ति उत्पादन र प्रविधिको विकासको विषयमा पनि जिज्ञासा राखेका थिए । त्यसपछि यस विषयमा दुई पक्षमा कुरा भएको थियो । पहिलो, हाल काम गरिरहेका प्राविधिकहरुलाई विदेशीसँग अनुभव संगालेर दक्ष बनाउने र दोस्रो इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई सुरुङमार्ग निर्माणस्थलमा भिजिट गराउने र अनुभव तथा ज्ञान हासिल गर्ने अवसर प्रदान गर्ने । शाक्यको टोलीको कुरा सुनेपछि प्रधानमन्त्रीले सुरुङमार्ग समयमै सम्पन्न गर्न शुभकामना दिएका थिए ।
हाल परियोजनामा २२ जना जापानी प्राविधिक तथा इन्जिनियर, ४ जना फिलिपिनी विज्ञ र करिब ६० जना नेपाली प्राविधिक तथा इन्जिनियर कार्यरत छन् । हालसम्म आयोजनाको काम ८ प्रतिशत सम्पन्न भएको छ । काममा हालसम्म कुनै ठूलो प्राविधिक समस्या आएको छैन । स्थानीयद्वारा आयोजनास्थलमा पर्ने केही घरहरु भत्काउन ढिलाइ भए पनि यसको प्रक्रिया पनि अघि बढिसकेको निर्देशक शाक्यले जानकारी दिए ।
सन् २०२२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । जापान सरकारको १५ अर्ब २८ करोड ऋण सहयोगमा सुरुङमार्ग निर्माणको काम अघि बढेको हो । परियोजनाको कूल लागत २० अर्ब ४० करोड हुने अनुमान जाइकाको छ ।
Your Opnion