जोखिममा नेपालका पुराना बाँध तथा तटबन्धहरु, कोसीको आयु सकियो (विशेष रिपोर्ट) - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Development

जोखिममा नेपालका पुराना बाँध तथा तटबन्धहरु, कोसीको आयु सकियो (विशेष रिपोर्ट)

केही साताअघि संयुक्त राष्ट्र संघले एउटा रिपोर्ट सार्वजनिक गर्यो । जसमा विश्वका हजारौं पुराना ड्याम (बाँध)हरु खतरामा रहेको तथ्यांक उल्लेख थियो । राष्ट्रसंघले सार्वजनिक गरेको ‘एजिङ वाटर इन्फास्ट्रक्चर’ नामक रिपोर्टमा बढ्दो पुराना बाँधको संख्या भविष्यका लागि खतरनाक रहेको तथ्यसमेत समावेश गरेको थियो । जसअनुसार सन् १९३० देखि १९७० को बीचमा निर्माण भएका विश्वका करिब ५८ हजार ७ सय बाँधहरु छन् । इन्जिनियर्स पोस्टले पनि नेपालमा रहेका बाँध तथा तटबन्धको बारेमा एक खोजमुलक रिपोर्ट तयार पारेको छः

नेपालका बाँध र तटबन्धको अवस्था
नेपालको सन्दर्भमा राणाकालिन समयदेखि बनेका नेपालका ठूला बाँध तथा तटबन्धहरु हालसम्म सञ्चालनमा छन् । सिंचाइ तथा जलविधुत्का लागि बनेका कतिपय बाँध तथा तटबन्धको आयु नाघिसके पनि सञ्चालनमा रहेका छन् । सन् १९६५ अप्रिलदेखि सञ्चालनमा आएको कोसी तटबन्ध नेपालको सबैभन्दा पुरानो तटबन्ध हो । चन्द्र शमशेरको पालमा सन् १९११ देखि सञ्चालनमा आएको काठमाडौंको दक्षिण भेगमा पर्ने फर्पिङ नेपालको सबैभन्दा पुरानो जलविधुत् आयोजना हो । राणाकालिन समयमा बनेका यस्ता कतिपय ठूला–साना बाँध र तटबन्धका संरचनाहरु हालसम्म अस्तित्वमै छन् । तिमध्ये कतिपयको समय–समयमा मर्मतसम्भार हुने गरे पनि कतिपय पुराना जलविधुत् र सिंचाइ आयोजनाको इतिहाससमेत बिर्सिसकेको अवस्था छ ।

नेपालमा साना–ठूला र नयाँ–पुराना बाँध तथा तटबन्ध गरी करिब सय वटा जलविधुत् तथा सिंचाई आयोजनाहरु सञ्चालनमा छन् । चाहे फर्पिङ आयोजना होस्, १९८४ सालमा बनेको सप्तरीको चन्द्रनहर, कोसी ब्यारेज होस् या प्रस्तावित पश्चिम सेती जलविधुत् आयोजना नै किन नहोस् यी सबैको अध्ययन कम र जोखिम भने उच्च रहेको विज्ञ तथा जानकारहरु बताउँछन् ।

अध्ययन नै छैन
पूर्व सचिव तथा सिनियर इन्जिनियर भीम उपाध्यायकाअनुसार तराई क्षेत्रमा अवस्थित चन्द्रनगर नहर, भिमनगर नहर, लक्ष्मणपुर बाँधलगायत अन्य केही यस्ता आयोजना कोसी ब्यारेजभन्दा पनि पुराना हुन् । चन्द्रशमशेरका पालादेखिका ती आयोजनाबारे अध्ययन नै हुने गरेको छैन ।

युरोप–अमेरिकालगायत विकसित मुलुकमा पुराना आयोजनाहरुलाई भत्काएर हावा र सोलारबाट ऊर्जा निकाल्न थालिसकेका छन् । तर, नेपालमा न भत्काइन्छ न त समयमै तिनको मर्मतसम्भार नै गर्ने गरिन्छ । त्यसैले यी परियोजनाहरु उच्च जोखिममा रहेको ई. उपाध्यायको धारणा छ ।
‘हाइड्राका लागि हाइट चाहिन्छ, जुन नेपालजस्तो मुलुकमा मात्र सम्भव छ’ उनी भन्छन्, ‘त्यसैले पछिल्लो समय एउटै खोलामा पनि हाइड्रोपावरका लागि धेरै ड्याम बनाउँछन् तर बनेका ड्यामहरुको मर्मत तथा संरक्षण, अध्ययनतर्फ भने कसैले ध्यान दिदैनन् । त्यसैले नयाँ ड्याम पनि बाढी–पहिरोको जोखिममा रहन सक्छन् ।’ विभिन्न अध्ययनको अभावले यस्ता आयोजनाको भौतिक एवम् अन्य जोखिमबारे अन्दाज मात्र गर्न सकिने उनी बताउँछन् ।

पूर्वाधार विज्ञ ई. प्रा.डा. राजेन्द्रप्रसाद अधिकारी पनि नेपालका बाँधहरुको अवस्था र जोखिमबारे अध्ययन निकै कम रहेकोले बाँध तथा तटबन्धका कारण हुन सक्ने जोखिमकाबारे अन्दाजै गर्न नसकिने बताउँछन् । ‘ड्याम र तटबन्धबारे तथ्यांक र स्रोतहरु ठ्याक्कै भेट्न गाह्रो छ । भेटिए पनि पुराना रिपोर्ट र इतिहासका पुस्तकहरुमा मात्र भेटिन्छ’ इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘त्यसैले यी चिजहरुले निम्त्याउने जोखिमबारे अन्दाज मात्र गर्न सकिन्छ ।’ भौगोलिक बनोट र पुराना बाँध र तटबन्धले पुर्याउने जोखिम भने अन्दाज गरेभन्दा पनि उच्च हुने उनको तर्क छ ।

अधिकारीकाअनुसार हालसम्म नेपालमा रहेका बाँध र तटबन्धबारे केन्द्रित भएर अध्ययन गरिएको छैन र लेखिएका सामग्री पनि भेटिदैन । उनी भन्छन्, ‘मैले पनि हालै विकास निर्माणको इतिहासबारे पुस्तक सार्वजनिक गरेँ । त्यसमा पनि यो विषयमा केही सामग्री छैन । थप अध्ययन गर्नुपर्छ । अन्य भौतिक संरचनाबारे अध्ययन हुने गरे पनि बाँध र तटबन्धबारे अध्ययन गर्ने परम्परा नै छैन ।’

आयु कति ?
नेपाल विद्युत प्राधिकरणअन्तर्गतको रसुवागढी हाइड्रोपावरका पूर्व प्रमुख सिनियर इन्जिनियर लिलानाथ भट्टराई नेपालका पुराना ड्याम र तटबन्धको आयु लगभग सकिएको बताउँछन् । ‘मसँग पनि ड्याम र तटबन्धबारे पूर्ण तथ्यांक छैन । यसकाबारेमा खासै अध्ययन पनि हुने गरेको छैन’ इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘तर नेपालमा ठूला–साना गरी केही ड्याम र ब्यारेजहरु छन् । डिजाइनअनुसार बाँध र तटबन्ध ५० वर्ष र ठूला १०० वर्ष आयु रहने गरी निर्माण गरिएका छन् । तिनको आयु लगभग सकिइसकेको छ । त्यसैले जोखिम भने रहनेछ ।’

भट्टराईकाअनुसार नेपालको सबैभन्दा ठूलो र पुरानो बाँध कुलेखानी हो । जहाँ वर्षभरीको पानी जम्मा गरेर आवश्यकताअनुसार प्रयोग गर्ने गरिन्छ । यसबाहेकका पुराना ड्याममा कालिगण्डकी (१४४ मेघावाट), मस्र्याङदी (७० मेघावाट), मध्य मस्र्याङदी (७० मेघावाट), चिलिमे, माथिल्लो तामाकोसी (४५६ मेघावाट) पुराना र होचा ड्याम हुन् । जहाँ हिउँदको समयमा दिनभरको पानी जम्मा गरेर बिहान र बेलुका मागअनुसार विद्युत् उत्पादन गर्ने गरिन्छ । यी सबै ड्यामको आयु ५० वर्ष हो ।

कुलेखानी पहिलो र दोस्रो दुवैको आयु ४० वर्ष नाघिसक्यो । बाँकीको आयु करिब ३० वर्ष पुगेको छ । यसबाहेक कोसी ब्यारेज नेपालको सबैभन्दा पुरानो तटबन्ध हो । हाल ६२ वर्ष नाघेको कोसी ब्यारेजको आयु पनि ५० वर्ष हो । ठूला परियोजनाको आयु १०० वर्ष हुन्छ भने सानाको आयु ५० वर्षसम्मको हुन्छ । नेपालमा जम्मा ४ वटा होचा र दुईवटा ठूला ड्याम छन् ।

यसकारण जोखिममा छन्, नेपालका बाँध र तटबन्धहरु
सरकारका पूर्व सचिव एवम् सिंचाई विशेषज्ञ ई. शीतलबाबु रेग्मीकाअनुसार आम मानिसमा हाइड्रोपावरका प्रोजेक्ट र खोलामा बनेका तटबन्धलाई पनि ड्याम भन्ने बुझाई छ । तर, नेपालमा जम्मा तीन वटा ठूला र पुराना ड्याम छन्, कुलेखानी, फर्विङ र फेवाताल । ड्यामको पछाडि ताल हुन्छ । त्यसैले कुलेखानी, फेवाताल र फर्पिङ ड्याम हुन् । कोसी ब्यारेजमा ढोकाले जति पानी बन्द गर्यो त्यति हो । त्यसले दिनभरको पानीसमेत जम्मा गर्न सक्दैन । नदीमा बन्ने अरु सबै हाइड्रोपावरका प्रोजेक्टलाई ड्यामै नभई हाइड्रोपावर भन्न मिल्छ ।

नेपालका अधिकांश ड्याम र तटबन्धहरु तराई भेगमा बढी छन् । शीतलबाबुका अनुसार नेपालमा हालसम्म बनेका र निर्माणाधिन साना–ठूला बाँध, तटबन्ध र हाइड्रो परियोजना करिब १०० वटा छन् । तिमध्ये त्यस्ता करिब ५० भन्दा बढी योजना खतरामा छन् ।

नेपालमा हिमताल धेरै छन् । हिमताल फुट्ने उच्च जोखिम भएको विश्वकै पहिलो श्रेणीमा नेपाल पर्छ । केही वर्षअघि भोटेकोसीमा हिमताल फुटेर आएको बाढीले सुनकोसी बगाइदिएको थियो । छ्रोल्पा हिमताल विस्फोट हुने अवस्थामै मर्मत भएको हुँदा हाललाई त्यसको जोखिम कम रहेको र जलवायु परिवर्तनका कारण हिमताल विस्फोट हुनसक्ने भएकाले विभिन्न संरचना जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

नेपालको भौगोलिक बनोट र हिमतालको कारण साना–ठूला, नयाँ–पुराना बाँध, तटबन्ध र जलविधुत् आयोजना खतरामा रहेको शीतलबाबुको तर्क छ । ‘हिमताल विस्फोट हुँदा तराई क्षेत्रभन्दा हिमाली र पहाडि भेगमा बनेका सडकका पुलहरु, झोलुंगे पुलहरु, सानोतिनो नहर र हिउबाट आएको खोलामा बनेका हाइड्रोपावरका योजनालाई उच्च खतरा छ’ उनी भन्छन्, ‘हिमताल विस्फोट भएर पानी आउने नदीमा बनेका यस्ता बाँध र तटबन्धजस्ता नयाँ–पुराना संरचना र परियोजनाले जुनसुकै बेला विगार्न सक्छ ।’

सिंचाई विशेषज्ञ शीतलबाबुका अनुसार हिमनदी हुँदै बग्ने खोलामा जोखिम हुन्छ भने अन्य साना नदीमा जोखिम कम हुन्छ । जस्तै रिडि खोलामा हाइड्रो बनेको छ । त्यसमाथि हिमताल नभएकाले कुनै पनि ठाउँबाट खतरा छैन । कालिगण्डकी, मोदी खोला, मस्र्याङदीलाई खतरा छ । यस्तो नदीमा बनेका प्रोजेक्टमा बाढी–पहिरोको खतरा हुन्छ ।

डिजाइनअनुसार ५० देखि १०० वर्षसम्म ड्याम, तटबन्ध र हाइड्रो प्रोजेक्टको आयु हुन्छ । फेवा ड्याम पुरानो भए पनि ४० वर्षअघि भत्केकाले मर्मत गरिएको थियो भने फेरि मर्मत गरिदैछ । कुलेखानी ड्याममा पनि एकपटक खतरा आएकाले मर्मत गरिएको थियो । कुलेखानी खोला ठूलो नभएका कारण त्यहाँ खतरा नरहेको शीतलबाबुको तर्क छ । भन्छन्, ‘कुलेखानीमा जोखिम कम छ । तर कोसी ब्यारेजको आयु सकिइसकेको छ । उक्त ब्यारेज भत्केमा नेपालभन्दा भारतलाई उच्च जोखिम छ ।’

यद्यपि, कम जोखिमका लागि नयाँ–पुराना यस्ता संरचना मर्मत गर्नुपर्ने भए पनि नेपालजस्तो विकासोन्मुख मुलुकका लागि मुस्किल रहेको विज्ञहरु बताउँछन्् । इन्जिनियर्स पोस्टले सम्पर्क गरेका विज्ञहरुको भनाइ छ, ‘बाँध, तटबन्ध र हाइड्रो प्रोजेक्टको मर्मत पनि सडकजत्तिकै महत्वपूर्ण हुन्छ । मर्मत गरिएन भने खिया लागेरै सकिन्छ । सानोतिनो क्षति पुगेका प्रोेजेक्टहरु सामान्यतया मर्मत गरिन्छ । तर ठूलो क्षति हुदाँ ठूलो मात्रामा बजेट चाहिन्छ र बजेट अभावको कारण हाम्रो देशले मर्मत नै गर्न सक्दैन ।’
समयमा मर्मत, संभार र अध्ययन नहुँदा भौतिक संरचना कतिखेर बिग्रेर, भत्किएर क्षति पुर्याउँछ थाहा हुँदैन । त्यसकारण पनि नेपालमा बनेका ड्याम, तटबन्ध र हाइड्रो प्रोजेक्टको जोखिम सदैव छ ।

इन्जिनियर्स पोस्टमा प्रकाशित कुनै पनि सामग्री साभार गर्न पाइने छैन– सम्पादक ।

Your Opnion

//