डीन भट्टराईको शनिबार– कहिले किताब पढ्छन् त कहिले हाइकिङ जान्छन् - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Feature

डीन भट्टराईको शनिबार– कहिले किताब पढ्छन् त कहिले हाइकिङ जान्छन्

पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ संकायका डीन हुन्, ई. देवीप्रसाद भट्टराई । यसअघि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) मा प्राध्यापकको रुपमा काम गरेका उनी केही समयअघि मात्र डीनमा नियुक्त भएका हुन् । डीन बनेपछि आजकाल जिम्मेवारीसँगै उनको ब्यस्तता पनि बढेको छ । हप्तामा एक दिन फुर्सद मिल्ने शनिबारलाई उनी हप्ताभरका लागि रिचार्ज गर्ने प्रभावकारी दिन भन्न रुचाउँछन् । परिवारसँग समय बिताउनु, घुमघाममा निस्कनु, पुस्तक पढ्नु उनको शनिबारको तालिकाभित्र पर्छ ।

परिवारसँग भेट हुँदैन
झापाको दमक पुख्र्यौली घर भएका उनको बसाई (घर) हाल भक्तपुरको बालकोटमा छ । उनको परिवारमा चार जना सदस्य छन्, श्रीमती, आफू र दुई छोरी । छोरीमध्ये जेठी छोरीले कानुन विषय अध्ययन गरेकी छन् भने कान्छी बीबीए अध्ययनरत छिन् । जेठी छोरीको बिहे भइसकेको छ । उनकी श्रीमती सामाजिक कार्यकर्ता हुन् । साथै उनले राष्ट्रिय सहकारी बैंकमा बैंक कोर्डिनेटरको रुपमा काम गर्छिन् ।

भट्टराई पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङमै बस्छन् । त्यसैले परिवारका सदस्यसँग उनी विरलै मात्र भेट्न पाउँछन् । ‘मोरङ गोठ गाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयअन्तर्गत डीन क्वार्टरमै बस्छु’ इन्जिनियर्स पोस्टसँग उनी आफ्नो ब्यस्तताबारे सुनाउँछन्, ‘अफिसको कामले काठमाडौं आउनुपर्यो भने मात्र परिवारका सदस्यसँग भेट हुन्छ ।’

यसअघि पनि परिवारका सबै ब्यस्त हुने भएकाले अन्य दिन परिवारका सदस्यसँग खासै समय बिताउन पाउँदैनथे, भट्टराई । तर, शनिबार भने सबैको फर्सद हुन्थ्यो । उनी पनि शनिबार सकेसम्म परिवारलाई नै दिन्थे ।र तर, अहिले अवस्था फरक छ । शनिबार भेटौँ भने पनि मोरङबाट काठमाडौं पुगेर सोही दिन फर्कन सम्भव छैन । अर्को दिन क्याम्पस जानै पर्यो । उनी सुनाउँछन्, ‘सबै कुरा अनुकुल पारेर मात्र परिवारलाई भेट्न जान पाइन्छ, त्यसैले शनिबार पनि परिवारका सदस्यसँग भेट्न पाइँदैन ।’

साहित्य अध्ययन
अन्य दिन अफिसियल काममा व्यस्त रहने भट्टराईको शनिबारको समय तालिका आफ्नै खालको छ । परिवारसँग भेट नहुने भएपछि शनिबार उनी विशेष तरिकाले विताउँछन् । उनले अफिसभन्दा बाहिरको काम गर्ने मौका पाउँछन् । रुचिअनुसार विभिन्न पुस्तक पढ्ने समय मिल्छ ।

शनिबार उनी इन्जिनियरिङ विषयबाहेकका पुस्तक पढ्न रुचाउँछन् । भट्टराई साहित्यिक विधाका पुस्तकलाई आफ्नो घनिष्ट मित्र मान्छन् । ‘फुर्सदमा आफ्नो इन्जिनियरिङ क्षेत्रको विषयबाहेकका पुस्तक पढ्छु’ इन्जिनियर्स पोस्टसँग आफ्नो रुचिबारे भट्टराई सुनाउँछन्, ‘साहित्यका आख्यानहरु मेरा घनिष्ठ मित्र भने पनि हुन्छ । साहित्यमा मलाई निकै रुचि छ । मौका पाउनासाथ साहित्यिक पुस्तकहरु पढ्ने गर्छु ।’

तर यो शनिबार भने इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी गर्नुपर्ने भएकाले सेन्टरतिर व्यस्त छन्, उनी । ‘यस्तै त हो नि कहिलेकाहिँ त शनिबार पनि कहाँ फुर्सद हुन्छ र !’ भट्टराई हाँस्छन् ।

घुमघाम
कोभिडअघि र घरमै भएको भए उनको शनिबारको समय तालिका भिन्दै हुन्थ्यो । परिवारसँग फिल्म हल पुग्थे । कोभिड र डीन बनेपछि परिवर्तन भएको समयसँगै डीन भट्टराईको शनिबारको समय तालिका पनि फेरिएको छ ।

पहाडी भेगमा रमाउने उनी अचेल प्राय हरेक शनिबार हाइकिङ जान्छन् । आफ्नो रुचिबारे उनी सुनाउँछन्, ‘म पहाडी भेग र पार्कहरुमा रमाउने मान्छे हुँ । हामीकहाँ पार्कहरु कम छन्, त्यसैले मसँग भएको समयअनुसार शनिबारको घुमघाममा हाइकिङ र मर्निङ वाकमा निस्कन्छु । यसले मलाई रिफ्रेसमेन्ट दिन्छ ।’ अर्थात उनी सुन्दर र रमणीय वातावरणले मन दर दिमागलाई शान्ति मिल्ने तर्क गर्छन् । भट्टराई थप्छन्, ‘हो, मलाई एकप्रकारको आनन्द र सन्तुष्टि मिल्छ ।’

खानपान
शनिबार फुर्सद हुने हुँदा मानिसहरु खानपानमा पनि विशेष जोड दिने गर्छन् । अर्थात, यो दिन खानपानमा कुनै लिमिटेसन हुँदैन । फुर्सदको दिनमा पाक्ने थरीथरिका पकवान ढुक्कले खाने गर्छन् । तर डीन भट्टराई भने व्यवस्थित तरिकाको खानपानसहित स्वास्थ्यमा विशेष ध्यान पुर्याउने गर्छन् । ‘स्वास्थ्यमा म सामान्य सजग छु । मलाई हालसम्म त्यस्तो स्वास्थ्य समस्याहरु केही पनि छैन’ उनी भन्छन्, ‘स्वास्थ्यप्रति सजग रहनुपर्छ भन्ने मेरो मान्यता हो ।’

उनको मादकपदार्थ सेवन गर्ने बानी छैन । स्वस्थ जीवनशैली मन पराउने उनी खानपानको शैली स्वतन्त्र भए पनि क्षमताभन्दा बढी भने नखाने बताउँछन् । ‘शनिबारको दिन पिरै नगरीकन स्वतन्त्र हिसाबले चिल्लो, पिरो, मिठो–मसिनो खाइन्छ तर पनि क्षमताभन्दा बढी खादिनँ । एकदमै मिलाएर खान्छु’ उनी भन्छन्, ‘म मादक पदार्थ पनि सेवन गर्दिन । सफ्ट ड्रिंकमा सुगरबिनाको हटलेमन, जुसहरु भने पिउने गर्छु ।’

यसरी डीन भट्टराई शनिबारलाई हप्ताभरको बाँकी ६ दिनका लागि रिचार्ज भर्ने दिनको रुपमा लिन्छन् । मुस्कुराउँदै उनी भन्छन्, ‘एक दिन मज्जाले रमाइलो गर्ने र बाँकी ६ दिन मज्जाले काम गर्ने हो । त्यसैले पनि मेरा लागि शनिबार विशेष हुन्छ ।’

Your Opnion

//