टपरका कुरा– आर्थिक अभावमा इन्जिनियरिङ पढेका विजय आखिर आइओई टपर बनेरै छाडे - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Feature

टपरका कुरा– आर्थिक अभावमा इन्जिनियरिङ पढेका विजय आखिर आइओई टपर बनेरै छाडे

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङअन्तर्गत २०७२ ब्याचका त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ संस्थान (आइओई) टपर हुन्, विजय सापकोटा । कान्तिपुर इन्जिनियरिङ कलेजमा पढेका उनी ‘डेडिकेसन, पूर्ण तयारी, मेहेनत, असफलता र सिकाई’लाई पढाइमा सफलता हासिल गर्ने सुत्रको रुपमा लिन्छन् ।

शैक्षिक र पारिवारिक पृष्ठभूमि
सिन्धुपाल्चोकको चौतारा, कुभिन्डेमा जन्मेका विजय काठमाडौंमा हुर्किए । आमाबुबा, हजुरबुबा, आफू र भाइलगायत उनको परिवारमा पाँच जना सदस्य छन् ।

काठमाडौंमा विजयका बुबाको क्याट्रिन व्यावसाय थियो भने आमा गृहणी थिइन् । उनीहरु काठमाडौंमा संघर्ष गर्दै थिए । आर्थिक अभावका कारण उनले काठमाडौं र ललितपुर गरी तीन स्कुलबाट आफ्नो स्कुलिङ पुरा गर्नुपर्यो । उनले १ देखि ५ कक्षासम्म अर्किट एकेडेमी ललितपुर, ५ देखि ८ कक्षासम्म रेडियन्ट एकेडेमी काठमाडौंमा पढे भने मिडल प्वाइन्ट स्कुलबाट एसएलसीसम्मको पढाइ पुरा गरे ।

उनी अर्किट एकेडेमीलाई पढाइ सुधारेको श्रेय दिन्छन् । ‘हामी जता–जता सर्यौ, स्कुल पनि सिफ्ट गर्नुपर्यो’ विजय सम्झन्छन्, ‘शिक्षाको आधार राम्रोसँग सुरु भएको अर्किट स्कुलबाट हो । मेरो स्कुल सिफ्ट भए पनि जेहोस् पढाइ भने बिग्रिन पाएन’ इन्जिनियर्स पोस्टसँग विजय सुनाउँछन् ।

विजय स्कुलताका देखि नै भौतिकशास्त्र (फिजिक्स) विषयमा लगाव राख्थे । लगावबमोजिम उनले प्लस टू साइन्समा भौतिकशास्त्र विषय रोजे । उनले जया देवकोटा मेमोरियल कलेज जोरपाटीबाट प्लस टू पुरा गरे ।

इन्जिनियरिङ तयारी थाल्दा लागेको पहिलो धक्का
उनको प्लस टूको परीक्षा सकियो । त्यसको केही महिनापछि स्नातक तह सुरु हुनेवाला थियो । प्लस टूपछि उनले इन्जिनियरिङ पढ्छु भन्ने सोच बनाएका थिए । तर इन्जिनियरिङ पढ्न प्रवेश परीक्षा दिनुपर्छ भन्ने उनलाई थाहा थिएन । ‘मलाई त प्रवेश परीक्षा दिनुपर्छ भन्ने नै थाहा थिएन’ विजय सुनाउँछन्, ‘साथीले ‘तयारी थालुम्’ भन्यो, मैले किन दिने इन्ट्रान्स सिधै गएर कलेज पढुम् न भन्दा ‘हैन इन्ट्रान्स नदिई कलेजमा प्रवेश नै पाउँदैनस्’ भनेपछि बल्ल झस्किएँ ।’

त्यसपछि विजयले पिईएमा आइओई प्रवेश परीक्षाका लागि केही महिना तयारी थाले । पिइएले हरेक हप्ता टेस्ट परीक्षा लिन्थ्यो । जुन परीक्षाको सुरुमै उनी फेल भए । सुरुको टेस्ट परीक्षामै धक्का लागेपछि खिन्न बन्नुपरेको अनुभव सुनाउँदै विजय भन्छन्, ‘सुरुमै फेल भएपछि ओहो गाह्रो रहेछ, सकिदैन कि क्या हो भन्ने लाग्यो । तर अहँ सुरुमै भाग्नु हुँदैन भन्ने सोचेँ र राम्रोसँग पढेँ ।’ विजय अर्को पटकको पिइएको परीक्षामा पास भए । पढाइप्रति फेरि जाँगर चल्यो । आइओईको परीक्षा दिए । १७ सयको र्याङ्क्कमा परेर उत्तीर्ण भए ।

पिइएले हप्तामा हुने परीक्षा सकिएपछि विभिन्न इन्जिनियरिङ कलेजहरुको भ्रमण गराउँथ्यो । सोही क्रममा उनलाई कान्तिपुर इन्जिनियरिङ कलेज मन परेको थियो । यसरी उनले उनले इन्जिनियरिङ विषयमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन र कलेजमध्येमा कान्तिपुर रोजे ।

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङतर्फको आकर्षण
भौतिकशास्त्रसँग सम्बन्धित विषय हो, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ । विजयले सानैदेखि इलेक्ट्रोनिक कम्पोनेन्टहरुमा रुचि राख्थे । त्यसैले पनि स्नातक तहमा आफूले यही विषय रोजेको उनी बताउँछन् । ‘सानैदेखि टिभि बनाउने, इलेक्ट्रोनिक्ससँग सम्बन्धित नयाँ÷पुराना सामानहरु देखेपछि खोल्ने, बिगार्ने र फेरि बनाउने गर्थेँ’ उनी सुनाउँछन्, ‘सानो बेलाको त्यो बानिले मेरो रुचि झनै जागेछ ।’

जीवनमा हरेकका आ–आफ्नै रोलमोडल हुन्छन् । कतिपयले टिचर, बुबाआमा, साथीभाई, सेलिब्रेटीलाई आफ्नो रोलमोडल ठान्छन् भने कतिपयले विभिन्न कुरालाई । तर विजयले आफ्नो सफलता र रोलमोडल आफैलाई मान्छन् । ‘मैले अहिलेसम्म कसैलाई पनि रोलमोडल बनाएकै छैन । मेरो रोलमोडल म आफै हो’ इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘किन कि म संघर्ष गर्न रुचाउने मान्छे हुँ ।’

पढाइमा संघर्ष र सफल हुन चाहिने सुत्रहरु
कलेजताका उनी नियमित कक्षामा उपस्थित हुन्थे । शिक्षकले पढाएका कुरालाई ध्यान दिएर सुन्थे र नोट बनाउँथे । परीक्षाको समयमा विभिन्न कुरा सन्तुलन गर्दै ध्यान दिएर पढ्थे । त्यसैले ध्यान दिएर पढ्नेबाहेक कडा मेहेनत गर्नु नपरेको उनी बताउँछन् । भन्छन्, ‘कडा मेहेनत भन्नाले जतिबेला पनि पढिहरनु परेन । रेगुलर कलेज जान्थेँ र टिचरले पढाउँदा नबुझेको कुरा सोध्थेँ । परीक्षामा ध्यान दिएर पढ्थेँ । पढाइमा सन्तुलन नै मेरो विशेषता हो ।’

हरेक सफल व्यक्तिले डेडिकेसन, ब्यालेन्स, हार्डवर्किङलगायत तत्वहरुलाई निकै महत्वपूर्ण सुत्र ठान्छन् । विजय भने डेडिकेसन अर्थात् पढाइप्रति समर्पित हुनुलाई सफलताको सबैभन्दा महत्वपूर्ण सुत्रको रुपमा लिन्छन् । कलेजको परीक्षामा राम्रो प्रतिशत ल्याउनका लागि सेलेबस अघि बसेर पढ्दा पक्का सफल भइने उनको अनुभव छ ।

‘पढाइमा मुख्य कुरा भनेको डेडिकेसन हो । यति भएपछि पढाइमा सफल भइन्छ’ उनी थप्छन्, ‘कलेजको परीक्षामा प्रतिशत ल्याउनलाई नै पढ्ने हो भने सेलेबस आफ्नो अगाडि राख्ने, सेलेबसभित्र भएका सबै विषयवस्तुहरु पढ्ने । त्यसभित्रका सबै प्रश्नहरुको गहन अध्ययन गरेर आफैले तिनको समाधान खोज्ने, सेलेबसमा भएको कुनै पनि विषयवस्तु नछोडिकन अभ्यास गर्ने । यति गरेपछि पक्कै सफल भइन्छ । मैले पनि यही नै गरेर सफलता हासिल गरेको हो ।’

कलेजताका उनले केही अवार्डहरु पनि जितेका छन् । सुरुमा उनले सबै सेमेस्टर टप गरेर अवार्ड पाए । केइसी कन्फेरेन्समा इलेक्ट्रोनिक्ससँग सम्बन्धित पहिलो र दोस्रो वेस्ट पेपर अवार्ड पनि उनले जितेका छन् । ‘केइसीले आयोजना गर्ने लाइट एक्जिवेसनमा भाग लिए पनि त्यहाँ भने केही जित्न सकेन’ उनी सुनाउँछन्, ‘तर सोही ताका भारतको चेन्नइमा इन्टरनेसनल रिसर्च पेपरमा प्रतिस्पर्धा भएको थियो । त्यसकै सिलशिलामा चेन्नई पुगेर आफ्नो पेपर बुझाउने अवसर पाएँ । मेरो पेपर छनोटमा परेर अन्तर्राष्ट्रिय पेपर अवार्डमा पनि छापिएको थियो ।’

‘टपर हुन्छु भन्ने सोचेकै थिइन’
नेपालमा इन्जिनियरिङ शिक्षा सर्वसुलभ मानिए पनि सबैका लागि सर्वसुलभ नहुन सक्छ । विजयले रोजेको विषय पढ्न करिब ८ लाख शुल्क लाग्थ्यो । यतिका रकम बुझाएर आफ्नो रोजाइको विषय पढ्न उनलाई सहज थिएन । कलेजको उपलब्ध गराएअनुसार उनले पहिलो सेमेस्टर १० प्रतिशत छात्रवृत्ति पाए पनि पूर्ण छात्रवृत्तिमा भने परेका थिएनन् । त्यसपछि जे भयो उनले सोचेभन्दा विपरित भयो ।

‘कलेज भर्ना हुँदा ८ लाख जति पैसा लाग्छ भन्ने कुरा थियो । त्यसताका मेरो आर्थिक अवस्थाले धान्ने अवस्था थिएन’ विजय सुनाउँछन्, ‘प्रत्येक सेमेस्टर टप गरेपछि पूर्ण छात्रवृत्तिमा पढ्न पाइन्छ भन्ने कुरा थाहा पाएँ । मेरो अभाव र पढाइलाई पुरा गर्नुपर्छ भन्ने हिसाबले पढेँ । टपर बन्छु भन्ने त कल्पना पनि थिएन, थाहै नपाई टपर बनेछु ।’ उनले स्नातकमा ८६.४९ प्रतिशत अंक ल्याएका छन् ।

इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्दा ध्यान दिनुपर्ने कुरा
विजयकाअनुसार इलेक्ट्रोनिक्स इन्जिनियरिङमा अरु विषयजस्तो बाहिरबाट हेर्दा–बुझ्दा आन्तरिक कुराबारे भेउ पाउन सकिदैन । यस विषयमा करेन्ट लेभल, भोल्टेज लेभल, करेन्ट कसरी फ्लो हुन्छ, कसरी काम हुन्छलगायत सानोतिनो कुराबारे थाहा पाउनुपर्छ । किन कि यसमा हुने तत्वहरु सुक्ष्म हुन्छन् र आँखाले देखिदैन । त्यसैले ध्यान दिएर बुझेर यो विषय पढ्दा सफल भइन्छ नभए विफल ।

इलेक्ट्रोनिक्स विषयप्रति रुचि हुने विधार्थीले मात्र यो विषय पढ्न सुझाउँछन्, उनी । ‘यो विषय पढ्नलाई सुरुमा त मनदेखि नै रुचि चाहिन्छ, रुचि भएन भने गाह्रो हुन्छ’ विजय थप्छन्, ‘आफू मानसिक रुपमा पुरै तयार रहेर बुझ्न सक्यो भने यो विषय सजिलो पनि छ ।’

भविष्यको योजना
विजय हाल दाङस्थित टेलिकम्युनिकेसनसँग सम्बन्धित प्रोजेक्ट ‘युनिभर्सल मल्टि सर्भिस कम्पनी’मा आवद्ध रहेर गत भदौदेखि काम गरिरहेका छन् । टेलिकमकै प्रोेजेक्टमा उनले यसअघि करिब तीन महिना सुर्खेतमा काम गरेका थिए भने त्यसअघि उनी वल्र्डलिंकमा प्राविधिक सपोर्टरको रुपमा काम गर्थे ।

अधिकांश विधार्थीको सपना हुन्छ, विदेश गएर आफ्नो पढाइ र भविष्य उज्जवल बनाउने । तर विजयले भने आफ्नो विषयसँग सम्बन्धीत कुराको भविष्य नेपालमै देखेका छन् । उनले इलेक्ट्रोनिक्स एण्ड कम्पयुनिकेसन इन्जिनियरिङसँग सम्बन्धित रडार र वायरलेस कम्युनिकेसन विषयमा आफ्नो भविष्य देखेका छन् । ‘विशेषगरी रेडार क्षेत्रमा पनि एरोस्पेस र वायरलेस मेरो प्राथमिकतामा हुनेछ । यसको नेपालमा राम्रो स्कोप छ’ उनी थप्छन्, ‘पछिल्लो समय इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्ने विधार्थी पनि न्यून छन् र विस्तारै विभिन्न टेक्नोलोजी नेपालमा बढ्दै छन् । त्यसैले यसको स्कोप छ ।’ अन्तिममा उनले नेपालको टेलिकम, एयरपोर्ट क्षेत्रको रडार र वायरलेस सिस्टममा केही न केही गर्ने सोच रहेको सुनाए ।

Your Opnion

//