धितो मूल्यांकन कार्यका चुनौती तथा सावधानका उपाय - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Bank

धितो मूल्यांकन कार्यका चुनौती तथा सावधानका उपाय

  • ई. मुक्ति पाण्डेFebruary 16, 2021

सम्पत्ति मूल्यांकनको क्षेत्र फराकिलो छ । अचल सम्पत्ति किनबेच गर्दा कर निर्धारण प्रयोजन, जग्गा अधिकरण, वैंक तथा वित्तीय संस्थामा धितोलगायत अन्य प्रयोजनका लागि कुनै न कुनै प्रकारले मूल्यांकन गरिन्छ । विशेषतः बैंक तथा वित्तीय संस्थाले सुरक्षणस्वरुप गर्ने धितोको मूल्यांकन कार्य व्यावसायिक तवरले मूल्यांकनकर्ता इन्जिनियरहरुबाट हुने गरेको छ ।

मूल्यांकन कार्य आफैमा विशुद्ध प्राविधिक कार्य हो । कुनै पनि सम्पत्तिबाट हुन सक्ने आम्दानी लागत तथा चलनचल्तीको अवस्था तथा आन्तर्राष्ट्रिय अभ्यासको पनि संयोजनबाट धितो मूल्यांकन कार्य हुँदै आएको छ । वैंक तथा वित्तीय संस्थाका लागि गरिने मूल्यांकन कार्यमा सुरक्षणका रुपमा रहने धितोको उपलब्ध कागजातहरुलाई आधार बनाइन्छ । यसमा धितोको स्थान पहिचान नै मुख्य कुरा हो । धितोको उपलब्ध कागजातको शुद्धतामा नै धितो मूल्यांकन विश्वसनीय हुन सक्छ ।

वैंक तथा वित्तीय संस्थामा आउने केही धितोहरुको कागजात ब्लू प्रिन्ट, चार किल्ला, लालपूर्जा, राजीनामा आदि नक्कली रहने, ऋणीले ऋण नतिर्ने वित्तिकै सम्पूर्ण दोष मूल्यांकनकर्तामाथि थोपर्ने र ऋण तिर्न लगाउने गलत प्रचलन छ । साथै, कालोसूचीसहितको मुद्धा, धम्की खेप्नु पर्ने बाध्यता पनि छ । उपलब्ध कागजातको आधारमा स्थान एकिन गरी व्यावसायिक तवरले धितोको मूल्यांकन गर्नु मूल्यांकनकर्ताको कर्तव्य हो । प्राविधिक ज्ञान प्राप्त व्यक्तिले कसरी कानुनी कुराको प्रमाणीकरण गर्न सक्छ ? मूल्यांकनकताले मूल्यांकन कार्यका लागि चाहिने धितोसम्बन्धी कागजातहरुलाई प्रमाणीत गरिदिनु पर्ने र उक्त उपलब्ध कागजातहरु नक्कली रहेमा जेल जानुपर्ने अवस्था संसारभर कतै छैन । यसरी सबै दोष प्राविधिकलाई लगाएर बैंक तथा वित्तीय संस्थाले अनुचित फाइदा लिने प्रवृत्ति धितो मूल्यांकनकर्ताको मुख्य चुनौति हो । हरेक वैंक तथा वित्तीय संस्थामा धितो मूल्यांकनसम्बन्धी गाइडलाईन फरक–फरक हुनु, बजार मूल्य, एफएमभी तथा डीभीलाई फरक–फरक तरिकाले व्याख्या हुनु तथा धितो मूल्यांकन प्रतिवेदनको ढाँचा पनि आफू अनुकुल गराउन खोज्नु पनि मूल्यांकन पेसामा समस्याको विषय बनेको छ ।

मूल्यांकन क्षेत्रमा आवश्यक मापदण्ड र मूल्यांकन कार्य एकरुपताका लागि एनभीएले विशेष पहल गर्दै आइरहेको छ । मूल्यांकनकर्ता संगठित हुनसके भविष्यमा आउन सक्ने समस्या र चुनौतिको सामना र समाधान गर्न सकिन्छ भन्ने मान्यताका साथ संस्थाले मूल्यांकन क्षेत्रलाई व्यवस्थित गर्न र मूल्यांकनकर्तालाई सशक्त र जागरुक बनाउन सधै तत्परता देखाएको छ ।
स्थापनाको छोटो अवधिमा नै संस्थाले आफ्नो सञ्जाल विस्तार तथा पहुँच स्थापनाका निम्ति जुन उचाई हासिल गर्न सकेको छ, यो हामी सबै मूल्यांकनकर्ताका लागि ठूलो उपलब्धि हो । संस्थाले मूल्यांकनकर्ताका समस्याहरु न्यूनीकरणमा पनि ठूलो सफलता हासिल गर्न सकेको हामीले महसुस गरेका छौं । संगठन जति बलियो हुन्छ, मूल्यांकनकर्ताहरु पनि त्यत्ति नै बलिया हुँदै जान्छन् भन्ने कुरा अहिले अधिकांश मूल्यांकनकर्ताले बुझिसक्नुभएको छ । यसको बलियो प्रमाणको रुपमा संस्थामा स्वेच्छिक रुपमा आवद्ध हुन चाहने सदस्यहरुको संख्या तथा विभिन्न गतिविधिहरु संचालन गर्दा मूल्यांकनकर्ताहरुको उपस्थिति एवं संस्थाका अन्य गतिविधिहरु विस्तार हुँदै जानुलगायतलाई लिन सकिन्छ ।

पछिल्ला दिनहरुमा संस्थासँग अन्य सरोकारवाला एवं नियमनकारी निकायहरुले पनि थप समन्वयनकारी भूमिका निर्वाह गरिरहनुभएको छ । संस्थाको पहलकदमीले मूल्यांकनकर्ता इन्जिनियरहरुका समस्या धेरै हदसम्म समाधान भएका पनि छन् । धितो मूल्यांकन क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउँदै यस क्षेत्रको गरिमा माथि उठाउन र उत्पन्न समस्यालाई छलफलको माध्यमबाट समाधान गर्न पहल गरेकै कारण यस संस्थाको महत्व दिनानुदिन बढिरहेको छ । धितो मूल्यांकन क्षेत्रमा रहेर काम गरिरहेका ब्यक्तिको मान–प्रतिष्ठा बचाउन र समस्याबाट मुक्ति दिलाउन हामीले गरेको पहलका कारण पछिल्ला वर्षहरुमा मूल्यांकनकर्ताले उचित न्याय पाउँदै गएका छन् । आगामी दिनमा यस क्षेत्रलाई अझ व्यवस्थित र परिष्कृत बनाउँदै लैजानुपर्ने दायित्व पनि हामीसामू छ ।

ई. मुक्ति पाण्डे

हाम्रो यात्रालाई आगामी दिनमा नयाँ तवरले अघि बढाउनुपर्ने आवश्यकता छ । यसका लागि हामीले अन्य सरोकारवाला निकायहरुसँग सहकार्य र छलफल गर्दै मूल्यांकनकर्ताको हकहित तथा सामाजिक दायित्वका लागि समेत पाइलाहरु अघि बढाउने प्रयत्न गरेका छौँ । यस क्षेत्रलाई समष्टिगत रुपमा व्यवस्थित बनाउँदै लैजाने कार्यमा मूल्यांकनकर्ताको अलावा सबैले आ–आफ्नो क्षेत्रबाट प्रभावकारी तवरले भूमिका निर्वाह गरिरहनुभएको छ र यो सहकार्य निरन्तर कायम रहिरहनेछ भन्नेमा हामी आशावादी छौंँ ।

सावधानका केही उपायहरु
मूल्यांकनकर्ताले छनोट कार्य तथा अध्यावधिक विवरण पारदर्शी ढंगले गर्नुपर्ने ।
सूचीकृत मूल्यांकनकर्ताहरुलाई ‘रोटेसन बेसिस’ मा काम गराउनुपर्ने ।
सुरक्षणका लागि →लिइने धितोको आवश्यक कागजात सम्बन्धित वैंकबाट नै उपलब्ध हुनुपर्छ ।
मूल्यांकनका क्रममा चलनचल्तीको मूल्यलाई भन्दा धितोको आम्दानी, लागत तथा अन्य पक्षहरुको आधारमा भार बढी लिनुपर्छ ।
छ। अन्तर्राष्ट्रिय मूल्यांकन विधिको अवलम्बन गर्नुपर्छ ।
नेपाल बैंकर्स एसोसिएशन, नेपाल राष्ट्र बैंक तथा सरोकारवाला निकायसँग समय समयमा अन्र्तक्रिया गरी यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्नुपर्छ ।

साथै, एनभीए र नेपाल बैंकर्स एसोसिएसन (एनबीए) बीच सहमति भई तयार भएको सम्झौतापत्र बैंकहरुमा लागू हुन्छ । नेपाल राष्ट्र बैंकबाट धितो मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय मूल्यांकन विधि एकीनका लागि निर्देशिकामा समावेश हुनु, एनभीए र एनबीएबीच भ्यालुएसन गाइडलाइन तथा प्रतिवेदन ढाँचामा एकरुपता ल्याई छलफलमार्फत अघि बढ्नु भविष्यमा मूल्यांकन कार्य व्यवस्थित, व्यावसायिक तथा मर्दादित बनाउने सवल पक्ष हुन् ।

(लेखक नेपाल भ्यालुयर्स एसोसिएशनका महासचिव हुन्)

Your Opnion

//