अहिलेसम्म बिहे गर्नु भएको छैन ? - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Blog

अहिलेसम्म बिहे गर्नु भएको छैन ?

  • ई. किरण रिजालFebruary 12, 2021

सधैं हिँडियो अरूको खोजीमा
कहिल्यै हिँडिएन आफ्नो खोजीमा ।

आफूभित्र आफूलाई नभेटेपछि
बितिदिन्छ जिन्दगी यो खोजीमा ।।

आफैंले कोरेका यी गजलका शब्दहरूले मलाई प्रायः घचघचाइ रहन्छन् । यी शब्दले हामी आफ्नो बारेमा अनिभिज्ञ छौं भन्ने कुरा बताउँछन् । किनभने हामी आफ्नो मूल्यांकन आफैंले कहिल्यै गर्दैनौं । मात्र अरूलाई नियाल्न खोजिरहन्छौं । वास्तवमा हामी अरूको नापतौलमा पोख्त छौं भन्दा फरक नपर्ला । अभ्यस्त छौं ।

यसबाट के बुझिन्छ भने हामी अलि बढी नै संयमितता अपनाउन खोज्छौं किनकि हामी कसैको खोजीमा छौं । जुन आफूले चाहेजस्तो होस् । त्यसैले मेरो मनमा एउटा प्रश्न खेलिरहन्छ, ‘हाम्रो चाहनाको सीमा के त ?’

एकदिनको कुरा हो, यसै सन्दर्भमा एक जना दिदीलाई ‘अहिलेसम्म किन बिहे गर्नु भएको छैन भनेर सोधेँ ।’ उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘भने जस्तो केटा नपाएर नि !’ उहाँको जवाफ नसकिँदै मैले फेरि थपिहालेँ, ‘कस्तो केटा चाहिएको हो र ?’ यसको उत्तर भने दिनुभएन, अलि लजाउँदै भन्नुभयो, ‘के हो के हो’ । जे होस् उहाँले प्रष्टसँग नभने पनि मैले उहाँले भन्न खोज्नुभएको कुरा आफ्नै तरिकाले बुझेँ ।
०००

यो प्रविधिको युग हो । विश्वव्यापीकरणले जोकोही एक ठाउँमा बसे पनि सिंगो संसार नियाल्न सक्छन् । चाहेको जोकोहीसँग पनि बोल्न, हेर्न पाइरहेका छन् । तर, कुनै जमाना यस्तो थियो, जहाँ मानिस एउटा सानो परिधिमा मात्रै सीमित हुन्थे । थोरै मानिसको जमात हुन्थ्यो ।

एउटा कुरा भने स्मरण रहोस्, पहिले सामाजिक, साँस्कृतिक र पारिवारिक कुरामा भने हरकोही निकै जिम्मेवार हुन्थे । अर्थात् वैवाहिक सम्बन्ध स्थापना गर्न जिम्मेवारी र कर्तव्य पूरा गर्थे । तर, अहिलेको समयमा यी सम्पूर्ण कुरालाई छोडेर केवल आफ्ना लागि मात्रै सोच्ने अर्थात् ‘स्वैच्छिक जिम्मेवार’ मात्रै देखिन्छन् । जुन, केही राम्रो मानिएला तर यो भविष्यका लागि अति जटिल साबित हुँदै गइरहेको देखिन्छ ।

हामीलाई सबै कुरामा उत्कृष्ट व्यक्ति चाहिएको छ । यसका लागि हामी फरकफरक क्षेत्रका १० जनालाई जम्मा गर्छौं । प्रत्येकको एउटा–एउटा राम्रो गुण, विशेषता र क्षमता भएकालाई एक ठाउँमा जम्मा पार्छौं । त्यसपछि यी सबै गुण भएका १ जनालाई मात्रै लिन खोज्छौं । यो अहिलेको समयको अभ्यास हो, वास्तवमा यो राम्रो अभ्यास होइन । यो कुरालाई मैले गजलमार्फत् प्रष्ट पारेको छुँ :

‘दिनेले सबै कुरा सबैलाई दिँदैन
कुनै कुराको अभाव नबनाई दिँदैन ।

दूरीबीचको सम्बन्धलाई आधार मान्ने भए
फूलसँगै काँडा किन मुस्कुराई दिँदैन ।।’

वास्तविकता यही हो कि सबै मानिस सबै कुरामा पूर्ण हुँदैनन्। कोही शारीरिक रूपमा अब्बल छन् त कोही बौद्धिक । कोही सामाजिक रूपमा पूर्ण छन् त कोही व्यवहारिक, कोही आर्थिक रूपमा समृद्ध छन् त कोही भावनात्मक रूपमा । जस्तो भए पनि प्रकृतिले हामीलाई आफ्नोपन भने दिएको छ ।

त्यसैले मलाई लाग्छ, आफ्नोपनमा रमाउनु र आफ्ना बन्नेहरूलाई आफ्नैपनमा छोडिदिनु एक उत्कृष्ट सम्बन्धको उदाहरण हो। यदि तपाईं आफ्नो महत्व कायम राख्न चाहानुहुन्छ भने एउटा व्यक्तिमा भएका कमजोरीलाई पनि स्वीकार गर्नुहोस् ।
०००

म उनै दिदीलाई भन्न चाहन्छु, ‘प्रिय दिदी अब ढिला नगर्नुहोस्, जवानी विस्तारै ढल्किँदै जाने चीज हो । फेरि बिहेअघि र बिहेपछि पनि ‘भने जस्तो पाइएन’ भन्दै जीवन बितिजाला नि ।’ दिदीको कुरा सुन्दा दुबै पक्षबाट खोजी जारी छ तर खोजेको जस्तो पाइएको छैन रे ! यस्तै प्रवृत्ति रहिरह्यो भने यो यात्रा कहिल्यै टुंगिनेवाला छैन । अन्त्यमा तिनै दिदीका लागि :

‘हामी यसरी पनि त भेटिएनौं
म उनको उनी मेरो खोजीमा ।’ (सुरुको गजलको थप)

Your Opnion

//