इन्जिनियरिङको पाठ्यक्रमलाई बजार र उद्योगसँग जोड्ने प्रयत्नमा छौँः आइओई डीन (अन्तर्वार्ता) - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interview

इन्जिनियरिङको पाठ्यक्रमलाई बजार र उद्योगसँग जोड्ने प्रयत्नमा छौँः आइओई डीन (अन्तर्वार्ता)

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) का डीन हुन्, ई. प्रा.डा. शशीधर राम जोशी । सरकारी छात्रवृत्तिमा ‘कोलोम्बो प्लान’मा भारतको रिजनल इन्जिनियरिङ कलेज सुरतबाट बीई गरेका जोशीले त्यहाँको विश्वविद्यालय नै टप गरेका थिए । २०४१ सालमा नेपाल आएर उनले सिस्मलोजी ल्याबमा इलोक्ट्रोनिक्स इन्जिनियरको रुपमा काम सुरु गरे । ९ महिना त्यहाँ काम गरेर २०४२ सालमा उनले आइओईमा अध्यापन सुरु गरे । आइओईमा अध्यापन थालेको ३५ वर्ष पुगिसेकेको छ । ६ महिनाअघि आइओईको डीन भएका उनै जोशीसँग इन्जिनियरिङ शिक्षाका विविध पाटोबारे इन्जिनियर्स पोस्टका लागि कृष्ण आचार्यले गरेको कुराकानीः

पछिल्लो पाँच वर्षमा नेपालको इन्जिनियरिङ शिक्षामा देखिएको आकर्षणलाई कसरी लिनुहुन्छ ?
इन्जिनियरिङ शिक्षामा आकर्षण सधै उस्तै छ । फरक के छ भने पहिला इन्जिनियरिङको कुनै एक विद्यामा आकर्षण थियो भने अहिले समयअनुकुल परिवर्तन भएको छ । आफूले रोजेको र बजारले खोजेको इन्जिनियरिङ विषयमा अध्ययन गर्न पाइन्छ । त्यसैले, यो ५ वर्षमा पछिल्ला वर्षहरुको तुलनामा आकर्षण बढेकै मान्नुपर्छ ।

नेपालको इन्जिनियरिङ शिक्षा कमजोर छ भन्ने गरिन्छ । यो भ्रम हो या यथार्थमै यस्तो हो ?
त्यस्तो भन्न मिल्दैन । इन्जिनियरिङ शिक्षामा सुधारका ढोकाहरु खोल्नुपर्छ । सुधार गर्ने पक्षहरु धेरै छन् । यसको मतलब शिक्षा नै कमजोर छ भन्ने होइन । अहिले आइओईअन्तर्गतका कलेजहरुकै कुरा गर्ने हो भने सैद्दान्तिक ज्ञान निकै राम्रो छ । प्रयोगात्मक पक्षमा रहेका केही कमी–कमजोरीलाई सुधार गर्ने कार्यमा हामी क्रियाशील छौँ । हामी विशेषगरी उद्योग तथा कलकारखानालाई चाहिने जनशक्तिलाई आवश्यक पर्ने ज्ञान दिनका लागि तत्पर छौँ । अब बन्ने नयाँ पाठ्यक्रममा यस पक्षलाई समयानुकुल परिवर्तन गर्ने गृहकार्यमा हामी जुटेका छौँ ।

हाम्रा कलेजहरुमा प्रयाप्त प्रयोगशाला छैनन् । भएका पनि गुणस्तरिय छैनन् । यस्तो अवस्थामा विद्यार्थीलाई व्यवहारिक शिक्षा हासिल गर्न अफट्यारो छ पनि भन्ने गरिन्छ नि ?
हामीसँग आधारभूत प्रयोगशालाहरु प्रयाप्त छन् । ती प्रयोगशालामा विद्यार्थीले पढेका कुरा मज्जाले सिकिरहेका छन् र सिकेका कुरा व्यवहारमा पनि उतारेका छन् । यसमा पनि सुधार गर्नुपर्ने पक्ष नभएको होइन । मैले अघि पनि भने हाम्रा विद्यार्थी भोलि उद्योग तथा कलकारखानामा काम गर्न जाँदा त्यहाँ मज्जाले काम गर्ने वातावरण बनाउनका लागि हामी प्रयासरत छौँ । हामीले उत्पादन गर्ने प्राविधिक जनशक्ति उद्योगको सम्पर्कमा जाने हुनाले उद्योगको विकास तथा विस्तार हुनु पनि आवश्यक छ । नेपालमा यस्तो अवस्था छैन । यहिँनिर भन्नुपर्दा नेपालमा पढेका विद्यार्थीले विदेशमा उत्कृष्ट काम गरेका थुप्रै उदाहरण छन् । नेपालको इन्जिनियरिङ शिक्षा राम्रो भएर नै नेपाली विद्यार्थीले विदेशमा राम्रो गरिरहेको हुनुपर्छ भन्ने मलाई लाग्छ । नेपालमै पनि इन्जिनियरहरु बेरोजगार बस्नुपर्ने अवस्था खासै छैन । सबैभन्दा महत्वपूर्ण कुरा कहाँनेर छ भने हामीले बढ्दो प्रविधिको विकासक्रमसँगै शैक्षिकस्तरमा पनि सुधार गर्दै लैजानुपर्छ । यसो हुँदा इन्जिनियरिङ शिक्षा हासिल गरेका विद्यार्थीहरु भोलि बजारमा सहजै बिक्ने सम्भावना रहन्छ ।

हाम्रा उद्योगहरुमा विदेशी प्राविधिकहरुले काम गर्ने अनि नेपाली जनशक्ति विदेश जाने अवस्था पनि छ नि ?
विदेशी जनशक्ति नेपालमा आवश्यक नै छैन भन्ने कुरा पनि गलत छ । हामीलाई दिगो विकास र पूर्वाधार विकासमा दक्ष जनशक्ति पनि आवश्यक पर्छ । त्यो जनशक्ति विदेशबाट ल्याउनुपर्ने पनि हुन सक्छ । अर्को कुरा, विदेशी दक्ष जनशक्ति नेपाल आउँदा नेपाली प्राविधिकले उनीहरुसँग काम गर्ने विभिन्न तौर–तरिकाहरु सिक्ने अवसर पनि पाउँछन् । त्यो सिकाइले नेपाली प्राविधिकलाई पनि दक्ष बनाउन सक्छ र भोलि विदेशबाट जनशक्ति ल्याउने अवस्थामा कमी आउँदै जान सक्छ । संसार विज्ञान तथा प्रविधिमा धेरै माथि पुगिसेकेको छ । हामीले उनीहरुसँग सिक्नुपर्ने धेरै छ । विदेशी नेपाल आएर काम गर्नु भनेको नेपालीका लागि सिक्ने अवसर पनि हो । अर्को कुरा, विदेशमा काम गरेका नेपाली प्राविधिक दक्ष हुन्छन् । ज्ञान र सीपका हिसाबले उनीहरु धेरै माथि पुगिसकेका छन् । उनीहरुलाई नेपालमा ल्याउने वातावरण सरकारले बनाउनुपर्छ । त्यसो हुँदा यी सबै कुराको ब्यालेन्स हुँदै जान्छ भन्ने मलाई लाग्छ ।

आइओईमा एक शैक्षिक सत्रमा करिब १०–१२ हजार विद्यार्थीले इन्जिनियरिङ प्रवेश परीक्षा दिन्छन् । तर, आइओईबाट सम्बन्धन प्राप्त निजी कलेजहरुको विद्यार्थी कोटा भरिदैन । निजी कलेज संचालकहरु आइओईले कम विद्यार्थी पास गराएका कारण यस्तो समस्या आएको भन्नुहुन्छ नि ?
आइओईको भर्ना क्षमता भनेको ४ हजार २ हाराहारी हो । हामीले चाहिनेभन्दा धेरै नै विद्यार्थी पास गछौँ । कतिपय विद्यार्थीले छात्रवृत्तिका लागि प्रवेश परीक्षा दिन्छन् । आइओईमा छात्रवृत्तिमा नाम ननिस्किएपछि प्रवेश परीक्षामा पास हुँदाहुँदै पनि अन्यन्त्र जाने सम्भावना रहन्छ । त्यस्तै, कतिपय विद्यार्थी आफूले पढ्ने चाहेको विषयमा चार्म नदेखेर र कतिपय अन्य कारणले गर्दा अन्यन्त्र जाने गर्छन् । आफ्नो सिट संख्या बढाउनका लागि निजी कलेजहरुले विद्यार्थीलाई आकर्षित बनाउने वातावरण बनाउनुपर्छ र त्यस्ता कार्यक्रमहरु ल्याउनुपर्छ ।

इन्जिनियरिङ शिक्षामा वर्तमान अवस्थामा देखिएको मुख्य समस्या तथा चुनौतीहरु के–के हुन् ?
विद्यार्थीलाई बजार र उद्योगसँग परिचित कसरी बनाउने भन्ने नै अहिलेको मुख्य चुनौती हो भन्ने मलाई लाग्छ । नेपालमा मात्र नभएर अमेरिका, क्यानडा, जापान, जर्मनीजस्ता विकसित देशमा पनि बजार र उद्योगले विश्वविद्यालयलाई हामीले भनेको जस्तो जनशक्ति उत्पादन गरेन भनेर आरोप लगाइरहेको हुन्छ । नेपालमा यो समस्या केही हदसम्म बढी हुनसक्छ । यो समस्या समाधानका लागि विश्वविद्यालय र बजार तथा उद्योगहरुबीचको सहकार्य नै महत्वपूर्ण हो । विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा प्रदान गर्ने कुरामा बजारले सहयोग गरे भोलि त्यही बजारमा जाने विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो हुन्छ । अर्को भनेको विद्यार्थी आफैले पनि मेहेनत गर्नुपर्छ । आफूलाई प्रविधिसँग नजिक बनाउन विद्यार्थीले किताबी ज्ञानमा मात्र सीमित नभएर विश्व परिवेश र त्यहाँको विकासक्रमलाई जोडेर अध्ययन गर्नुपर्छ ।

नेपालमा हाइड्रोपावरको विकास एकदमै माथि पुगिसकेको छ । सुरुङ तथा रेल्वेको काम अघि बढेको अवस्था छ । यस्तोमा यी विषयहरुलाई पाठ्यक्रममा समेट्न किन ढिलाइ भइरहेको होला ?
आइओईको कुरा गर्ने हो भने हामीले हाइड्रोपावरको पढाइ सुरु गरिसकेका छौँ । रक एन्ड टनेल इन्जिनियरिङ नर्वेजियन विश्वविद्यालयसँग सहकार्य गरेर पोखराबाट सुरु गरिसकेका छौँ । रेल्वेका लागि हामीले पूर्वाधार बनाइरहेका छौँ । रेल्वेका लागि ठूलै पूर्वाधार चाहिने भएकाले केही यसका लागि समय लाग्ने देखिन्छ ।

यस शैक्षिक सत्रमा आइओईको पाठ्यक्रममा केही सुधार हुँदै छ कि छैन । आइओईले केही नयाँ कार्यक्रमहरु पनि ल्याउँदै छ कि ?
कोभिड–१९ का कारण यस शैक्षिक सत्रमा त्यस्तो ब्यापक परिवर्तन सम्भव भएन । हामीले आगामी सत्रमा भने केही नयाँ कार्यक्रमहरु ल्याउने तयारी गरेका छौँ । बायोमेडिकल इन्जिनियरिङका लागि तयारी भइरहेको छ । आगामी सत्रमा पाठ्यक्रम पनि परिमार्जन गर्ने र नयाँ कार्यक्रमहरु पनि थप गर्ने हाम्रो लक्ष्य हो । आन्तरिक र बाह्य मूल्यांकनको विषयलाई पनि परिमार्जन गर्दैछौँ ।

आइओईबाट सम्बन्धन प्राप्त निजी कलेजहरुको शैक्षिक गुणस्तर कसरी जाँच गर्नुहुन्छ ?
हामीले नियमअनुसार कार्यविधि नै बनाएर वर्षमा एक पटक अनुगमन गरिरहेका छौँ । अनुगमनका क्रममा शैक्षिक गुणस्तर कायम गर्न उहाँहरुले गरेको काम, अतिरिक्त क्रियाकलापदेखि क्यान्टिनसम्म पनि निरीक्षण गछौँ । पूर्वाधार, ल्याब, स्टाफ सबैबारे हामीले अनुगमन गर्ने हुँदा आइओईअन्तर्गतका निजी कलेजहरुको शैक्षिक गुणस्तर राम्रो छ । आंगिक कलेजहरुमा जस्तै गुणस्तर निजी कलेजमा पनि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

Your Opnion

//