मूल्यांकनकर्ता इन्जिनियरले स्वतन्त्ररुपमा मूल्यांकन गर्न पाउनुपर्छ– चिन्तामणी शिवाकोटी (अन्तर्वार्ता) - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interview

मूल्यांकनकर्ता इन्जिनियरले स्वतन्त्ररुपमा मूल्यांकन गर्न पाउनुपर्छ– चिन्तामणी शिवाकोटी (अन्तर्वार्ता)

नेपालमा धितो मूल्यांकनको क्षेत्रमा काम गर्ने इन्जिनियरहरुको संख्या उल्लेख्य छ । बैंक तथा वित्तीय संस्था र धितो मूल्यांकनकर्ताबीच केही असमझारी पनि छ । यसमा नेपाल राष्ट्र बैंकको भूमिका कस्तो रहन्छ र समग्र धितो मूल्यांकन क्षेत्रलाई राष्ट्र बैंकले कसरी लिएको छ भन्ने विषयमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीसँग गरिएको कुराकानीः

नेपाल सरकार वा राष्ट्र बैंकले हालसम्म धितो मूल्यांकनसम्बन्धी के–कस्तो व्यवस्था गरेको छ ?

धितो मूल्यांकन सम्बन्धमा खासै उल्लेखनीय व्यवस्था गरिएको छैन । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा धितो मूल्यांकन गर्नका लागि योग्य मूल्यांकनकर्ताहरूको सूची तयार गरेको हुनुपर्छ र सो सूचीमा रहेका योग्य धितो मूल्यांकनकर्ताहरू मध्येबाट आफ्नो कर्जा नीति अनुसार धितोको स्वतन्त्र मूल्यांकन गराई प्राप्त हुने मूल्यांकन रकमअनुसार कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कोभिड–१९ ले समग्र बैंकिङ र धितो मूल्याकङ्न क्षेत्रमा कस्तो असर पुर्याएको छ ?
कोभिड–१९ बाट सिर्जित असहज अवस्थाको कारणले सम्रग आर्थिक क्रियाकलापहरूको संकुचन सँगसँगै घरजग्गा किनवेच र घर निर्माण व्यवसायमा समेत मन्दी आएको थियो । जसकारण समग्र कर्जाको मागमा कमी आउन गइ बैंकमा धितो राख्ने प्रयोजनका लागि घरजग्गा किनबेच लगायतका कारोबार प्रभावित भएको अवस्था थियो । कारोबार रकम कम भए तापनि यसले धितो मूल्यांकनलाई भने खासै असर पारेको देखिएको छैन ।
तर, आउँदा दिनमा यदि व्यवसायहरू अत्यन्तै प्रभावित भए र बैंकले धमाधम धितो लिलाम गर्न थाल्यो भने ‘फायर सेल’ जस्तो अवस्थामा सम्पत्तिको मूल्य घट्न सक्छ । तथापी, कोभिडकै कारण धितो मूल्यांकनमा भने कुनै पनि परिवर्तन आएको अवस्था देखिदैन ।

कोभिडपछिको परिस्थितिमा बैंक तथा मूल्यांकन क्षेत्रलाई के–कस्तो सल्लाह–सुझाव दिन चाहनुहुन्छ ?
केही समयअघिको अवस्था भनेको अस्तित्व बचाउने अवस्था थियो । अहिले केही हदसम्म साम्य हुँदै गएको छ । बैंक तथा वित्तीय संस्था पनि बाँच्नु पर्छ र ऋणीलगायत सबै व्यवसायी पनि बाँच्नु पर्ने हुन्छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले धैर्य धारण गर्नुपर्ने हुन्छ । त्यसैगरी ऋणीले समेत धैर्य गर्नुपर्ने हुन्छ । बैंकहरूमा कर्जा खराब भएर जाने जोखिमलाई मध्यजनर गरेर नै नेपाल राष्ट्र बैंकबाट विभिन्न कर्जा तथा ब्याज असुली गर्ने विषयमा लचकता अपनाइएको छ । ब्याज घटाउने, शुल्क, कमिशन, चार्जहरूमा कटौती गरिएको छ । किस्ता तिर्ने समयावधि पर सारिएको छ । कर्जाको पुनः तालिकीकरण, पुर्नसंरचना, ब्याज पूँजीकरण र पुर्नकर्जा लगायतका प्रावधानहरूबाट विभिन्न सहुलियत प्रदान गरिएको छ । कर्जाहरुलाई विभिन्न वर्गमा वर्गीकरण गरी अतिप्रभावित, मध्यम प्रभावित तथा न्यून प्रभावित गरेर भुक्तानी अवधि थप्न सक्ने लगायतका प्रावधानले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा असुलीमा थप संयमित हुन मद्दत गर्ने र समग्र अर्थतन्त्रलाई स्थिायित्व प्रदान हुने विश्वास गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले संयमित हुने र नाफालाई प्राथमिकतामा नराखी उच्च धैर्यतापूर्वक सबैको अस्तित्वको विषयमा सोच्ने समय हो, यो ।
कोभिडको प्रत्यक्ष असर परेका ऋणीहरू बैंक तथा वित्तीय संस्थाहरूको हकमा कर्जा तिर्ने क्षमतामा ह्रास आएकाले खराब कर्जा बढ्नु स्वाभाविक रहे तापनि धितो मूल्यांकनमा तत्कालै प्रभाव पर्ने देखिदैन । यदि कुनै संस्थाले कर्जा प्रवाह गर्दा नै खराब वा कमसल धितो लिएको रहेछ भने उक्त धितोको मूल्यांकन स्वभवतः शंकास्पद हुन्छ । वर्तमान अवस्थामा धमाधम कर्जा असुली वा व्यवसाय बन्द गर्ने वा सम्पत्ति बेचिहाल्छु भन्नु भन्दा कसरी व्यवसायलाई निरन्तरता दिने भन्नेतर्फ ध्यान केन्द्रित हुन जरूरी छ ।

केही समयअघि मात्र धितो मूल्यांकन गर्दा अन्तर्राष्ट्रिय पद्धतिअनुसार गर्नुपर्ने भनेर निर्देशिकामा एउटा बुँदा थप गर्नुभयो । यो पद्धति किन आवश्यक थियो ?
नेपाल राष्ट्र बैंकले केही समयअघि आफ्नो निर्देशनमा संशोधन गरी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा ग्राह्य हुने सम्पत्ति मूल्यांकन गराउँदा धितो मूल्यांकनकर्ताले आफ्नो कुनै स्वार्थ नबाझिने गरी वा कुनै पनि पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा, अन्तर्राष्ट्रिय मान्यता र असल अभ्यासहरू समेतका आधारमा धितोको मूल्यांकन गरेको यकिन गर्नुपर्ने छ भन्ने व्यवस्था कायम भएको छ । यो प्रावधान राख्नुको प्रमुख उद्देश्य भनेको धितो मूल्यांकनकर्ताहरूले अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत अनुसरण गरुन् भनेर गरिएको हो । विगतमा धितोको अधिक मूल्यांकन वा न्यून मूल्यांकन जस्ता केही गलत अभ्यास उजागर भए, कमसल धितो समेतको अधिक मूल्यांकन गरिएको देखियो, धितोको लागि योग्य नै नहुने भिर, पाखा, खोला सबैको मूल्यांकन भई धितो राखिएको समेत पाइयो । यसले मूल्यांकनकर्तालाई मात्र नभएर, कर्जा दिने बैंक तथा सबै सरोकारवालालाई समस्या पर्नेे देखियो । त्यसैले, यस्तो गलत अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय पद्धतिको अनुसरण गर्न भनिएको हो ।

यो पद्धति लागू गर्नका लागि कुनै नीति नियम पनि बनाउनु भएको छ त ?
छैन । मैले अघि पनि भने अन्तर्राष्ट्रिय असल अभ्यासललाई समेत मध्यनजर गरेर धितो मूल्यांकन हुनुपर्दछ । यस विषयको विज्ञ केन्द्रीय बैंक नभई धितो मूल्यांकनकर्ताहरू नै हुने भएकोले आफ्नो पेशा/व्यवसायलाई व्यवस्थित एवम् मर्यादित बनाउन अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार गर्ने/गराउने कार्य उँहाहरुकै क्षेत्राधिकारभित्र पर्ने विषय हो ।

राष्ट्र बैंकले धितो मूल्यांकनको एउटा छुट्टै गाइडलाइन बनाउनुपर्छ भन्ने आवाज मूल्यांकनकर्ताले उठाइरहेका छन् । यो आवश्यक छ कि छैन ? आवश्यक छ भने राष्ट्र बैंकले यसमा कुनै पहल गरेको छ ?
राष्ट्र बैंकले धितो मूल्यांकनको एउटा छुट्टै गाइडलाइन बनाउनुपर्छ भन्ने आवाज मूल्यांकनकर्ताले उठाइरहेका छन् । यद्यपि, राष्ट्र बैंकले गाइडलाइन बनाइदिने भन्दा पनि मूल्यांकनकर्ताहरूले न्यूनतम मापदण्ड तयार गरी काम गर्नुपर्ने विषय होजस्तो लाग्छ । मूल्यांकनकर्ताहरूले स्वतन्त्ररुपमा मूल्यांकन गर्नुपर्दछ भन्ने हाम्रो मान्यता हो । जसरी लेखापरीक्षक स्वतन्त्र हुनु पर्दछ त्यसरी नै मूल्यांकनकर्ता पनि स्वतन्त्र हुनुपर्दछ । लोभ, लालच, मोलाहिजा वा जागिरको लोभ, डर वा कुनै किसिमले कर्जा दिने संस्थामा स्वार्थ नगाँसिएको व्यक्ति वा संस्था हुनुपर्दछ । त्यसैले बैंक तथा वित्तीय संस्थाका कर्मचारी साथै नेपाल राष्ट्र बैंकले निर्देशित गर्ने विषय यो होइन । यसको लागि विज्ञ मूल्यांकनकर्ताको प्रयोग हुनुपर्छ र अन्तर्राष्ट्रिय असल अभ्यास समेतको अवलम्बन हुनुपर्दछ भन्ने नै हाम्रो अपेक्षा हो ।

(यो अन्तर्वार्ता नेपाल भ्यालुयर्स एसोसिएसनले शनिबार सार्वजनिक गरेको त्रैमासिक न्यूज लेटरबाट साभार गरिएको हो)

Your Opnion

//