धमाधम बन्दै सार्न मिल्ने आकाशे पुल, आयु ७५ वर्ष - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

धमाधम बन्दै सार्न मिल्ने आकाशे पुल, आयु ७५ वर्ष

काठमाडौं महानगरपालिकाले एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यले बनाउन लागेको सार्न मिल्ने पुलको तेस्रो चरणको काम सुरु गरेको छ । महानगरपालिकाले ‘स्टिल स्ट्रक्चर’को उक्त पुलको निर्माण कार्य पहिलो पटक गत माघदेखि सुरु गरेको थियो ।

हालसम्म कतिवटा पुल बने

झन्डै आठ करोड लागतमा काठमाडौं महानरपालिकाले बनाएको गोंगबुको आकाशे पुल आठ लेनको सडक विस्तारका लागि तगारो बनेको थियो । गोंगबुको पुल कंक्रिटको प्रयोग गरेर बनाइएको हुनाले सडक विस्तारको कार्यतालिका अनुसार पुल भत्काइएको सडक विभागले जनाएको थियो ।

त्यसैगरी यसअघि कलंकीको पुलसमेत भत्काइयो । धमाधम पुल भत्किन थालेपछि आकाशे पुल भत्काउनुपर्ने अवस्थालाई ध्यानमा राखेर चाबहिल, माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा अन्त सार्न मिल्ने खालको पुल बनाउन लागेको महानगरले जनायो ।

तीमध्ये रत्नपार्क, माइतीघर, चाबहिल चोकमा पहिलो चरणमा बनेका पुल हुन् । दोस्रो चरणको पुल निर्माण कार्यअन्तर्गत टिचिङ अस्पताल अगाडि, सोह्रखुट्टे, मित्रपार्कमा पुल बनिसकेको छ । विधुत् प्राधिकरणको अवरोधका कारण दोस्रो चरणको जयबागेश्वरीको पुल भने बनिनसकेको काठमाडौं महानगरपालिका शहरी पूर्वाधार विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठ बताउँछन् ।

‘योजनाअनुसारका अधिकांश पुल बनिसके, नयाँ पुल बन्ने प्रक्रियामा छन्,’ उनी भन्छन्, ‘जयबागेश्वरीमा विद्युतीय लाइनले अवरोध गरेकोले अधुरो छ । टेकुमा बनाउने भनिएको पुलको लागि जमिन मिलिरहेको छैन । अब जम्माजम्मी ५ वटा पुल बन्न बाँकी छ । हामीले ठाउँ पायौँ भने एक वर्षभित्रै बनाइसक्छौं ।’

विभिन्न निकायसँग कुरा नमिलेका कारण पुल बनाउँदा केही ढिलाइ भएको श्रेष्ठले बताए । ‘अहिले यो फुटपाथ र सडकपेटीले गर्दा हामीलाई समस्या भइरहेको छ,’ श्रेष्ठ थप्छन्, ‘कसैको निजी जग्गा तान्न नमिल्ने, सबैलाई कन्भिन्स गराउनुपर्ने भएकोले अलि बढी समय लागेको हो । नभए, लक्ष्य अगाडि नै सकिन्थ्यो ।’

श्रेष्ठका अनुसार यो पुल बनाउँदा कुनै पनि अवरोध आएन भने एउटा पुल ६ महिनाभित्रमा तयार हुन्छ । टिचिङ अस्पताल अगाडि, महाराजगन्ज, रत्नपार्क, बबरमहल, चाबहिल, जयबागेश्वरी, माइतीघर, त्रिपुरेश्वर, टेकु भन्सार, कोटेश्वरलगायत ठाउँमा सार्न मिल्ने स्टिल स्ट्रक्चर आकाशे पुल बनाउने योजना राखेको थियो ।

सार्न मिल्ने आकाशे पुलको डिजाइन

यस्तो आकाशे पुलमा भविष्यमा झिक्न मिल्ने खालको प्रविधि प्रयोग गरिएको छ । जसमा प्रयोग गरिने प्रविधि र डिजाइनको प्याटर्न एउटै खाले हुन्छ । पुल सार्दा नट बोल्ड जोड्ने र फुकाल्ने तरिका भने उस्तै हुन्छ । तर, सडकको लोकेसनअनुसार मात्र यसको आकार र डिजाइन अलिकति फरक हुने बताउँछन्, काठमाडौं महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख इन्जिनियर रामबहादुर थापा ।

‘ठाउँ र लोकेसनअनुसार, स्पान र ठाउँको माटोअनुसार डिजाइन र आकारमा फरक पर्छ,’ उनी भन्छन्, ‘पुलको चौडाइ कतै २० मिटर, कतै २२ मिटर हुन्छ भने कतै १८ मिटर हुन्छ । यो सबै सडक र फुटपाथको चौडाइ र क्षेत्रफलमा भर पर्छ । साथै माटोअनुसार डिजाइनमा फरक पर्छ ।’

महानगरपालिकाले हालसम्म निर्माण गरेका स्टिल स्ट्रक्चर प्रायः सबै पुलको आकार एउटै खाले छ । त्यसबाहेक विधुत् प्राधिकरणको अगाडि रत्नपार्कमा बनाइएको पुलको आकार भने ‘आर्क’ आकारमा छ । अब बन्ने ठाउँहरूमा सबै पुलको आकार र डिजाइन पनि बाँकी पुलको जस्तै बनाउने महानगरपालिकाले जनाएको छ ।

आकार र डिजाइनअनुसार सामानहरू पनि फरक लाग्ने विभागका प्रमुख इन्जिनियर थापा बताउँछन् । ‘बाहिरबाट हेर्दा पुलको डिजाइनको क्राइटेरिया सेम नै देखिन्छ,’ उनी भन्छन्, ‘तर कतै मोटाइ कतै चौडाइ बढी भएको हुन्छ । बढी चौडाइ भएको ठाउँमा बढी सामान प्रयोग गर्नुपर्ने हुन्छ । कमजोर माटो भएको ठाउँमा, चौडाइको आकार र फुटपाथको अवस्थाको आधारमा पुल बनाउँदा फाउन्डेसन फरक बनाउनुपर्ने हुन्छ ।’

नेपालमा बन्ने अधिकांश पुलहरू ढलान ब्रिज र ट्रस ब्रिजको प्रकारअनुसार बनाइएका हुन्छन् । ढलान ब्रिजमा आरसीसी बिम प्रयोग गरिएको हुन्छ । जसमा बिमले नै पुलको सबै लोड थेग्छ । हाल काठमाडौं महानगरले बनाउन लागेको पुल ‘ट्रस ब्रिज’ डिजाइनमा आधारित छ । ट्रस ब्रिजको डिजाइनमा सबै स्टिलकै कोलमहरू प्रयोग गरिएको हुन्छ । कोलममार्फत सबै भार जमिनमा ट्रान्सफर हुन्छ । पुलको मुख्य भार स्टिलको बिमले थेगेको हुन्छ । यस्ता पुलको आकार र डिजाइन फरकफरक हुन्छ । कतिपय ट्रस ब्रिजको माथि पट्टि छडिहरू पनि राखिएको हुन्छ ।

हाम्रो शहरको अवस्थाअनुसार ट्रस ब्रिज प्रभावकारी हुने ई. थापाको भनाइ छ । उनका अनुसार ट्रस ब्रिजमा सम्पूर्ण संरचनाको लोड लिने कम्बिनेसन हुन्छ । ट्रसमा तल बिम हुन्छ भने माथि अरू एन्गल एवम् रेलिङहरू राखिएको हुन्छ । विभिन्न किसिमका क्रसका भागहरू छन् । तिनै भागहरूले पुलको भार थेग्छ । त्यसैले यो प्रभावकारी बन्छ ।

कस्तो अवस्थामा सार्न मिल्छ ?

सडक विस्तार आयोजनाअन्तर्गत सडक विस्तार गर्दा यस्तो पुल एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिन्छ । सुरुमा फिट गरिएको ठाउँबाट पुल फुकालेपछि चाहिएको ठाउँमा पुनः फिट गर्न मिल्छ । ‘सडक विस्तार गर्दा वा अन्य कारणले पुराना सबै पुल (विशेषगरी कंक्रिट ब्रिज) कामै नलाग्ने गरी भत्काउनुपर्छ,’ थापा भन्छन्, ‘तर यो पुललाई काम नलाग्ने गरी भत्काउनु पर्दैन । नट बोल्ट खोलेपछि सबै सामान काम लाग्छ ।’

आयु

यो पुल मानिसले ओहोरदोहोर गर्दा हल्लिने हुन्छ । जसले गर्दा नट बोल्टहरू विस्तारै खुकुलो हुँदै जान्छन् । त्यसैगरी ड्रिल (प्वाल) पारेको ठाउँमा खिया लाग्ने समस्या हुन्छ । घाम र वर्षाले पुलको रङरोगन हटेको हुन्छ ।

स्टिल स्ट्रक्चर पुलको आयु ७५ वर्ष हुन्छ । समयसमयमा मर्मत गर्यो भने त्योभन्दा बढी पनि टिक्न सक्ने इन्जिनियर थापा बताउँछन् । ‘हरेक २\४ वर्षमा नट बोल्टको मर्मत गर्ने र समयसमयमा रङरोगनहरू पनि मेन्टेनेन्स गर्नुपर्ने हुन्छ’ उनी भन्छन्, ‘बेलाबेलामा ममर्त गर्यो भने ७५ वर्षभन्दा बढी पनि टिक्न सक्छ । वास्ता गरिएन भने पुल पनि मान्छे बिरामी भएर अल्पआयुमै मर्या जस्तै त होनी ।’

लगानी

काठमाडौं महानगरपालिकाले बनाउन लागेको सार्न मिल्ने पुलको औसत लगानी ७५ देखि ८० लाखसम्म छ । तर, ठेकेदारले गर्दा ६५\७० लाखको हाराहारीमा एउटा पुल बनिरहेको ई. थापाले बताए ।

Your Opnion

//