आईओईको स्नातक परीक्षा : सुरुमा अड कि इभन ? - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

आईओईको स्नातक परीक्षा : सुरुमा अड कि इभन ?

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिने स्नातकको परीक्षा सुरुमा अड (बिजोर) सेमेस्टरको गर्ने कि इभन  (जोर) को भनेर विवाद सिर्जना भएको छ । आईओईले संचालन गर्ने भनेको अड र इभन सेमेस्टरमध्ये सुरुमा इभन सेमेस्टरको परीक्षा हुनुपर्ने भन्ने विषयबारे विधार्थीहरुले दबाब दिएका छन् । उता आईओईले भने सुरुमा अड समेस्टरको परीक्षा गर्ने तयारी गरेको छ ।

इभनको परीक्षा हुनुपर्छ– विधार्थी
परीक्षाको मुखमा आएर आईओईले दोधारे प्रवृत्ति देखाउँदा आफूहरुलाई समस्या भएको दोस्रो वर्ष दोस्रो सेमेस्टरका विधार्थी प्रकाश पौडेलले इन्जिनियर्स पोष्टलाई बताए । ‘आईओईले सुरुमा इभनको परीक्षा लिने भनेर नै अनलाइन कक्षाहरु संचालन गरेको थियो । अहिले आएर अड सेमेस्टरको परीक्षा गराउने भनेर म्यासेज आयो । आईओईले सुरुमा इभनको परीक्षा गराउने भनिसकेपछि हामी मानसिकरुपमा तयार थियौँ’ पौडेलले भने ।

विभिन्न कारण देखाउँदै सुरुमा अड सेमेस्टरको परीक्षा गराउने निर्णय आफूहरुलाई मान्य नहुने धेरै विद्यार्थीको भनाइ छ । भदौमा अनलाइन कक्षा संचालन गर्नुअघि आईओईले सुरुमा इभन सेमेस्टरको परीक्षा गराउने निर्णय विधार्थीलाई सुनाएको थियो । इभनको परीक्षा सकिएको एक महिनापछि मात्र अड समेस्टरको परीक्षा भौतिकरुपमा संचालन गर्ने बताएको थियो । साथै आईओईले अड सेमेस्टरको पढाई पनि भौतिक रुपमा गराएको थियो भने केही अड सेमेस्टरको परीक्षा पनि चैतअघि नै सम्पन्न भइसकेको छ ।

अनलाइन माध्यमबाट पढाई गराइसकेपछि पूर्वनिर्धारित निर्णयअनुसार आईओईले इभन सेमेस्टरको परीक्षा पनि अनलाइनबाटै गराउनुपर्ने विद्यार्थीको माग छ । पूर्वाञ्चललगायत अन्य विश्वविद्यालयले भौतिकरुपमा कक्षा संचालन गराए पनि अनलाइनबाट परीक्षा लिएकाले नम्बर ग्रेडमा समस्या आउने चिन्ता विद्यार्थीको छ ।

‘अनलाइनबाट पढाई भएको हुदाँ भौतिकरुपमा उपस्थित भएर परीक्षा संचालन गर्दा विधार्थीको नम्बर प्रणालीमा तलमाथी हुन्छ’ विद्यार्थी पौडेलको तर्क छ, ‘बजारमा आन्तरिक र बाह्य मूल्यांकनको आधारमा प्रतिस्पर्धा हुन्छ । कुन तरिकाले परीक्षा दिएको भन्दा पनि प्रतिस्पर्धामा हाम्रो नम्बर हेर्ने हो । यसले हाम्रो भविष्यमासमेत असर पार्छ । अनलाइन कक्षा संचालन गरेर भौतिक रुपमा उपस्थित भएर परीक्षा दिने भन्ने कुरा संसारको कुनै पनि ठाउँमा हुँदैन । यो लाजमर्दो कुरा हो । त्यसैले आईओईले यसबारे सोच्नुपर्छ ।’

इलेक्ट्रिकल इन्जिनियरिङ आठौँ सेमेस्टरका विधार्थी जगदिश खड्का पनि सुरुमा इभन परीक्षा नै होस् भन्ने पक्षमा छन् । ‘हामीले जसरी भए पनि एक न एक पटक परीक्षा त दिनैपर्छ । हरेक विधार्थीले आफ्नो पढाई सकिनासाथ परीक्षा गराउँदा राम्रो नम्बर ल्याउन सकिन्छ भन्ने हिसाबले सोच्छन्’ उनले भने, ‘सकेसम्म सुरुमा इभन परीक्षा गराउँदा बेटर हुन्छ ।’

स्नातक तह मेकानिकल इन्जिनियरिङ छैठौँ सेमेस्टरका विधार्थी सुवास अर्याल भने आईओईले लिने निर्णयमा आफू सहमत हुने बताए । ‘हामी अधिकांश विधार्थीहरुको चाहना त सुरुमा इभन सेमेस्टरकै होस भन्ने छ’ उनले भने ‘अब आईओईले आफ्नोतर्फबाट लिएको निर्णय त मान्नै पर्यो । कसैलाई पनि मर्का नपर्ने हिसाबले आईओईले पनि सोचेरै निर्णय लिएको हुन्छ । त्यसैले यो आईओईले नै सोच्ने कुरा हो ।’

अड परीक्षा नै संचालन गर्दा ठिक– स्ववियु सभापति
अघिल्ला वर्षहरुमा आईओईले अड सेमेस्टरको नियमित तथा मौका परीक्षाहरु चैतमै संचालन गरिसक्थ्यो । अड सेमेस्टरको परीक्षा चैतदेखि रोकिएको थियो । यसअघि भएका परीक्षाहरुमा इभन सेमेस्टरको परीक्षाका कारण अडतर्फका विधार्थीको मौका परीक्षा रोकिएको थियो ।

अड तथा इभन सेमेस्टरको परीक्षाबारे आफूहरुले सल्लाह गरिरहेको पुल्चोक क्याम्पसका स्ववियु सभापति रोशन थापा मगरले इन्जिनियर्स पोष्टलाई बताए । ‘आईओईले यसबारे अहिलेसम्म सूचना जारी गरिसकेको छैन, न त रुटिङ नै निकालेको छ’ उनले भने, ‘नियमित तर्फका विधार्थीका लागि त ठिकै छ तर त्योबेला मौका परीक्षा दिने विधार्थीहरु पनि हुनुहुन्छ । इभनको परीक्षाको कारण उनीहरुको परीक्षा अझै रोकिनु भएन । उनीहरुलाई पनि हेरेर परीक्षा गराइनुपर्छ । यसबारे हामीले पनि विधार्थी साथीहरुसँग सल्लाह गर्दैछौ ।’

अहिलेको स्थिति हेर्दा सुरुमा अड सेमेस्टरको परीक्षा लिँदा उचित हुने धारणा थापाले राखे । ‘अहिले इभन सेमेस्टर प्राक्टिकल कक्षाहरु हुन बाँकी छ । पढाई पनि लगभग धेरै ठाउँमा सकिएको छैन । पुल्चोक, थापाथली क्याम्पसबाहेक बाँकी क्याम्पसका कतिपय कलेजहरुमा राम्रोसँग पढाई नै भएको छैन’ उनले भने, ‘समग्रमा यो सबै कुराहरु हेर्दा अड सेमेस्टरको परीक्षा नै सुरुमा गराउँदा उचित हुने देखिन्छ । हाललाई इभन सेमेस्टरको कोर्स पुरा नभइन्जेल अड परीक्षा संचालन गर्ने र त्यसपछि इभनहरुको परीक्षा लिँदा उचित हुन्छ ।’

आईओईले अडको परीक्षा गराउने
आईओईले सुरुमा अडको नै परीक्षा लिने तयारी गरेको आईओईका डीन शशिधर राम जोशीले इन्जिनियर्स पोष्टलाई जानकारी दिए ।

‘परीक्षाबारेमा सोमबार मिटिङ चलेको थियो’ उनले भने, ‘सुरुमा अड सेमेस्टरहरुको परीक्षा हुने निर्णय भयो । त्यसपछि मात्र हामीले अहिले चलेको इभन सेमेस्टरको परीक्षा संचालन गर्छौँ । परीक्षाको लागि सबै तयारी भइसक्यो । अब सूचना मात्र जारी गर्न बाँकी छ ।’ आफूहरुले विधार्थीहरुसँग छलफल गरेरै यो निर्णय लिएको डिन जोशीले बताए ।

साथै उनले दुवै परीक्षा भौतिकरुपमै सम्पन्न गराइनेसमेत जानकारी दिए । ‘दुवैखाले परीक्षा भौतिकरुपमै संचालन हुन्छ’ उनले भने, ‘अनलाइनबाटै परीक्षा गराइनुपर्छ भन्नेहरु भन्दै गर्छन् । आईओईले तोकेको सेन्टरमा नै परीक्षा सम्पन्न हुन्छ । त्रिविको अरुअरु कलेजहरुमा पनि सेन्टर तोकिएको छ । जुन ठाउँको विधार्थी हो त्यहिँ उपस्थित भएर परीक्षा दिनुपर्ने हुन्छ । यो विषयमा हामीले सबै विधार्थीहरुलाई म्यासेज पठाइसकेका छौँ ।’

अनलाइन परीक्षा नगराउँदा विधार्थीलाई कुनै मर्का नपर्नेसमेत उनले जानकारी दिए । ‘एक–दुई जना विधार्थीले आपत्ति जनाए भन्दैमा आईओईले आफ्नो निर्णय बदल्ने कुरा हुँदैन । समग्र विधार्थीले विरोध गरेका पनि छैनन्’ उनले भने, ‘अनलाइनमा पनि हामीले विद्यार्थीलाई सहज हुने गरी कक्षा संचालन गरेका हौँ । विद्यार्थीहरुलाई होमवर्क दिएर, असाइनमेन्ट दिएर त्यसको आधारमा मूल्यांकन गरेका छौँ । त्यति गरेपछि अनलाइन कक्षा लिनु र भौतिकरुपमा लिनु उस्तै हो ।’

Your Opnion

//