के हो इन्जिनियर्स एसोसिएसनको निर्वाचन मितिको लफडा ? - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Others

के हो इन्जिनियर्स एसोसिएसनको निर्वाचन मितिको लफडा ?

नेपाल इन्जिनियर्स एसोसियसन (नेईए) ले ३३ सौं कार्य समितिको निर्वाचन चैत २० मा गर्ने निर्णय गरेको छ । हालको कार्य समितिको दुई वर्षे म्याद मंसिरमा सकिँदैछ । मंसिरमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारण चैतमा सारिएको हो ।

नेईएले सम्बन्धित पक्षसँग छलफल नै नगरी निर्वाचन मिति तोकेको भन्दै निर्वाचन मितिप्रति सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले विरोध जनाएको छ। प्रेस विज्ञप्ती नै जारी गरेर विद्यानमा कार्य समितिको कार्यकाल सकिनुभन्दा ९० दिनअघि निर्वाचन समिति गठन गर्ने र समिति गठन भएको १० दिनभित्र निर्वाचन कार्यतालिका प्रकाशन गरी निर्वाचन गर्ने उल्लेख भएको खण्डमा नेईएले आफूखुसी निर्वाचन मिति तोकेको सिडेनको आरोप छ ।
उसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कार्यकारी समितिको बैठकमा छलफलका लागि पठाइएको एजेन्डा नम्बर १ निर्वाचन समितिको गठन सम्बन्धमा भएको र नेपाल इन्जिनियर्स एसोसियसनको विधानको दफा २६ (क) बमोजिम काय समितिको कार्यकाल समाप्त हुनुभन्दा ९० दिन अगाडि नै निर्वाचन समिति गठन गर्ने र सोहि दफाको ख बमोजिम निर्वाचन समिति गठन भएको १० दिनभित्र निर्वाचन कार्यतालिका प्रकाशन गरी निवार्चन गर्ने भन्ने विषयमा निर्वाचन समिति गठन गर्ने भन्ने एजेन्डा हुँदाहुँदै सो नगरी एजेन्डामै नभएको निर्वाचनको मिति तोकिएकोमा हाम्रो गम्भीर असहमती रहेको छ ।’
कुनै पनि छलफलबिना एकलौटी निर्णय गरेकाले आफूहरु विरोध पत्र लेख्न बाध्य भएको सिडेन महासचिव विनोद प्रकाश पण्डितले इन्जिनियर्स पोस्टलाई बताए । ‘उहाँहरुले हामीसँग समयमै निर्वाचन गर्ने र त्यसअघि निर्वाचन समिति गठन गर्ने भन्नुभयो’ उनले भने, ‘तर समिति नै गठन नगरी निर्वाचन मिति तोक्नुभयो । कमसेकम चुनावी प्रक्रियामा गएर त सूचना दिनुपर्छ । कार्यकाल सकिनै लाग्दा एकलौटी ढंगले यत्रो निर्णय लिएर हुन्छ ?’ नेईएमा आफ्नो पद लम्ब्याउने खेलका कारण यसरी निर्वाचन मिति तोकिएको पण्डितको आरोप छ ।

सिडेन र नेईएका सदस्यले जारी गरेको छुट्टाछुट्टै विज्ञप्ती

एसोसियसनका सदस्य नै असन्तुष्ट
नेईएले निर्वाचन मिति तय गरेकोप्रति नेईएका सदस्यहरुले नै विज्ञप्ती जारी गर्दै असन्तुष्टी पोखेका छन् । सिडेनमा आवद्ध नेईएका ११ कार्यकारीणी सदस्यहरुले सिडेनकै भाषामा विज्ञप्ती जारी गर्दै असन्तुष्टी जनाएका हुन् । असोज २४ गते जारी गरिएको विज्ञप्तीमा सागर श्रेष्ठ, प्रकाश बुढा, अनिल मानन्धर, सुजन भट्ट, एभरेष्ट केसी, ज्योतिमणाी भट्टराई, डा. कृष्णराज पाठकले हस्ताक्षर गरेका छन् ।
नेईएले प्रक्रियागत ढंगले चुनावको मिति नतोकेकोमा आफूहरुले असन्तुष्टी जनाएको कार्यकारीणी सदस्य ई. प्रकाश बुढाले इन्जिनियर्स पोस्टलाई बताए । ‘उहाँहरुले प्रक्रियागत हिसाबमा निर्णय गर्नुभएन । यस्तो प्रक्रियाले काम गर्दा समाजमा राम्रो सन्देश जाँदैन । त्यसैले हामीले विरोध गरेका हौँ’ उनले भने । चैत २० गते निर्वाचन गर्ने मिति सहि या गलत भन्दा पनि प्रक्रिया नै गलत भएपछि बाँकी सबै कुरा गलत नै हुने उनको भनाई छ ।

पिनको मौन समर्थन
चैतमा हुने भनिएको निर्वाचनलाई प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पिन) ले भने मौनरुपमा स्वागत गरेको छ । आफूहरु असहमत हुनुपर्ने त्यस्तो कुनै कारण नभएको पिनका महासचिव हरिराम पराजुलीले जानकारी दिए । ‘खासमा यो चुनाव मंसिर मसान्तसम्म भइसक्नुपर्ने हो’ इन्जिनियर्स पोस्टसँगको कुराकानीमा उनले भने ‘सामान्य परिस्थितीमा चुनाव हुनुपर्ने भन्ने कुरा विधानमा लेखेकै छ । यहाँ परिस्थिती सामान्य छैन । त्यसैले उहाँहरुले चुनाव चैतसम्मलाई सार्नु सापेक्षीक हिसाबले सहि नै हो ।’
चैतपछि पनि चुनाव सार्ने कुरा भने आफूहरुलाई मान्य नहुने महासचिव पराजुलीले बताए । ‘चुनावी छलफलमा हामी पनि थियौँ । जसरी पनि चैतमा चुनाव हुन्छ भन्नुभएको छ’ उनले भने, ‘एसोसिएसनले चैतमा चुनाव गराउने÷नगराउने कुनै ग्यारेन्टी त छैन । तैपनि यो चुनावी प्रक्रियाका लागि हामी सहमत छौँ । चुनावचाहिँ जसरी पनि हुनुपर्यो ।’

निर्वाचन पक्का हुन्छ नेईए– महासचिव
नेपाल इन्जिनियर्स एसोसिएसनमा हाल २५ सदस्यीय टोली छ । नेईए सदस्यहरुबीच निर्वाचन फागुन, चैत, वैशाख या भदौ कहिले गर्ने भन्ने कुरामा विवाद चल्दै आएको थियो । यद्यपी धेरै सदस्यहरुको मत चैतमा चुनाव गर्नेमा देखिएपछि चैतमा निर्वाचन हुने पक्का भएको नेईए महासचिव छवि पोखरेल जानकारी दिए ।
‘हामीभित्रैका केही साथीहरुले चैतको निर्वाचनका लागि विमती राख्नुभएको थियो’ उनले भने ‘विमती चाहिँ फागुन, चैत, वैशाख या भदौ कहिले गर्ने भन्नेमा थियो । तर धेरैको बहुमत चैतमा भएकाले अन्ततः कार्य समितिका सबै सदस्यहरु चैत २० को चुनावका लागि राजी हुनुभएको हो ।’ माहोल यत्तिकै रहेमा निर्वाचन चैतमै हुने, यदी माहोल ठप्प भएमा फेरि सल्लाह गरेर अघि बढ्ने निर्णय भएकोसमेत उनले बताए ।
चुनावका लागि आफूहरुले एकलौटी निर्णय नलिएको पनि महासचिव पोखरेलले स्पष्ट पारे । ‘हामीले एकलौटी निर्णय लिएको भनेर विरोध पत्र आयो’ उनले भने, ‘बैठकमा सातै प्रदेशका सभापतिहरु, कार्य समितिका २५ सदस्य नै उपस्थित हुनुहुन्थ्यो । यता छलफलमा ओके गरिसकेको कुरा बाहिर निस्केपछि अरु विचार समूहको दबाबमा परेर विरोधस्वरुप विज्ञप्ती निकाल्नुभएछ ।’
यदी चैतमै चुनाव भइहाल्यो भने भोटिङ नयाँ प्रणालीबाट गर्ने तयारी नेईएको छ । यसबारे छलफल चलिरहेको समेत महासचिव पोखरेलले जानकारी दिए । ‘अहिले माहोल यस्तै भएकाले अनलाइन भोटिङबाटै चुनाव गरौँ न भन्ने विषयमा छलफल भइरहेको छ । धेरै साथीहरु सहमत पनि हुनुहुन्छ’ पोखरेलले भने ।

Your Opnion

//